कम्युनिस्ट पार्टी, पुष्पलाल र स्वाभिमान

सत्ताका लागि स्वाभिमान बेच्न र बाह्य समर्थन खोज्न जे पनि गर्न तयार हुने नेताहरूका लागि पुष्पलालको सान्दर्भिकता कति छ भन्न सकिन्न । तर देशभक्त, लोकतान्त्रिक र जनपक्षीय मान्यता र संस्कार बोकेका व्यक्तिहरूका लागि पुष्पलाल प्रेरणा पुरुषका रूपमा रहिरहनेछन् ।
रघु पन्त

नेपाल कम्युनिस्ट पार्टीको गठन पुष्पलालको निरन्तरको मिहिनेत र सक्रियताले २००६ सालमा भयो । पार्टी गठनका लागि पुष्पलालले गरेका दुःख र दौडधुप अत्यन्त रोमाञ्चकारी र प्रेरणादायक छन् ।

कम्युनिस्ट पार्टी, पुष्पलाल र स्वाभिमान

नेपाली राष्ट्रिय कांग्रेसको केन्द्रीय सचिव रहेका उनी कांग्रेसभित्रको खिचलो, तानातानी एवं त्यहाँको दक्षिणपन्थी व्यवहारबाट वाक्क भएर र आफ्नै अध्ययन तथा क्रान्तिकारी विचारद्वारा अभिप्रेरित हुँदै कम्युनिस्ट पार्टी गठन गर्नैपर्ने निष्कर्षमा पुगेका थिए । उनको यो निष्कर्ष र नेपाल कम्युनिस्ट पार्टी गठन गर्ने कार्य नेपालको राजनीतिक इतिहासमा युगान्तकारी कदम थियो । यसले नेपालको राजनीतिलाई नयाँ दिशा र विचार दियो, साथै विकल्पको सम्भावनातर्फ अघि बढ्न प्रेरित गर्‍यो । तर पार्टी गठन सजिलै भएको थिएन ।

आफू कम्युनिस्ट भएको बताएपछि भारतमा रहेका नेपाली राजनीतिक जमातमा एक्लो परेको बारे पुष्पलालले लेखेका छन्, ‘...म नेपालको राजनीतिक सर्कलमा अब एक किसिमले अछुत भइसकेको थिएँ । मेरो न गाँसको ठेगान थियो न त बासको । पछि बल्लबल्ल मैले चार रामजीदास जटिया लेन, बडाबजार, कलकत्तामा बाससम्म पाएँ । त्यहाँ त्रिरत्न तुलाधर, जसको व्यापार ल्हासासम्म थियो, को कोठी थियो । उनी नेपाली राष्ट्रिय कांग्रेसको समर्थक र सहयोगी थिए । काठमाडौंका धेरैजसो राजनीतिक कार्यकर्ताहरू त्यहाँ बस्थे, त्यसैले मैले पनि त्यहीँ बस्ने अनुमति पाएँ ।’ (नेपाली कम्युनिस्ट आन्दोलनको संक्षिप्त इतिहास, पुष्पलाल) खाने गाँसको ठेगान छैन, बस्ने बास अभाव छ तर कम्युनिस्ट पार्टी गठन गर्ने तीव्र आकांक्षा र सक्रियताका साथ दिनरात दौडधुप गरिरहेका पुष्पलाल छिटोभन्दा छिटो पार्टी गठन गर्ने निष्कर्षमा पुगिसकेका थिए ।

बनारसमा रहँदा पुष्पलाल आफूले चिनेको किताबपसलबाट मार्क्सवादी साहित्य उधारोमा ल्याउँथे र ती किताबहरू नेपाली विद्यार्थीलाई बेचेर आफ्ना लागि पनि थोरै पैसा बचाउँथे । त्यसो गरेर उनी नेपाली विद्यार्थीमाझ मार्क्सवादको प्रचार गर्थे । आफूले अनुवाद गरेका किताबहरू नेपालीमा छाप्ने र कम्युनिस्ट पार्टीसमेत गठन गर्ने उद्देश्यका साथ कलकत्ता आएका पुष्पलाल सम्पर्क र चिनजानको अभावमा अलमलिइरहेका थिए ।

