कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

गुणस्तरीय शिक्षाका लागि सक्षम गुरू

हाम्रो समाजमा गुरुपूर्णिमाको सांस्कृतिक–सामाजिक महत्त्व रहँदै आएको छ । शैक्षिक अभियानसँग जोडिएकाले राष्ट्रिय पर्वकै रूपमा यसले मान्यता पाइआएको छ । प्रत्येक व्यक्तिलाई गुरुबाट प्राप्त ज्ञान–सीपको अधिक महत्त्व हुन्छ । गुरु समाजका सर्जक र प्रवर्तक पनि हुन् । 

गुणस्तरीय शिक्षाका लागि सक्षम गुरू

आधुनिक शिक्षा व्यवस्थामा गुरु, शिक्षक नामले चिनिन थालेका छन्, व्यावसायिक चरित्र अगालेका छन् । सीपबिनाको शिक्षा अपुरो र अधुरो नै मानिन्छ । व्यक्तित्व विकासका लागि मात्र नभई समाज तथा राष्ट्र विकासका लागि समेत सीपमूखी शिक्षाका लागि गुरुको योगदान अझ सर्वोपरि हुन्छ । आधुनिक शिक्षण सिकाइ प्रक्रियाका अनेक प्रारूप र प्रविधि देखा परे पनि सहज तरिकाबाट सिकाउने गुरुको तुलना अरूसँग हुन सक्दैन । गुरुलाई मैनबत्तीसँग पनि तुलना गरिन्छ । आफू जलेर अरूलाई उज्यालो छर्ने गुरुहरू त्यागका प्रतिमूर्ति नै हुन् । त्यसैको कदर गर्दै गुरुपूर्णिमा मनाइन्छ । गुरुकुल शिक्षाबाट प्रारम्भ भए पनि गुरुशिष्य सम्बन्ध आधुनिक शिक्षा व्यवस्थामा अझ प्रगाढ हुनुपर्छ । आधुनिक समयमा गुरु, शिक्षक बने पनि, यसको महत्त्व र समाजमा योगदान घटेको छैन ।

आज ज्ञानार्जनको माध्यम बदलिएको छ, प्रविधिको अधिकतम उपयोग हुन थालेको छ । यसले गर्दा पहिलेको जस्तो गुरु–शिष्यबीचको निकट सम्बन्धमा केही दरार उत्पन्न भएको छ । शिक्षाको व्यापारीकरणसँगै शिक्षकहरू अर्थोपार्जनका लागि दौडधुपमा व्यस्त छन् । गुरु–शिष्यको सम्बन्ध पनि पहिलेको जस्तो रहेन । केही हदसम्म स्वार्थको सम्बन्ध स्थापित हुन गयो । शिक्षक–विद्यार्थी सम्बन्ध चिसिँदै गएको आभास हुन्छ ।

‘हेल्मेट शिक्षक’ बढेका छन् । बिहान उठेदेखि बेलुकासम्म कक्षा लिइरहन्छन् । यसरी कक्षा लिँदा उनीहरूले व्यस्तता र तयारी अभावका कारण गुणस्तरीय शिक्षा भने दिएको पाइँदैन । विद्यार्थीहरू असन्तुष्ट छन् । विद्यालयदेखि विश्वविद्यालय तहसम्मका शिक्षकहरूको गुणस्तरमा कमी आइरहेको सुनिन्छ । शिक्षकहरूप्रति जनगुनासो पनि बढिरहेको छ । विद्यालयहरूमा ससाना नानीहरूले गृहकार्य नगरेको निहुँमा मरणासन्न हुने गरी कुट्ने शिक्षकको समाचार पनि आइरहन्छन् । अझ पछिल्लो समय शिक्षकले नै यौनदुर्व्यवहार गरेका घटना बाहिरियो, यो क्रम जारी छ । समाजका शिक्षित वर्गबाटै यस्तो हुन थालेपछि, स्वाभाविक रूपमा शिक्षकले पाउनुपर्ने सम्मान घटेको छ । शिक्षा क्षेत्रमा चुलिँदै गएका विकृति, विसंगति र बदमासीको केही अंशका हिस्सेदार शिक्षकहरू पनि हुन् । आज शिक्षकको क्षमतामाथि पनि प्रश्न उठाइन्छ । उनीहरू समयअनुसार चल्दैनन् भन्ने गुनासो व्याप्त छ ।

