त्रिविका अतिक्रमित छात्रावासका कथाव्यथा- विचार - कान्तिपुर समाचार

त्रिविका अतिक्रमित छात्रावासका कथाव्यथा

निकै लामो समयदेखि त्रिवि केन्द्रिय क्याम्पसको छात्रावास भवनहरूमा सेवा आयोग, ललितकला क्याम्पस र आँखा अस्पताल छन् । छात्रावासका लागि बनाइएका संरचनालाई अन्य प्रयोजनमा प्रयोग गर्नु कुनै हालतमा न्यायसंगत छैन ।
साधना प्रतीक्षा

विश्वविद्यालयको कक्षा सकेर फर्कंदै गर्दा हालै एउटी छात्रा हस्याङफस्याङ गर्दै मेरो सामु आएर भनिन्, ‘म्याम, मलाई छात्रावास मिलाइदिनुस् न ! टाढाबाट आउनुपर्छ कहिलेकाहीँ बाटो जाम भएर कक्षा नै छुट्छ । आउँदाजाँदा समय पनि सकिन्छ । कति बेला पढ्ने ?’

उनलाई सायद मैले चारपाँच वर्षअघि नै छात्रावासको पदभार छाडेको थाहा थिएन । उनलाई मैले छात्रावास प्रवेशको प्रक्रिया बुझाएर पठाएँ । केही दिनअघि त्यसरी नै अर्की छात्राले छात्रावासका लागि अनुनय गरेकी थिइन्, ‘म्याम, म त छात्रावासमा बसेर पढ्न पाइएला भनेर कीर्तिपुर आएकी । केन्द्रीय क्याम्पसमा पढ्नुको मजै बेग्लै भन्ने सुनेकी थिएँ तर मजस्तो सामान्य परिवारबाट आएकीलाई छात्रावास पाउन सहज रहेनछ । जता पायो त्यतै र जस्तो पाए त्यस्तै डेरामा बस्नुमा सुरक्षाको सवाल छ । राम्रो ठाउँमा एउटै कोठाको पाँच छ–हजार भन्दा रहेछन् । महँगी उस्तै । फर्केर जाने पो सोचिरहेको छु ।’ उनमा एकातिर स्तरीय उच्चशिक्षाको आकांक्षा थियो अर्कातिर त्यसको प्राप्तिका लागि रोक्ने आर्थिक तथा सामाजिक समस्याले निम्त्याएका निराशा ।

हरेक वर्ष त्रिभुवन विश्वविद्यालय कीर्तिपुरका विभिन्न संकायमा पढ्न आएका छात्राहरू विशेष गरी कमजोर आर्थिक अवस्था भएका र टाढाबाट आएकाहरूको यस्तै दुखेसो सुन्दै आएकी छु । त्रिवि परिसरको आँखा अस्पतालमा उपचार गर्न जाँदा मलाई आफ्नोभन्दा बढी तिनै छात्राहरूको समस्याले दुख्ने गर्छ । यो भवन त्रिवि ईश्वरी कन्या छात्रावासको ‘घ’ ब्लक हो जहाँ बसेर पढेका असंख्य छात्रा आज विभिन्न पेसागत क्षेत्र तथा राजनीतिमा उच्च तहमा पुगेका छन् । सो छात्रावासका पर्खालमा काँडेतार लगाइएको छ । कोठाहरू अस्पताललाई आवश्यक पर्ने गरी ससाना क्याबिनमा बाँडिएका छन् । बिजुली, पानीलगायत सबै सुविधा छन् । पहिले छात्रावासको ‘ग’ र ‘घ’ ब्लकको संयुक्त मेस चल्ने संरचनामा अपरेसन थिएटरसमेत निर्माण गरिएको छ । नेत्रज्योति संघले सञ्चालन गरेको यो अस्पतालमा दैनिक सयको हाराहारीमा कीर्तिपुरवासीले उपचार सेवा पाइरहेका छन्, जुन राम्रो हो । तर अस्पतालका लागि त्रिविसँग जग्गा पनि लिइसकेको अवस्थामा, त्यहाँ भवन नबनाएर छात्रावास भवनलाई आँखा अस्पताल किन बनाइयो ? यो खोजीको विषय हो ।

