कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

उफ्, यो स्त्रीद्वेष !

हिंसापीडितलाई नै आरोप लगाएर मुद्दालाई जति विषयान्तर गर्न सक्यो, त्यति पीडकलाई उन्मुक्तिको ‘क्लिन चिट’ दिन सजिलो हुने भएरै स्त्रीद्वेष कम हुनेतिर होइन, झन् मौलाउने दिशातिर मुखर छ ।
सरिता तिवारी

स्त्रीद्वेष तपाईं–हामी बाँचिरहेको पुलिंगकेन्द्री समाजले लामो समयदेखि पालेको एउटा विषाक्त सोच हो, रोग हो । यसले महिलामाथिका अन्याय र हिंसालाई सामान्यीकरण मात्रै गर्दैन, हिंस्रक वृत्ति र त्यसले निम्त्याउने खतरनाक परिणामलाई समेत ‘आम’ बनाइदिन्छ ।

उफ्, यो स्त्रीद्वेष !

स्त्री शरीर र स्त्रीका संवेदनामाथि निर्बाध उपभोगको भाष्य बुनेर त्यसैलाई आदत बनाइआएको ‘परम्परा’ को कठोर परीक्षण गर्न तयार नभई जोकोहीले स्त्रीद्वेष भनेको के हो भनी बुझ्न गाह्रो छ । जे चल्दै आएको छ, त्यसैलाई सही ठान्ने स्थितिमा महिलामाथिका सबै प्रकारका पूर्वाग्रह, शोषण र हिंसा पनि ‘सही’ नै हुन्, बरु महिला आफूले नै सहनुपर्थ्यो वा नबोल्नुपर्थ्यो, न्याय नखोज्नुपर्थ्यो भन्ने आशयमा जेजे सोचिन्छ र व्यक्त गरिन्छ, त्यो सबै स्त्रीद्वेष हो ।

स्त्रीद्वेषको सामान्य अर्थ हुन्छ- महिलाप्रतिको पूर्वनिर्धारित वा तत्कालीन घृणा र अपमान । जबजब यौनजन्य या अन्य विषयमा पुरुष र महिलाका बीचमा बसेर ‘न्याय’ को तराजु समाउनुपर्छ, त्यतिखेर महिला भएकैले एउटा पक्ष स्वतः दोषभागी ठहरिने र पुरुष भएकैले अर्को पक्षलाई उन्मुक्ति दिइने परम्परित सोच नै हो स्त्रीद्वेष । यो सामन्ती मनोविज्ञान बोकेका व्यक्तिहरू र समाजको मूल चरित्र नै हो । घरबाहिर निस्कनासाथ महिलाको इज्जत र अस्तित्वमाथि संकट आउँछ र त्यस्तो संकटको दोषी स्वयं महिला नै हो भन्ने तर पुरुष भने बीसौं ठाउँमा विचलित हुँदा पनि उसलाई ‘मर्दानगी’ को शानदार शिरपोस लगाइदिने संस्कृति नै स्त्रीद्वेषको परिपोषक (प्रमोटर) हो । पुरुष हो, त्यसैले उसलाई जुनसुकै स्तरमा ‘बिग्रने’ जन्मसिद्ध छुट छ तर महिला भएकैले उसलाई भने पाइलैपिच्छे प्रश्नको साङ्लोले बेरिनुपर्छ भन्ने सोच भएका मानिसहरूले त्यसविरुद्ध उभिने महिलालाई सकेसम्म एक्ल्याउँछन्, गलाउँछन्, थकाउँछन् । कतिपय अवस्थामा त ‘हिंसाविरुद्ध बोल्नु नै मेरो दोष पो हो कि ?’ भन्ने अवस्थामा समेत पुर्‍याइदिन्छन् ।

