२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

बोलेको उतारिरहने कि लेख्ने ?

खँदिला सामग्री तयार पार्न मिहिनेत गर्नुपर्छ । पहिले त अध्ययन खँदिलो चाहियो, बुझाइ गहिर्‍याउन र तार्किक निचोड निकाल्न गहिरिएर सोच्नुपर्‍यो, पर्याप्त समय लगाएर लेख्नुपर्‍यो र धैर्यपूर्वक सम्पादन प्रक्रियामा हेलिनुपर्‍यो ।
उज्ज्वल प्रसाई

करिब दुई महिनाअघि जानेमानेका अर्थविद् स्वर्णिम वाग्लेरचित किताब ‘अतृप्त अवसर’ प्रकाशित भयो । वाग्लेको व्यक्तित्वबाट प्रभावित एवं उनका विश्लेषण रुचाउने पाठकले सो प्रकाशनलाई सुखद माने ।

बोलेको उतारिरहने कि लेख्ने ?

किताब सार्वजनिक भएका बेला थोरैतिनो विमर्श पनि चल्यो । तर किताब विमोचन हुनुभन्दा एक वर्षअघि यसै दैनिकको साप्ताहिक परिशिष्टाङ्क कोसेलीमा प्रकाशित अन्तर्वार्तामा यस पुस्तकलाई आफू स्वयंले गहकिलो नमानेको वाग्लेले बताएका थिए । इमानदारीपूर्वक उनले भनेका थिए, ‘...केपी ओलीको कार्यकालमा मैले लेखेका लेखहरूको एकीकृत संग्रह पनि छापिने प्रक्रियामा छ । म त्यसलाई पनि मिहिनेत परेको उल्लेख्य पुस्तक मान्दिनँ ।’ किताब छापिनु पक्कै सुखद अवसर थियो, स्वयं लेखकले गम्भीर नमानेको कृति छापिनुले यो अवसरलाई अतृप्त नै तुल्यायो ।

वाग्लेको नयाँ किताब मूलतः अखबारमा प्रकाशित सामग्रीहरूको संकलन हो । कतिपय उनले आफैं लेखेका होलान्, धेरैजसो पत्रकारले तेर्स्याएको रेकर्डरमा उनले बोलेका गफ हुन् । अखबारले दिने छोटो समयावधिमा चाहेरै पनि गहकिला सामग्री तयार पार्ने सम्भावना कम हुन्छ, त्यसमाथि कुनै खास घटनालगत्तै लेखाइमाग्नुपर्ने अखबारको बाध्यता हुन्छ । अहिले कुनै घटना भयो, सो घटनामा धारणा व्यक्त गर्न सक्ने विज्ञ वा जानकारबाट केही घण्टामै सामग्री नलेखाउँदा एउटा अवसर गुम्छ; अरू अखबारले घटनालाई अनेक मसला बनाएर बेचिसक्छन् । घटनाबारे धैर्यपूर्वक सोचेर, त्यसका अनेक आयाम पहिल्याएर लेख्न जति समय लाग्छ, अखबारसँग त्यसको एकांश समय पनि हुँदैन । उनीहरू रेकर्डर वा क्यामेरा बोकेर बोलक्कड विज्ञ/जानकारका अघिल्तिर तत्काल पुगिहाल्छन् ।

कहिलेकाहीँ त यसरी नै बोलेका वाक्यहरू पनि सुगठित भएर आउँदा हुन् । पहिल्यैदेखि सोचेको, खोजेको वा अध्ययन गरेको विषय छ भने आधा घण्टाजतिको मन्तव्यमा खँदिला तर्कहरू संयोजित हुन सक्ने सम्भावना पनि रहला नै । बोल्ने कला हुनेले गुदी थोरै हुँदा पनि ज्ञानदानको तातो उपक्रमलाई मोहक बनाइदिन सक्दो हो । तर, सधैं यस्तो हुँदैन । जतिसुकै घागडान अर्थविद्का लागि पनि अर्थ सम्बन्धी सबै विषय उत्तिकै पकड र प्राधिकारसहित बोल्न सम्भव हुँदैन । केही दिन लगाएर आफूले सोच्ने वा अध्ययन गर्नेभन्दा अखबारहरू अर्को बोलक्कडको खोजी गर्न थाल्दा हुन् । चिनजान र सम्बन्ध कसिलो भएका अखबार र पत्रकारले गरेको आग्रह मान्नका लागि पनि तत्काल बोल्नुपर्दो हो । यसरी रेकर्डरमा बोलेको सामग्री एकसरो हेरेर थोरैतिनो सच्याइएको हुन सक्छ । थप काम गरेर त्यसलाई खँदिलो बनाइएको विरलै पाइन्छ ।

