१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

दुर्व्यसनको दलदल

सम्पादकीय

नेपालमा सहर र गाउँका सुविधा र सुख–दुःखमा अनेक भिन्नता भए पनि लागूऔषध दुर्व्यसन भने जताततै हाजिर छ । दुर्व्यसनीको मात्रा र प्रकार ठाउँ हेरी केही फरक होला, तर यो कुलतले नछोएको जिल्ला भेट्न मुस्किल छ । दुर्व्यसनीको संख्या बढ्दै जाँदा जिल्ला–जिल्लामा पुनःस्थापना केन्द्रहरू खुल्ने क्रम बढिरहेको छ ।

दुर्व्यसनको दलदल

देशभर हुने–खानेका परिवारका सदस्य मात्रै होइन, मध्यमदेखि निम्नवर्गीय परिवारका सदस्यसम्म लागूऔषधको दलदलमा फसिरहेका छन् । झापा, मोरङ र सुनसरीका पुनःस्थापना केन्द्रमा करिब २५ प्रतिशत पहाडी जिल्लाका दुर्व्यसनी हुनु यो कुलत सर्वव्यापी भएको प्रमाण हो, र समकालीन नेपाली समाजको एउटा भयप्रद यथार्थ पनि । परिवार, समाज र राज्यका निकायहरूको यथोचित सतर्कता र समन्वयमा यो समस्यालाई न्यूनीकरण गर्नु अपरिहार्य छ ।

चिकित्सकको सिफारिसमा मात्रै प्रयोग गर्न मिल्ने औषधिहरू डाइजेपाम, फेनारगन, नोफिन, नाइट्रोभेटदेखि गाँजा र खैरो हेरोइनसम्मका लागूपदार्थको ओसारपसार र प्रयोग जिल्ला–जिल्लामा भइरहेको छ । मंगलबार मोरङको इलाका प्रहरी कार्यालय रानीमा ५३ थुनुवा भएकामा ४९ जना लागूऔषध तस्करी आरोपमा पक्राउ परेकाहरू हुनु नै यसको जालो कुन रूपमा बढिरहेको छ भन्ने एउटा नमुना उदाहरण हो । यति मात्र होइन, मोरङ कारागारमा १ हजार १३ कैदीबन्दीमध्ये लागूपदार्थका मात्रै १ सय ९९ जना छन् । प्रदेश १ प्रहरीको लागूऔषध नियन्त्रण एकाइका अनुसार आर्थिक वर्ष २०७८/७९ मा प्रदेश १ मा मात्रै लागूपदार्थ सेवन र ओसारपसार सम्बन्धी ६ सय ९१ मुद्दा दर्ता भए । यस्तै लहर सुदूरपश्चिमसम्मै छ । लहैलहैमा लागूऔषधको दुर्व्यसनमा फस्ने किशोरहरू सुदूरपश्चिमको प्रत्येक गाउँमा भेटिन्छन् । कञ्चनपुर कारागारमा रहेका साढे ४ सय कैदीबन्दीमध्ये १ सय ४७ जना लागूऔषध सम्बन्धी मुद्दाका छन् । यस प्रदेशका कैलाली र कञ्चनपुर सीमावर्ती भारतीय बजारबाट लागूऔषध ओसारपसारको ‘ट्रान्जिट’ बनेका छन् ।

दुर्व्यसनबाट सम्बन्धित व्यक्ति मात्र कुलतमा फसिरहेको हुँदैन, उसले पूरै परिवार र समाजलाई पनि समस्यातर्फ धकेलिरहेको हुन्छ । यस्तो कुलतमा फसेकाहरूले लागूऔषध किन्नकै निम्ति परिवारको पैसा–सम्पत्ति हरतरहले सकिरहेका हुन्छन् । लागूऔषध जुटाउनै कतिपय चोरी कार्यमा संलग्न हुने गरेका छन् । दुर्व्यसनका कारण समाजमा अपराधका घटनाहरू बढेका छन् । झैझगडा र चोरी मात्र होइन, दुर्व्यसनीबाट आफ्नै साथीको हत्या भएका उदाहरण पनि छन् । अर्कातर्फ, दुर्व्यसनीको उपचारका निम्ति परिवारको र लागूऔषध नियन्त्रणमा राष्ट्रकै पनि ठूलो धनराशि खर्च भैरहेको हुन्छ । प्रायः रोजगारी गर्ने उमेर समूहका व्यक्तिहरू यस्तो समस्यामा फस्ने भएकाले यसबाट देशको उत्पादकत्वमा पनि असर परिरहेको हुन्छ ।

