२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

वाममोर्चा, एकता र पुनर्गठनको रोडम्याप

घनश्याम भूसाल

माओत्सेतुङले धेरै पटक व्याख्या गरेको एउटा सिद्धान्त ‘संयुक्त मोर्चा’ हो । त्यसले भन्छ- प्रमुख विपक्षीका विरुद्ध क्रान्तिका सबै सहयोगीहरूलाई एकत्रित गर्नु नेतृत्वको योग्यता हो । तर नेपालका कम्युनिस्टहरूका अगाडि एउटा मर्मान्तक तथ्य छ- श्रीमान् देउवाले योग्यताका साथ संयुक्त मोर्चाको प्रयोग गरेका छन् र माओका चेलाहरू प्रयोग भएका छन् ।

वाममोर्चा, एकता र पुनर्गठनको रोडम्याप

देउवाको संयुक्त मोर्चाको सिद्धान्त स्थानीय निर्वाचनमा यति प्रभावकारी भयो कि त्यसमा हार्ने कोही थिएन । नेपाली कांग्रेस सबैभन्दा धेरै नगर र गाउँपालिका जितेर खुसी छ, नेकपा एमाले ‘सबैभन्दा धेरै लोकप्रिय मत पाएर’ खुसी भयो ! माओवादी ‘पहिलेभन्दा ठूलो भएर’ खुसी भयो ! एकीकृत समाजवादी ‘भागशान्ति’ पाएर खुसी भयो ! अर्थात्, कम्युनिस्टहरू एकले अर्कोलाई हराएर खुसी, कम्युनिस्टहरूलाई हराएर नेपाली कांग्रेस खुसी ! व्यक्ति र समूहहरू सिद्धान्तहीन हुनु नौलो कुरा होइन तर सिद्धान्तहीनतामा यस्तो खुसियाली आधुनिक दुनियाँको भयानक विराधाभास हो । यसै सन्दर्भमा, मैले केही महिनादेखि वाममोर्चा/एकताका बारेमा छलफल गरिरहेका मेरा एक जना पुराना, लामो राजनीतिक–सामाजिक जीवनमा कुनै गुटको अन्धानुयायी नभएका, समसामयिक विश्वका वाम तथा प्रगतिशील आन्दोलनहरूबारे गहिरो चासो र फराकिलो जानकारी भएका कमरेडले केही दिनपहिले मलाई यस्तो इमेल पठाए:

प्रिय घनश्यामजी,

हार्दिक अभिवादन ।

पछिल्लो चरणमा यहाँले गर्नुभएको वाम एकताको पहलको म प्रशंसा गर्छु । साथसाथै, वाम दलहरूभित्रको सैद्धान्तिक तथा व्यावहारिक विचलनको विषयमा यहाँको समीक्षा र विश्लेषणप्रति पनि सकारात्मक छु । तर केही समयदेखि म असाध्यै गम्भीर भएर सोच्दै छु, हाम्रो समस्याको जरो वाम एकता हो कि वाम राजनीतिको पुनर्गठन ?

एउटा सुन्दर कुरा के हो भने कम्युनिस्ट घोषणापत्रको १७४ वर्षपछि पनि आधारभूत रूपमा यसको महत्त्व र सान्दर्भिकता समाप्त भएको छैन । यसप्रति जनअपेक्षा पनि घटेको छैन । ...के तपाईंले सोच्नुभएको वाम एकता मात्र एक चुनावी रणनीति हो ? कि वाम राजनीतिको पुनर्गठन हो ? अन्यथा वाम एकताले झन्डै दुईतिहाइको सरकार बनाएकै पनि हो । त्यसपछि सत्ताको आडमा वाम एकता छियाछिया भएको हामी सबैले देखे–भोगेकै कुरा हो । म पनि चाहन्छु, चुनावले बलियो वाम सरकार बनाओस् । तर वाम सरकार भनेको स्वच्छ, पारदर्शी र जनउत्तरदायी सरकार हो कि जे देखियो त्यही हो ? सांसद, मन्त्री तथा प्रधानमन्त्री साधन हुन् कि साध्य ? म राजनीति, खास गरी वाम राजनीतिको कथित एकता होइन, बरु यसको पूर्ण पुनर्गठनका पक्षमा सोच राख्छु । मौका मिले थप छलफल गर्ने नै छु ।