आफूले चिनेजानेका भारतीय कम्युनिस्टहरू विभिन्न जेलमा र नेपालका परिचित राजनीतिक साथीहरू कांग्रेसका विभिन्न समूहमा रहेका कारण उनी एक्लोजस्तै परेका थिए । यस्तो अवस्थामा पनि उनी नेपाल कम्युनिस्ट पार्टी गठन गर्न र आधार बनाउन विभिन्न व्यक्तिसँग सहयोग र भारतमा कम्युनिस्ट नेताहरूसँग सम्पर्क गर्न खोजिरहेका थिए ।

ठीक, यस्तै बेलामा रतनलाल ब्राह्मण जेलबाट छुटेको खबर पुष्पलालले अखबारमा पढे । रतनलाल दार्जिलिङका अत्यन्त लोकप्रिय कम्युनिस्ट नेता र पुष्पलालका पूर्वपरिचितसमेत थिए । खबर थाहा पाउनेबित्तिकै पुष्पलालले ब्राह्मणलाई चिठी लेखे र पठाएको सातै दिनमा रतनलाल उनलाई भेट्न कलकत्ता आइपुगे । रतनलालले पुष्पलाललाई भारतीय कम्युनिस्ट पार्टीको पश्चिम बंगाल राज्य कमिटीका तत्कालीन सचिव नृपेन्द्र चक्रवर्तीसँग भेट गराइदिए ।

त्यसबेला पश्चिम बंगालमा कम्युनिस्ट पार्टी प्रतिबन्धित थियो, अधिकांश कम्युनिस्ट भूमिगत थिए । पार्टीका कामहरू भूमिगत रूपमै हुन्थे । पुष्पलाल कलकत्ताबाट दार्जिलिङ पुगे र नेपालका राजनीतिक साथीहरूसँग कम्युनिस्ट पार्टी गठनका लागि पत्राचार गर्न थाले । दार्जिलिङमा उनले अध्ययन र संगठन विस्तार जारी राखे । दार्जिलिङबाट फर्केलगत्तै उनी कम्युनिस्ट घोषणापत्र प्रकाशन र नेपाल कम्युनिस्ट पार्टी गठन गर्ने तयारीमा लागे ।

रतनलाल दार्जिलिङमा माइलाबाजे नामले प्रख्यात थिए । उनले पुष्पलाललाई धेरै काममा निकै मद्दत गरे । दार्जिलिङका ‘रविन हुड’ भनेर समेत चर्चित उनी पश्चिम बंगाल विधानसभाका सदस्य भएका थिए । उनको साथ र नृपेन्द्रको सहयोगले पुष्पलाललाई कलकत्ता बसाइ केही सहज हुन थालेको थियो ।

क्रान्तिकारी चिन्तन राख्ने देशभित्र र भारतका प्रवासी नेपालीहरूबीच पुष्पलालको पत्र आदानप्रदान, भेटघाट र छलफल जारी नै थियो । यसबाट उनी उत्साहित हुँदै गइरहेका थिए । नृपेन्द्र र रतनलालको साथ सम्पर्क पुष्पलालका लागि फलदायी भइरहेको थियो । उनी जसरी हुन्छ छिटोभन्दा छिटो कम्युनिस्ट पार्टीको घोषणापत्र प्रकाशन गर्ने सुरसारमा लागिरहेका थिए ।

घोषणापत्रको प्रकाशन

नेपाली राष्ट्रिय कांग्रेसको नेता भएर काम गर्दाको अनुभव, बनारस, दार्जिलिङ एवं कलकत्तामा भएका भेटघाट, बहस र मार्क्सवादी अध्ययनले पुष्पलाललाई खारिरहेको थियो । विचार निरन्तर परिमार्जित भइरहेको थियो । दौडधुपका क्रममा पनि मार्क्स, एंगेल्स, लेनिन, माओत्सेतुङ लगायत मार्क्सवादी सिद्धान्तकारहरूका कतिपय रचना उनले पढ्न भ्याइसकेका थिए । सोभियत रुस, भारत तथा अन्य देशका मार्क्सवादी लेखकहरूका विचार पनि अध्ययन गर्न पाएका थिए ।

