विषमुक्त माटो र खाना- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विषमुक्त माटो र खाना

विषाक्त माटो, खाना र जीवनशैलीका कारण नसर्ने दीर्घरोगहरुको विस्तार कहालीलाग्दो छ । मधुमेह, मुटुरोग, क्यान्सर, थाइराइड, मस्तिष्काघात र रक्तचापका बिरामीहरु दिनदिनै थपिइरहेका छन् ।
भानूदय उच्च माविमा विषको खराबीबारे चर्चा भइरहँदा कक्षा १० मा कृषि पढ्ने एक छात्राले सोधेकी थिइन्, ‘यस्तो खराब विषको मात्रा मिलाउन हामीलाई किन सिकाउने हो ?’
कृष्णप्रसाद पौडेल

एक भारतीय अभिनेताले सञ्चालन गरेको एउटा टीभी कार्यक्रममा केही वर्ष पहिले खानामा विष र यसले भारतीय समाजमा पारेको प्रभावबारे लामो चर्चा गरिएको थियो । त्यो हेर्दा ढिलोचाँडो नेपालको नियति पनि त्यस्तै हुनेमा धेरै द्विविधा थिएन किनकि नेपाली कृषिले लिएको बाटो त्यही थियो ।

त्यो कार्यक्रममा पन्जाबको एउटा गाउँबाट क्यान्सर उपचारका लागि राजस्थान जान रेलको टिकट काट्न काउन्टरमा पुगेका एक यात्रुको ‘क्यान्सर रेल कति बेला आउँछ ?’ भन्ने प्रश्न र त्यसमा देखाइएको बिरामीको अवस्था मर्मस्पर्शी थियो । त्यस्तो रेल नेपालमा त छैन तर ‘क्यान्सर अस्पताल गेट, भरतपुर’ लेखिएका माइक्रो बसहरू भने देशका धेरै भागबाट चल्ने गरेका छन् !

त्यसो त हामी धेरैले याद नगरे पनि विषाक्त माटो, खाना र जीवनशैलीका कारण नसर्ने दीर्घरोगहरूको विस्तार कहालीलाग्दो छ । मधुमेह, मुटुरोग, क्यान्सर, थाइराइड, मस्तिष्काघात र रक्तचापका बिरामीहरू दिनदिनै थपिइरहेका छन् । अस्पताल भर्ना हुनेमध्ये ८० प्रतिशत नसर्ने दीर्घरोगकै हुने गरेका छन् । अचेल चाडपर्वमा हैन, अस्पतालमा मेला छ । यो प्रमाण नेपाल र भारतका नसर्ने दीर्घ रोगका अस्पताल र तिनमा लाग्ने यस्ता बिरामीहरूको लाइन; खेतीमा अत्यधिक कृत्रिम रसायन र विषादी प्रयोग गर्दै आएका शान्तिनगर, हल्दीबारी, भेडेटार, लालबन्दी, चितवन, पाँचखाल, धार्के, चरौंदी, कपुरकोट, गुराँसेलगायतका किसान र तिनका परिवारहरूले दिइरहेका छन् । बुझ्नु, नबुझ्नु या बुझ पचाउनु बेग्लै कुरा हो ।

हामी धेरैलाई थाहा छ, चितवनको भरतपुर नेपालकै ठूला सहरी केन्द्रहरूमध्ये एक हो । यो क्षेत्र कृषि तथा पशु उद्योग, अस्पताल र शिक्षाको केन्द्रसमेत हो । नारायणगढ बजारको सहिद चोकवरपर सयौं एग्रोभेट छन् । यी एक हिसाबले विष भण्डार हुन् र यस भेगका धेरै ठाउँमा विष पुर्‍याउने काम गर्छन् । नेपालकै एक मात्र कृषि विश्वविद्यालय यहीँ छ । विडम्बना, यसले यी विषको कसरी (दुर्) उपयोग गर्ने भन्नेबारे पढाउँछ । उता, भानूदय उच्च माविमा विषको खराबीबारे चर्चा भइरहँदा कक्षा १० मा कृषि पढ्ने एक छात्राले सोधेकी थिइन्, ‘यस्तो खराब विषको मात्रा मिलाउन हामीलाई किन सिकाउने हो ?’ यो प्रश्नले विश्वविद्यालय र यस मातहतका क्याम्पसले नै विषको व्यापार बढाएको यथार्थ छर्लंग पार्छ ।

