१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बीपी विचार, कांग्रेस र सत्ता गठबन्धन

चाहे कांग्रेस होस् वा कम्युनिस्ट, राजनीतिक दलहरू अहिले आफ्नो उद्देश्यबाट विमुख भएका छन्, चरित्र गुमाएका छन् । जसरी पनि सत्ता कब्जा गर्नु र त्यसलाई निरन्तरता दिनु नै राजनीतिको धन्दा बनेको छ ।
कृष्ण खनाल

पाँचदलीय सत्ता गठबन्धनलाई आसन्न संसदीय चुनावमा पनि निरन्तरता दिने भनेर नेपाली कांग्रेसले औपचारिक निर्णय गरिसकेको छ । तर त्यो निर्णयप्रति कांग्रेसजन खुसी छैनन् । पाँचदलीय गठबन्धनभित्र अर्को वाम उपगठबन्धनको उपक्रम पनि छ । ठूला नेताको स्वार्थभन्दा बढी केही छैन यसको अन्तर्यमा ।

बीपी विचार, कांग्रेस र सत्ता गठबन्धन

लाग्छ, मुलुकमा चुनाव होइन, बाँदरनाचको मञ्चन भइरहेछ । काठमाडौंमा मात्र होइन, बाहिर पहाड र मधेशमा पनि मैले यो पटक मतदातामा असाधारण प्रकृतिको जागरण देखेको छु । मतदातालाई दासको व्यवहार गर्ने पार्टी र तिनका नेताहरूप्रति विद्रोहको मनस्थितिमा उनीहरू पुगेका देखिन्छन् ।

यस पटक चालीसौं बीपी स्मृति दिवसका सन्दर्भमा प्रजातान्त्रिक विचार समाजले आयोजना गरेको स्याङ्जा र पोखराको कार्यक्रममा मैले बीपी कोइरालाका विचार र नेपालको वर्तमान राजनीतिका बारेमा प्रवचन दिने तथा सहभागीहरूसँग अन्तरक्रिया गर्ने अवसर पाएँ । विषय र सहभागी दुवै हिसाबले ती कार्यक्रम मेरा लागि पनि महत्त्वपूर्ण थिए । केही समयदेखि म बीपीको चेतना र चिन्तनको पक्षलाई पुनरुत्खनन गर्न खोज्दै छु । पहिलो त, यो अन्तरक्रिया मेरा लागि लाभप्रद हुने नै भयो । विचार समाजको कार्यक्रममा पार्टीबाट लाभ लिने लर्कोभन्दा नेपाली कांग्रेसको सिद्धान्त र आदर्शले प्रेरित मानिसको सहभागिता बढी हुने गर्दछ । दोस्रो, मुलुक संसदीय चुनावको पूर्वसन्ध्यामा छ । यस्तो अन्तरक्रियाका माध्यमबाट थोरै संख्यामा भए पनि नेपाली कांग्रेसनिकट मतदाताको भावना र बौद्धिक समुदाय एवं स्थानीय कार्यकर्ताको अभिमत प्रत्यक्ष जान्ने यो राम्रो अवसर पनि थियो ।

प्रजातान्त्रिक विचार समाज लोकतन्त्रवादीहरूको वैचारिक मञ्च हो । यसमा सामान्यतया नेपाली कांग्रेसको विचार र आदर्शप्रति आस्था राख्ने प्राध्यापक, शिक्षक, चिकित्सक, इन्जिनियर लगायत विभिन्न पेसा तथा व्यवसायका बौद्धिकहरू संलग्न छन् । यसका कार्यक्रमहरूमा नेपाली कांग्रेसको नेतृत्व पंक्तिमा रहेकाहरू पनि सहभागी हुन्छन् । पोखरा र स्याङ्जामा पनि केन्द्रीय सदस्य लगायत पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरू उपस्थित थिए ।

