२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

पोसाक परिवर्तन कि सोच ?

केटाहरूले भर्‍याङमुनिबाट हेरिबस्छन् भनेर मेरो गुरुआमाले लामो लुगा लगाउन निर्देशन दिनुभयो, के नैतिकताको पाठ केटाहरूलाई पढाउनु पर्दैन ? किन गुरुआमाहरूले केटाहरूलाई मात्र राखेर यी सबै कुरा भन्नुहुन्न ?
कृषा भट्टराई

म काठमाडौंको एक ख्यातिप्राप्त विद्यालयमा कक्षा १२ मा अध्ययनरत छु । विगत १२ वर्षमा मैले काठमाडौंका तीन विद्यालयमा अध्ययन गरेको अनुभव बटुलिसकेको छु । विद्यालयको नाम र ठेगाना फरक भए पनि समस्या, अध्यापन शैली र सोच सबैमा उस्तै पाएँ । विद्यालयको नैतिक शिक्षा पढाउने शिक्षकले दिने गरेका निर्देशन नै यो लेखको आधार हो ।

पोसाक परिवर्तन कि सोच ?

लुगा परिवर्तन : मेरी आदरणीय गुरुआमाले हामीलाई एक ठाउँमा जम्मा गरेर स्कर्टलाई लामो तथा कपाल सामान्य बनाउन अनुरोध गर्नुभयो । उहाँको तर्क थियो— पुरुष शिक्षक र केटाहरूको ध्यान केटीहरूको अंगतर्फ हुने भएकाले लुगा लामो लगाउनुपर्छ । यसैगरी विद्यालयको भर्‍याङको छेउबाट हिँड्दा केटाहरूले भर्‍याङमुनिबाट हेरिबस्छन् भनेर कुनाबाट मात्र हिँड्न उहाँले आग्रह गर्नुभयो ।

म गुरुआमाको नियतमा प्रश्न गर्न गइरहेको छैन । हामीले पुरुष शिक्षक वा छात्राहरू निकृष्ट नै हुन्छन् भन्ने शिक्षा दिँदा छात्राहरूको दिमागमा कस्तो छाप पर्ला ? अर्कातर्फ लामो लुगा लगाउन त सकिएला तर केटाको सोचाइ परिवर्तनतर्फ बेवास्ता गर्ने र एकोहोरो केटीलाई मात्र खोक्रो नैतिकता पढाउन उपयुक्त होला ? हामी भर्‍याङको कुनाबाट उकालोओरालो गरौला तर के यसबाटै महिलामाथिको हिंसाको समाधान होला ? मैले मेरो विद्यालय अवधिभरि सधैं केटी साथीहरूलाई यस्तो नैतिकताको पाठ पढाएको पाएको छु । तर कहिल्यै पनि केटा साथीहरूलाई नैतिकताको छुट्टै पाठ पढाएको पाइनँ । यसले के स्पष्ट पार्छ भने, महिलाले मात्र यी सबै कुरामा ध्यान दिनुपर्छ, पुरुषले पर्दैन र पितृसत्तात्मक सोच शिक्षा प्रणालीमा व्याप्त छ । हामीले शिक्षा सुधार्न थुप्रै योजना ल्यायौं । तर लामो स्कर्ट वा पाइन्ट लगाउनुपर्छ भन्नेभन्दा माथि कहिल्यै जान सकेनौं । सोच, विचार र चिन्तन बदल्न सकेनौं ।

शिक्षक कस्तो हुनुपर्छ : मेरी गुरुआमाले पुरुष शिक्षकहरूप्रति गर्नुभएको शंका जायज होला । केटीहरूले लामो लुगाले अंग पनि ढाक्लान् गुरुआमाले भनेझैं घुँडा च्यापेर पनि बस्लान् तर के यो नै समस्याको समाधान हो त ? शिक्षा क्षेत्रका अभिभावकको यति सीमित बुझाइले समाज रूपान्तरण सम्भव होला ? यदि खराब नियत भएका शिक्षक वा विद्यार्थी भए, ऊ अयोग्य हुनुपर्ने होइन ? निकृष्ट स्वभाव भएका शिक्षक छन् भने विद्यालयले उसलाई हटाउने कि छात्राहरूले लुगा परिवर्तन गर्ने ? यो विषयमा हाम्रो शिक्षा क्षेत्र कहिले गम्भीर होला ? कुन शिक्षक वा केटा विद्यार्थी कस्तो चरित्रको छ भन्ने विद्यालयले लेखाजोखा गर्ने पद्धति बनाउने कि छात्राहरूलाई ‘तिमीहरू होसियार बन’ मात्र भन्ने ? शिक्षकको गुण र मापदण्डमा जहिलेसम्म यी कुरा पदैनन्, तहिलेसम्म यस्तो शिक्षकबाट गुणस्तरीय शिक्षाको परिकल्पना गर्न सकिँदैन ।