पंक्तिकारकै अनुभवले समेत यही सिद्ध गर्‍यो । ‘गम्भीर फौजदारी अपराध’ भएरै पनि हदम्याद निख्रेपछि कालान्तरमा न्यायिक पहल गरिएका मुद्दाहरूमा पीडितको बेहाल झन् कुन स्तरमा हुन्छ ! सुनुवाइ गर्ने आधिकारिक ठाउँको अभावका कारण ‘पीडितकै अनुनयमा न्यायको सहजीकरण गरिदिने’ भनेर बसेका ‘मध्यस्थ’ हरूबाटै कति ठूलो मनोवैज्ञानिक दबाब महसुस हुन्छ ! ‘पीडितलाई आपत् पर्दा जोखिम मोलिदिएको’ मूल्यमा सत्य–असत्य निर्क्योल गर्न नसक्ने ‘मध्यस्थहरू’ का स्थितिजन्य सीमाबीच ‘सर्भाइभर’ कति एक्लो र निरुपाय बन्छ ! तपाईं विश्वास गर्नुस्, यस्तो भोगाइ साँच्चिकै ‘डेड्ली’ हुन्छ; आफ्नो सम्पूर्ण अस्तित्व र विश्वास छङ्गाछुर भीरको डिलमै पुगेर फर्केजस्तो डरलाग्दो ! त्यसमाथि आरोपितको ‘भरभराउँदो भविष्य’ र अझ थपमा ‘आन्दोलनको रक्षा’ समेतलाई विचार गरेर न्याय खोज्ने पहललाई नै पक्षाघातमा पारिदिने सम्भावनासँग लड्दै मुद्दा किनारा लगाउन कति ठूलो आत्मिक बल चाहिएको होला ? यी सबै कुरा पनि स्त्रीद्वेषी दृष्टिसँगकै लडाइँ होइनन् र ?

०००

यौन हिंसाका मुद्दामा आरोपितका परिवार र नजिकका आफन्त वा साथीभाइ आरोपको प्रतिवाद गर्न उभिँदा स्त्रीद्वेषकै टेकोमा अडिएर बडो स्वादसँग ‘भिक्टिम ब्लेमिङ’ गरिरहन्छन् । त्यसलाई पत्याइदिने पनि ठूलो सामाजिक वृत्त छ जहाँ सही वा गलतको विवेकसंगत (र्‍यासनल) लेन्स र उक्त लेन्सको उपयुक्त कोणबाट गरिने मसिनो परीक्षण जरुरी नै ठानिँदैन । बस, तराजु एकतर्फ ढल्कायो र ‘न्यायदाता’ बन्यो । न पीडितको बयान र प्रमाणको परीक्षण गर्ने विवेक, न आफ्नै दृष्टि र धैर्य जाँच्ने उदारता । यी केही पनि चाहिएन ।

हिंसापीडितलाई नै आरोप लगाएर मुद्दालाई जति विषयान्तर गर्न सक्यो, त्यति पीडकलाई उन्मुक्तिको ‘क्लिन चिट’ दिन सजिलो हुने भएरै स्त्रीद्वेष कम हुनेतिर होइन, झन् मौलाउने दिशातिर मुखर छ । अरूको त कुरा छाडौं, पितृसत्ता र संरचनात्मक लाभले तय गर्दै आएको लैंगिक शक्ति–सम्बन्ध र महिलामाथिको ऐतिहासिक उत्पीडनको बहस गरेर नथाक्नेहरूले, यौन हिंसामाथि शून्य सहनशील छौं भन्नेहरूले समेत घुमाउरो शैलीमा यही टेको उपयोग गरिरहेको देखिन्छ । बहसमा आएका एकदुई मुद्दामा मात्रै होइन, चर्चामा नआएका अनेकौं मुद्दामा यस्तै भएका र गरिएका उदाहरण छन् ।