संघ र प्रदेशमा पाँचदलीय सत्ता गठबन्धन छ । संघमा नेपाली कांग्रेसका सभापतिको प्रधानमन्त्रित्वमा गठबन्धन सरकारमा छ । भरखरै सम्पन्न स्थानीय चुनावमा यही गठबन्धनको उपयोग गरेर नेपाली कांग्रेसले सबैभन्दा बढी पालिकामा विजय पनि हासिल गरेको छ । गठबन्धनबिना चुनावमा नेपाली कांग्रेसको कुनै भविष्य छैन भन्ने एउटा त्रस्त चित्र काठमाडौंमा नियोजित रूपमा कोरिँदै छ । तर नेपाली कांग्रेसमा आफैंभित्र चरम द्वन्द्व छ । उनीहरूमा ठूलो प्रश्न छ- के केही सिट बढाउनु र सत्तामा टिकिरहनु नै नेपाली कांग्रेसको उद्देश्य हो वा यसका केही राजनीतिक, आर्थिक, सामाजिक अभीष्ट पनि छन् । नेपाली कांग्रेसको राजनीतिमा सत्ताबाहेक केही आदर्श र नैतिक मूल्य छन् कि छैनन् ? स्याङ्जा र पोखराका कार्यक्रममा यस्ता धेरै प्रश्न उठे । यस्ता प्रश्न एमाले र माओवादीका मतदातामा पनि उठ्नुपर्ने हो, सायद उठिरहेको होला ।

राजनीतिक दलका लागि चुनावमा हारजित मात्र ठूलो कुरा होइन । कुनै बेला भारतीय जनता पार्टीले दुई सिट मात्र जितेको थियो । पार्टीलाई आफ्नो ठाउँमा सुरक्षित राख्न सके नेपाली कांग्रेसजस्तो पार्टीलाई सत्ता धेरै टाढाको कुरा होइन । वर्तमान सत्ता गठबन्धन पूर्ववर्ती केपी ओली सरकारले संविधानविरुद्ध गरेको आक्रमणको तत्कालीन उपज थियो । त्यस बेला अर्को विकल्प पनि थिएन । यसको निरन्तरता अब केवल चार–पाँच जनाको स्वार्थबाहेक केही कामको छैन । यो गठबन्धनले के पो राम्रो काम गरेको छ र यसलाई निरन्तरता दिने ? प्रतिनिधिसभा विघटनबाहेक ओलीका कुन दुष्प्रवृत्तिबाट यो सरकार र गठबन्धन मुक्त छ ?

चार साताअघि (असार १९ गते) यसै स्तम्भमा मैले बीपी कोइरालाको उद्धरण गर्दै राजनीतिमा भुइँफुट्टा वर्गको सन्दर्भ उठाएको थिएँ । त्यसले धेरै कांग्रेसजनमा अपेक्षित प्रभाव पारेको रहेछ । त्यसले पनि उत्प्रेरित गरेको रहेछ पोखरा र स्याङ्जा विचार समाजका साथीहरूलाई मेरो कुरा सुन्न । यी दुवै ठाउँका कार्यक्रममा धेरैजसो जिज्ञासा बीपीको विचार एवं आजको राजनीति, प्रजातान्त्रिक समाजवाद र चुनावी गठबन्धनका बारेमा केन्द्रित थिए । यी विषयमा कैयौं कुरा त्यहाँ प्रस्ट्याउन खोज्दाखोज्दै पनि बाँकी रहे । सामयिक र आम महत्त्वको विषय भएकाले आज यो स्तम्भमा त्यसकै थप विवेचना गर्नु उपयुक्त होला भन्ने लागेको छ ।

पहिले समाजवादको कुरा गरौं । एउटा समय थियो जुन बेला नेपाली कांग्रेसको समाजवादले युवाहरूलाई आकर्षित गर्दथ्यो । आजका युवालाई नेपाली कांग्रेसमा केले आकर्षित गर्छ म भन्न सक्तिनँ, तर समाजवादले पक्कै होइन, यो म बिनाद्विविधा भन्न सक्छु । सत्ताको हरियो घाँसबाहेक अहिले नेपाली कांग्रेसले देखाउने कुरा केही छजस्तो मलाई लाग्दैन । बालुवाटारवरिपरि त्यो घाँस चर्न जानेहरूको भीड मैले २०४८ सालदेखि देख्दै आएको छु । त्यसैले अहिले बीपीले भनेको समाजवाद नेपाली कांग्रेसका सत्तासीनहरूलाई काम नलाग्ने, थोत्रो र अव्यावहारिक लाग्छ ।

