वामपन्थीहरूको अस्तित्वको संकट

नेपालका धेरै वामपन्थी तीव्र गतिले बदलिँदो विश्वमा भविष्यको परख गर्न र आसन्न विकराल चुनौतीहरूको आकलन गर्न असफल भएका छन् ।
जीवन क्षेत्री

केही साताअगाडि बेलायतको ‘गार्डियन’ पत्रिकामा स्लोभेनियाली दार्शनिक स्लाभोज जिजेकको लेख छापियो- शान्तिवाद युक्रेन युद्धका लागि गलत रणनीति हो । उनको निचोड- युद्धको समयमा शान्तिको वकालत स्वाभाविक हो तर जब बलियोले निर्धामाथि निर्मम आक्रमण गर्छ, तब शान्तिको नारा लगाउनुभन्दा निर्धाको अस्तित्वको लडाइँमा सघाउनु न्यायोचित विकल्प हो ।

वामपन्थीहरूको अस्तित्वको संकट

त्यो अवस्थामा न्यायप्रेमी मान्छेले शान्तिका कुरा मात्रै गरेर बस्ने हो भने बलियो राज्यले निर्धोको अस्तित्व मेटाउँदै जान्छ, उपनिवेशहरू विस्तार गर्दै जान्छ तर शान्ति आउँदैन । जित्नेलाई शान्ति फर्काउनुमा होइन कि नयाँनयाँ भूभाग कब्जा गरेर त्यहाँका स्रोत–साधन हत्याउनुमा फाइदा हुन्छ । त्यसैले कुनै बेला अमेरिकाको इराक अतिक्रमणको तीव्र विरोध हुनु जति जायज थियो, अहिले युक्रेनमाथि रुसी आक्रमणको विरोध हुनु पनि उत्तिकै उचित हो ।

जिजेकको यो सन्देश संसारभरका वामपन्थीहरूका लागि थियो जो युक्रेनमाथिको रुसी आक्रमणलाई लिएर अन्यमनस्क अवस्थामा छन् । अमेरिकाका बौद्धिक नोम चोम्स्कीदेखि ब्राजिलको वर्कर्स पार्टीका नेता लुला दा सिल्भासम्मले अहिले युक्रेनमाथिको रुसी आक्रमणका लागि नेटोलाई दोष दिइरहेका छन् । त्यस्ता तर्कहरू अब किन पनि विषाक्त बनेका छन् भने, प्रकारान्तरले तिनको उपयोग रुसले युक्रेनमा मच्चाइरहेका जघन्य युद्ध अपराधहरूमाथि पातलै भए पनि वैधताको लेप लगाउनमा भइरहेको छ । अहिले रुसप्रति सहानुभूति राख्ने वाम बौद्धिकहरूलाई जिजेक दोस्रो विश्वयुद्धताकाका ती वामपन्थीहरूसित तुलना गर्छन् जसले हिटलरलाई साम्राज्यवादविरोधी भनेर समर्थन गरेका थिए ।

दोस्रो विश्वयुद्धको संघारमा हिटलरले पोल्यान्ड कब्जा गर्ने योजना बनाइसकेका थिए । आक्रमणको साइत थियो- १९३९ सेप्टेम्बर १ । तर पोल्यान्डमाथिको अतिक्रमणको बदलामा फ्रान्स, बेलायत र सोभियत संघको प्रतिकार सहनुपर्ला र हार्नुपर्ला कि भन्ने ठूलो भय थियो हिटलरलाई । त्यसैले उनले त्यो वर्षको अगस्ट २३ मा विदेशमन्त्री रिबेनट्रोपलाई मस्को पठाए । आदेश थियो- स्टालिनको सरकारसित जर्मनीको ‘नन–एग्रेसन प्याक्ट’ गर्ने । एकाध घण्टामा रिबेनट्रोप र सोभियत विदेशमन्त्री मोलोतोभले त्यस खाले मैत्री सम्झौतामा हस्ताक्षर गरे जसमा भनिएको थियो, ‘आगामी १० वर्षसम्म दुवै पक्षले एकअर्काविरुद्ध कुनै आक्रमण गर्नेछैनन् ।’