‘अतृप्त अवसर’ मा यिनै ‘हतार’ र ‘तत्काल’ हरू संकलित भए । मूलतः मन्तव्य र भाषणकै उतार मात्र भए । वाग्लेजत्तिको अनुभव भएका, अवसर पाएका र बोल्न जान्ने विद्वान्लाई अखबारले पछ्याउनु सामान्य हो । हेडलाइन बन्न सक्ने, ‘पुल कोट’ वा ‘ब्रेकर’ बनाएर देखाउन मिल्ने र ट्वाक्क स्वाद पर्ने वाक्यहरू बोल्न जानेपछि अखबारको रोजाइमा पर्नु अनौठो होइन । तर, उनलाई जसरी लेखाउन सक्नुपर्थ्यो, त्यो काम गर्न हाम्रा अखबार तयार छैनन् । बोल्न लगाएर आफूले सार्ने नभई ध्यानपूर्वक ज्ञान, सूचना, अनुभव, र संश्लेषण गर्ने बौद्धिक क्षमताको प्रचुर उपयोग गरेर उनलाई लेख्नै लगाउनुपर्थ्यो । त्यसरी काम गराउन सकिएको भए, यो अवसर यसरी अतृप्त रहने थिएन ।

कुनै विषयमा पर्याप्त समय दिएर सामग्री लेखाउने, सो विषयमा ज्ञान भएका पत्रकार र सम्पादकले सामग्री पढ्ने, सम्पादन गर्ने, आफूलाई लागेका प्रतिक्रिया दिने, भएका अपूर्णता र अस्पष्टता कम गर्न सहयोग गर्ने अनि तर्कलाई टेकाउने उदाहरण वा तथ्यांक नपुग्दा थप्न र विस्तार गर्न लगाउने काममा समय धेरै लाग्छ । अर्थात्, एउटा लेख तयार गर्न दुई जनाजति पत्रकारले केही दिनसम्म दैनिक एकदुई घण्टा लगातार लगानी गर्नुपर्ने हुन्छ । यति समय र स्रोत जुटाउन दैनिक अखबारलाई सम्भव हुन्छ ? त्यस्तो सम्भव नभएकैले ज्ञानदाताका मन्तव्यहरूको लिखित उतार नै धेरै प्रकाशित भएका होलान् ।

दैनिक अखबार हतारको कर्म हो भन्ने स्थापित सत्य हो । हाल प्रचलित अनलाइन नामको पत्रकारितालाई त अझ अघि बढेर क्षणवादी उद्यम भने हुन्छ । क्षणमा सामग्री निर्माण गर्ने, अर्को क्षण त्यसलाई विद्युतीय भित्तामा टाँस्ने, त्यसरी टाँसेको क्षण नबित्दै सञ्जालमा वितरण गर्ने र एकै छिनमा त्यो सर्वत्र छरिने । र, एवंरीतले पाठकले पनि उसै गरी अर्को क्षणमा बिर्सने । बिर्सन नदिने उद्देश्यले हुन सक्छ, ती हतारहरूलाई पनि संकलन गरेर किताब प्रकाशन गर्ने उपक्रम द्रुत छ । खास गरी लेखक वा विद्वान्का रूपमा पहिल्यै पहिचान बनाइसकेकाहरूले यस्ता सामग्रीको पुस्तकाकार संकलन छिटछिटो प्रकाशन गर्ने गरेका उदाहरण धेरै छन् ।

