सहरका अव्यवस्थित रूख

जसरी सहरका भौतिक पूर्वाधार निर्माणमा इन्जिनियरिङको प्रयोग गरिन्छ, त्यसरी नै सहरका हरित पूर्वाधार निर्माणमा पनि इकोलोजीको प्रयोग अनिवार्य हुन्छ ।
उत्तमबाबु श्रेष्ठ

साउन ८ गते आइतबार भक्तपुरको दूधपाटीमा एउटा सडक दुर्घटना भयो । अन्य सडक दुर्घटनाभन्दा पृथक् उक्त दुर्घटनाको कारक सडकछेउको रूख थियो । सल्लाको रूख ढलेर सडकमा गुडिरहेका स्कुटर र बसमाथि बज्रँदा घटनास्थलमै तीन जनाको मृत्यु भयो, सँगै १५ जना सामान्य र एक जना गम्भीर घाइते भए ।

सहरका अव्यवस्थित रूख

तीन महिनापहिले वैशाखमा सुर्खेतमा यसरी नै रूखले किच्दा एक जनाले ज्यान गुमाएका थिए भने, गत जेठमा चितवनमा ढलेको रूखले सवारीसाधनलाई किच्दा तीन जनाको मृत्यु भएको थियो । हुरीबतासको सिजन मानिने जेठमै थापाथलीको मध्यभागमा धुपीको रूख ढलेर सडक अवरुद्ध भएको थियो भने, जेठ ६ गते सिंहदरबारभित्रको एउटा रूखको हाँगा भाँचिएर लाग्दा राष्ट्रिय अनुसन्धान विभागका एक कर्मचारीले ज्यान गुमाएका थिए ।

पछिल्लो समय सहरमा बढिरहेको रूख ढल्ने र त्यसले मानिसको ज्यान लिने, घाइते बनाउने एवं यातायात र बिजुलीजस्ता सेवाप्रवाहलाई अवरुद्ध पार्ने शृंखलाले हाम्रा मानव बस्तीमा रोपिएका रूखहरू टाउकामाथि रौंमा झुन्डिएका तरबार बन्दै गएको देखिन्छ । तर हाम्रा सहरहरूमा रूख रोप्ने, हुर्काउने, नियमित सम्भार गर्ने र त्यसको समग्र जिम्मा लिने न कुनै निकाय छ, न त्यस सम्बन्धी स्पष्ट कार्ययोजना, कार्यविधि र नियमकानुन नै छन् । यसको अभावले सहरी जीवनलाई थप असुरक्षित र जोखिमउन्मुख बनाएको छ ।

आधुनिक सहरमा हरित पूर्वाधार

पहिलेपहिले सहरबस्तीहरूमा रूख रोप्ने भनेको सौन्दर्य बढाउनका लागि मात्रै हुन्थ्यो र त्यही मान्यतामा ‘सुन्दर’ प्रजातिका बिरुवाहरू छनोट गरेर सहरबस्तीमा ल्याई आफूखुसी रोपिन्थ्यो । तर यतिखेर रूखबिरुवा सहरी पूर्वाधारको महत्त्वपूर्ण हिस्सा बन्न पुगेका छन् । आधुनिक सहर निर्माणमा भौतिक पूर्वाधारहरू भनिने भवन, सडक, फुटपाथ, ढल, बिजुली, टेलिफोनका लाइन आदिलाई जत्तिकै प्राथमिकता हरित पूर्वाधार भनिने रूखबिरुवालाई दिने गरिन्छ । त्यसैले जसरी सहरका भौतिक पूर्वाधार निर्माणमा इन्जिनियरिङको प्रयोग गरिन्छ, त्यसरी नै सहरका हरित पूर्वाधार निर्माणमा पनि इकोलोजीको प्रयोग अनिवार्य हुन्छ ।

जसरी भौतिक निर्माणमा कमसल सामान प्रयोग गर्दा वा समयमै मर्मत–सम्भार नगर्दा समस्या हुन्छ, त्यसै गरी सहरका हरित पूर्वाधारहरूको निर्माणमा गलत प्रजातिको छनोट र हुर्केका रूखबिरुवाको सम्भार नगर्दा त्यसले थप समस्या निम्त्याउँछ । थप, रूखबिरुवा जमिनमुनि र आकाशतिर फैलने भएकाले अनि सहरमा जमिनमुनि र माथि पनि संरचना हुने भएकाले पनि रूखबिरुवाको व्यवस्थापनमा विशेष ध्यान दिनु जरुरी छ । अन्यथा सहरमा रोपिएका रूखहरू खास उद्देश्यप्राप्तिमा असफल हुने मात्रै होइन, तिनले नचिताएको जोखिम बढाउन सक्छन् ।