यसबाहेक छात्रावासको ‘ग’ ब्लकमा लामो समयदेखि ललितकला क्याम्पसले स्नातक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । उसले त्यहाँ पनि आवश्यकता अनुरूप आन्तरिक संरचना बनाएको छ । २०७२ सालको भूकम्पमा भवन भत्किएको भन्दै ललितकला क्याम्पस र सोही समयमा आँखा अस्पताल पनि आएको हो । यसअघि छात्रावासको दुवै भवन अत्यन्त जीर्ण भएर पानी चुहेका भित्तामा करेन्टसम्म प्रवाहित हुन थालेपछि बन्द गरी प्रशासनसमक्ष मर्मतका लागि अनुरोध गरिएको थियो । मर्मत गरी छात्रावास पुनः सञ्चालन गर्नुको सट्टा आँखा अस्पताल र ललितकला क्याम्पस बनाइए । छात्रावास वार्डेनको हैसियतले मैले सो सम्बन्धी जानकारी माग्दा विश्वविद्यालय प्रशासनले यो विषयमा जानकार नभएको बताएको थियो । त्रिवि केन्द्रीय नेतृत्वसमक्ष पनि यसको विरोध गरेकै हुँ ।

यतिमै सीमित छैन छात्रावासको ‘कथाव्यथा’ । चार पुराना भवन (चालीस संख्या क्षमता) र एउटा नयाँ भवन (सय संख्या क्षमता) भएर पनि छात्रावासका लागि छात्राको आवेदनको खात हुन्थ्यो । ‘क’, ‘ख’ ब्लक अगाडि छात्रावासका लागि बनाइएको एउटा भवन वर्षौंदेखि अधुरै थियो । यसबारे बुझ्दा नगरपालिकासँग समन्वय गरी सो भवनको बाँकी काम सम्पन्न गरेर छात्रावास सञ्चालनको प्रक्रिया अघि बढाएको जानकारी पाइएको थियो । त्यति बेला भूकम्प आएर त्रिवि केन्द्रीय कार्यालय क्षतिग्रस्त भयो । केही समयका लागि सेवा आयोगको कार्यालय राख्न छात्रावासको नयाँ भवन मागियो । विरोध गर्दागर्दै सोही अधुरो भवनमा सेवा आयोगको कार्यालय राखियो ।

अहिले दुई जीर्ण भवन र एउटा नयाँ भवन गरी १ सय ६० हाराहारीमा छात्राहरूले जसोतसो सुविधा पाइरहेका छन् । त्रिवि केन्द्रीय क्याम्पसको विद्यार्थी संख्याको तुलनामा यो संख्या अत्यन्त न्यून हो । एकातिर छात्राहरूले छात्रावास पाउन सकिरहेका छैनन्, अर्कातिर छात्रावास भवनहरूमा झकिझकाउ रूपमा सेवा आयोग, ललितकला क्याम्पस र आँखा अस्पताल सञ्चालन भइरहेका छन् । छात्रावासका लागि बनाइएका संरचनालाई अन्य प्रयोजनमा प्रयोग गर्नु कुनै हालतमा न्यायसंगत छैन । यसले त्रिविले महिला विद्यार्थीलाई हेर्ने दृष्टिकोण पनि झल्काइरहेको छ ।

हाम्रोजस्तो समाजमा छोरी उच्च शिक्षा हासिल गर्ने स्थानससम्म पुग्नु नै चुनौतीपूर्ण छ । परिवार तथा समाजले दिने अनेक व्यवधान पार गर्दै विश्वविद्यालय पुग्छन् । केन्द्रीय क्याम्पस कीर्तिपुरबाट स्नातकोत्तर गर्ने रहर कुन छात्राको नहोला र ? तर रहर भएकाहरूमध्ये केही छात्रा मात्र यहाँसम्म आइपुग्छन् । ग्रामीण तथा विपन्न परिवारका मेधावी छात्राहरूलाई कीर्तिपुरमा अध्ययन गर्ने सहज माध्यम छात्रावास नै हो । तर छात्रावासमा सबैले प्रवेश पाउन सक्दैनन् । बाहिर उनीहरूलाई सुरक्षाको सवाल र बढ्दो महँगीका कारण थप समस्या छ ।