समाजवाद होस् वा अरू कुनै सिद्धान्त, त्यो यात्राले राजनीतिमा निकै ठूलो साधना र कर्म खोज्दछ । त्यो साधना नगर्ने र आत्मविश्वास नहुनेले राजनीति गर्नुको कुनै अर्थ हुँदैन भन्थे बीपी । त्यही निष्ठाले उनलाई जेलको कालकोठरी र फाँसीको फन्दामा पुग्दा पनि हल्लाउन सकेको थिएन । बीपीले भनेको समाजवादको अन्तर्य नबुझ्ने हो भने उनले दिएका उदाहरणहरू राजनीति गर्छु र विकास गर्छु भन्नेहरूका लागि अप्रासंगिक लाग्न सक्छन् । बीपीको समाजवादको केन्द्रमा सधैं गाउँ र किसानको उदाहरण हुन्थ्यो । सफा र स्वावलम्बी गाउँ, अनि स्वस्थ, शिक्षित र सुखी ग्रामीण परिवारको परिकल्पना थियो उनको समाजवादमा । अब त्यो गाउँ कहाँ खोज्ने ? नेताहरू ‘स्मार्ट सिटी’ र मोनो रेलको सपना बाँड्छन् । युवाहरू गाउँबाट पलायन भएका छन् । कृषिसँग उनीहरूको सम्बन्ध टुटेको छ । विश्व बजारीकरणको प्रभाव र विस्तारले नेपाली जनजीवन पनि ग्रस्त छ ।

बीपी विकासको ठूला संरचनाको विपक्षमा थिए । आफ्नो आवश्यकता र औकातभन्दा ठूलो विकासको कुरा उनले गरेनन् । बीपीको समयमा आजजस्तो विश्व बजारीकरण भइसकेको थिएन, तर उनले विश्वमा भइरहेको विकास र त्यसको प्रकृति नदेखेका, नजानेका थिएनन् । युरोप, अमेरिकाको विकासलाई उनले कहिल्यै नमुना मानेनन् । चर्चित ‘सिंगापुर मोडेल’ मा बीपीको विश्वास थिएन । भोगवादी प्रवृत्ति बढाउने भनेर उनले त्यसको सधैं आलोचना गरे । उनी भन्थे, ‘म त्यस प्रकारको सम्पन्नताको प्रवेश हुन दिन्नँ । म ठूला होटलहरू बनाउन दिन्नँ । म तिनका विरुद्ध छु । किनभने तिनले युवाहरूको मनलाई भ्रष्ट पार्दछन् । त्यसबाट हुन जाने राष्ट्रिय क्षतिको जुन मूल्य छ, त्यसको विचार गर्नुपरेको छ ।’

पछिल्ला दिन (२०३५–३८ साल) ताका बीपीका अन्तर्वार्ताहरूमा विकासको स्थूल रूप अर्थात् ठूला सडक, ठूला हवाईजहाज, हवाई मैदान, ठूला भवन, ठूला उद्योग, मेसिनप्रति व्यापक असहमति अभिव्यक्त हुन्थ्यो । विकास र आधुनिक सुविधाबाट वञ्चित हामीलाई यी कुरा त्यति प्रिय लाग्दैनथे । अहिले कतिलाई यी कुरा आदिम युगको एउटा पागल बूढाको फतफतजस्तो लाग्छ होला । तर बीपीमा विकासको नाउँमा मान्छेको विस्थापन र प्रकृतिको अत्यधिक दोहनप्रतिको संवेदनशीलता र सचेतना थियो । विकासको यो बीभत्स रूपबाट आज युरोप आफैं तर्सिराखेको छ । तातिँदै गएको पृथ्वी र जलवायु परिवर्तनको प्रकोप विश्वव्यापी रूपमा बढिरहेको छ ।