सहरमा रूखबिरुवा लगायतका हरित पूर्वाधारलाई महत्त्व दिनुको मुख्य कारण यसका वातावरणीय, सामाजिक र आर्थिक योगदानहरू हुन् । भनिन्छ, एउटा वयस्क रूखले एक वर्षमा करिब १० वटा एयर कन्डिसनर लगातार चलाए जसरी वायु चिस्याउने काम गर्छ र करिब ३,४०० लिटर बर्खेपानी सोस्छ । २७ किलो कार्बन मोनोअक्साइड, नाइट्रोजन डाइअक्साइड, ओजोन, सल्फरअक्साइडजस्ता प्रदूषक ग्यासलाई र १५० किलो हरितगृह ग्यास कार्बन डाइअक्साइडलाई वायुमण्डलबाट सोस्ने गर्छ । रूखका यस्तै विशेषताहरूले सहरमा औसत रूख भएको ठाउँको तापक्रम २ देखि ८ डिग्रीसम्म न्यून हुन्छ । पंक्तिकार र शिरीष महर्जनले ल्यान्डस्याट स्याटेलाइटको तस्बिरमा आधारित तीन वर्षको तापमान विश्लेषण गर्दा काठमाडौं एयरपोर्टको रनवेभन्दा सँगैको गल्फ मैदानको तापक्रम औसतमा ५ डिग्री कम थियो । जाउलाखेल चोकको भन्दा चिडियाखानको र भोटाहिटीको भन्दा खुलामञ्चको तापक्रम औसतमा लगभग ४ डिग्रीले कम थियो ।

यसले के देखाउँछ भने, बढ्दो जनसंख्या, सडकको सञ्जाल, सवारीसाधनको चाप आदिका कारण तापको टापु बनेको सहर (अर्बन हिट आइल्यान्ड) को तापमान घटाउन रूखबिरुवाले महत्त्वपूर्ण भूमिका खेल्छन् । सहरमा यस्तो उच्च तापमान हुँदा जनस्वास्थ्यमा प्रतिकूल असर पुग्छ । गर्मीबाट बच्नका लागि मानिसहरूले पंखा र एसी चलाउँदा ऊर्जाको खपत बढ्छ । तर प्रशस्त हरियाली भएको सहरमा रूखबिरुवाले प्राकृतिक रूपमा एसीको काम गर्छन्, जसबाट ऊर्जाको प्रयोग घटी सहरी बासिन्दाहरूलाई आर्थिक फाइदा मिल्छ ।

आर्थिकसँगै, सहरी हरियालीका अप्रत्यक्ष सामाजिक फाइदाहरू पनि छन् । सहरी हरियालीले अपराध घटाउने, उत्पादकत्व बढाउने र सामाजिक सद्भाव बढाउने गर्छ । थप, सहरका रूखबिरुवाले वर्षातको पानी फिल्टर र रिचार्ज गर्नेर्देखि अन्य जीवलाई बासस्थान प्रदान गरेका हुन्छन् । जस्तै— रिङरोडको महालक्ष्मीमा बचेका ठूला ज्याकारान्डाका रूखहरू प्रत्येकमा चराका चार–पाँचवटा गुँड देखिन्छन् । त्यस कारण जैविक विविधता संरक्षणमा मात्रै होइन, जलवायु परिवर्तनले ल्याइरहेको अधिक गर्मी, अधिक वर्षाजस्ता चरम जलवायुजन्य घटनासँग जुध्नका लागि पनि आधुनिक सहरमा हरित पूर्वाधार अनिवार्य भएको छ ।