आफन्तकहाँ बस्ने छात्राहरूलाई आउँदा–जाँदा अधिक समय बर्बाद हुनुका साथै काठमाडौं कतिपय स्थानबाट कीर्तिपुर जाने सार्वजनिक यातायात पनि भनेको बेला पाइँदैन । यसले पढ्ने समयलाई कम गराउँछ । यस्तोमा छात्रावास नै उनीहरूको आवश्यकता हो र अध्ययनमा सफल बन्ने माध्यम पनि । आर्थिक रूपमा बलिया छात्राहरूलाई निजी छात्रावास पनि उपलब्ध छन् । तर सामान्य आय हुनेहरूको त्यसमा पहुँच हुँदैन । छात्रावास अवधि सकिए पनि पढाइ तथा शोधपत्र बाँकी रहँदै छात्रावास छोड्नुपर्दा केही समय त्यहीँ बस्न अनुनय–विनय गर्ने अनि बाध्यात्मक अवस्थामा गहभरि आँसु पार्दै झिटिमिटी बोकेर निस्कने छात्राहरूको सम्झना मेरो मानसपटलमा अझै ताजा छन् ।

छात्रावासमा रहने छात्राहरूले कति सुविधा पाउँछन्, त्यहाँको परिस्थिति के छ भन्ने अलग्गै चर्चाको विषय भए पनि छात्रावास महिलाको उच्च शिक्षाको सुलभ र सुरक्षित गन्तव्य भने पक्कै हो । अत्यन्त न्यून शुल्कमा बस्न पाउने, सामूहिक मेसमा खाने सुविधाका साथै पठनपाठनको राम्रो वातावरण त्यहाँ हुन्छ । महिलाको उच्च शिक्षाको बलियो आधारका रूपमा रहेको त्रिविको छात्रावास यसरी अन्य प्रयोजनमा प्रयोग भइरहनु एक हिसाबमा महिला अधिकारविरुद्ध छ भनेर अर्थ्याउन पनि मिल्छ ।

प्रशासनले दिएको आश्वासनजस्तै त्यहाँ रहने निकायहरूले ती संरचना मर्मत गरी केही समय प्रयोग गरेपछि छात्रावासलाई हस्तान्तरण गर्ने भए त यतिका वर्षसम्म भइसक्नुपर्ने हो । के हाम्रो विश्वविद्यालय यति गरिब छ कि उसले छात्रावास भवन मर्मत गर्नसम्म सक्दैन ? सक्दैन भने विश्वविद्यालयले दातासमक्ष छात्रावास समस्या किन राख्दैन ? केन्द्रीय क्याम्पसका छात्राहरू छात्रावासजस्तो महत्त्वपूर्ण सुविधाबाट वञ्चित हुनुपर्ने किन ?

विश्वविद्यालयको वर्तमान नेतृत्वले छात्रावासको समस्यातर्फ ध्यान दिनु आवश्यक छ । सेवा आयोग अन्यत्र सार्न पहल गर्नुपर्छ । आफ्नै भवन बनिसकेको अवस्थामा ललितकला क्याम्पसले पनि छात्रावास छाड्नुपर्छ । नेत्रज्योति संघले विश्वविद्यालयसँग गरेको सम्झौताको पुनरवकलन गरी केन्द्रीय नेतृत्वले उक्त भवन छात्रावासकै लागि प्रयोग गर्नुपर्छ । अन्य पुराना भवनसमेत मर्मत गरी पुनः छात्रावासका रूपमा सञ्चालन गर्नुपर्छ ।