नैतिकताको पाठ कसलाई : मेरी गुरुआमाले हामीले पछिसम्म धेरै कुरामा होसियार हुनुपर्ने तर्क गर्नुहुन्छ । सायद गुरुआमा पितृसत्ताको भुमरीमा जन्मनु, हुर्कनु र बढ्नुभयो, त्यसैले धेरै डराउनुहुन्छ । त्यही डर र त्रासबीचबाट हामीलाई सम्भाव्य जोखिमको पाठ पढाउँदै हुनुहुन्छ जुन जायज छ । तर मेरो कुरा के मात्र हो भने, नैतिकताको पाठ अब पीडित महिलालाई होइन पीडक पुरुष वा सम्भाव्य पीडक छात्रलाई पनि पढाउनुपर्‍यो । ताकि महिला वा केटीहरूलाई हेर्ने नजरमा परिवर्तन आउन सकोस् ।

छोरीलाई बचाउनै गाह्रो भयो भन्ने सोच ः मेरो गुरुआमा जस्तै छोरी हुर्कंदै गर्दा धेरै अभिभावकमा चिन्ता थपिएको देख्छु । दिनदिनैको महिला हिंसाको घटना सुनेर छोरीका अभिभावक छटपटाएको देख्छु । हाम्रो शिक्षा प्रणालीमा विद्यमान ‘छोरीलाई बचाउने’ विचारले छोरी झन असुरक्षित बनेको पाउँछु । त्यो को हो जसले छोरीलाई असुरक्षा दिन्छ, त्यो हिंस्रकलाई यो समाजले लक्षित गनुपर्ने होइन र ? त्यसलाई पो नैतिकताको पाठ पढाउनुपर्ने हो त । महिलालाई खतरा मोल्न सक्ने बनाउनुभन्दा हाम्रो शिक्षाले आत्मसमर्पण गर्नतर्फ धकलेको पाउँछु । महिलालाई कसैले बचाउनुपर्ने होइन, आफैं बाँच्न सक्ने बनाउने शिक्षा हामीलाई चाहिएको छ । मेरो गुरुआमाहरू अरूबाट सुरक्षित हुँदै आउनुभयो होला । अबका छात्रा आफैं बाँच्न सक्ने हैसियत बनाउन शिक्षा प्रणालीमा सुधार आवश्यक छ ।

केटा साथीसँगको दूरी : मेरो विद्यालयमा सहशिक्षा प्रणाली छ, अर्थात् केटा–केटी दुवै विद्यार्थी छन् । मेरी गुरुआमालाई डर छ, केटाहरूसँग नजिक भए भने केटीहरू हिसांमा पर्नेछन् । मेरो गुरुआमाको चिन्ता अवश्य जायज छ, त्यसैले उहाँले केटीहरूलाई मात्र राखेर ‘होसियार’ हुन निर्देशन दिनुभएको हो । गुरुआमाको नियत असल हुँदाहुँदै पनि मेरो प्रश्न छ, किन गुरुआमाहरूले केटाहरूलाई मात्र राखेर यी सबै कुरा भन्नुहुन्न ? किन अभिभावक र केटाहरूलाई सँगै राखेर केटीहरूप्रति कसरी सम्मानपूर्वक व्यवहार गर्ने पाठ पढाईदैन ? ‘केटाहरूसँग होशियार होऔ है’ भन्दै गर्दा सबै केटा हिंस्रक नै हुन्छन्, खराब नै हुन्छन् भन्ने सन्देश जाँदैन र ? सहशिक्षाको मूल्य र सबल पक्षलाई इन्कार पनि त गर्न भएन नि !

बहिनीहरूप्रतिको दूरी : म १२ कक्षाको अन्त्यतिर छु, गुरुआमाको भनाइले मलाई धेरै प्रभाव पार्दैन । तर साना कक्षामा पढ्ने मेरा बहिनीहरूको चिन्ता मलाई लाग्छ । हाम्रो विद्यालयले वर्षौंदेखि छात्राहरूलाई समाजको कमजोर वर्गका रूपमा चित्रण गर्दै आएको छ । यस्तै अवस्था रहने हो भने यो अझै केही दशक चलिरहनेछ । मेरा साना बहिनीहरूलाई पनि यस्तै पाठ पढाइनेछ । शिक्षामार्फत उनीहरूको शक्ति क्षीण बनाइनेछ । खतरा मोल्न सक्ने ताकतलाई झन कमजोर बनाइनेछ ।

छोरीको तागत आमाबुबा : मेरो गुरुआमाको निर्देशन बोकेर म घर पुगें । गुरुआमाको कुरा र मेरो सवालबारे मैले आमा र बाबासँग छलफल गरें । हामी विद्यालयको पाठ्यक्रमलाई मात्र शिक्षा, परीक्षामा पाएको अंकलाई मात्र शैक्षिक योग्यता मान्छौं । तर मेरा आमाबाबा विषयप्रतिको आलोचनात्मक दृष्टिकोणलाई शिक्षा मान्नुहुन्छ । गुरुआमाको चिन्तालाई जायज मान्दै गर्दा पनि मेरो आमाबाबा विद्यालय र शिक्षकले समाजमा विद्यमान अवरोध हटाउने र सशक्तीकरणतर्फ भूमिका खेल्नुपर्ने तर्कमा अडिग हुनुहुन्छ । गुरुआमा आफैं कमजोर बन्नुभयो भने आउँदो पुस्ता पनि कमजोर हुन्छ । मेरो अनुभव प्रायः छात्राको दिनानुदिनको अनुभव हो ।

प्रकाशित : असार ३०, २०७९ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?