सहरमा रूख र मान्छेको प्रतिस्पर्धा

सहर भनेको मानवनिर्मित संरचना हो । सहरको निर्माण र विस्तारसँगै कृषि र वन क्षेत्र नासिँदै र त्यसमा मानवनिर्मित संरचनाहरू ठडिँदै जान्छन् । त्यसैले सहरमा मान्छे र रूखबीच जमिन ओगट्ने प्रतिस्पर्धा चल्छ । मानिसले सहरमा रूखका लागि मुख्यतः पाँच ठाउँ छुट्याएका हुन्छन् । पहिलो, गोदावरी वा थानकोटजस्ता काँठ (पेरी अर्बन) का ठूला पार्कहरूमा वा धार्मिक हिसाबले पशुपति, स्वयम्भूजस्ता ठाउँहरू । दोस्रो, सहरको केन्द्रमा रहेका सहरी पार्क भनिने रत्नपार्कजस्तो स्थान । तेस्रो, सहरका शंखमूल, नारायणचौरजस्ता ससाना पकेट पार्कहरू । चौथो, फराकिलो पैदल सडकका दुवैतिर रूख रोपेर त्यसको बीचमा हिँड्ने संरचना (एभिन्यु) जुन नेपालमा हतपती भेटिँदैन । र पाँचौं, सडकको वरपरÙ जस्तै— कोटेश्वरदेखि बल्खुसम्म रोपिएका जसरी वा माइतीघरदेखि तीनकुनेसम्मको सडकको बीचको मिडियन ।

यस्ता सार्वजनिक ठाउँमा बाहेक व्यक्तिगत वा सार्वजनिक संस्थानका ठूला कम्पाउन्डहरूमा पनि हरियाली हुन्छ तर जनसंख्या वृद्घिसँगै निजी घरका हरियालीहरू क्रमशः हराउँदै जान्छन् । जग्गाको मूल्यवृद्घिसँगै हरियालीयुक्त कम्पाउन्ड भएका घरहरूले रूखबिरुवा हुर्केका स्थानहरूमा मानवनिर्मित संरचनाहरू बनाउन थाल्छन् । त्यसको उदाहरण प्रशस्त हरियाली भएको ऐतिहासिक समिट होटलको ठाउँमा ठूलो अपार्टमेन्ट र होटल बनाइन लाग्नु हो । सिंहदरबारभित्रै पनि रूखबिरुवा हुर्केका स्थानहरूमा धमाधम भवनहरू बनिरहेका छन् ।

यस्तो परिस्थितिमा सहरमा मानवनिर्मित खैरा संरचनाका तुलनामा हरित संरचनाहरूले ओगटेको भू–अनुपात घट्दै जान्छ । र, सार्वजनिक जग्गाहरूमा हरित पूर्वाधारहरू निर्माण गर्ने बाध्यता पालिकाहरूलाई पर्छ । त्यस्तो अवस्थामा मन्दिर लगायतका धार्मिक ठाउँ, नदी किनारा र पार्कहरूमा थप बिरुवा रोप्ने, हरियाली बढाउने र प्रशस्त जग्गा भएका शैक्षिक, सरकारी संस्थाहरूमा वृक्षरोपण गर्नेबाहेक सडकवरपर बिरुवा रोप्ने बाध्यता आइपर्छ ।

सडक किनाराका रूख

हाल नेपालका राजमार्ग र सहरी सडकहरूवरपर रूख रोप्ने चलन बढेको छ । उपत्यकाका थुप्रै सडक किनारामा अहिले वृक्ष र हरियाली बढेको देख्न सकिन्छ । तर यहाँका सडक किनारामा रूख हुर्काउन थुप्रै चुनौती छन् । हाम्रा अधिकांश सडक किनारामा रूख हुर्काउने सोचले बनाइएका छैनन् । कैयौं सडक फुटपाथविहीन छन् र भएका फुटपाथ पनि साँघुरो हुनाले रूख हुर्काउन नमिल्ने छन् । कतिपयमा रूख हुर्काउन मिल्ने फुटपाथ भए पनि त्यसमाथिका बिजुली लगायतका तारले रूखबिरुवाको वृद्घिमा तगारो हाल्छन् ।

यस्ता भौतिक चुनौतीसँगै कतिपय ठाउँमा सडक किनारामा रूख रोप्न स्थानीय बासिन्दाले अवरोध गर्छन् । कोटेश्वर–बल्खु खण्डमा बाक्लो वृक्षरोपण गरी सहरी जंगलका रूपमा त्यहाँका सडक किनारलाई विकास गर्नमा स्थानीय बासिन्दाहरूले अवरोध गरे । यसले गर्दा रूखहरू एक लाइन मात्र रोपिए र बाँकी जमिनमा हेरचाह गर्न गाह्रो हुने, पानी बढी चाहिने तर कम वातावरणीय सेवा दिने चौर बनाउनुपर्‍यो ।