प्रकाशित : श्रावण ८, २०७९ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्

काठमाडौं महानगरमा सांकेतिक विद्रोह

देश र जनताका नाममा भएका दलीय राजनीतिक स्वार्थ र दाउपेचका कारण उत्पन्न अनगिन्ती विकृति र विसंगतिको अब अन्त्य हुनुपर्छ, अन्यथा जनताले दलहरूलाई यसरी नै किनारा लगाइदिनेछन् भन्ने चेतावनी अभिव्यक्त छ बालेनले पाएको प्रत्येक मतमा ।
साधना प्रतीक्षा

स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको परिणामले देशको ध्यान खिच्यो । काठमाडौंको मेयरमा दलीय राजनीतिका दुई चर्चित उम्मेदवारलाई एक स्वतन्त्र उम्मेदवारले भारी मतले उछिने । स्थानीय मतदाताबाहेक अन्यलाई यस प्रकारको परिणाम सायद अपेक्षित थिएन ।

पहिला नै महानगरको नेतृत्व सम्हालिसकेका एमालेका केशव स्थापित तथा कांग्रेसी राजनीतिका सर्वोच्च नेता गणेशमान सिंहको पारिवारिक विरासतबीच नै कडा टक्कर हुने अनुमान सबैजसोको थियो । तर राजनीतिमा नाम नसुनिएका तथा युवा पुस्तामाझ मात्र चर्चित एक गायकले महानगरवासीको यति ठूलो अभिमत पाए, जुन सामान्य कुरा होइन । साँचो अर्थमा बालेन शाहले यो सफलता राष्ट्रिय झन्डा ओढेको अथवा राजनीतिक एजेन्डाका आधारमा पाएका होइनन् । उनले यो जनमत आम जनतामा देखिएको दलीय राजनीतिप्रतिको वितृष्णा एवं कुण्ठाका कारण पाएका हुन् । राजनीतिक दलहरूका नेताले वर्षौंदेखि आफ्नो आस्था, विश्वास र अपेक्षामाथि खेलबाड गर्दै आएकामा जनताद्वारा गरिएको सांकेतिक विद्रोह हो- महानगरको वर्तमान राजनीतिक परिदृश्य । आम नागरिकको सहनशीलताले सीमा नाघिसकेपछिको विस्फोट पनि हो यो मतपरिणाम ।

उपत्यकामा जातीय राजनीति चल्छ भन्ने स्थापित मान्यतालाई समेत भत्काएको छ यो चुनावले । सोही मान्यताअनुरूप ठूला दलहरूले यहाँ बहुमत भएको नेवार समुदायकै उम्मेदवार उठाएका थिए । तर नेवारइतर समुदायका युवाले ती सबैलाई पछि पारे । राजनीतिमा व्यक्तिभन्दा संगठन ठूलो हुन्छ भन्ने मान्यता पनि अहिले टुटेको देखियो । जित सधैं आफ्नै पोल्टामा हुनुपर्छ भन्दै साम–दाम–दण्ड–भेदको नीति लिएर चुनावी मैदानमा उत्रिएका दुई ठूला दललाई नपत्याएर, पञ्चायतकालीन राजनीतिको जरामा उभिएर पुनः राजतन्त्रको दुहाई दिँदै जनता गुहारिरहेको राप्रपालाई पन्छाएर स्वतन्त्र युवा उम्मेदवारलाई राजधानीवासीले विश्वास गर्नुमा सामान्य अर्थ लुकेको छैन । यसमा जनतामा रहेको परिवर्तनको चाहना मात्र होइन, जनआस्थालाई निरन्तर कुल्चँदै दलगत र व्यक्तिगत स्वार्थमा लिप्त राजनीतिको विकल्पको खोजी एवं जनादेशविपरीत जानुको परिणामसमेत प्रतिविम्बित भएको छ ।