त्यो भारतीय प्रस्तुति हेर्दा माटो र खानामा थपिँदै गएको विषले हाम्रो जीवनका धेरै आयाममा यति छिट्टै र यति गहिरो संकट निम्त्याउला भन्ने लागेको थिएन । चितवनको क्यान्सर अस्पताल, सहरी क्षेत्र र यसैसँग जोडिएको पहाडको छोटो हिँडाइ र भेटघाटमै यहाँको माटो र खाना दुवै यति धेरै संकटग्रस्त भइसकेछ भन्ने थाहा पाउँदा मैले त्यो भारतीय कार्यत्रम सम्झिरहें । खास गरी क्यान्सर अस्पतालमा मानिसको घुइँचो देखेर राजस्थान जाने यात्रुले सोधेको प्रश्न झलझली याद आयो ।

अहिले बिरामी र कुरुवाको भीडले सबैतिरका अस्पतालहरूमा मेला जस्तै छ । यस्तो मेला भने भरतपुरको क्यान्सर अस्पतालमा सबैभन्दा ठूलो छ । सँगै, यहाँको सहरी क्षेत्र होस् या गाउँ, सबैतिर क्यान्सरलगायतका नसर्ने दीर्घरोगीहरू भेटिन्छन् । स्थानीय बासिन्दाहरूले केही वर्ष पहिलेसम्म यो अस्पतालमा बाहिरबाट मात्र उपचार गर्न आउँछन् होला भन्ठानेको तर अचेल यस्ता बिरामी आफ्नै गाउँघरमा बढिरहेको कुरा गर्न थालेका छन् । आफैंले नभोगेका धेरै मानिसलाई यो कुरा पत्यार नलाग्ला तर केही वर्षयता नसर्ने दीर्घरोग वास्तवमै व्यापक बन्दै गएको छ । प्लास्टिकको झोलामा सेता ट्याब्लेट नभएको घर पाउन मुस्किल छैन । यो सब खानामा मिसिएको विष र अहिलेको जीवनशैलीको प्रभाव हो । विडम्बना, हामी यस्ता ट्याब्लेटका भरमा बाँच्ने पुस्ता बनेका छौं र यही नियति भविष्यको पुस्तालाई जिम्मा लगाउन उद्यत छौं ।

माटो, वातावरण र प्रकृतिमा थोपरिएको मन्द विष नै अहिले हाम्रो जीवनको मुख्य संकट हो । यही कुरा विचार गरी हाम्री तीसवर्षे विवाहित छोरीले आफूले भन्दा बढी दुःख पाउने देखेर बच्चा नजन्माउने निर्णय गरेको सुनाउँदा मलाई धेरै अचम्म त लागेन, तर सबैले यस्तै सोच्ने दिन आयो भने यो परिस्थिति निम्त्याउन सघाउने हाम्रो पुस्ताले के जवाफ दिने होला भन्ने कुराले पिरोलिरह्यो ।

माटो र खाना विषले भरिँदा संकट हाम्रो दैलोमै आइसकेको योभन्दा बलियो प्रमाण अर्को के चाहिएला र ? आगामी पुस्ताका मानिसले आजभन्दा बढी दुःखकष्ट झेल्नुपर्नेमा अब धेरै द्विविधा छैन । अहिले नै प्रकृतिमा देखिएका केही उत्ताउला प्रवृत्तिहरूले, खास गरी जलवायु परिवर्तन, कोभिड–१९ र खानामा विषका कारण फैलिरहेका नसर्ने दीर्घरोगहरूका कारण निकट भविष्यमै मानव सभ्यतामै संकट आउने सम्भावनाले सबैलाई आतंकित तुल्याएको छ । तर यसलाई सम्बोधन गर्न जिम्मेवार हुनुपर्ने हाम्रो राजनीतिक नेतृत्व निरोझैं बाँसुरी बजाएर बसिरहेको छ ।