तपाईंको हितैषी

०००

यसको सन्देश धेरै गम्भीर र स्पष्ट छ- अहिलेका कम्युनिस्ट पार्टीहरूको एकता र यिनै पार्टीहरूको सरकार बनाएर वामपन्थलाई कुनै योगदान हुँदैन/भएन, त्यसैले आज वाम आन्दोलनले एकता होइन बरु ‘पूर्ण पुनर्गठन’ खोजेको छ । धेरै पटक हारेर पनि जित्ने दाउको प्रतीक्षामा बेचैन जुवाडेजस्तै ढोकैमा अहिले आएको निर्वाचनको उम्मेदवारीका लागि आकाशपाताल गरिरहेका हामी केही नेताहरूका लागि यो अर्थहीन प्रश्न हो । तर एकपछि अर्को धक्काबाट गुज्रिँदै गरेको र त्यही अनुपातमा सिद्धान्तहीन, विचारहीन हुँदै गएका पार्टीहरूलाई नजिकबाट हेरिरहेका बौद्धिक तथा जनसाधारणलाई यस प्रश्नले झक्झक्याइरहेको छ । एकातिर, आगामी निर्वाचनमा अर्को कम्युनिस्ट पार्टीलाई ‘धूलो चटाउने’ र आफ्नो औचित्य पुष्टि गर्ने प्रतिस्पर्धा छ भने अर्कातिर, यी कम्युनिस्ट पार्टीहरूकै बीचमा तालमेल गर्ने र फेरि सरकार बनाउने छटपटी छ । यसैबीच, अहिलेका पार्टीबाट आन्दोलन र मुलुकलाई कुनै सकारात्मक योगदान हुँदैन भनेर भित्रभित्रै वाम आन्दोलनकै ‘पूर्ण पुनर्गठन’ बारे पनि चर्चा गहिरिँदै छ । यस लेखमा यिनै पार्टीहरूका बीचमा एकता र पुनर्गठनलाई कसरी सँगसँगै लैजान सकिन्छ भनेर त्यसको प्रक्रिया प्रस्ताव गरिएको छ ।

सर्प मरोस्, लाठी नभाँचियोस्

एउटा समय थियो कम्युनिस्ट पार्टीले कार्यकर्तालाई प्रश्न गर्न, छलफल गर्न, अध्ययन गर्न सिकाउँथ्यो । अध्ययन गर्नु, सिक्नु/सिकाउनु पार्टीको सबैभन्दा महत्त्वपूर्ण काम थियो । पार्टीले समाजमा प्रश्न गर्ने मानिसहरूको खोजी गर्थ्यो र भित्र्याउँथ्यो । लोकप्रिय कविहरू, असल शिक्षक-प्राध्यापकहरू, पढाकु विद्यार्थीहरू, घूस नखाने कर्मचारीहरू, अगुवा किसानहरू, जुझारु मजदुरहरू, जनप्रिय गायक, क्रान्तिका शुभेच्छुक उद्योगी तथा व्यापारीको पार्टी थियो कम्युनिस्ट पार्टी । श्रमजीवी जनताको मुक्ति, लोकतन्त्र र देशभक्तिका नाराले ती सबैलाई एक ठाउँमा ल्याउँथ्यो । कम्युनिस्ट पार्टीले व्यक्तिवाद, अन्धविश्वास, सामाजिक भेदभावको विरोध र सामाजिकता, सामूहिकता, विज्ञान, नयाँ खोजको प्रचार गर्थ्यो । समाजको जोसुकै प्रगतिशील व्यक्तिलाई कम्युनिस्ट पार्टीले आकर्षित गर्थ्यो । यसरी कम्युनिस्ट पार्टी हाम्रो समाजको बौद्धिक-सांस्कृतिक नेता थियो । धेरैजसो गरिब तथा निम्नमध्यम वर्गका किसानका छोराछोरीहरू कम्युनिस्ट पार्टीमा आएका थिए । जमिनदार वर्गका विरुद्ध नारा र संघर्षले कम्युनिस्ट पार्टी उनीहरूको आफ्नै पार्टी भएको थियो । मध्यमवर्गीय नौजवानहरू नेपालको उदाउँदो मध्यमवर्गका सन्तान थिए । तिनले आफ्ना बाआमाले गरेका दुःख देखेका थिए । केही उच्चमध्यम वर्गका नौजवानहरू मार्क्सवादी राजनीतिक अर्थशास्त्र, समाजशास्त्र, क्रान्तिकारी इतिहास आदिको अध्ययनबाट आएका थिए ।