पुष्पलालमा अध्ययनको भोक निरन्तर बढिरहेको थियो । विश्व प्रसिद्ध कम्युनिस्ट घोषणापत्र नेपालीमा अनुवाद गर्नुलाई उनले असाध्यै महत्त्व दिएका थिए । यस सम्बन्धमा उनले लेखेका छन्, ‘... हामीहरू आफैंले मुस्किलले चन्दा संकलन गरी कम्युनिस्ट घोषणापत्र प्रेसमा छाप्न भनी दियौं, तर यो दुर्भाग्यको कुरा थियो कि प्रेसैबाट पुलिसले उठाइलग्यो । मिहिनेतका साथै पैसाको पनि बर्बाद भयो । यसमा ठूलो चित्त दुख्यो । फेरि अर्को प्रेसको अति गोप्य रूपले व्यवस्था गरी छपाउन त दिइयो तर ३ सय भारुको कमीले काम रोकिइरहेको थियो । त्यसैबखत नातामा दाजु पर्ने नेपालका एक उदाउँदा पुँजीपति जुद्धबहादुरसँग एक सहयोगी मित्रको कोठामा भेट भयो । मलाई देख्नेबित्तिकै जुद्धबहादुर मसँग रिस पोख्दै भन्न थाले, ‘तपाईंहरू त्यसै मलाई राणाको दलाल भन्नुहुन्छ, मैले कहाँ दलाली गरेको छु ? बुझ्नुभो भाइ ! राणाशाही हटाउने पक्षमा म पनि छु । राणाशाही हटेमा म पनि यो टाई–सुट लगाएर काठमाडौंमा आफ्नो कारमा घुम्न सक्नेछु ।’ राणाशाही हटाउने उनको मक्सद मैले बुझें, तर विवाद गर्न चाहिनँ । मैले भनें, ‘उसो भए दाइ ! कम्युनिस्ट घोषणापत्र छपाउन ३ सयले रोकिरहेको छ, चन्दा दिनुहोस् न ।’ उनले आफ्नो मनिब्याग खोली मैले भनेको रकम चट्ट दिए । धन्यवादसहित मैले पकेटमा हालें । यस कहानीका साथ विश्वप्रसिद्ध कम्युनिस्ट घोषणापत्रको प्रकाशन नेपालीमा भाषामा ५ अप्रिल, १९४९ का दिन भयो । (नेपाल कम्युनिस्ट आन्दोलनको संक्षिप्त इतिहास)

२००५ सालमा पुष्पलालले अनुवाद गरेको घोषणापत्र आर्थिक अभावले महिनौंसम्म पाण्डुलिपिमै थियो । २००६ सालमा मात्र कलकत्ताबाट प्रकाशित हुन सक्यो । विश्वकै राजनीतिलाई तरंगित पारेको मार्क्स–एंगेल्सको यो रचना नेपालीमा प्रकाशित हुन यसरी सय वर्ष पर्खिनुपर्‍यो । कम्युनिस्ट घोषणापत्र पहिलोपल्ट नेपालीमा छाप्दा पुष्पलालले त्यसको भूमिका लेखेका थिए, जसमा उनले त्यसबेलाको नेपाल र विश्वपरिस्थितिको समेत संक्षिप्त चर्चा गरी घोषणापत्र पढ्ने तरिका बारे बताएका छन्, ‘यो मजदुर वर्गको साहित्य कम्युनिस्ट घोषणापत्र बुझ्न पहिले त अलि मुस्लिकै पर्नेछ । यसकारण म पाठक वर्गलाई यो पुस्तक उपन्यास र कहानीहरू पढेझैं नपढ्नुहोला भनी अनुरोध गर्दछु । म खुद आफ्नै अनुभवले के भन्दछु भने यो घोषणापत्र जति पढ्यो उति नै नयाँ भएर आउँछ । यसकारण एकचोटि पढेर दराजमा नथन्काउनुहोस् । जसरी तपाईं दिनहुँ दाँत माझ्नुहुन्छ, उसरी नै यस घोषणापत्रलाई पनि माझ्नुहोस् अर्थात् पढ्नुहोस् । अनि मात्र यस घोषणापत्रको वास्तविक अर्थ बुझ्नुहुनेछ ।’ (कम्युनिस्ट घोषणापत्र, प्रथम नेपाली संस्करणको भूमिका, पुष्पलाल छानिएका रचना भाग– १, दोस्रो संस्करण)