त्यसो भए अब के गर्ने त ? पहिलो कुरा, फेरि पनि अहिले देखिएका संकटहरूको संकेतले हामीलाई सतर्कतापूर्वक बिराएको बाटो पहिल्याउने र मानवीय विवेक सच्याउने आधार बनाउने मौका दिएको छ । यसको सबैभन्दा बलियो अवसर पनि हामीलाई नै छ किनकि अन्य क्षेत्र र समुदायका तुलनामा हामीले अरूले बिराएर धेरै काटिसकेको बाटो धेरै हिँडिसकेका छैनौं । यो विकासे यात्रामा हामी सबैभन्दा पछाडि छौं । यो नै हामी नेपालीको उन्नत मानव समाजको अगुवा बन्ने अवसर हो । विडम्बना, हामी यो मौकासमेत गुमाउन उद्यत छौं ।

दोस्रो, यसबारे कुरा गर्नुअघि हामीले तय गर्न खोजेको समृद्धि–यात्राबारे प्रस्ट हुन जरुरी छ । यो यात्राको जगमै ठूलो खोट छ । यसको मूल कारण नबुझी यसलाई फेर्ने दृष्टिकोणसमेत बन्दैन । मुख्य कुरा, खेतीपाती र खाना जोगाउने पक्षमा उभिन आँट गर्ने राजनीतिक नेतृत्वलाई साथ दिएर मात्र हामीले बिराएको बाटो फेर्ने यात्रा सुरु हुन्छ । तर यसको व्यावहारिक अभ्यास गर्न खानामा आत्मनिर्भर हुनु पहिलो सर्त हो ।

तेस्रो, आज हामीले जस्तो बाटो हिँडेर समृद्ध हुने सपना बाँडेका छौं, त्योबाटै गलत छ । यो अहिलेको पुस्तामा फैलिएको क्यान्सर हो भने भावी पुस्ताका लागि भयंकर त्रासदी । आधुनिक हुने नाममा बाँडिएको मृगमरीचिका मात्र हो यो । यसलाई प्रश्न बनाउन नदिन सफल भएको राजनीतिक नेतृत्वले त अहिलेसम्म सबै जित्यो तर हामी आम नागरिक भने सबै हिसाबले हार्‍यौं । यस्तो नेतृत्वले थोपरेको नियतिलाई निकम्मापन, निरीहता र पलायन जे भनेर अर्थ्याए पनि हुन्छ । यस्तो नेतृत्वले विषयुक्त माटो र खानाले निम्त्याएको आसन्न संकटको सामना गर्ने र यसलाई सच्याउने आँट र सुझबुझ राख्छ भन्ने आशा गर्न सकिँदैन ।

देखासिकी र परनिर्भरतामा बाँचेको राजनीतिको यो पुस्ता तत्कालै फेरिएर विवेक फर्किन्छ भन्ने लाग्दैन । समाजको अगुवाइ गर्नुपर्ने राजनीतिक नेतृत्वले बजारमुखी दलाल अर्थतन्त्रमा भासिएर आफ्नो सुझबुझ हराउँदै गएको छ । यसको नेतृत्व विज्ञान र विज्ञताको अहंकारले अन्धो हुँदै गएको विवेकहीन मझौला कदको वैश्विक विद्वत् वर्गको प्रतिनिधिमूलक जमातले गरिरहेको छ । कुनै चमत्कार भएर यो विवेक फर्केछ भने त्यही दिन यी सबैलाई नमन गरौंला ।