माइतीघर मण्डलामा उभिएर बानेश्वरतिरको चिटिक्क परेको सडक हेर्दै सुन्दर ऐतिहासिक सहर काठमाडौं भनी भाषण गर्ने नेताहरूले आधुनिकता र व्यापारका नाममा मासिएका ऐतिहासिक धरोहर तथा सांस्कृतिक एवं पुरातात्त्विक सम्पदाका कारण चोइटिएको मुटुको पीडाबोध गर्न सकेनन् । शान्ति वाटिकामा आमसभा गरी चर्का कुरा गर्नेहरूले सडकछेउ थुप्रिएको फोहोरको दुर्गन्ध थाहै पाएनन् । बाह्रैमास भत्कने फुटपाथ र त्यसमाथि बग्ने ढलको भलले उनीहरूको भाषणमा अवरोध पुर्‍याएन । नाकै फुटाउलाजस्तो दुर्गन्ध, आँखै ढाक्ने धूलो, वर्षात्मा हिले आहाल बन्ने सडक र पेटीमा सास्ती खेप्दै दैनिक ओहोरदोहोर गर्ने आम नागरिकको मर्मसम्म उनीहरू कहिल्यै पुग्न सकेनन् । उनीहरू सधैं सत्ताकै जोडघटाउमा व्यस्त रहे । खुला मञ्चमा दलीय झन्डा फहराउँदै शक्ति प्रदर्शन गर्ने राजनीतिक दलहरूले राजधानीमा एउटा व्यवस्थित बसपार्क नहुँदा यात्रुहरूले भोगेका पीडालाई आत्मसात् गर्न सकेनन् । भएको एउटा बसपार्कमा भ्यु टावर ठड्याएर समृद्ध नेपालको परिकल्पना गर्दा तमाम सर्वसाधारणले दैनिक आवागमनमा झेल्नुपरेको दुखेसो बुझ्ने चेष्टा कुनै दलका नेताले गरेनन् । जीर्ण बनेका आकाशे पुलको जोखिम यात्रा, अस्तव्यस्त बिसौनीका कारण गर्नुपर्ने लामो पैदलयात्रा, खाल्डाखुल्डीले क्षत–विक्षत बनाएको सडक, मापदण्डबिनाका अव्यवस्थित बजार आदिको अनुभव टल्कने गाडीमा सवार नेताहरूलाई भएन । उनीहरूलाई फुट्ने–जुट्ने अनि सरकार बनाउने र ढलाउने अभ्यासबाट कहिल्यै फुर्सद भएन ।

आफ्ना समस्याको समाधान होला भनी चुनेर पठाएका जनप्रतिनिधिहरूको चुनावअघिका सम्पूर्ण वाचा र प्रतिबद्धता बिर्सने रोगबाट आजित आम नागरिक अब त्यसबाट मुक्त हुन चाहन्छन् । आफ्नो आस्थामाथि गरिएको कुठाराघातको एकएक हिसाब खोजिरहेका छन् उनीहरूले । जनता साँच्चै जनार्दन हुन्, जनताले चाहे जे पनि हुन सक्छ भन्ने यथार्थबोध गराउन सांकेतिक विद्रोह गरेका छन् अहिले काठमाडौंवासीले । तीन दशकदेखि देश र जनताका नाममा भएका दलीय राजनीतिक स्वार्थ र दाउपेचका कारण उत्पन्न अनगिन्ती विकृति र विसंगतिको अब अन्त्य हुनुपर्छ, अन्यथा जनताले दलहरूलाई यसरी नै किनारा लगाइदिनेछन् भन्ने चेतावनी अभिव्यक्त छ बालेनले पाएको प्रत्येक मतमा ।

बालेन–विजयलाई युवा पुस्ताको जितको संकेतका रूपमा मात्र हेर्नु पनि कच्चा आकलन हुनेछ किनभने यसअघि पनि राजधानीसहित देशका विभिन्न स्थानमा राजनीतिक दलका चर्चित युवा नेताहरूले नेतृत्व लिइसकेका छन् । उनीहरूका आमूल परिवर्तनकारी भाषण र आश्वासनहरू नेपाली जनताका कानमा अझै गुन्जिरहेका होलान् । त्यसबाट हौसिएका जनता अन्ततः काकाकुल नियतिमै जिउन विवश भए । दलगत एवं व्यक्तिगत स्वार्थ र किचलोको व्यूहबाट ती युवा नेताहरू पनि मुक्त हुन सकेका छैनन् । त्यसैले आम जनताको मनमा छ त केवल वितृष्णा । निर्वाचनप्रतिको वितृष्णाको परिणति पनि हो यसपालि खसेको मत प्रतिशत । जब आफ्नो मतको कदर हुँदैन वा आफूले चाहेजस्तो उम्मेदवार उठेको हुँदैन, मतदान गर्नुको औचित्य हुँदैन भन्दै धेरै जना घरै बसे । यो पनि सांकेतिक विद्रोह नै हो । अहिले नयाँ पुस्तालाई पुनः अवसर प्राप्त भएको छ तर यो अवसरभित्रका चुनौतीहरू भने त्यति सहज पक्कै छैनन् ।