दस पृष्ठ लामो आफ्नो भूमिकामा पुष्पलालले तत्कालीन नेपाल, नेपालका राजनीतिक दलहरू, भारतको परिस्थिति, संसारका अन्य शक्तिको अवस्था आदिबारे गरेको विश्लेषणले उनको क्षमता र ज्ञानको जानकारी पाउन सकिन्छ । यो भूमिकालाई मार्क्सवादी दृष्टिकोणबाट लेखिएको पहिलो नेपाली रचना मान्न सकिन्छ । पुष्पलालले भूमिका मात्र होइन, मार्क्स र एंगेल्सले घोषणापत्र तयार गर्दा त्यसको पृष्ठभूमि कस्तो थियो भनेर संक्षिप्त चर्चासमेत गरेका छन् । युरोपका घटनाहरू, फ्रेन्च क्रान्ति, चार्टर आन्दोलन, जर्मनीको सामाजिक व्यवस्था आदिको चर्चा गर्दै कम्युनिस्ट घोषणापत्र अनुवाद गर्नुपर्ने अवस्थाबारे विश्लेषण गरेर पढ्न र बुझ्न सहज बनाइदिएका छन् ।

पुष्पलालले कम्युनिस्ट घोषणापत्रका साथसाथै ‘सोभियत रुसमा व्यक्ति र समाज’, ‘मार्क्सवाद के हो ?’ ‘चिनी कम्युनिस्ट पार्टी’ र ‘चिनियाँ क्रान्ति तथा गाउँका गरिबहरूसँग’ पनि अनुवाद गरेको तर पैसा नभएर छाप्न नसकिएको उल्लेख गरेका छन् । अनुवाद र लेखनका लागि पुष्पलालले गरेको मिहिनेत हेर्दा उनमा अध्ययन गर्ने जाँगर सुरुदेखि नै रहेको प्रस्ट देखिन्छ । उनका पछिल्ला लेखनले त उनमा मार्क्सवाद–लेनिनवादका साथसाथै नेपालको इतिहास र समाजको समेत गहिरो ज्ञान रहेको प्रमाणित हुन्छ ।

भनिन्छ, बाइबल र कुरानबाहेक संसारमा सबैभन्दा बढी छापिएको पुस्तक कम्युनिस्ट घोषणापत्र हो, जुन सन् १८४८ मा पहिलोपल्ट प्रकाशित भएदेखि आजसम्म पनि निरन्तर संसारका विभिन्न भाषामा छापिई नै रहेको छ । पुष्पलालपछि पनि विभिन्न अनुवादकले भिन्नभिन्न कालखण्डमा नेपाली भाषामा छापी नै रहेका छन् । पुष्पलालको नेतृत्वमा भएको घोषणापत्रको अनुवादको ऐतिहासिक र क्रान्तिकारी महत्त्व छ ।