चितवनको माडीस्थित सोमेश्वर उच्च माविमा गत फागुन २९ गते यौन उत्पीडनविरुद्धको प्रतिकारका क्रममा पन्ध्र वर्षकी किशोरीले नेतृत्व गरेको विद्यार्थी समूहले आरोपित शिक्षकलाई मोसो दल्न खोज्यो । स्थानीय बासिन्दाले शिक्षकलाई जोगाए तर सँगसँगै धेरैले पन्ध्र वर्षकी नाबालक ‘सर्भाइभर’ मा समेत चरित्रदोष देखे, यहाँ शब्दले व्यक्त गर्नै नसकिने घीनलाग्दा ‘गसिप’ चलाउन भ्याए । ‘सर्भाइभर’ को हाँसिरहने–बोलिरहने स्वभावलाई लिएर ‘केटी नै उत्ताउली, चम्कौली’ भनेर टिप्पणी गर्ने मान्छेहरूले शिक्षणजस्तो मर्यादित पेसाको वयस्क पुरुषमाथि भने प्रश्न गर्न आवश्यक ठानेनन् । ‘उजुरी गरे तिम्री छोरीको बिहे हुनसमेत गाह्रो हुन्छ, परिवारकै बेइज्जत हुन्छ’ भनेर अभिभावकलाई नै चेतावनी दिने काम पनि गरियो । त्यसैको आतंकले प्रहरीले उजुरी दिन बोलाउँदासमेत चौकीमा सम्पर्क नगरी बसेका ‘मोसोकाण्डका दोषी’ नानीहरू अन्ततः ठूलै आँट र साहस जुटाएर न्यायिक प्रक्रियामा पुगे । अहिले मुद्दा चितवन जिल्ला अदालतमा विचाराधीन छ । पछिल्लो समय ठीक यस्तै हिंसापोषक चरित्र कतिपय ‘सामाजिक न्यायका पक्षधर’ भनाउँदा र स्वयं ‘सर्भाइभर’ रहिसकेका तप्कामा समेत देखिएपछि एउटा कठोर निष्कर्षमा पुग्नुपर्ने भएको छ- यौनहिंसा विषयक प्रश्नमा आम समाजजस्तै क्रान्तिकारी दाबी गर्ने वर्गसमेत ‘सापेक्ष’ छ । आफूवरिपरि आएर प्रश्न ठोक्किएपछि प्रतिरक्षाको तर्कमा सबैले लगाउने साझा टेको रहेछ, स्त्रीद्वेष र उल्टै हिंसापीडितमाथि प्रत्यारोपको वर्षा । यो निर्मम स्थितिबाट भागेर न्यायको बहस र ‘आन्दोलन’ भन्ने जिनिसको डेग कसरी अगाडि बढ्ला ? कोही सोच्न तयार भएजस्तो लाग्दैन ।

कसैले आफूमाथि अन्याय भयो भनेर न्यायको अपिल गरे ‘त्यसलाई ठिक्क पर्‍यो !’ भन्दै परपीडनमा रमाउने ‘स्याडिस्ट’ वर्गसँग त स्त्रीद्वेषका ‘रेडिमेड’ तर्क नै हुन्छन् । उनीहरू त्यस्ता तर्कलाई सबैजसो मुद्दामा फिट गर्छन् र केही दिनलाई पुग्ने गरी निकृष्ट परपीडक शब्द–खेलले मनोरञ्जन लिन्छन् । कतिपयचाहिँ हिंसापीडितसँगका पुराना रिस, इबी र ईर्ष्याको एकमुस्ट तुष साध्नैका लागि ‘भिक्टिम ब्लेमिङ’ गर्न उत्रन्छन् । कतिपय भने अरू नै कोहीसँग अरू नै कुनै मुद्दामा आफूले सामना गर्नुपरेका स्थितिको मूर्त–अमूर्त कुण्ठा फत्ते गर्न स्त्रीद्वेषी विषवमन गर्छन् । यी सबै जानी–नजानी प्रकारान्तरले पीडकलाई ‘क्लिन चिट’ दिने मापकसमेत बन्न सक्छन् । सञ्चारमाध्यममाथिको पहुँच र वर्चस्वलाई दुरुपयोग गरेर ‘सर्भाइभर’ को न्यायिक अपिललाई नै अतिरञ्जना र रहस्यको सुरुङभित्र छिराइदिने कुत्सित मनोदशाका मानिसहरू त हिंसाका खुला प्रमोटर नै भए । त्यसैलाई आधार बनाएर हिंसापीडितको बयान नै नसुनी, नबुझी झम्टनेहरू कुन तहका ‘ह्र्यासर’ हुन्, सचेत मानिसहरूको पंक्तिले आफैं चिन्छ ।