यसरी हेर्दा, मुख्यतः, अहिलेकै जस्तो समृद्ध हुने परम्परागत सोच र तरिकाले प्रकृतिका फेरिएका व्यवहार सच्याउन सकिँदैन । यस अर्थमा, यो संकटको सम्बोधन गर्ने र यी सबै सम्हाल्ने जिम्मा नयाँ पुस्ताको काँधमा आएको छ । यसलाई सच्याउन सघाउने जिम्मेवारी भने हामी सबैको हो । तर सँगै हेक्का राख्नुपर्ने के छ भने, अहिलेको नेतृत्व पुस्ता जसले समग्रतामा सबै क्षेत्रबाट पलायन र समर्पणको बाटो समातेर नेपाली समाजलाई यो गतिहीनतामा पुर्‍यायो, यस्तो चाला भएको अगुवाको उत्पादन र पुनरुत्पादनको सहयोगी बन्यो या मूकदर्शक बनेर दिन काटिरह्यो र जानी–नजानी भावी पुस्तालाई उज्ज्वल भविष्यको बाटो देखाउने शिक्षा, दीक्षा र मानवीय मूल्यमान्यता सिकाउन छोडेर विकासे अलमलमा पारिरह्यो, अब पनि राजनीतिको बागडोर यसैले सम्हाल्न सक्छ भनेर पत्याउनु मूर्खताबाहेक केही हुन सक्दैन ।

अन्त्यमा, अब खाना र खेतीपाती सच्याउन समय छँदै सचेततापूर्वक सार्थक प्रयत्न नगर्ने हो भने धेरै ढिलो भइसक्नेछ । यो कुराको भेद थाहा पाउँदै गरेका देश, समुदाय र व्यक्तिहरू अझै पनि माटो र खाना विषमुक्त बनाउन सकिन्छ भनेर निरन्तर कोसिस गरिरहेका छन् । अरूको कुरै छाडौं, भारतका प्रधानमन्त्रीले गत महिना जुन ५ मा माटो बचाउन गरेको आग्रह मननयोग्य छ । आफ्ना परिवेश र चेतनाका आधारमा क्रमिक सुधार र बृहत् रूपान्तरणका प्रयासहरू थालेका यस्ता उदाहरण सबैतिर छन् । तर हाम्रो राजनीतिक वृत्त र समाजमा भने यो चेतनाको लहर अझै आएको छैन ।

तसर्थ विषमुक्त खेतीपाती र खानाका पक्षमा उभिन तयार नेतृत्वलाई मात्र अब भरोसा गर्न सकिन्छ । यस्तो नेतृत्वले मात्र हामीमा आशा जगाउन सक्छ । यदि खेतीपाती र खाना हाम्रो प्राथमिक सवाल होइनन् भने बेग्लै कुरा, अन्यथा खानाका लागि खेतीपातीको विकल्प के हो ? यसको जवाफ जिम्मेवार राजनीतिक नेतृत्वले दिने बेला भएको छ । यसको जवाफ खोज्नु नै हाम्रो उन्नतितर्फको पहिलो पाइला हो ।

प्रकाशित : श्रावण १८, २०७९ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्

खेतीपाती रूपान्तरणको यात्रा

पछिल्ला सात दशकमा राजनीतिक व्यवस्थाहरू फेरिए तर कृषि प्रणाली जस्ताको तस्तै छ । यसलाई हेर्ने सोच फेरिएन ।
कृष्णप्रसाद पौडेल

जलवायु परिवर्तन र वातावरण प्रदूषणका कारण बहुसंख्यकको जीवनमा संकट गहिरिँदै छ । यसले समग्र जीवनपद्धति थप जोखिमपूर्ण र असुरक्षित बनाइरहेको छ । सबैभन्दा बढी खेतीपातीमा आश्रित विपन्न समुदाय संकटको भुमरीमा छन् । उनीहरूको जीवन दिनदिनै कष्टकर बन्दै गइरहेको छ । सँगै खेतीपातीमा कृत्रिम रसायन र घातक विषका कारण माटो र मानव स्वास्थ्यमा समेत ठूलो संकट छ ।

कृषिप्रधान देशका आम नागरिकले आयातित र पत्रु खानेकुराबाट गुजारा गर्नु नियति बनेको छ । किसानले खेती नगरे हामी सबै भोकै पर्छौं । उद्यमी किसानले खेती धान्न नसकेर पलायन भएसँगै खानेकुराको आयात थामी नसक्नु भएको छ ।