पछि सार्वजनिक भए अनुसार, त्यो बैठकमा दुई पक्षबीच अर्को गोप्य समझदारी पनि भएको थियो- पोल्यान्डको पश्चिमी ठूलो हिस्सा जर्मनीको भागमा पार्ने अनि पूर्वी पोल्यान्डसहित इस्टोनिया, लात्भिया र फिनल्यान्ड सोभियत संघको भागमा पार्ने । आखिर सेप्टेम्बर १ मा योजना अनुसार नै हिटलरले पोल्यान्डमा लाखौं सैनिक पठाएर अतिक्रमण गरे । उता त्यही बेला जर्मनहरूबाट पोलिसहरूलाई जोगाउने बहानामा सोभियत सेनाले पूर्वी पोल्यान्डको अतिक्रमण सुरु गर्‍यो । हिटलरले पोल्यान्डमा आक्रमण गरेर विश्वयुद्ध सुरु गरेको तीन महिनामा सोभियत संघले फिनल्यान्डमा पनि अतिक्रमण गर्‍यो ।

यसरी दोस्रो विश्वयुद्धको पहिलो पौने दुई वर्षसम्म ‘साम्राज्यवादी’ बेलायत नाजी जर्मनीसित अस्तित्वको संघर्षमा थियो भने, सर्वहाराको शासन भएको भनिएको सोभियत संघ हिटलरसित भएको समझदारी बमोजिम पूर्वी युरोपका कमजोर देशहरूमाथि कब्जा जमाउनमा व्यस्त थियो । त्यसैले धेरै विश्लेषक के मान्छन् भने, दोस्रो युद्ध हिटलरले सुरु गरे पनि मानव जातिकै इतिहासमा आइलागेको त्यो महासंकटका लागि जिम्मेवार दोस्रो व्यक्ति स्टालिन थिए । उनले हिटलरसित कुख्यात साँठगाँठ नगरेका भए युद्ध भइहाल्दा पनि त्यति भीषण, लामो र बीभत्स नहुन सक्थ्यो । दुई वर्षमा युरोपलाई तहसनहस पारिसकेपछि हिटलरले ‘मोलोतोभ–रिबेनट्रोप प्याक्ट’ भंग गरेर सोभियत संघमा हमला गरे, जसमा अढाई करोडभन्दा बढी रुसीहरूले ज्यान गुमाए । अन्ततः हिटलर हारे र जित्ने पक्षतिर परेका स्टालिनले आफ्नो महानता मात्रै झल्किने गरी इतिहास लेखाए, त्यो बेग्लै कुरा हो ।

तर १९४१ जुन २२ मा हिटलरले सोभियत संघमाथि आक्रमण गर्नुभन्दा अगाडिसम्म पनि संसारभरका वामपन्थीहरूले स्टालिनको हिटलरसितको साँठगाँठको बचाउमा जेजस्ता तर्कहरू गरे, रुस–युक्रेन युद्धमा अहिलेका वामपन्थीहरूले गरिरहेका तर्कहरूले तिनकै झल्को दिन्छन् । जस्तो कि, उहिले- हिटलरले चेकोस्लोभाकियालाई निले, पोल्यान्डको अधिकांश हिस्सा कब्जा गरे तर वास्तविक उपनिवेशवादी भनेका त बेलायत र अमेरिका हुन् । अहिले- रुसले युक्रेनमा अतिक्रमण गरेर भूभाग कब्जा त गर्‍यो तर वास्तविक साम्राज्यवादी त अमेरिका हो, दोषीचाहिँ नेटो हो । उहिले- बेलायतले इजिप्ट र भारतजस्ता देशमा उपनिवेश लाद्यो तर सोभियत संघले फिनल्यान्ड र इस्टोनिया जस्ता देशहरूमा अतिक्रमण गरेन, तिनलाई ‘सामन्त’ हरूबाट मुक्त गर्‍यो । अहिले- रुसले सन् २०१४ मा युक्रेनको क्राइमिया बलपूर्वक कब्जा गरेको हैन कि रुसीभाषीहरूको बाहुल्य भएको त्यो क्षेत्रलाई युक्रेनीभाषीहरूबाट मुक्त गरेको हो ।

