३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

एम सर, सशरीर हाजिर होऊ !

हरेक घटनासँग सम्बन्धित समाचारहरूको आयु अब छोट्टिँदै छ । नयाँ घटनाहरूले पुराना घटनाहरूलाई चपाइदिँदै छन्, ओझेल पार्दै छन् । हाम्रो स्मरणशक्ति कमजोर हुँदै छ ।
नरेन्द्रजंग पिटर

अठचालीस वर्ष पहिला रिलिज भएको राजेश खन्ना र मुमताज अभिनीत हिन्दी फिल्म ‘रोटी’ को एउटा गीतले भन्छ- ‘यह जो पब्लिक है यह सब जानती है / अजी अन्दर क्या है, अजी बाहर क्या है /यह सबकुछ पहचानती है, पब्लिक है ।’

एम सर, सशरीर हाजिर होऊ !

कानुनी र शक्तिका भाषामा जे भने पनि जनविश्वासमा भने ‘जालैले छेकेको, छेके पनि छर्लङ्गै देखिन्छ ।’ शक्ति र सत्ताले चाहेर पनि सत्य कुरा लुकाउन नसकेपछि नाटकीय भूमिकाहरू खेलिन्छन् । निर्लज्जताको सीमा पार भएपछि लाज भने लजाउन थाल्छ । कानुनी दाउपेच र सरकारी ढड्डामा देखिएका कुराले जनविश्वास पाउँदैनन् । कसैले पत्याउँदैन । जगजाहेर भएका कुराहरू त कानुनका घेरामा पर्न सक्दैनन् र दिउँसै रात पार्न खोजिन्छ भने सतहमा नआएका अन्य पाल्सी विषय के–कति होलान् ! छिपाउन चाहने शक्ति र व्यक्ति भविष्यमा कसरी विश्वासिलो हुने !

नेकपा एमालेको अर्थ विभागले अरूको पूरा नाम राख्दा एम अधिकारीको भने अपूरो नाम राखेर आन्तरिक पार्टी निर्देशन जारी गर्‍यो । पहिलाका नामसूची मिलाउनेलाई यसले तब आशंका बढायो । जब संकेत गरिएका पात्र अहं भूमिकामा भएर विवादित बन्छन् तब प्रमुख प्रतिपक्षी पार्टीको आन्तरिक निर्णय भए पनि त्यो जनसरोकारको विषय बन्छ । एम सर भने अहिले भूमिगत भएछन् । खोटाङे एम अधिकारी को हुन् ? कहाँ छन् ? विराटनगरमा एकाएक प्रकट भएर कसरी बिलाए ? अहिले प्रश्न उठे । ढाँटेको कुरा काटे पनि नमिल्ने !

सत्ताले चाह्यो भने सियो पनि पत्ता लगाउँछ; आँखा चिम्ल्यो भने भन्सारबाट हात्ती छिरेको पनि देख्दैन, आँखा चिम्लिन्छ । चार्ल्स शोभराजले हात्ती भन्सारबाट छिराउने कुरा त्यसै गरेका हैनन् । मिलेमतोमा केदेखि केसम्म हुँदैन भन्ने डीआईजी (रिटायर्ड) कथाकार महेशविक्रम शाह कथामा भन्छन्- पुलिस, वकिल, पत्रकार र नेताको मिलेमतोमा जे पनि हुन सक्छ । हालै न्यायाधीशको बरखास्तगी र छानबिनले न्यायको हबिगत छर्लङ्ग पार्‍यो । न्याय, कानुन, नेतामा विश्वास हटेपछि हुने परिणाम भनेको ‘बनाना रिपब्लिक’ वा अहिलेको श्रीलंका हो ।

दोषी को ?

शक्तिले आफ्ना गल्तीहरू देख्दैन, स्विकार्दैन, सुधार्दैन । ठेलेर, पेलेर सही साबित गर्न चाहन्छ । स्वयं अपराधको संरक्षक बन्छ । अदालत अपराधीको धोबीघाट बन्छ । जब नागरिकमा चेतनाशून्यता र सडकमा मौनता हुन्छ, युवाहरू रमिते र तमासे हुन्छन्, तब एम सरहरू अनेकौं रूपमा जन्मन्छन् । मैमत्त हुन्छन् । दर्बिलो छहारीले ढुक्क हुन्छन् । तब त्यो समाजमा हरेक मारिने मानिसहरू नै स्वयं दोषी ठहरिन्छन् । ‘चोरलाई चौतारो, साधुलाई शूली’ हुन्छ ।