सामन्ती संरचना र सोचले त महिलालाई हेय र ‘सेकेन्ड सेक्स’ (अधीनस्थ लिंग) ठान्छ नै । शक्ति र वर्चस्वको बनीबनाउ सांस्कृतिक सम्बन्धभित्र युगौंअघिदेखि ‘जिताहा वर्ग’ मा रहेको पुरुषलाई महिलाभन्दा माथि नै देख्नुपर्ने रणनीतिक दाउपेचको सामाजिक अभिव्यक्तिस्वरूप कहिले स्त्रीद्वेष र कहिले स्त्रीमाथि ‘उपयोगको राजनीति’ प्रकट भइरहेकै हुन्छन् । तर राजनीतिक सचेतनाको विस्तार र आन्दोलनका बलले निर्माण भएको ‘क्रान्तिकारी चेत’ भित्र पनि लुप्त रूपमा स्त्रीद्वेषको सामन्ती मनोवृत्ति जब्बरसाथ बाँचेको देखिनुचाहिँ विडम्बना हो । ‘आन्दोलनको रक्षा’ वा निश्चित विचारधाराको साख जोगाउने भन्दै महिलामाथिका अन्याय र हिंसालाई सामान्यीकरण गर्न हिँड्ने, त्यसलाई पुष्टि गर्न शब्दजालको सहारा लिने कुरा यद्यपि नयाँ भने होइनन्; बेलाबेला पुनरावृत्ति भइरहेका मात्रै हुन् । यो प्रवृत्तिलाई निस्तेज गर्न नसके ‘न्याय माग्ने’ अदना महिलाका कारण होइन, स्त्रीद्वेष र भिक्टिम ब्लेमिङका तर्कलाई जायज ठहर गर्ने तुच्छ ‘रणनीति’ का कारण आन्दोलन संकटमा पर्छ ।

भाषा, संस्कृति, साहित्य र विचारपद्धति । यति चार चीजलाई समाज–संरचनाका आधारभूत सहतत्त्व मानिन्छ । समाजको सामूहिक अभिव्यक्ति के हुने, यिनै चार कुराले तय गर्ने हुन् । यस अर्थले यी मनोसामाजिक मेसिनका ‘नटबोल्ट’ हुन् । यी नटबोल्टले गाँसिएको मेसिन कसले, कसरी र कहाँबाट, कसको हितमा चलाउँदै आएको छ भनेर खोज्दा हामीकहाँ एक से एक ‘समाजविज्ञानी’ हरूबाट प्रायः केही हजार वर्षयताको सामन्ती युग र पछिल्ला पाँच सय वर्षयताको पुँजीवादलाई नै भएभरको दोष थोपर्ने र व्यक्ति वा व्यक्तिहरूको समूहलाई चोख्याइदिने चलन छ । सामाजिक न्यायका पक्षधरहरूले समेत यसरी व्यक्ति चोख्याउन धेरैपल्ट ‘हजारौं–सयौं वर्ष पुरानो’ संरचनातर्फ नै औंला उठाइदिने गरेका उदाहरण प्रशस्त छन् । अमूर्त संरचनालाई गाली गर्न र धारेहात लगाउन जति सजिलो छ, मूर्त व्यक्तिमाथि प्रश्न उठाउन र उत्तर खोज्न उति नै कठिन छ भन्ने कुरालाई पछिल्ला बहसहरूले समेत पुष्टि गरेकै छन् ।

व्यक्तिका त्रुटि र अपराधहरूलाई कसरी हेर्ने भन्नेमा स्वयं ‘क्रान्तिकारी’ कित्ता नै पूर्वाग्रही बन्न सक्छ भने अरू बन्न किन नपाउने ? ठूलो राजनीतिक परिवर्तनपछि पनि समाजमा स्त्रीद्वेष र जातद्वेषजस्ता विषाक्त सोच जबर्जस्त रूपमा रहिरहनुका पछाडि यही कारण छ । यस्तो द्वेष कसैले ‘भोकल’ रूपमा नग्न शब्द र छुद्र टिप्पणीले व्यक्त गर्छ, कसैले ऐन–बेलामा मुख नखोलेर मौनताबाटै व्यक्त गर्छ र कसैले ‘अश्वत्थामा हतः इति नरो वा कुञ्जरो वा’ शैलीमा व्यक्त गर्छ । पहिलो शैली स्पष्ट छ र सबैले चिन्ने गरी देखिन्छ । दोस्रो शैली अपनाउनेहरू, ऐन–बेलामै मौनतालाई अस्त्र बनाउनेहरू सत्यघाती हुन् । यी संसारसँग सामना गर्ने आँट नभएर वा अलिक दिन मुख नखोलेपछि विषय आफैं विस्मृतिमा धकेलिन्छ र सबै थोक स्वतः ठीक हुन्छ भन्ने भ्रमले पनि मौन बस्छन् । तेस्रा खालेचाहिँ ‘सत्य’ के हो बुझ्न सक्षम तर सत्य वा झुठ ठम्याएर जे हो त्यो बोल्न नचाहने र दुनियाँलाई डरलाग्दो गरी अलमल्याइदिने वर्ग हुन् । यसरी जब सत्यको ‘मानक निर्माता’ का रूपमा कहलिएर शब्दको बजार चलाइआएको यो वर्ग नै घुमाउरो गरी हिंसापोषक बन्न पुग्छ, यही वर्गको चरित्रले समाजमा छरिएका आम व्यक्तिलाई लाउ दिन्छ । यसले प्रकारान्तरमा समाजको महिलाद्वेषी, हिंस्रक तप्कालाई थप बलियो बनाइदिन्छ । यसको दोष–भार कसले बोक्ने ?