जसरी सन् २००३ को इराकमाथिको अमेरिकी अतिक्रमण गलत र ज्यादतीपूर्ण थियो भन्ने अहिलेका वामपन्थीहरूको तर्क सही छ, उसै गरी दोस्रो विश्वयुद्धका सुरुआती दुई प्रमुख सैन्य पक्षहरूमध्ये बेलायतलाई उपनिवेशवादी भन्ने ऊ बेलाका वामपन्थीहरूको तर्क पनि सत्य थियो । त्यो समयसम्म विभिन्न महादेशमा बेलायती उपनिवेशहरू कायम थिए । तर त्यसमा टेकेर उनीहरूले के कुतर्क गरे भने, बेलायतसित लड्नासाथै जर्मनीको हत्यारो नाजी सरकार आफ से आफ ‘साम्राज्यवादविरोधी’ भइहाल्थ्यो, पोल्यान्डमाथिको उसको भीषण अतिक्रमण क्षम्य वा सही हुन्थ्यो । अनि पश्चिमा साम्राज्यवादीहरूसित टक्कर लिनासाथ जति छिमेकी देशमा अतिक्रमण गरे पनि सोभियत संघ उपनिवेशवादी नभई ती देशका नागरिकहरूको ‘मुक्तिदाता’ भइरहन्थ्यो । उनीहरूले स्वविवेक प्रयोग गरेर कुन साधारण सत्य भन्न सकेनन् भने, जसरी बेलायतको उपनिवेशवाद गलत थियो, उसै गरी हिटलर र स्टालिनको उपनिवेशवाद पनि गलत छ । हिजोसम्म दुस्मन भएको नाजी जर्मनी एकाध घण्टाको बैठकपछि कसरी मित्रशक्ति बन्यो भनेर उनीहरूले स्टालिनको सत्तालाई सोध्ने त गुन्जायस नै रहेन ।

उसो त विश्व कम्युनिस्ट आन्दोलनको धरोहर सोभियत संघमा जता हावा चल्छ उतै लच्किन संसारभरका क्रान्तिकारीहरू ऊ बेला अभिशप्त थिए । जस्तो कि, स्टालिन र हिटलरबीच साँठगाँठ हुनुअघिसम्म जर्मनी र सोभियत संघ एकअर्काका सनातनी दुस्मन थिए । हिटलरले यहुदीपछि सबैभन्दा ठूलो संख्यामा हत्या गरेकामध्ये वामपन्थी झुकावका मानिसहरू थिए भने स्टालिनका कुख्यात ‘पर्ज’ हरूमा मारिने धेरैलाई दक्षिणपन्थी भएको वा नाजीवादप्रति सहानुभूति राखेको आरोप लाग्थ्यो । १९३९ मार्चमा हिटलरले चेकोस्लोभाकियालाई सर्लक्कै निल्दा स्टालिनले बेलायत र फ्रान्सलाई ‘नाजीहरूसित लड्न खुट्टा कमाएको’ भन्दै ललकारेका थिए ।