एकताका नेपाली बौद्धिकबारे अखबारहरूमा धुमधाम चर्चा चल्यो । को बौद्धिक हो र होइन, साथै बौद्धिकले के गर्नुपर्छ र के गर्नु हुँदैनजस्ता विषयमा थुप्रै लेख प्रकाशित भए । अचेल पनि कहिलेकाहीँ यस्ता लेखहरू अखबारमा छापिइरहेकै छन् । बौद्धिकबारे सबैलाई थाहा भएको तर बौद्धिकले गर्नैपर्ने गतिलो, गहकिलो र नयाँ खोजसहितका सामग्री लेख्ने काम भने खासै नभएको देखेर होला, ऊ बेला रेकर्ड नेपालमा कार्यरत पत्रकार शुभाङ्ग पाण्डेले एउटा आलोचनात्मक लेख लेखे । ‘क्यान वी स्टप टकिङ अबाउट पब्लिक इन्टिलेक्चुअल्स ?’ शीर्षक सो लेखमा पाण्डेको टिप्पणी पेचिलो थियो, ‘पप गीतको थोक उत्पादन हुन थालेपछि बदलिएका गीतका रूप र शब्दबारे लेख कति पढ्न पाउँछौं ? अथवा, ‘फार्मर्स मार्केट’ को संख्या वृद्धि हुनुका कारण वा सहरहरूको बिस्तारै भइरहेको ‘जेन्ट्रिफिकेसन’ र यी सबै प्रक्रियाले आम कामदार वर्गमा पारेको असरबारे कति लेखिन्छ ? वा, हाम्रा संग्रहालयका सांस्कृतिक इतिहास कतिको छाप्छन् अखबारले ? हाम्रा टीभीमा छाएका सोहरूले हाम्रो राजनीतिक ध्रुवीकरणबारे के बताउँछन् भनेर कसले लेखेको छ ? मध्यमवर्गीय घरबाट निस्कने फोहोरमा नेपाली अर्थतन्त्रको उदारीकरणको प्रभाव कति छ भनेर कहाँ लेखिएको छ ?’

यस्ता सामग्री तयार पार्न मिहिनेत गर्नुपर्छ । सबभन्दा पहिले त अध्ययन खँदिलो चाहियो, बुझाइ गहिर्‍याउन र तार्किक निचोड निकाल्न वा उपयुक्त प्रश्न उठाउन गहिरिएर सोच्नुपर्‍यो, आफ्ना धारणालाई सरल एवं सम्प्रेष्य बनाउन लेख्ने सीप विकास गर्नुपर्‍यो, पर्याप्त समय लगाएर लेख्नुपर्‍यो र धैर्यपूर्वक सम्पादन प्रक्रियामा हेलिनुपर्‍यो । भारतका ‘क्याराभन’ र ‘ईपीडब्ल्यू’, अन्यत्रका ‘एन प्लस वान’ र ‘न्यु लेफ्ट रिभ्यु’ वा ‘लन्डन रिभ्यु अफ बुक्स’ का उदाहरण दिँदै यी पत्रिकाका सम्पादक र लेखकले गर्ने मिहिनेतको एउटा सानो अंश बराबर पनि हाम्रा अनलाइन र अखबारहरूले नगरेको पाण्डेले लेखेका छन् । प्रश्न जम्मा यत्ति हो- जस्ता अखबारी सामग्री संकलित भएर हाम्रामा किताब बन्छन् र तिनको प्रशंसा हुन्छ, के त्यस्ता सामग्रीहरू उदाहरणार्थ माथि उल्लिखित पत्रिकाहरूले उत्तिकै महत्त्वसाथ प्रकाशन गर्छन् ?