पैसा अभाव र पार्टी गठन

कम्युनिस्ट घोषणापत्र प्रकाशित हुनासाथ पुष्पलाल पार्टी गठनको तयारीमा लागे । विभिन्न ठाउँबाट साथीहरू निर्धारित स्थानमा आइपुग्न थाले । कलकत्तामा पुष्पलाल आफैं शरणार्थीजस्ता थिए । आवश्यक खर्चका लागि पनि पैसा थिएन । यस्तोमा ‘के गर्ने’ भन्ने प्रश्न उनका सामु आइपुग्यो । साथीहरूले ‘पछि उठाएर तिरौंला अहिले नृपेन्द्रसँग सापटी मागौं’ भनेर सल्लाह दिएपछि उनले केही पैसा सापटी मागे । पुष्पलालको कुरा सुनेपछि नृपेन्द्रले हास्दै भने, ‘हेर्नोस् पुष्पजी, केही हजार रुपैयाँको प्रश्न हाम्रा लागि ठूलो कुरा होइन । हामीहरूले दियौं भने फिर्ता पनि लिँदैनौं । तर एउटा कुरा याद गर्नोस्, यदि नेपाली जनता तपाईंको पार्टीलाई हुर्काउन र बढाउन असक्षम छन् भने कम्युनिस्ट पार्टी गठन नै निरर्थक छ ।’

पुष्पलाल यो प्रसंगमा थप यसरी लेख्छन्, ‘उनको यो कुरो मलाई ज्यादै नै घत लाग्यो । यो अत्यन्त सही कुरा थियो । उनले भने- के तिमी रिसायौ ? मैले भनें- होइन, तपाईंको कुरा अति नै मलाई घत लाग्यो र यसले मलाई जीवन पर्यन्त घच्घच्याइरहने छ । ...वास्तवमा प्रत्येक देशको क्रान्तिकारीका निमित्त यो सल्लाह अति नै महत्त्वपूर्ण यस मानेमा थियो र छ कि प्रत्येक देशका क्रान्तिकारीहरू प्रथमतः राष्ट्रमुखी हुनुपर्छ । त्यसो भएको खण्डमा मात्र पार्टीले आफ्नो राष्ट्रिय कर्तव्य निभाउन सक्नेछ । त्यही नै अन्तर्राष्ट्रिय भाइचाराको निमित्त सबभन्दा ठूलो क्रान्तिकारी हुन जान्छ र अन्तर्राष्ट्रिय क्षेत्रमा पनि आफ्नो राष्ट्र र राष्ट्रिय पार्टीको मान सम्मान बढाउँछ ।’ (नेपालमा कम्युनिस्ट आन्दोलनको संक्षिप्त इतिहास/पुष्पलाल)पुष्पलालले पार्टी स्थापनाकालदेखि कुनै पनि विदेशी आर्थिक सहयोग नलिने र नमाग्ने नीतिलाई जीवनपर्यन्त कायम राखे । भोकै बसे, राम्रो उपचार नपाएर विदेशमा जीवन गुमाए तर कसैसँग पनि सहयोगका लागि हात फैलाएनन् । आफ्नो अडान, स्वाभिमान र शिर सधैं उँचो राखे । पार्टी सञ्चालनमा विदेशी सहयोग लिइयो भने आफ्नो मान र स्वतन्त्र ढंगले निर्णय गर्ने स्वतन्त्रता कमजोर हुन्छ भन्ने उनले राम्ररी बुझेका थिए ।

पुष्पलालले कम्युनिस्ट घोषणापत्र प्रकाशित गरेको १७ दिनपछि अर्थात् १९४९ अप्रिल २२ मा कसैको सहयोग नै नलिई कलकत्तामा नेपाल कम्युनिस्ट पार्टी गठन गरे । यसको पाँच महिनापछि सेप्टेम्बर १५ मा ‘पहाड पर्वत खोला नाला जग्गा जमिन सबको, मालिक हामी दास बनौं किन हिस्सा सबमा सबको’ भन्दै नेपाल कम्युनिस्ट पार्टीको घोषणापत्र जारी गरे ।