जसै मोलोतोभ–रिबेनट्रोप सम्झौता भयो, संसारभरका वामपन्थीहरूले भाका फेरे- अमेरिका पो भयानक साम्राज्यवादी हो त, हिटलरको जर्मनीले त अमेरिका र बेलायतको साम्राज्यवादको प्रतिकार मात्रै गरेको हो ! दुई वर्षपछि जब हिटलरले सोभियत संघमा धावा बोले, उनीहरू फेरि भाका फेर्न बाध्य भए- मानवताको असली दुस्मन त हिटलर पो हुन्, अमेरिका र बेलायतसित मिलेर भए पनि उनको मुकाबिला गर्नुपर्छ । दोस्रो विश्वयुद्ध सकिएपछि जब शीतयुद्ध घनीभूत भयो, उनीहरूले फेरि एकपल्ट भाका बदले- पुँजीवादी पश्चिमा देशहरू सारा विभेद, अन्याय र द्वन्द्वका कारक हुन् ।

यो पृष्ठभूमिमा आजका वामपन्थीहरूले ‘रुसी बमले युक्रेनका केटाकेटी मारे पनि त्यसमा दोषचाहिँ अमेरिकाको हो’ भन्नु खासै अनौठो हैन । तर संसारभर अहिले वामपन्थीहरू जुन धरातलमा उभिएका छन्, त्यो उनीहरूका पूर्वज उभिएको धरातलभन्दा धेरै फरक र नाजुक छ । अब कुनै साम्यवादी सोभियत संघ वा चीन बाँकी छैन । अहिलेसम्म साम्यवाद बचाएका उत्तर कोरिया र क्युबा गरिबी र भोकमरीका प्रयोगशाला बनेको यथार्थ छर्लंग भइसकेको छ । यसैबीच संसारभर आएको दक्षिणपन्थी उभारले धेरै देश र समाजहरूमा मध्यपन्थी उदारवादी र वामपन्थी दुवैलाई विस्थापित गर्ने जोखिम बढ्दै गएको छ । रुस–युक्रेन युद्धको मामिलामा चाहिँ अवस्था कतिसम्म विसंगत बनेको छ भने, भ्लादिमिर पुटिनको घुमाउरो भए पनि बचाउ गर्दै वामपन्थी र उग्र दक्षिणपन्थीहरूले उस्तै तर्क गरिरहेका छन्, जस्तो कि ब्राजिलको प्रतिपक्षी वर्कर्स पार्टी र सत्ताधारी सोसल लिबरल पार्टी ।

त्यसैले यो बदलिएको परिस्थितिमा वामपन्थी राजनीति र विचारधारा बोक्ने मानिसहरूले आफैंसित केही निर्मम प्रश्नहरू गर्नुपर्ने बेला आएको छ । तिनका लागि देवतुल्य लेनिन, स्टालिन र माओ कतै मानवीय त्रुटि गर्न सक्ने लौकिक प्राणी नै पो थिए कि ? एकाध वर्षभित्रै हिटलरलाई खलनायक–नायक–खलनायक भनेर चित्रण गर्नु नै त्रुटिपूर्ण थियो कि ? बेलायतले भारत कब्जा गर्नु उपनिवेशवाद भएजस्तै सोभियत संघले पूर्वी युरोपका देशहरूमा हैकम जमाउनु पनि उपनिवेशवाद थियो कि ? सन् १९९० को वरिपरि ती देशहरूले लडेको स्वतन्त्रताको लडाइँ प्रतिक्रान्ति नभएर मुक्तियुद्ध पो थियो कि ? एउटा साम्राज्यवादी शक्तिको विरोध गर्ने शक्ति कतै आफैं वैकल्पिक साम्राज्य खडा गर्ने ताकमा पो हुन्छ कि ? सन् १९६० को दशकमा इन्डोनेसियामा अमेरिका–समर्थित तानाशाहले मच्चाएको वामपन्थीहरूको नरसंहार निन्दनीय भएझैं त्यही समय माओको चीनमा सांस्कृतिक क्रान्तिका नाममा भइरहेको बर्बर हिंसा पनि निन्दनीय थियो कि ? सन् १९७३ मा चिलीको सेनाले गराएको भनिएको ‘कु’ मा अमेरिकी सीआईएको भूमिका खोजिनु र त्यो भेटिएपछि उसको निन्दा हुनु स्वाभाविक भएजस्तै सन् १९६८ मा चेकोस्लोभाकियामा सुधार र लोकतन्त्रको आवाज दबाउन २ लाख सैनिक र ५ हजार ट्यांक पठाउने सोभियत नेतृत्वको पनि निन्दा र आलोचना हुनु जायज हैन ?