अहिले नेपालमै पनि जुन विकास भएको छ, त्यसले जीवनलाई सजिलो त पक्कै बनाएको छ, तर नेपालीलाई आफ्नै माटोबाट अलग गर्न थालेको पनि छ । उसको संस्कृति उच्छेदन भइरहेको छ । विकासको नाउँमा जे उपलब्ध छ, त्यसमाथि उसको नियन्त्रण छैन, त्यो उसको उत्पादन पनि होइन । ऊ केवल उपभोक्ता मात्र हो । तर ऊ दिन–प्रतिदिन त्यसैप्रति आश्रित र निर्भर हुँदै गएको छ । त्यसमा विनिमेय वस्तुको उत्पादन, व्यवस्थापनमा हाम्रो भूमिका र सहभागिता शून्य छ । हाम्रो हैसियत कुल्ली बराबरको पनि छैन । हाम्रो अवस्था ‘पाउन्जेल खाऊँ’ भन्नुबाहेक केही छैन । त्यसैले अहिले श्रीलंकाको संकटबाट नेपालीहरू अत्यधिक त्रस्त छन् । पहिले कोभिड र अहिले रुस–युक्रेन युद्धले जनता महँगीको अत्यधिक चापमा छन् । बाहिरी आयातमा निर्भर हाम्रो जीवन कति जोखिमपूर्ण छ भन्ने तथ्य टड्कारो भएको छ । सानै भए पनि हाम्रो आफ्नो कृषि र औद्योगिक उत्पादन हुन्थ्यो त स्थिति यति विधि भयावह हुने थिएन ।

यदि उद्देश्यको अन्तर्यमा पस्न सक्ने हो भने बीपीले भन्ने गरेको गाउँकेन्द्री समाजवादको महत्त्व अहिले पनि कम छैन, अरू बढेको छ । उजाडिँदै गएको गाउँलाई पुनः हराभरा बनाउन सकिन्छ । विदेशमा ऊर्जाशील युवाको निर्यात हाम्रो हितमा छैन, नेपाली युवाको हितमा छैन । वैदेशिक रोजगारीबाट आर्जित विदेशी मुद्रा नवधनाढ्य भुइँफुट्टा वर्गको मोजमस्तीको साधन भएको छ । वैदेशिक रोजगारीमा जानेले बजारमा सिमेन्टको एउटा घर त ठड्याएको होला, तर उसको सामाजिक र पारिवारिक जीवन विशृङ्खलित भएको छ, भविष्य असुरक्षित भएको छ । बीपीले औंल्याएको राष्ट्रिय क्षति यहाँ प्रस्ट देख्न सकिन्छ । यस्तो दासत्वमुखी धन्दा तुरुन्तै बन्द गर्नुपर्छ र देशभित्रै विकल्प खोज्नुपर्छ । त्यो गाउँकेन्द्री समाजवादबाट सम्भव छ ।

बीपीको विचार र आजको राजनीति मेल खाँदैन, यसको दूरी झन्झन् बढ्दो छ । राजनीतिक प्रणाली बीपीको विचारअनुसारकै छ, तर यसको अभ्यास भने नितान्त फरक छ, प्रतिकूल नै छ भन्न सकिन्छ । गणतन्त्र वा संघीयताका कारण यो भएको होइन; नेतृत्वमा बस्नेको नालायकी, अविवेकी र निजी स्वार्थलम्पट व्यवहारले गर्दा हो । लोकतन्त्रको नाउँमा राजनीति कमाउ धन्दा भएको छ । चाहे कांग्रेस होस् वा कम्युनिस्ट, राजनीतिक दलहरू अहिले आफ्नो उद्देश्यबाट विमुख भएका छन्, चरित्र गुमाएका छन् । जसरी पनि सत्ता कब्जा गर्नु र त्यसलाई निरन्तरता दिनु नै राजनीतिको धन्दा बनेको छ । गठबन्धन गरेर होस् वा नगरेर, संघीय संसद् र प्रदेशसभामा केही सिट बढाउँदैमा नेपाली कांग्रेस आफ्नो मूल उद्देश्य र चरित्रमा फर्किने सम्भावना छैन । कम्युनिस्ट राजनीति त झनै नौटंकी साबित भएको छ । आजको विश्वमा मार्क्सले परिकल्पना गरेको न साम्यवादी सिद्धान्त छ, न कम्युनिस्ट पार्टी नै । यो केही मुट्ठीभर व्यक्तिले सत्ता कब्जा गर्ने प्रपञ्च मात्र हो ।

