२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

को स्वतन्त्र ?

राजनीतिक रुपान्तरणका लागि शक्तिशाली हस्तक्षेप गर्ने संगठन आजको आवश्यकता हो । म असल छु, म स्वतन्त्र हुँ, म राजनीतिमा आएँ, मलाई भोट हाल, म गरेर देखाइदिन्छु भन्नु अराजनीतिक ध्वाँस मात्र हो ।
केशव दाहाल

शब्दार्थ
आजलाई स्वतन्त्र राजनीति र स्वतन्त्र उम्मेदवारीको भाष्यमाथि कुरा गरौं । सुरु गरौं शब्दार्थबाट । नेपाली शब्दकोशमा स्वतन्त्रको परिभाषा निकै रोचक ढंगले दिइएको छ । शब्दकोशका अनुसार स्वतन्त्र भन्नाले ‘कसैको बन्धन, दबाउ, अधीन आदिमा नरही आफ्नै तन्त्र वा शासनमा रहने र त्यस माध्यमले स्वयं सोचीबुझी काम गर्न सक्ने वा पाउने स्वाधीन । अरूको अवलम्ब, आधार वा आश्रय केही नभएको । कुनै नियम, विधि वा प्रतिबन्दबाट मुक्त । कसैसँग सम्पर्क नभएको, अलग, भिन्न ।’ यो परिभाषाबाट हेर्दा वैश्य युगमा स्वतन्त्र मान्छे पाउनु असम्भव देखिन्छ । आश्चर्य के भने, यो लौकिक दुनियाँमा मान्छे मात्र हैन कीटपतंग, दुर्लभ प्राणी र वनस्पतिहरू कोही पनि स्वतन्त्र भेटिँदैनन् ।

को स्वतन्त्र ?

स्वतन्त्रको सिद्धान्त

मान्छे पूर्णतः स्वतन्त्र हुनै सक्दैन । मात्र तुलनात्मक रूपमा कोही कम, कोही बेसी स्वतन्त्र होलान् । जस्तो कि राजाभन्दा रैती केही कम स्वतन्त्र होलान् । गृहस्थभन्दा जोगीहरू केही धेरै स्वतन्त्र होलान् । हुन सक्छ कैदीभन्दा खेलाडी धेरै स्वतन्त्र होलान्, ईश्वरभन्दा ध्यानी, साधक र तपस्वी कम स्वतन्त्र होलान् । तर यो चराचर जगत्मा निरपेक्ष स्वतन्त्र खोजे मरे पाइँदैन । कोही राजकाजको बन्धनमा, कोही पैसा र प्रेमको बन्धनमा । कोही भक्तको बन्धनमा, कोही मठ, पन्थ वा ईश्वरको बन्धनमा ।

के गृहस्थहरू स्वतन्त्र हुँदैनन् ? हुँदैनन् । किनभने महत्त्वाकांक्षा, सपना, लोभ, लालसा आदिले तिनलाई स्वतन्त्र हुनै दिँदैनन् । गृहस्थसँग परिवार हुन्छ, समाज हुन्छ र संसार हुन्छ । संसारसँग जोडिएको मान्छे त्यसबाट ‘अलगथलग’ कसरी हुन्छ ? अर्थात्, मायाजालमा परेको मान्छे कसरी स्वतन्त्र हुन्छ ? यदि कोही गृहस्थ जञ्जालबाट मुक्त भेटिन्छ भने त्यो तुलनात्मक मुक्ति मात्र हो । जसरी मान्छे उज्यालोमा छायासँग स्वतन्त्र हुँदैन, त्यस्तै ऊ बाँचुन्जेल लालसाबाट पनि स्वतन्त्र हुँदैन । यदि कसैलाई आफू स्वतन्त्र छु भन्ने लाग्छ भने त्यो फगत अज्ञानता वा भ्रम हो । कथंकदाचित कोही व्यक्ति स्वतन्त्र हुन सक्छ भने त्यो अलौकिक वा असाधारण घटना हुन सक्छ । जस्तो बुद्ध । बुझ्नुपर्ने कुरा के भने, मान्छे महत्त्वाकांक्षा, सपना, लोभ, लालसाको बन्धनमा हुन्छ । यो नै मानव सभ्यताको राज हो । अन्यथा हाम्रो सभ्यता यति धेरै गतिशील, प्रतिस्पर्धी र विकासन्मुख हुने थिएन ।