यस्ता असुविधाजनक प्रश्नहरू सिनित्त बढारेर कार्पेटमुनि हालेका कारण नेपाल र संसारकै धेरै वामपन्थीहरू अहिले सन् १९३९ कै वामपन्थीहरूको जस्तो अवस्थामा छन् । उनीहरू अहिले तर्कहरूको यस्तो घनचक्करमा फसेका छन्- रुसले युक्रेनमा सिंगो संसारका अगाडि भयावह युद्ध अपराधहरू गर्छ तर उसले अमेरिकाको विरोध पनि गर्छ, त्यसैले समग्रमा ऊ असल वा सहानुभूतियोग्य पक्ष हो । त्यसैले चोम्स्कीदेखि लुलासम्मले रुसका भयानक युद्ध अपराधहरूका दृश्यछेउ उभिएर भनिरहेका छन्- दोष त नेटोकै हो ।

वामपन्थीहरूको यस्तो यथार्थबाट विच्छेदित तर्क प्रणालीले नेपालजस्ता देशहरूमा पनि धेरै विकृति उत्पन्न गरेको छ । जस्तो कि, ‘क’ साम्राज्यवादी देश हो, ‘ख’ ले उसलाई टक्कर दिइरहेको छ, त्यसैले हामीले नेपालको नभई ‘ख’ को स्वार्थका लागि बोल्नुपर्छ र काम गर्नुपर्छ । अनि हाम्रो राष्ट्रवादको परिभाषा नै ‘ख’ प्रतिको वफादारी वा दासत्वले निर्धारण गर्नुपर्छ । ‘ख’ साम्राज्यवादविरोधी देश भएकाले उसले नेपालको सीमा मिचेको कल्पना गर्नु पाप हो । उसले नेपालका नागरिकलाई नामै तोकेर धम्क्याए पनि त्यो हाम्रो आन्तरिक मामिलामाथिको दखल मानिँदैन । ‘ख’ ले आफ्नो देशको कुनै सम्प्रदायलाई दमन गरेर उठिबास लगायो भने ज्यान जोगाउन भागेकाहरूलाई क्रूरतापूर्वक पक्रेर ‘ख’ लाई बुझाउनु र उसलाई रिझाउन मानव अधिकार कुल्चिनु हाम्रो राष्ट्रिय कर्तव्य बन्छ ।

उसो त वामपन्थी झुकाव हुनेहरू सबै यस्ता कुतर्कमा विश्वास गर्दैनन् । तर तिनमा विश्वास गर्नेहरूको वाम राजनीतिमा यस्तो दबदबा छ, उनीहरूका कारण चुलिँदो असमानताको विरोध र सामाजिक न्यायको पैरवी गर्ने सिंगो वाम कित्तासमेत बदनाम भइरहेको छ । अनि सूचना युगको चुलिँदो असमानता र सामाजिक सञ्जालले गराइरहेको ध्रुवीकरणबीच पछि छाडिएका मानिसहरूको ठूलो कित्ता उग्र दक्षिणपन्थीहरूका धार्मिक, नस्लीय र साम्प्रदायिक एजेन्डाहरूको पासोमा फसिरहेको छ । अमेरिकाका हिस्प्यानिकहरूदेखि भारतका दलितहरूसम्म, फ्रान्सका किसानदेखि फिलिपिन्सका मजदुरसम्म यसरी उग्र दक्षिणपन्थी राजनीतितिर लहसिँदै छन्, त्यहाँका मध्यपन्थी उदारवादी वा वामपन्थीहरूले तिनलाई जीविका र आत्मसम्मानका सही एजेन्डासहित आफूतिर फर्काउने सम्भावना निरन्तर घट्दो छ । भारतसहित कैयौं देशमा त केही दशकयता वाम पार्टीहरू निरुपाय र निरर्थक बन्दै गएका छन् ।