नेपालमा सडकवरपर कसले रूख रोप्ने, हुर्काउने र जिम्मा लिने भन्ने कानुनी अस्पष्टता छ । सहरी विकास रणनीति र राष्ट्रिय सडकको मापदण्डमा सहरी वन गायब छ । राष्ट्रिय सडकको मापदण्ड हेर्दा त्यसले सडकवरपर रूख रोपिने कल्पनासम्म नगरेको देखिन्छ । पछिल्लो वन ऐनले सडकका रूख स्थानीय निकाय अन्तर्गत हुने उल्लेख गरे पनि स्थानीय सरकार सञ्चालन ऐनमा त्यो कुरा परेको छैन । त्यसैले सडकका रूख विभिन्न क्लबदेखि बैंक, स्कुल–कलेज र वित्तीय संस्थाहरूको काम देखाउने साइनबोर्ड बन्न पुगेका छन् । र, हाम्रो सहरमा सबैभन्दा भद्रगोल कुनै वस्तु छ भने त्यो साइनबोर्ड हो ।

सामान्यतया सडकका रूखहरू जनधनलाई असुरक्षित नपार्ने, पदयात्री र गाडीहरूको दृश्यलाई नछेक्ने, बिजुली लगायतका तारलाई बाधा नपुर्‍याउने, जमिनमुनिको ढललाई नोक्सान नगर्ने र ठूला गाडीले नछुने हुनुपर्छ । साथै सहरमा निश्चित ठाउँमा मात्रै रूख रोप्न र हुर्काउन मिल्ने भएकाले रूखको प्रजाति छनोट गर्दा कुन ठाउँमा रोप्ने भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । पार्कमा रोप्ने, फराकिलो फुटपाथमा रोप्ने, साँघुरो फुटपाथमा रोप्ने वा मिडियनमा रोप्ने भन्ने कुरामा रूखको प्रजातिको छनोट निर्भर गर्छ । तथापि सहरमा रूख रोप्दा प्रजातिगत, उमेरगत, उचाइगत र आकारको विविधता हेरिन्छÙ हलक्कै र सुस्तसँग बढ्ने, आगन्तुक र रैथाने, पतझड र सदावहार वनस्पतिको मिश्रण गरेर रोपिन्छ । बिरुवा रोपिसकेपछि त्यसलाई नियमित रूपमा हेरचाह गर्ने, हाँगा छिमल्ने, सीधा पार्ने, गोडमेल र सिँचाइ गर्ने, जाडो मौसममा पातको नियमित संकलन गर्ने गरिन्छ । विकसित देशका सहरहरूमा सडक किनाराको प्रत्येक रूखको लोकेसनसहितको तथ्यांक राखिएको हुन्छ ।

तर हाम्रा सहरका रूखहरू हेर्दा सहरी वनका यी सामान्य ज्ञान र विज्ञानलाई बेवास्ता गरिएको पाइन्छ । त्यसैले काठमाडौंको साँघुरो फुटपाथमा शमीजस्तो भीमकाय रूख हुने वनस्पति हुर्काइँदै छ, यहाँको हावापानीप्रतिकूल देवदार रोपिँदै छ वा पैदलयात्री र गाडीलाई छेक्ने र तारलाई छुने गरी जोखिमयुक्त रूख त्यसै छोडिएको छ । सहरी रूखहरूको यस्ता भद्रगोलले दृश्य प्रदूषण व्याप्त हाम्रा सहरमा केही शीतलता प्रदान गर्न फाट्टफुट्ट उभिएका हरिया रूखहरू पनि बोझिलो बनेका छन् ।

यो भद्रगोललाई सुधार्न कानुनी स्पष्टता, सहरी वन र ल्यान्डस्केपिङ सम्बन्धी पढाइ, सहरी रणनीति र सडकको मापदण्ड, वन र स्थानीय सरकार सञ्चालन ऐनमा सुधार जरुरी छ । भारतमा हालै राजमार्गलाई हरियालीपूर्ण बनाउन सुरु गरिएको ‘ग्रिन हाइवे मिसन’ अन्तर्गत त्यहाँको राजमार्ग बनाउने खर्चको १ प्रतिशत अनिवार्य रूपमा राजमार्गको हरित विकास र त्यसको सम्भारमा लगाउनुपर्ने नियम बनाइएको छ । संसारका अन्य सहरले सहरी वनलाई जलवायु परिवर्तनसँग जुध्ने दिगो, सबल र सस्तो आधार मान्दै सहरमा हरियाली बढाउन थालेका छन् । एउटा चिनियाँ उखान छ— ‘रूख रोप्ने उचित समय भनेको ५० वर्षअघि हो र दोस्रो उचित समय भनेको अहिले हो ।’ दोस्रो उचित समयमा रोपिएका रूखहरू भविष्यका लागि समस्या नबनून् ।

प्रकाशित : श्रावण १२, २०७९ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?