शिक्षकबाट केही सिकेर र आफूलाई सुधार गर्नुपर्छ भन्ने भावना विद्यार्थीमा हुँदैन । शिक्षकसँगसँगै रहेर ज्ञान–सीप ग्रहण गर्ने रुचि र चासो विद्यार्थीमा छैन । शिक्षक–विद्यार्थीको सम्बन्ध प्रगाध बनाइराख्ने प्रणालीको अभाव भएकाले शिक्षामा गुणस्तर खस्कँदै गएको हो । विद्यार्थीको रुचि र क्षमता पहिचान गर्दै सिकाउने शिक्षक अनि शिक्षकलाई मार्गदर्शकका रूपमा पछ्याउने विद्यार्थी संस्कारको अभाव खट्केको छ वर्तमान शिक्षामा । वास्तवमा समयानुकूल शिक्षा दिने शिक्षकको अभाव छ ।

शिक्षामा मौलाएको चरम राजनीतीकरण अन्त्य गर्दै सक्षम जनशक्तिलाई मात्र शिक्षक बन्ने अवसर प्रदान गर्ने व्यवस्थाको खाँचो अहिले छ । सरकारले शिक्षालाई व्यक्तित्व विकास र राष्ट्रिय समृद्धिको मूल आधार बनाउनुपर्छ । विद्यालय शिक्षाको गुणस्तरका लागि शिक्षकको क्षमतामा वृद्धि गर्नुपर्छ । उनीहरूको सेवासुविधामा ध्यान दिनुपर्छ । हाल जीवन र जगत् बुझ्ने विद्यासँगै जीविका चलाउने सीप र प्रविधिमूखी शिक्षाको महत्त्व अझ बढ्दै गएको छ । देश निर्माणका लागि समेत ज्ञानमूखीभन्दा सीपमूखी शिक्षाको आवश्यकता खड्किएको छ । विश्व श्रमबजारमा बिक्न सक्ने शिक्षा प्राथमिकतामा पर्न गएको छ । राजनीतीकरण तथा व्यापारीकरणको जोखिममा परेको अहिलेको शिक्षा प्रणालीलाई उकास्ने काम सरकारको नै हो र त्यसमा शिक्षकको भूमिका सहयोगीको हुनेछ ।

विद्यालयका शिक्षक मात्र नभई वरिपरिका जसले सिकाउँछन्, ती सबै गुरु हुन् । प्रत्येक व्यक्तिको पहिलो गुरु आमा हुन् । अतुलनीय स्नेह, प्रेम र वात्सल्य बर्साउने आमा समस्त जीवात्माकै पहिलो गुरु हुन् । सर्वप्रथम आमाबाटै हरेक जीवले जीवन जिउने र जित्ने कला सिकेको हुन्छ भने मानव जीवनमा त आमाको गुरुत्व अथाहा छ । प्रकृृतिलाई पनि गुरु मानिन्छ किनभने प्रकृतिबाट पनि मानिसले अथाहा ज्ञान आर्जन गरिरहेको हुन्छ । गौतमबुद्धले प्रकृतिबाटै पनि ज्ञान आर्जन गरेका प्रसंग हाम्रा लागि स्मरणीय छ । प्रकृतिबाट हामीले निरन्तर सहज र निःशुल्क ज्ञान–सीप लिइरेहका हुन्छौं ।

प्रकाशित : असार २९, २०७९ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?