बाह्य स्रोतमा भर पर्दै जाँदा स्थानीय उत्पादन घटेको घट्यै छ । लागत बढेसँगै कृषिउपज महँगो पनि भएको छ । त्यसमाथि बिचौलिया र दलालको एकाधिकारले कृषिउपजले बजार पाउन नसकिरहेको परिस्थिति हामीमाझ छँदैछ । यसले खेतीपाती र खानेकुराको नियन्त्रण परचक्रीका हातमा मात्र पुर्‍याएको छैन, दिनदिनै महँगो र विषाक्त पनि भएको छ । समय छँदै यस्तो परिस्थितिमा ध्यान नदिने हो भने खेतीपाती र खानाकै कारण हाम्रो र हाम्रा सन्ततिको दुर्दिन नआउला भन्न सकिन्न ।

हामीलाई थाहै छ, विगत ४ दशकदेखि नेपालमा खेतीपाती निरन्तर ओरालो लागिरहेको छ । यसको मुख्य कारण कृषि सपार्ने सोच र ढाँचा हाम्रो विशेषता अनुरूपको नभएर हो । कृषि उन्नत बनाउने जिम्मेवारी र जवाफदेही लिनुपर्ने राजनीतिक तथा प्रशासनिक नेतृत्वले यथार्थलाई स्विकारेर सल्टाउनुभन्दा अहिलेकै जस्तो विषाक्त कृषि प्रवर्द्धन गर्नमै रमाइरहेको देखिन्छ । यस्तो कृषिलाई मलजल गरेबापत आउने कमिसनले उनीहरूको तत्काल गुजारा त चलेको होला तर हाम्रो भविष्य के होला ?

सामाजिक तथा आर्थिक परिवर्तनसँगै प्रविधिमा आएको व्यापक फेरबदललाई आत्मसात् गरी कृषिको उपयुक्त ढाँचा बनाउन नसक्नाले नै आज यो अवस्था आएको हो । अनि मैदानी कृषिलाई हाम्रो भूगोल तथा पर्यावरणीय विशेषतामा जस्ताको तस्तै अपनाउन खोज्दा समस्या झनै बल्झेको हो । राजनीतिक नेतृत्वमा उन्नतिको खाका–दृष्टिकोण नभएपछि हुने यही हो । अहिले स्थानीय आवश्यकता र विशेषता अनुरूपको खेतीपाती प्रवर्द्धन गर्नेभन्दा ‘विकासे’ राम्रो भन्ने उपनिवेशी हरित क्रान्तिको नक्कल गरी कृषिलाई आधुनिकीकरण गर्ने ढाँचा हावी छ । र, यही हाम्रो खेतीपाती तहसनहस हुँदै जाने मूल कारक हो ।

सँगै, अहिले सबैतिर भइरहेको प्रकृतिको दोहन र खनिज ऊर्जामा आधारित भौतिक विकासले मानवीय विकासका अन्य आयामलाई ओझेलमा पारेको छ, जसको प्रभावबाट कृषि क्षेत्र पनि अछुतो छैन । यस्तो एकलकाँटे, असम्भव र गन्तव्यहीन विकासे यात्राले सिंगो मानव सभ्यता नै संकटोन्मुख छ । कृषि सपार्ने जिम्मा लिनुपर्ने नेतृत्वले प्रकृतिसम्मत कृषि प्रणालीलाई उन्नत बनाउने, कुरा बुझ्ने र व्यवहार गर्ने सुझबुझ र विवेक गुमाएका छन् । यस्तो किन भयो ?

विगत ७ दशकमा राजनीतिक व्यवस्था परिवर्तनका ठूल्ठूला आन्दोलन भए । यसैको बलमा राजनीतिक प्रणालीहरूसमेत फेरिए । तर कृषि प्रणाली जस्ताको तस्तै छ । यसलाई हेर्ने सोच फेरिएन । विडम्बना, खेतीपाती सहज बनाउन सामान्य सुधारका कामसमेत भएनन् । बरु आफ्नो र आसेपासेको स्वार्थअनुरूपका कृषि कार्यक्रम ल्याइए । आम किसानले पाउनुपर्ने सेवा सुविधालाई ध्यान दिइएन । यो प्रवृत्ति खानेकुरा र खेतीपाती उन्नत बनाउने विषयमा मात्र सीमित छैन । आर्थिक–सामाजिक उन्नतिका लागि बाटो पहिल्याउनेसँग पनि जोडिएको छ । किसानका नाममा धेरैले गोहीका आँसु झारे तर खेतीपातीका लागि सक्षम बनाउन कुनै सार्थक प्रयास भएन । उल्टै उनीहरूकै नाममा बिचौलियाहरू फस्टाए ।