के राजनीति गर्ने मान्छे स्वतन्त्र हुँदैन ? हुँदैन । जब गृहस्थ स्वतन्त्र हुन सक्दैन त राजनीति गर्ने मान्छे झन् कसरी स्वतन्त्र हुन्छ ? किनभने आधुनिक राज्य, राजकाज र राजनीति यस्ता विषय हुन् जो एक जना व्यक्तिको नियन्त्रणमा हुँदैनन्, सामूहिक हुन्छन् । जब राज्य, राजनीति र राज्यसत्ता सामूहिक हुन्छन्, तब त्यसको प्रतिनिधि कसरी स्वतन्त्र हुन्छ ? सत्य नै यही हो कि जसै मान्छे सामूहिक प्रक्रियामा प्रवेश गर्छ, उसको स्वतन्त्रता स्वभावतः त्यो विन्दुबाट सकिन्छ ।

राजनीति एक्लो हुँदैन, न त राजनीति गर्ने एक्लो हुन्छ । किनभने त्यहाँ मतदाताहरू हुन्छन्, शुभेच्छुकहरू हुन्छन्, सेवकहरू हुन्छन् र हुन्छन् तिनका सपनाहरू । स्वभावतः समूहमा अनेक प्रश्नहरू हुन्छन् । जस्तो कतै वर्गका प्रश्नहरू हुन्छन्, कतै जातका, कतै धर्मका प्रश्नहरू हुन्छन् कतै क्षेत्र, भाषा र सम्प्रदायका । यावत् कुरा साथमा भएको राजनीतिकर्मी कसरी स्वतन्त्र हुन्छ ? अथवा महँगी बढेको बेला कोही कसरी स्वतन्त्र रहन्छ ? स्वास्थ्य र शिक्षामा दलाली बढेको बेला कोही कसरी स्वतन्त्र रहन्छ ? अथवा न्याय र अन्यायको बीचमा, नयाँ र पुरानाका बीचमा, अगाडि जाने कि पछाडि फर्किने भन्ने बहसमा कोही कसरी स्वतन्त्र, निरपेक्ष वा तटस्थ रहन सक्छ ? नेपाली राजनीतिका अगाडि यति धेरै संकटहरू छन्, यस्तो बेला किनारमा बसेर कोही कसरी आफूलाई स्वतन्त्र भन्न सक्छ ? अथवा यावत् प्रश्नहरूलाई नदेखेझैं गरी एउटा गम्भीर राजनीतिकर्मी कुन स्पेसमा स्वतन्त्र उभिन्छ ? निश्चय नै कोही कुनै दलको सदस्य नहुन सक्छ । तर अमुक दलको सदस्य नहुँदैमा मान्छे स्वतन्त्र हुँदैन । भ्रमवश कोही म स्वतन्त्र छु भन्छ भने उसले राजनीति गर्दैन, मात्र लोकरिझ्याइँ गर्छ ।

भौतिकवादी दर्शनको आँखाबाट हेर्दा मान्छे सभ्यताका अनेकौं प्रवर्गहरूसँग अन्तरसम्बन्धित प्राणी हो । समाजमा द्वन्द्वहरू हुन्छन् । संघर्ष र एकताहरू हुन्छन् । ती सबैमा मान्छे कहीँ कतै अनिवार्य जोडिन्छ । ऊ कतै द्वन्द्व गर्छ, कतै एकता । समाजमा हुने द्वन्द्व र एकताबाट मान्छे भिन्न हुँदैन । त्यसैले ऊ कहिल्यै स्वतन्त्र छैन । अध्यात्मवादी सिद्धान्तबाट हेर्दा मान्छे स्वयं ईश्वरको अंश हो । जो भाग्य र कर्म, पाप र पुण्य, स्वर्ग र नर्क, लौकिक र अलौकिक संसारको जञ्जालमा हुन्छ । त्यसैले मान्छे ईश्वर र ईश्वरको आदेशभन्दा पृथक् छँदै छैन । महाप्रलय र उद्विकासको सिद्धान्तबाट हेर्दा पनि मान्छे प्राकृतिक चक्रको एक हिस्सा हो । जीवन र जगत्का सम्पूर्ण अंग र आयामहरूसँग उसको अविभाज्य साइनो छ । समाज विज्ञान, सभ्यता र राजनीतिमा यो सत्य उसरी नै अकाट्य छ, जस्तो आकासमा सूर्य ।