सन् १९४९ पुष्पलालको जीवनको सर्वाधीक महत्त्वको वर्ष रह्यो । विश्वप्रसिद्ध कम्युनिस्ट घोषणापत्रको अनुवाद प्रकाशन, नेपाल कम्युनिस्ट पार्टीको गठन र घोषणापत्र ल्याउनाले नेपालको राजनीतिक र बौद्धिक क्षेत्रमा उथलपुथल नै ल्यायो । राजनीतिलाई नयाँ मार्गतिर डोर्‍यायो । यति बेला पुष्पलालको उमेर २५ वर्षको मात्र थियो ।

आज पुष्पलालले निर्माण गरेको कम्युनिस्ट आन्दोलन विभाजित अवस्थामा छ । जनमत र शक्तिमा देशको सबैभन्दा बलियो रहेको कम्युनिस्ट आन्दोलन आफैंभित्रका विकृति र द्वेषका कारणले एक आपसमा लड्ने अवस्था बनेको छ । यसको मूल कारण जनता र देशको निस्वार्थ सेवा गर्नुपर्ने मूल लक्ष्यबाट कम्युनिस्ट नेताहरू दायाँबायाँ भट्किनु हो ।

नेपालका राजनीतिक दल र शक्तिहरूमा दक्षिणतिरको आर्थिक, राजनीतिक र वैचारिक दबाब प्रभाव बढ्न थालेको चिन्ता सर्वत्र पाइन्छ । सात समुद्रपारिको शक्ति राष्ट्रको दबाब र दक्षिणको विविध खालको प्रभावबाट नेपालका दल र राजनीतिक नेतृत्वलाई जोगाउन सकिएन भने राष्ट्रियता, स्वतन्त्रता र स्वतन्त्र निर्णय क्षमता नै गुम्न सक्छ । यो कुरा पुष्पलालले राम्ररी बुझेका थिए, त्यसैले जीवनकालभरि आफ्नो मान्यतामा अविचलित रहे ।

नेपालबाट कार्यकर्ताहरूले पठाएको लेबीको थोरै रकमले उनले पार्टी चलाए । पैसा नहुँदा भिजेको चना खाए, भोकै पनि बसे तर विदेशी सहयोग लिएनन् । उनले चाहेको भए, भारतीय कम्युनिस्टहरूले माया गरेर पनि सहयोग गर्थे । पुष्पलालको यो स्वाभिमानबाट कम्युनिस्टहरूले मात्र होइन, सबै राजनीतिक दलहरूले शिक्षा लिनुपर्छ ।

२०५२ सालको एक अन्तर्वार्तामा नेपाली कांग्रेसका सर्वोच्च नेता गणेशमान सिंहले पुष्पलाललाई सम्झँदै भनेका थिए, ‘एउटा सामान्य मानिसको विषयमा कुरा गर्दा त कठिन हुन्छ । एक देशभक्त पुष्पलालको विषयमा भन्दा लेख्दा कठिनाइ त लाग्ने नै भो । आज पुष्पलालजीलाई सम्झदा गौरव लाग्छ । भारतमा बस्दाखेरिको दुःखलाई सम्झिँदा, उहाँले गरेको त्याग बलिदान सम्झँदा पनि आँखा रसाउँछ, मुटुमा भक्कानो पर्छ... । इमानदारीका साथ पुनः भन्दछु, उनले गरेको कष्ट र दुःख सम्झँदा अझै मुटु काम्छ ।... उनी नेपालको कम्युनिस्ट पार्टीको पिता हुन् ।...’ (क्रान्तिवीर गंगालाल श्रेष्ठ)

सत्ताका लागि जस्तोसुकै गठबन्धन गर्न, सत्ता पाइन्छ भने स्वाभिमान बेच्न, बेला न कुबेला विदेश धाउन र बाह्य समर्थन खोज्न जे पनि गर्न तयार हुने नेताहरूका लागि पुष्पलालको सान्दर्भिकता कति छ भन्न सकिन्न । तर देशभक्त, लोकतान्त्रिक र जनपक्षीय मान्यता र संस्कार बोकेका व्यक्तिहरूका लागि पुष्पलाल प्रेरणा पुरुषका रूपमा रहिरहनेछन् ।

प्रकाशित : श्रावण ६, २०७९ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?