यसैबीच जलवायु संकट झाँगिँदै जाँदा युरोप र अस्ट्रेलिया लगायतमा कुनै बेला वफादारीपूर्वक वामपन्थी राजनीतिमा लाग्ने युवाहरूको ठूलो हिस्सा वातावरणवादी ‘ग्रिन’ पार्टीहरूमा गोलबद्ध हुँदै छन् । दलीय राजनीतिमा नहुने युवाहरूको ठूलो हिस्सा ‘फ्राइडेज फर फ्युचर’ र ‘एक्स्टिंक्सन रिबेलियन’ जस्ता आक्रामक वातावरणवादी अभियानहरूमा सामेल हुँदै छन् । अमेरिका र युरोपका धेरै मध्य–वामपन्थी भनिने मूलधारकै राजनीतिज्ञहरूले पनि असमानताविरुद्धको लडाइँकै जस्तो प्राथमिकता पर्यावरणीय मुद्दाहरूलाई दिइरहेका छन् ।

यो अवस्थामा नेपालका धेरै वामपन्थी अहिलेको समाजलाई डेढ सय वर्ष पुरानो चस्माले हेर्न खोज्दा दिग्भ्रमित भएका त छन् नै, तीव्र गतिले बदलिँदो विश्वमा भविष्यको परख गर्न र आसन्न विकराल चुनौतीहरूको आकलन गर्न पनि असफल भएका छन् । आफू उभिएको धरातल नचिनेकै कारण उनीहरूमध्ये केही सत्ता हत्याउने हतारोमा आफैं धार्मिक वा नस्लीय सर्वोच्चतावादको दक्षिणपन्थी भासमा डुबिसकेका छन् । अरूले दलित मुक्तिका नाममा समेत सोह्र हजार मानिस मारेपछि चुनाव जित्न सामूहिक हत्या गर्ने जातीय सर्वोच्चतावादीहरूलाई काँधमा बोकेर हिँडेका छन् । जति उग्र क्रान्तिकारी नारा लगाए पनि ती सबैको अर्थनीति भने अमेरिकाका दक्षिणपन्थीहरूलाई पनि माथ गर्ने खालको नांगो आसेपासे पुँजीवाद हो । पार्टीहरूका कित्ताबाहिर रहेका वामपन्थी बौद्धिकहरू पनि मार्क्स र लेनिनले आफ्नो समयमा खिचेको वैचारिक र दार्शनिक चित्रको सीमाभन्दा बाहिर आउन सकेका छैनन् ।

यस्तो गहिरो विरोधाभासबीच पनि नेपालमा आवधिक चुनावहरूमा वामपन्थीहरूले अहिलेसम्म राम्रै मत ल्याएका छन् । तर भोलि जब मानव सभ्यतालाई नै संकटमा पार्ने पर्यावरणीय संकटहरूले समाजमा उलटपुलट ल्याउँछन्, जब भोकमरी र मानिसहरूको थोक विस्थापनले समाज र राष्ट्रकै जग हल्लाउँछन्, तब मार्क्स, माओ वा रामको नाम जपेर अर्बौं मात्रै पचाउने तर समाज गुज्रिरहेको संकटको छेउटुप्पो नबुझ्नेहरू समाजमा टिकिरहन सक्नेछैनन् । सत्तामा नरहनु भनेको आफ्नो अस्तित्व संकटमा पार्नु हो भन्ने बुझेकैले अहिलेदेखि उनीहरूले सत्ताका लागि हर मूल्य चुकाइरहेका छन् । तर बेलैमा नसुध्रिने हो भने न उनीहरूको निरन्तर सत्ताको ग्यारेन्टी छ, न त अस्तित्वकै ।

प्रकाशित : श्रावण १५, २०७९ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?