हाम्रा दलहरूमा नेतृत्वको जुन संरचना छ र त्यहाँ जसको प्रभुत्व छ, सुधार सम्भव छैन । शीर्ष नेताका नाममा नेपालको राजनीति र राज्यसत्ताको कज्याइँ गर्दै आएका आधा दर्जन व्यक्तिलाई यो चुनावबाट मतदाताले बिदा गर्न सक्नुपर्छ । विद्रोहको आवश्यकता छ— नेतृत्वमा विद्रोह, उम्मेदवारीमा विद्रोह, मतदातामा विद्रोह । नेताले खल्तीबाट उम्मेदवार दिने, मतदाताले पार्टी निष्ठाका नाममा मत दिइरहनुपर्ने सामन्तवादी मालिक र दासप्रथाजस्तो चुनावको अब काम छैन ।

गगन थापाले कांग्रेस संसदीय दलको आगामी नेतृत्वमा उम्मेदवारी दिने घोषणा गरेका छन् । यो स्वागतयोग्य कुरा हो । देउवाको ठाउँमा गगन आउने हल्ला गर्दैमा मतदाता उत्साहित हुने कुरा छैन । संसद्मा कति नयाँ अनुहारसहित उनी आउँछन्, उनको टिम कस्तो हुन्छ, त्यो पनि उत्तिकै महत्त्वको हुन्छ । देउवाको विरासतमा आउने सांसदबाट न उनी नेता बन्छन्, न उनले चाहेजस्तो काम नै गर्न सक्छन् । के उनले सक्छन् समाजका विविध क्षेत्रमा देखिने विश्वासलाग्दा पचास जना ताजा अनुहारका उम्मेदवारको नाम लिन, जो पार्टीका सनातनी सदस्यभन्दा लोकतन्त्रवादीका रूपमा समाजमा चिनिएका सफा र सक्षम व्यक्ति मानिन्छन् ? के नेताको कोटरीभन्दा बाहिर संसद्मा पुग्न कोही नेपाली योग्य छैन ?

कांग्रेस, कम्युनिस्ट र आभा गुमाएका उही पुरानै अनुहारबाट वाक्कब्याक्क भएका युवाहरू अहिले विकल्प दिन भनेर सक्रिय हुन थालेका छन् । अक्सफोर्डमा पढाइ पूरा गरेर फर्केका युवा इन्जिनियर सागर ढकालले शेरबहादुर देउवालाई दिएको चुनावी चुनौती मलाई मन परेको छ । उनलाई मेरो शुभकामना पनि छ । तर यो नै विकल्प होइन । कुनै व्यवसाय र घटनामा कसैले केही चर्को स्वर गर्दैमा राजनीतिक व्यक्तित्वको निर्माण हुँदैन । कांग्रेस, कम्युनिस्टको विकल्पको राजनीति निकै लामो यात्रा हो । अधैर्य र अस्थिर मानसिकताले त्यो यात्रा तय हुन सक्तैन । विकल्प खोज्नेहरूले आफ्नो राजनीतिक, आर्थिक र सामाजिक रूपान्तरणको सोचलाई पनि प्रस्ट्याउन सक्नुपर्छ । आफ्नो चरित्रलाई खुला राख्नुपर्छ । मुलुकको अग्रगामी परिवर्तनलाई दिशा दिने सोच चाहिन्छ, प्रतिक्रिया र सन्दिग्ध व्यवहारबाट ग्रस्त भएर होइन ।

प्रकाशित : श्रावण १५, २०७९ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?