कागजी अखबारका साथै अनलाइन सामग्री प्रकाशन गरिरहेका सञ्चारगृहले यो स्तरको बौद्धिक खुराक उत्पादन गर्न किन सक्दैनन् ? स्रोतको अभाव हो वा आवश्यकता नै छैन भन्ने ठम्याइ हो ? वा, त्यसरी मिहिनेतपूर्वक काम गरिदिने विषयविज्ञ, सिर्जनात्मक लेखक र विद्वान् नै नभएका हुन् नेपालमा ? दैनिक अखबार होइन, पाक्षिक वा मासिक पत्रिकामा मात्रै त्यस्ता काम गर्न सकिएला भन्ने बुझाइ पो हो कि ? वा, यतिको बौद्धिक खुराक पढ्ने पाठक नै नभएको निष्कर्ष हो ? बिर्सन नहुने तथ्य के हो भने, यही समाजमा ‘मूल्याङ्कन’ जस्ता बौद्धिक पत्रिकाको पर्खाइमा बस्ने पाठक पर्याप्त थिए भने ‘समाज अध्ययन’ जस्ता प्राज्ञिक जर्नल पढ्नेहरू पनि छँदै छन् ।

अचेल ह्वारह्वार्ती खुलेका अनलाइनबाट धेरै अपेक्षा गर्न सकिँदैन । तिनका लागि यस्ता प्रश्न नै सबैभन्दा बढी फजुल लाग्न सक्छन् । तीमध्ये अधिकांश कि सनसनीखेज उल्का गर्न पल्केका छन्, नत्र अरूले उत्पादन गरेका ‘ताता खबर’ ओर्काइफर्काइ गरेर छाप्न । रासस र न्युज कारखानाका माल ओसार्ने काम नै तिनलाई भारी भइसकेको छ । तर, सुनाम र दाम पनि कमाएर स्थापित भइसकेका केही अनलाइन मिडिया सञ्चालकहरूले यी प्रश्नमा घोत्लिन जरुरी छैन ? राम्रोसँग अध्ययन गरिएको, पर्याप्त तर्क र तथ्य भएको, लेखनशैली आकर्षक भएको र चुस्त सम्पादन गरिएको सामग्री छाप्न सबैभन्दा सजिलो नै यी स्थापित अनलाइन मिडियालाई हुनुपर्ने हो ।

कागज, छपाइ, वितरण लगायतका अनेक टन्टा उठाउन नपर्ने माध्यम हो- अनलाइन । मूल लगानी नै पत्रकार, लेखक र सामग्री उत्पादनमा केन्द्रित गराउँदा खँदिला खुराक उत्पादन गर्न सकिन्थ्यो । साथै, अलि विस्तारित आकारमा उचित व्याख्यासहितका लामा सामग्री छाप्न र आवश्यक श्रव्यदृश्य पनि जोड्न अनलाइनमा स्पेसको कुनै समस्या हुँदैन । सम्भावना अनेक हुँदा पनि व्यक्तिगत व्यथाले भरिएका ब्लग, पुरानै ढर्राका भाषणपरक विश्लेषण र सूचनाको असरल्ल बिस्कुन मात्रले ती सबै स्पेस भरिएका छन् । पहिलेका राम्रा म्यागजिन अब रहेनन्; नयाँ भनिएका अनलाइनहरू माध्यम मात्र नयाँ भए, काममा नयाँपन पटक्कै छैन । बरु, पुरानाभन्दा कमसल कमोडिटीको प्रसार मात्र भइरहेको छ ।

नयाँ माध्यमको उपयोगिता बुझेका सञ्चार सञ्चालक र सम्पादकले नेपालका ज्ञानीहरूलाई कसरत गराउने उपक्रम

सुरु गरे उत्तम हुन्थ्यो । सम्पादकले पनि व्यवस्थापनभन्दा लेखन र सम्पादन बेसी गरे हुन्थ्यो । नेपालका ज्ञानीहरूको जाँगर

वृद्धि गराउँदै, बोल्नेभन्दा धेरै पढ्ने, सोच्ने, र लेख्ने पर्यावरण निर्माणमा सहयोग पुर्‍याइदिए गज्जब हुन्थ्यो । बौद्धिकहरूलाई साँच्चैको बौद्धिक कसरतमा खटाए मनग्गे खुराक

निस्कन्थ्यो । यी खुराक किताब बन्ने अवसर जुट्दा लेखक र आम पाठक तृप्त हुन्थे ।

प्रकाशित : श्रावण १३, २०७९ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?