पोखरामा नमिता–सुनिता २०३८ जेठ २४ गते पञ्चायतको क्रूर पन्जामा परे । शक्तिशाली अपराधीहरू घटनामा जोडिएका थिए । केही दिन समाचार बन्यो । सामसुम भयो । खेल सकियो । ज्ञानेन्द्र शाह राजा बनेको दस दिनमै अर्थात् २०५८ जेठ २९ गते उक्त हत्याकाण्ड कानुनी रूपमै टुंग्याइयो । जाहेरी दर्ता गर्ने शेषमणि शर्माको अत्तोपत्तो छैन । देखिजान्ने वनपाले चूडामणि अधिकारी पनि रहस्यमय तरिकाले त्यही बेला मारिए ।

चर्चित गायक प्रवीण गुरुङ २०५१ साउन २२ गते पारस शाहले चलाइरहेको गाडीको ठक्करले मारिए । सो प्रकरणमा ओखलढुंगाका खड्गबहादुर भुजेललाई आरोपीका रूपमा खडा गरियो । दरबारका अत्यन्तै निकट सैन्य अफिसरले ओखलढुंगाका ड्राइभर खड्गबहादुर भुजेलको चाँजोपाँजो मिलाएका थिए । उक्त घटनाका नक्कली दोषी भुजेल गर्दन थाप्न तयार भए । पुतलीसडक ‘पारस शाहले चलाएकै गाडीले प्रवीणलाई किचेको हो’ भन्दै चिच्याइरह्यो, भुजेल ‘मैले चलाएको गाडीले किचेको’ भनेर सरकारी ढड्डामा चढे । कागजी हत्यारा भुजेल भए पनि जनताका नजरमा पारस शाह नै दोषी थिए । प्रवीणको हत्या दरबारको दबाबमा सामसुम पारियो । दुवै घटनाबाट दरबारप्रतिको विश्वास झन् खस्किँदै गएको हो । जब सत्य घटनालाई छोपिन्छ तब अन्य घटनामा पनि आशंका उत्पन्न हुन्छ । त्यसैले दरबार हत्याकाण्डमा शंकाको सुई धेरैतिर घुमेको हो ।

नेकपा विप्लवको सर्लाहीका इन्चार्ज कुमार पौडेलको कानुनी हत्या भएको हो भनेर राष्ट्रिय मानव अधिकार अयोगले समेत किटानी गरेर कारबाही सिफारिस गर्दा पनि आरोपीलाई पार्टी र सत्ताको वरदहस्त भएपछि सरकार मौन भयो । शक्ति सिन्डिकेटको मौनता सबैलाई सुरक्षित गर्ने अपराधको ड्राई क्लिनर्स बन्यो । नमिता–सुनिता हत्यामा त पञ्चायतकालका शक्तिशालीहरू जोडिएका थिए, कञ्चनपुरकी निर्मलाको चीत्कार त गणतन्त्रको उपहास नै बन्यो । कुमार पौडेलको ‘इनकाउन्टर’ मा सरकारी मौनताले कानुनी राज्यको धोती खुस्काइदियो । यी सबैमा एम सर प्रवृत्ति हाबी भएर यस्तो भएको हो ।

समाचारको आयु

हरेक घटनासँग सम्बन्धित समाचारहरूको आयु अब छोट्टिँदै छ । नयाँ घटनाहरूले पुराना घटनाहरूलाई चपाइदिँदै छन्, ओझेल पार्दै छन् । हाम्रो स्मरणशक्ति कमजोर हुँदै छ । अक्षर र बोली बनेका सूचना र विचारहरूले, जमेको मस्तिष्कमा घन ठोकेर, सडकमा जुलुस फेर्ने शक्ति अब गुमाए । जब समाचार, लेख, विचार र साहित्यले सत्तामा जिज्ञासा उमार्न सक्दैनन्, सोच्न प्रेरित गर्दैनन् र सोचाइलाई जीवनकर्ममा उतार्न ललकार्दैनन्, ती अध्ययन गर्नु, सुन्नु वा हेर्नु भनेको समय बर्बाद गर्नु हो ।

कुनै दिन भूगोलपार्कमा बेचिने सादा चारपाने पत्रिकाका समाचारहरू चिच्याइने नारा बन्थे । अक्षर चीत्कार बनेर जुलुसमा फेरिन्थ्यो । तब सत्ता गम्भीर बन्थ्यो मात्रै हैन, संज्ञान पनि लिन्थ्यो । हिजो मिडिया कम थिए, पत्रकारहरूलाई औंलामा गन्न सकिन्थ्यो । अहिले सबैका हातहातमा स्मार्ट फोन छन् । दूरदराजका घटना पनि तत्काल समाचार बन्न सक्छन् । सामाजिक सञ्जाल र प्रविधिको पहुँचले घटनालाई समाचार बन्न सम्पादकको गेट भएर गुज्रिनुपर्दैन । तर समाचारको आयु र शक्ति कति छ ?

