कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

राष्ट्रलाई जोड्ने भावना

झमक घिमिरे

राष्ट्र, राष्ट्रियताको मुद्दामा कोही खरो रूपमा उत्रिएको देखिँदैन । हाम्रो स्वाभिमानको सन्दर्भमा देशका शासक, प्रशासकहरू संवेदनशील हुनुपर्ने, राष्ट्रियताका सवालहरूमा काम गर्नुपर्ने तर उनीहरू यो विषयमा गम्भीर हुनुको सट्टा यहीमाथि नै धावा बोल्न र देशको सीमा मिच्न सजिलो बनाइदिइरहेका छन् । 

राष्ट्रलाई जोड्ने भावना

कति नागरिक घरबारविहीन, गरिखाने जग्गाविहीन बनेर रोइरहेका छन् । नागरिकको पीडामा मलमपट्टी गर्नुको साटो ‘समस्या छ, समाधान गर्न हामी खोजिरहेका छौं’ भन्छ सरकार । खोइ कहिले समस्याको समाधान खोज्छ कुन्नि ? आम नागरिकलाई थाहा छैन । कति सजिलोसँग देशको भूगोल जबर्जस्ती मिच्दा उसका लागि समस्या मात्र बन्छ, देशको सार्वभौमसत्तामाथि हस्तक्षेप संवेदनशील विषय कहिल्यै बन्दैन । उफ ! यो कस्तो मानसिकता हाम्रा देशका शासक प्रशासकहरूको ?

छिमेकीले पनि सानो भूगोलका मान्छेको सार्वभौमसत्तामाथि यसरी ठाडो हस्तक्षेप गर्नु लाजको विषय बन्नुपर्ने हो । खुब प्रजातन्त्र र लोकतन्त्र अलापेर आफ्नै छिमेकीको जमिन मिच्ने, यहाँका नागरिकलाई जमिनविहीन बनाउनु सरमको कुरो हो भन्ने कहिले बुझ्ने ? हाम्रा देशका शासक, प्रशासकहरूको दिमाग अरूले चलाएको भरमा चल्छ । उनीहरू आफ्नै बुद्धिले चल्न सक्दैनन् । छिमेकीहरूले चलाइदिनुपर्छ ।

केपी शर्मा ओली सरकारको पालामा नेपालको सार्वभैम सत्ताको बारेमा निकै राम्रो बहस उठेको थियो । उनको नेतृत्वमा नेपालको चुच्चे नक्सा सार्वजनिक भएको थियो । त्यो सार्वजनिक गर्ने सामर्थ्य अरू नेपाली नेताहरू कसैको थिएन । गुमेको भूमिलाई फिर्ता ल्याउने राजनीतिक, कूटनीतिक पहल गर्नुको सट्टा वर्तमान सरकारले सानो समस्याजस्तो गरेर पन्छिएको देखिन्छ । अनाहकमा आफ्ना नागरिकहरूलाई बारम्बार दुःख दिइरहँदा पनि टुलुटुलु हेरेर बस्नुबाहेक हामी नेपाली नागरिकको कुनै विकल्प छैन । हामी बेटी र रोटीको सम्बन्धले सधैं चलिरहन्छौं । तर समान स्वाधीनता र समान सार्वभौमसत्ता भएका नागरिकहरू हौं भन्ने विश्वास गर्न सकेनौं किनभने हामीलाई सधैं बडे भाइको सम्मान गर्न भनियो र छोटे भाइलाई झुक्न सिकाइयो ।

कुनै राष्ट्र आकारमा सानो ठूलो भए पनि उसको स्वाधीनता र सार्वभौमसत्ता सधैं समान हुन्छ । कोही बडे भाइ र छोटे भाइ हुँदैनन् । आआफ्नो देशको समान सार्वभौमसत्ता सम्पन्न नागरिक हुन्छन् । उनीहरूलाई आआफ्ना भूमिको समान मायाले बाँधेको हुन्छ । माया मात्र होइन उनीहरूको जीवन र जिजीविषा भूमिसँग जोडिएको हुन्छ । कसैले जबर्जस्ती त्यही कुरा खोसिदिँदा उनीहरूको मन कति रुन्छ ? जमिन खोसिएका पीडितहरूको आर्तनाद कहिले कसले सुनिदेला ? आँसुको झरी खोइ कहिले रोकिने हो ? धेरै समय भइसक्यो आँसुको झरी बगेको ? त्यो कसले पुछिदिने ? बिचराहरूको गाँसै खोसिएको छ । यो वर्षौंदेखिको समस्या हो । यसलाई नेपाली नेताहरूले समस्याकै रूपमा मात्र नहेरेर कसरी हुन्छ ? समाधान गर्न गम्भीरतापूर्वक लाग्नु आवश्यक छ ।

अरू विषयमा राजनीतिक दलहरूका आआफ्ना विचार–धारणाहरू होलान् । तर राष्ट्र र राष्ट्रियताको विषयमा सबै दलको एउटै धारणा बन्नुपर्छ । कसरी हुन्छ, राष्ट्रिय स्वाधीनताको प्रश्नलाई अक्षुण्ण राख्नु आवश्यक छ । हाम्रो राष्ट्र सानो भए पनि यो स्वतन्त्र हुनुपर्छ । यो विषयमा सबै जिम्मेवार पक्षहरू संवेदनशील बन्नु आवश्यक छ । हाम्रा जबर्जस्ती हड्पिएका जमिनहरू यथाशीघ्र पहल गरेर फिर्ता ल्याउनुपर्छ । यसका लागि राजनीतिक, कूटनीतिक रूपमा पहल गर्नुपर्छ । यसका लागि सबै राजनीतिक दलका नेताहरू, नागरिक समाज र आमनागरिक एकजुट भएर राष्ट्रियतालाई बलियो पार्न लागौं ।

प्रकाशित : श्रावण १६, २०७९ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?