विडम्बना, कृषिको राजनीतिक तथा प्रशासनिक नेतृत्वले कृषि सपार्न आवश्यक सामान्य ज्ञान र सीप बढाउने चेष्टा नै गरेनन् । स्थायी सरकार भनिने परम्परागत ढर्राको कृषि कर्मचारीतन्त्रलाई समयसापेक्ष पुनर्गठन गर्न पहल गर्नुको साटो निहित स्वार्थ पूरा गर्न लागिरहे । हाम्रो कृषि उन्नत बनाउने सपनाको सबैभन्दा ठूलो बाधक यही हो । कृषिक्षेत्र उन्नति अभियानको अगुवाइ गर्ने राजनीतिक तथा प्रशासनिक नेतृत्व निकम्मा र अक्षम हुँदै गएको बलियो प्रमाण पनि हो यो ।

कृषिको पुनर्जीवनका लागि नीतिगत निर्णय, कार्यान्वयन, अनुगमन तथा पृष्ठपोषण गर्ने संसद्देखि सरकारसम्म सबै मुख्य थलो निरीह भएका छन् । नेपालको खाना र खेतीपाती सपार्न अहिलेको जस्तो शैलीले हुँदैन । कृषि रूपान्तरणको दृष्टि, अठोट र क्षमतासमेत नभएको नेतृत्वले यो अहं भूमिका पूरा गर्न सक्दैन भन्ने घामजत्तिकै छर्लंग भैसकेको छ । कृषि सपार्ने सुझबुझ गुमाउँदै गएको नेतृत्व माफियातन्त्रमा चुर्लुम्म डुबेको छ । कृषिलाई खानेकुराभन्दा पनि पैसा फलाउने अर्थमा मात्र बुझेको देखिन्छ । नत्र खानेकुरामा कृषि रसायन र विष मिसाउनमै किन जोड दिन्थे र ? यस्तो बुझाइ बोकेको नेतृत्वको प्रवृत्तिबाट दीर्घकालीन उन्नति त कुरै छाडौं विद्यमान संकट सामना गर्ने विश्वाससमेत गर्न सकिँदैन ।

अब आत्मनिर्भर खेती प्रणालीलाई पुनर्जीवित गर्ने, विकासलाई प्रकृतिसम्मत र स्थानीयतामा आधारित बनाउँदै लैजाने र यसको मुख्य कर्ता राजनीतिक र प्रशासनिक नेतृत्वको पुनःसंरचना नगरी खाना, नाना, छाना, शिक्षा, स्वास्थ्यजस्ता प्राथमिक सवाल सम्बोधन हुँदैनन् । यो सम्भव बनाउन सामाजिक पुनर्जागरण र प्रकृतिको पुनर्निर्माण सँगसँगै लैजानु अनिवार्य छ । यसले मात्र नेतृत्वको प्रवृत्ति, प्रकृति र हाम्रो जीवनको मूल आधार खेतीपाती पुनर्जीवित हुँदै जान्छ । अब खानाका लागि गरिने खेतीपातीलाई प्रवर्द्धन गर्न मानिस र प्रकृतिको अन्तरसम्बन्धको विवेकसम्मत र व्यावहारिक ढाँचा बनाउने चुनौतीलाई स्विकार्दै नयाँ खाना र खेतीपातीको संस्कृति निर्माण गर्नु अपरिहार्य भैसकेको छ । यी सबै पक्षलाई सम्बोधन गर्न अब राजनीतिक तहमै हस्तक्षेप गर्नुपर्ने भएको छ । यसका लागि राजनीतिक दलहरूलाई जिम्मेवार र जवाफदेही बनाउँदै संसद् र सरकारको भूमिका प्रभावकारी बनाउन लोकतन्त्रलाई सुदृढ गर्नुपर्ने देखिन्छ । सक्षम र प्रतिबद्ध अगुवाहरूले राजनीतिक हस्तक्षेप गर्ने अठोट गर्नुपर्छ । सँगै, अहिलेको खेतीपातीको यो अवस्था फेर्न आतुर जमातले यस्ता उत्साही अगुवालाई प्रोत्साहित गर्न चुक्नु हुँदैन । आम समुदायले यो प्रक्रियामा साथ दिने आँट गरे राजनीतिक दल र नेतृत्वको प्रवृत्ति सुधार्न सम्भव छ । अन्यथा हाम्रो जीवन थप दुरूह बन्नेछ सँगै सन्ततिको भविष्य पनि उज्ज्वल हुने छैन ।