धेरै सूचना पनि कहिलेकाहीँ दिमागी बोझ बन्ने रहेछ । सूचना र समाचारले दिमागमा, राज्यमा, समाजमा चोटिलो हस्तक्षेप गर्ने सामर्थ्य गुमाउँदै गएपछि तिनको आयु कम मात्रै भएन, संवेदना रित्याउँदै अर्को ठूलो समाचारले पहिलाको समाचारलाई हल्का र सन्दर्भहीन, अर्थहीन बनाएर बिर्साइदिँदै गयो । विशेष घटनाका असामान्य कुराहरू पनि समय घर्किंदा सामान्य बन्दै गए । मिडियाले फलोअप गर्ने कष्ट उठाइरहेन । तब एम सरहरू भूमिगत अवस्थाबाट बाहिर आउन बाध्य हुनुपरेन ।

शक्तिका सामु प्रश्नहरू सकिए । जब कारबाही गर्ने शक्तिले नै एम सरहरू जन्माउँछ तब मानव अधिकार आयोग बबुरो बन्छ अनि कुमारका कानुनी हत्याराहरू अभियोजकलाई इस भन्न पुग्छन् । एम सरहरू भने तिघ्रा ठटाएर खितखिताउँछन् । हैसियत जोगाइदिन शक्तिसँग भने बिलौना गर्नुपर्छ । आखिर अहिले एमम सर कहाँ, कुन परिचय र भूमिकामा होलान् ?

अन्तमा, आफू सत्तामा हुँदा आपराधिक क्रियाकलाप गर्नु; कानुन, मर्यादा, आदर्श र सार्वजनिक विश्वासविरुद्ध रहनु एवं सत्ताबाट बाहिरिनेबित्तिकै नियम, कानुन, आदर्शको वकालत गर्नु अहिले नेपाली सत्ताको संस्कृति बनिसक्यो । संस्था प्रजातान्त्रिक तर सर्वोच्च नेतृत्व वा व्यक्ति भने सर्वाधिकार सम्पन्न हुनुपर्ने अवस्था आइपुग्यो । पदका दाता र संरक्षकका हितमा जुनसुकै गैरकानुनी काम गर्ने, पदीय आचरणविरुद्ध जान सक्ने एम सरहरू उम्रिने भए । उनीहरूको विश्वास र अभ्यासमा राम दाहिना भए कस्तै हनुमानले पनि केही लछार्न सक्दैन र जस्तोसुकै गैरकानुनी कामको पनि न्यायिक र प्रशासनिक सुरक्षा पाइन्छ भन्ने मानसिकता विकास भयो । लोकाचार हरायो ।

कानुनी सुरक्षा तर्कले दिन सक्छ तर जनविश्वासमा अपराधी ठहरिएकाहरूको आत्मबल भने सकिन्छ । अझ ती कुनै महत्त्वपूर्ण निर्णय थलोमा हुन्छन् भने जोखिमपूर्ण फैसला गर्ने नैतिक बल हराउँछ । संस्थालाई अनुशासित बनाएर नेतृत्व लिनै सक्दैनन् । व्यक्तिगत रूपमा पदको रापताप भए पनि मनोबल खिइसकेको हुन्छ । निर्लज्जताले अपराधकर्ममा त धकेल्छ, स्वाभिमानी आत्मबलको भूमिका खेल्न भने सक्दैन । समग्रमा शक्तिको बाइप्रोडक्ट बनेर समाजमा एम सरहरू देखिन्छन्, जुन प्रवृत्ति कालान्तरमा घातक बन्न पुग्छ । शक्ति र पद चञ्चल हुन्छ । पद र शक्तिबाट हटेपछि हीनताबोधले स्वयं पछुताउँछन् । कस्तै अपराधीले पनि आफूलाई जहिल्यै ढाँट्न सक्दैन, स्वपीडामा सदैव छटपटाइरहन्छ । यदि नमिता–सुनिता र प्रवीणको हत्यालाई दरबारले न्याय गरेको हुन्थ्यो भने राजसंस्था माथिको विश्वास चुलिन्थ्यो । दरबार हत्याकाण्डमा शंकाहरू उठ्दैनथे ।

घटनालाई सामसुम पार्न नसकेपछि कानुनी नाटक गरिन्छ । कागजका अपराधी र वास्तविक अपराधी कानुन र जनविश्वासमा फरक हुन्छन् । जनताको नजर र सरकारी ढड्डाको भाषा फरक हुन्छ । निर्दोष दोषी हुन्छ भने फर्जी गर्नेहरू सत्ताको ओत लागेर सुरक्षित हुन्छन् ।

पार्टी, समाज र देशलाई भूल सच्याउने मार्गमा अगाडि बढाउन एम सर सार्वजनिक रुपमा सशरीर हाजिर होऊ !

प्रकाशित : श्रावण ११, २०७९ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?