अर्थात्, गैरदलीय

स्थानीय निर्वाचनमा हामीकहाँ स्वतन्त्र उम्मेदवारी दिने ठूलो लहर चल्यो । केही स्थानमा त्यस्ता उम्मेदवारहरूले जिते पनि । अतः स्वतन्त्र राजनीति, स्वतन्त्र उम्मेदवारी वा स्वतन्त्र पार्टीको परिचर्चा अहिले निकै माथि छ । तर के यो प्रयोगले ठीक भाका समातेको छ ? छैन । खासमा स्वतन्त्रको ‘न्यारेटिभ’ नै गलत छ । यहाँनेर के स्मरण गरौं भने, स्वतन्त्र हुनु, गैरराजनीतिक हुनु र गैरदलीय हुनु नितान्त फरक कुरा हो । अर्थात्, सामूहिक हुनु, राजनीतिक हुनु र दलीय हुनु पनि नितान्त फरक कुरा हो । कोही जब राजनीतिमा आउँछ, स्वभावतः ऊ सामूहिकतामा प्रवेश गर्छ । एउटा मान्छे जब सामूहिक बन्दै जान्छ, क्रमशः उसले स्वतन्त्रता गुमाउँदै जान्छ । त्यसैले प्रश्न स्वाभाविक हुन्छ राजनीतिको जग नै सामूहिक हुन्छ भने उम्मेदवार कसरी स्वतन्त्र हुन्छ ?

त्यसोभए के स्थानीय निर्वाचनमा स्वतन्त्र भनिएका ती उम्मेदवारहरू स्वतन्त्र थिएनन् ? उनीहरू स्वतन्त्र थिएनन् । उनीहरू गैरदलीय थिए । अर्थात्, त्यो स्वतन्त्र उम्मेदवारी थिएन, गैरदलीय उम्मेदवारी थियो । सायद, आज जुन स्वतन्त्र हुने लहर छ, त्यो कांग्रेस, कम्युनिस्ट वा राप्रपाबाट मुक्त हुने लहर हो । अथवा, पुराना दलहरूबाट अलग बस्ने र आफूलाई गैरदलीय बनाउने प्रयत्न हो । गैरदलीय हुनु र स्वतन्त्र भन्नु धेरै फरक कुरा हो ।

त्यसोभए स्थानीय निर्वाचनमा भएको गैरदलीय उम्मेदवारीको अर्थ के हो ? त्यो एउटा संकेत हो । अर्थात्, एउटा विद्रोह हो । जसका केही ‘म्यासेजहरू’ छन् । पहिलो म्यासेज के भने, पछिल्लो समय स्थानीय सरकार गैरदलीय हुनुपर्छ भन्ने बहस राजनीतिक वृत्तमा तीव्र थियो, जसलाई गैरदलीय उम्मेदवारहरूले अझ प्रखर बनाए । जो कहीँकतै अनुमोदित पनि भए । दोस्रो, गैरदलीय उम्मेदवारी परम्परागत दलहरूविरुद्धको एउटा विद्रोह हो । अर्थात्, कांग्रेस र कम्युनिस्टहरूबाट स्वतन्त्र हुने अभियान । अमुक पार्टीको सदस्यताबाट स्वतन्त्र हुने अभियान । परम्परागत राजनीतिक विचारको बन्धनबाट स्वतन्त्र हुने अभियान । दलीय संकीर्णता र सीमाबाट आफूलाई मुक्त गर्ने अभियान । यो अर्थमा त्यो विद्रोह दलहरूले हुर्काएको भ्रष्टाचार र कुशासनविरुद्धको झिल्को हो । वास्तवमा स्थानीय निर्वाचनमा जसले गैरदलीय हुने हिम्मत गरे उनीहरू स्वतन्त्र थिएनन् । बरु जानेर वा नजानेर उनीहरूले नयाँ खाले ध्रुवीकरण र पक्षघरताको आह्वान गरिरहेका थिए ।