यस्तो समस्या न्यूनीकरणका निम्ति सर्वप्रथम त कस्तो आर्थिक, सामाजिक वातावरणमा दुर्व्यसनीहरू बढिरहेका छन् भन्नेमै व्यवस्थित अध्ययन जरुरी देखिन्छ । ताकि, कोही किन दुर्व्यसनी बनिरहेको छ भन्ने पत्ता लगाउन सकियोस्, र जरो कारणकै उपचार खोज्न सकियोस् । दोस्रो, दुर्व्यसनीको पहिचानमा ध्यान दिइनुपर्छ । घरपरिवारको कोही सदस्यमा आफ्नो काममा ध्यान नदिने, सामान्य जिम्मेवारी पनि पूरा नगर्ने, राम्ररी खाना नखाने, राम्ररी नसुत्ने, लामो अवधि अकारण आफन्तबाट टाढा बस्नेजस्ता समस्या देखिएमा यस्तो शंका गर्नुपर्ने हुन्छ । सरसंगतले पनि धेरै व्यक्ति यस्तो दलदलमा फस्न पुग्ने भएकाले आफ्नो पारिवारिक सदस्यका साथीसंगी कस्ता छन् भन्नेमा पनि ध्यान पुर्‍याउनुपर्छ । थाहै नपाई आफ्नो कोही सदस्य दुर्व्यसनको सिकार त बनिरहेको छैन भन्नेमा परिवार सधैं चनाखो रहनुपर्छ ।

तेस्रो, यस्तो कुलतको दलदलमा फसेकाहरूलाई शीघ्र पुनःस्थापना केन्द्रमा राख्ने लगायत उपचार कार्यहरू गर्नुपर्छ । समस्या के छ भने, कुलतमा फसेकामध्ये निकै थोरै मात्रै पुनःस्थापना केन्द्रसम्म पुग्छन् । जबकि, समस्यामा फसेकाहरूलाई यस्ता केन्द्रमा राखेर कुलतबाट छुटाई परिवार र समाजमा पुनःस्थापनायोग्य बनाउन सकिन्छ, बनाउनु पनि पर्छ । तर कति परिवारले समस्या थाहा भैसके पनि परिवारको इज्जतमा प्रश्न उठ्ने सम्झेर आफ्नो सदस्यलाई यस्ता केन्द्रमा राख्न अनकनाउँछन्, जसले समस्या थप बढाइरहेको छ । दुर्व्यसनमा फसेकाहरूलाई निश्चित अवधिसम्म यस्ता केन्द्रमा राख्ने विषयलाई अरू बिरामीहरू अस्पताल गएकोजस्तै सामान्य रूपमा लिइनुपर्छ, खालि यिनको सञ्चालन मापदण्डमा राज्यका निकायहरूको ध्यान पुग्नुपर्छ ।

र चौथो, लागूऔषध नियन्त्रणमा राज्यले आफ्नो उपस्थिति बढाउनुपर्छ, जसमा समुदायले पनि सघाउनुपर्छ । भारतसितको खुला सीमाका कारण प्रतिबन्धित लागूऔषधको ओसारपसार सहज रूपमा हुने गरेको पाइएकाले यसमा कडाइ गरिनुपर्छ । यसका लागि सीमा क्षेत्रका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरूको बैठकमा यसबारे पनि छलफल गरी ओसारपसार न्यूनीकरणमा जोड दिनुपर्छ । लागूऔषध ओसारपसार र प्रयोग घटाउन अनि यसको दलदलमा फसेकाहरूलाई कुलतबाट छुटाएर समाजमा पुनःस्थापनामा सघाउन परिवार, समाज र राज्यका निकायहरू सबैले उचित पहल गर्नु जरुरी छ ।

प्रकाशित : श्रावण १२, २०७९ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?