आगामी संघ–प्रदेशको निर्वाचनमा कृषि सपार्नर् प्रतिबद्ध पार्टी वा समूहका उमेदवारलाई जिताएर सुधार प्रक्रियाको थालनी गर्न सकिन्छ । सँगै, हामी जनताले पनि कृषि क्षेत्रमा भैरहेको कुशासन र बेथिति नसहने अठोट गर्ने हो भने अक्षम र अयोग्य व्यक्ति राजनीतिको अग्रपंक्तिमा पुग्दैनन् । राजनीतिक दलहरू पनि सक्षम व्यक्ति चयन गर्न बाध्य हुनेछन् ।

सबै व्यक्ति सबै कामका लागि उत्तिकै सक्षम हुँदैनन् । कस्ता व्यक्तिलाई के कामका लागि छनोट गर्ने भन्ने नेतृत्वका लागि सबैभन्दा पेचिलो प्रश्न बन्ने गरेको छ । अपवादबाहेक राजनीतिमा हस्तक्षेप गर्न सक्षम र प्रतिबद्ध नेतृत्व राजनीतिक आन्दोलनले नै जन्माउने गर्छ । हाम्रो समाजमा पनि यस्ता अगुवाको कुनै कमी छैन । राजनीतिमा वैचारिक र इमानको खडेरी परिरहेको बेला समाज रूपान्तरणको राजनीतिक चेत, विषयको ज्ञान–सीप र अभ्यासले भएको उम्मेदवारको उपस्थितिले मात्र पनि रूपान्तरणको आस जगाउन सक्छ ।

‘अस्ताउँदो सूर्यले जगलाई सोध्यो- म त अस्ताउँदै छु तिमीलाई उज्यालो कसले देला ? यस्तो प्रश्न सुनेर सारा जग मौन थियो । एउटा माटाको दियोले झुकेर भन्यो- मलाई जिम्मा दिनुस् जति सक्छु, गर्छु ।’ प्रसिद्ध कवि रवीन्द्रनाथ टेगोरको यो कविताले भनेझैं हामीलाई आशा जगाउने दियोको प्रतीक्षा छ ।

हामी सबैलाई थाहै छ, खानेकुरा नभए हाम्रो जीवन रहँदैन । किसानले उत्पादन नगरे खानेकुरा हाम्रा भान्सासम्म आउँदैन । यो मर्म बुझ्नेले मात्र हामी सबैको भरोसा जगाउन सक्छ । यस्ता भरोसायोग्य, सक्षम र प्रतिबद्ध अगुवाको अहिले सबैतिर खोजी भैरहेको छ । माटाको दियो बनेर बल्न तयार अगुवालाई राजनीतिक हस्तक्षेप गर्न साथ दिएर मात्र कृषि रूपान्तरणको यात्रा सुरु हुन्छ । तसर्थ, अब ढिला नगरी यस्तो माटाको दियोमा तेल हालौं, सँगै यसलाई हावाबाट जोगिन साथ दिऔं । अनि मात्र हाम्रो राजनीतिक पुनर्जागरणसँगै खेतीपातीको रूपान्तरण सुरु हुन्छ ।

प्रकाशित : असार १०, २०७९ ०८:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×