यस्तै अनगिन्ती असहजताबीच उदाएका छन् बालेन शाह । असंख्य युवा उनको पक्षमा नाराबाजी गरी जोसिइरहेका छन् मानौं उनले जितेपछि महानगरको कायापलट नै हुनेछ । जसरी ओलीको मेट्रो रेल र पानीजहाजका सपनाहरू नेपाली आँखामा अझै बिझाइरहेका छन्, त्यसरी नै बालेनका प्रतिबद्धताहरू पनि नबिझाऊन् । यो नै उनका लागि सर्वाधिक चुनौतीको विषय हो । महानगर प्रमुखको कुर्सीमा बसे पनि उनले आफ्नो जितजस्तै चमत्कार त्यहाँ अनुभव गर्न अवश्य पाउने छैनन् बरु सामना गर्नेछन् उही पुरानो संयन्त्रको । त्यसमा परिवर्तन गर्न उनलाई फलामको चिउरा चपाउनुजस्तै हुनेछ । दलीय राजनीतिक परिपाटीद्वारा निर्मित सो संयन्त्रबाट काम लिन उनलाई सहज हुने छैन । पेसाले प्राविधिक तथा गायकका लागि कुटिल राजनीतिको व्यूह तोड्दै जनचाहनाअनुरूप विकास–निर्माणमा लागेर आफ्नो साख जोगाउनु चानचुने कुरा होइन ।

तर, चुनौती जतिसुकै भए पनि दृढता र इच्छाशक्ति भए असम्भव केही हुँदैन । बालेनजस्ता युवाको दृढता र इच्छाशक्ति अनि देशप्रेम केवल काँधमा बोकेको राष्ट्रिय झन्डामा सीमित हुने हो वा व्यवहारमा नै लागू भएर राजधानीको मुहार फेरिने हो, त्यो त समयले नै देखाउला, तर अब पनि नेपाली जनता दलीय आस्थाका नाममा सहनशील भएर बस्ने छैनन् र एकपछि अर्को विकल्पको खोजीमा अग्रसर भइसकेका छन् भन्ने संकेत भने स्थानीय निर्वाचनले दिएको छ । बहुदलीय प्रजातन्त्रमा आस्था राख्ने जोकोहीले पनि मनन गर्नुपर्ने यथार्थ के हो भने, जबसम्म दलहरू जनताप्रति उत्तरदायी हुन्छन् तबसम्म तिनीहरूले जनमत पाइरहन्छन् । प्राप्त जनमतले दलहरूलाई बलियो बनाउँछ । दलहरू बलिया भएमा मात्र राजनीतिक स्थिरता रहन्छ । राजनीतिक स्थिरता नै मुलुकको विकास र समृद्धिको आधार हो । यही यथार्थबाट विमुख हुँदै जानाले हामीकहाँ दलीय राजनीतिले जनआस्था गुमाउँदै गएको अवस्थाको साक्षी बनेको छ- जनतामा देखिएको राजनीतिक वितृष्णा । नीति, सिद्धान्त, आचार एवं जनउत्तरदायित्वलाई किनारा लगाएर केवल सत्ताप्राप्ति अनि दल, गुट र व्यक्तिगत स्वार्थमा अल्झिएको राजनीतिबाट उत्पीडित आम नागरिकको सांकेतिक विद्रोह हो- काठमाडौं महानगरको चुनावी परिणाम ।

प्रकाशित : जेष्ठ १८, २०७९ ०७:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×