जबसम्म व्यक्ति र व्यक्तिसँग जोडिएका अमुक शक्ति सम्बन्ध वा स्वार्थका भित्तामा ठोक्किनुपर्दैन, तबसम्म कसैलाई ‘न्यायप्रेमी’, ‘प्रगतिशील’ र ‘क्रान्तिकारी’ भइरहन खास समस्या नहुने रहेछ ।

आफ्नो प्रत्यक्ष सरोकार र सम्बन्ध नभएका टाढाका, त्यसअघि कहिल्यै नचिनेका वा चिन्न नपर्ने अवस्थाका मान्छे वा समूहमाथि दया–कृपा देखाउन, तिनका बारेमा न्यायिक पैरवी गर्न, तिनको पक्षमा सामाजिक सञ्जालका वाल, अखबारका पाना, टेलिभिजनका स्क्रिन वा माइतीघर मण्डलाबाट ठूलठूला घोषणा गर्न कुनै गाह्रो कुरा हुँदो रहेनछ । यसो गर्दा केही जोखिम मोल्नैपरे पनि त्यसपछि प्राप्त ‘हिरोइज्म’ ले बोल्नेवालाको व्यक्तित्व थप चुलिने रहेछ । उसले ख्याति र सुनामको पुँजी बटुल्दो रहेछ । तर जसै विषय आइपर्छ आफूनेरैको, आफ्नो शिविरको या आफूसम्बद्ध स्वार्थरक्षाको, त्यसपछि आन्दोलनले निर्माण गरेका ‘ठूला नामधारी’ व्यक्तिहरूसमेत आफ्नो वास्तविक हैसियतमा प्रकट हुने रहेछन्; विवेक र न्यायका सबै खोल, सबै आवरण च्यातिएको नांगो र कुरूप दृश्यमा । यसरी प्रकट हुन्जेल समाजका इनेगिनेका समाजवादी, महिलावादी वा ‘न्यायका लागि’ लेख्ने–बोल्ने मान्छे नै पत्याउनै मुस्किल हुने गरी कित्ता स्पष्ट गरेर पुंसवादी/मर्दवादी, स्त्रीद्वेषी खातामा पुगिसक्दा रहेछन् ।

समाजलाई वर्चस्व र शक्तिसिद्धान्तले व्याख्या गर्दै कमजोर वर्ग–लिंग–क्षेत्रका पक्षमा विचार निर्माणको ठेक्कापट्टा चलाउने वर्ग त स्वार्थप्रतिकूल हुने स्थितिमा एकाएक शक्तिधारी कित्तामा उभिने र दोहोरो अर्थ लाग्ने भाषा बोल्दो रहेछ भने, छोटा–बडा निजी स्वार्थ साधेरै जिन्दगी चलाउन बानी परेको आम मान्छे शक्तिको पुजारी किन नबनोस् ! स्त्रीद्वेष यस अर्थमा सबैतिर व्याप्त छ र झन्झन् मौलाउने चरणमा छ । यो अत्यन्तै डरलाग्दो स्थिति हो । यसमाथि चिन्ता गर्न, बहस गर्न, आत्मसात् गर्न र बदलिने संकल्प गर्न छोडेर पातपातै उड्ने ‘क्रान्तिदर्शन’ विरोधाभासहरूले भरिएको यही समाजका लागि हो कि सुदूरको अर्कै ग्रहका लागि हो, सोचौं ।

प्रकाशित : श्रावण १७, २०७९ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?