संगठनको कुरा

प्रश्न आउँछ, यो सिलसिला कहाँ पुगेर टुंगिएला ? के गैरदलीय हुनु नै आजका लागि उपलब्धि हो ? होइन । र, यी प्रश्नहरूको जवाफ समकालीन विश्व राजनीति, हाम्रो आफ्नै इतिहास, पछिल्ला आन्दोलनहरू र प्राप्त संविधानको जगमा उभिएर खोज्नुपर्छ । लोकतन्त्र, दलीय व्यवस्था र सामूहिक संकल्पभन्दा पृथक् बसेर यो प्रश्नको उत्तर पाइँदैन । हाम्रो राजनीतिक व्यवस्थामा दलहरू अनिवार्य छन् । अतः हामी राजनीतिमा बदलाव चाहन्छौं भने त्यो बदलाव आफूलाई गैरदलीय बनाउँदैमा प्राप्त हुँदैन । बरु आफूलाई अझ संगठित गरेर मात्र प्राप्त हुन्छ । किनभने गैरदलीय बसेर कसैले होहल्ला, विद्रोह वा प्रतिक्रिया त सृजना गर्न सक्छ तर त्यसरी राजनीति बदल्ने अभियान निष्कर्षमा पुग्दैन । किनभने गैरदलीय हुनु हाम्रो सन्दर्भमा राजनीतिक समाधान होइन । यो मात्र आन्दोलन वा दबाब हो । दलहरू बिग्रिए त्यसैले गैरदलीयहरूले जित्नुपर्छ भन्नु आजका लागि उल्टो प्रस्ताव हो । सुल्टो प्रस्ताव के हुनुपर्छ भने या त पुराना दलहरू सुध्र अन्यथा हामी नयाँ दल बनाउँछौं । गैरदलीय हुने प्रवृत्तिले निर्दलीयतालाई प्रवर्द्धन गर्छ । हाम्रो राजनीतिको भविष्य त्यो होइन ।

स्पष्ट छ, दलहरूको विकल्प दलहरू नै हुन् । अर्थात्, खराब दलको विकल्पमा अझ राम्रो दल । व्यक्तिवादी राजनीति आजको समाधान होइन । अन्यथा दलले समाधान नदिने, व्यक्तिले चमत्कार गर्ने ? यो त सामूहिकतामा भन्दा व्यक्तिमा विश्वास गर्ने कुरा भयो । लोकतान्त्रिक राजनीतिमा त्यस्तो हुँदैन ।

प्रश्न आउन सक्छ, त्यसोभए गैरदलीय अभियानको गन्तव्य के त ? त्यो नयाँ दलतर्फको पहिलो पाइला हुन सक्छ । त्यो नयाँ राजनीतिको आह्वान बन्न सक्छ । त्यो नयाँ सम्भावनाको खोजी हुन सक्छ । तर त्यो हुनुपर्छ संगठित वा सामूहिक प्रयत्न । वस्तुतः स्वतन्त्र उम्मेदवारीको ‘कस्मेटिक’ कुरा गरेर यो अभियानलाई हल्का र टिपटापे बनाउनु हुँदैन । बरु यो अभियान दलहरूमा रूपान्तरण वा नयाँ दल निर्माणको आधार बन्नुपर्छ । किनभने राजनीतिक रूपान्तरणका लागि शक्तिशाली हस्तक्षेप गर्ने संगठन आजको आवश्यकता हो । अन्यथा म असल छु, म स्वतन्त्र हुँ, म राजनीतिमा आए, मलाई भोट हाल, म गरेर देखाइदिन्छु भन्नु अराजनीतिक ध्वाँस मात्र हो । लोकतान्त्रिक व्यवस्थामा हामीले विश्वास गर्ने सामूहिकतालाई हो । संगठित प्रयत्नलाई हो । एक जना पालनहार राम वा कृष्ण, अल्लाह वा जिसस अथवा अर्को कुनै मुक्तिदाता हामीलाई चाहिएको होइन । लोकतान्त्रिक राजनीतिमा चमत्कारी पुरुष (महिला) हैन, असल नेतृत्व आवश्यक हुन्छ ।

अन्तिम कुरा के भने, यो स्वतन्त्र हुने बेला होइन, यो नागरिकसँग जोडिने बेला हो । यो एक्लै हिँड्ने बेला होइन, यो संगठित हुने बेला हो । यो किनारमा तटस्थ बस्ने बेला होइन, यो आर्थिक, सामाजिक र राजनीतिक मुद्दाहरूमा पक्षधरता लिने बेला हो । यो मिलेर हिँड्ने बेला हो । यो सँगै लड्ने बेला हो । त्यसैले स्वतन्त्र हुने रहरमा बोक्रे राजनीति नगरौं, संगठित बनेर बदलावका लागि कम्मर कसौं ।

प्रकाशित : असार ३०, २०७९ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?