विगत केही दशकदेखि दलाल पुँजीवादसँग उठबस हुँदै जाँदा कम्युनिस्ट पार्टीको एउटा प्रभावशाली हिस्साले क्रान्तिको बाटो छोडिसकेको छ । र, पार्टीको क्रान्तिकारी स्नायुप्रणालीमा योजनाबद्ध आक्रमण गर्दै छ । दलाल पुँजीवादको कार्यपद्धति कस्तो छ भने त्यसले नेताहरूलाई आफ्नो खेलमा सहभागी गराउँछ, प्रोत्साहित गर्छ, ‘व्यक्तित्व’ दिन्छ, ‘हैसियत’ दिन्छ, राज्यका र अन्यत्रका ठूल्ठूला मानिसहरू- न्यायाधीश, अरू पार्टीका नेताहरू, पुलिस, कर्मचारी, विभिन्न दूतावासका अधिकारीहरूसँग परिचित गराउँछ । वर्तमान मात्रै होइन त्यसले ‘भविष्य’ पनि दिन्छ । त्यो पनि ‘समृद्धि र समाजवाद’ जस्ता उधारो र अनिश्चित होइन हाताहाती, नगदानगदी दिन्छ । पहिले नेताहरू स्वयम् गरिब थिए त्यसैले उनीहरूलाई धनी वर्ग मन पर्दैनथ्यो, अब उनीहरू नै धनी भैसकेका छन् त्यसैले श्रमजीवी वर्ग र त्यस वर्गको विचार मन पर्न छोडेको छ । पार्टीकै बलमा उनीहरूको वर्गोन्नति भएको थियो र यो वैभव, लाखौंलाई उठबस गराउन सक्ने यो प्रताप सुरक्षित राख्न पार्टीमा कब्जा जमाइरहनुपर्छ । शक्तिशाली गुटले मात्रै त्यसको ग्यारेन्टी गर्छ । र, त्यस्तो गुट चलाउन राज्यदोहनका अनेक प्रपञ्च गर्नुपर्छ । हिजो राजनीतिले क्रान्तिको व्याख्या गर्थ्यो तर अबको सुकिलो-मुकिलो राजनीतिले गुटबन्दी, पद, पैसा, आदेश, चाकरी, नजरानाको व्याख्या गर्छ । यसरी एकातिर आफैंले निर्माण गरेको आन्दोलनले पाँच वर्षपहिले संसदीय निर्वाचनमा गरेको त्यो दिग्विजय तर नेताहरूका स्वार्थले, तिनका फगत उन्मादी स्वार्थले छिन्नभिन्न भएको आजको विरोधाभास र अर्कातिर नेताहरूले पार्टीलाई जतातिर लतार्दै छन् त्यसको सम्भावित परिणामले आजको वाम आन्दोलन भयग्रस्त सन्नाटामा छ । आन्तरिक स्खलन र विघटनको यो परिदृश्यलाई मलाई इमेल पठाउने कमरेडको कोणबाट हेर्दा अहिलेकै पार्टीहरूबाट वाम आन्दोनलको रक्षा हुँदैन, तसर्थ वाम आन्दोलनको आजको समस्या एकता होइन, पुनर्गठन नै हो भन्ने निष्कर्ष स्वाभाविक देखिन्छ ।

तर यस आन्दोलनको शक्तिशाली गौरव र सम्भावनाको पाटो पनि छ । आजसम्मका संघर्ष/क्रान्तिमा देशभक्ति, लोकतन्त्र र सामाजिक न्यायको आदर्शलाई कम्युनिस्ट पार्टीले आफ्नो झन्डा बनायो । यस क्रममा यस आन्दोलनले मुलुकलाई धेरै कुरा दिएको छ । गणतन्त्र, समावेशी लोकतन्त्र, सामाजिक सुरक्षाका तमाम कार्यक्रमहरू, मौलिक हकहरू, दूरदराजका महिला, दलित, जनजाति तथा अल्पसंख्यकहरूमा बढेको नागरिक चेतना कम्युनिस्ट पार्टीका विचार र आन्दोलनको अगुवाइबाट प्राप्त भएका हुन् । ७० वर्षमा कम्युनिस्ट आन्दोलनमा सहभागी भएर यसका लाखौं सदस्य, समर्थक तथा शुभचिन्तकहरूले गरेको शहादत, बगाएको रगत र पसिना, भोगेको जेल तथा यातना, लगाएका नारा, गाएका गीत-कविताले आजको राष्ट्रिय जीवनको निर्माणमा असाधारण योगदान गरेका छन् । त्यसबाट उत्प्रेरित विभिन्न वर्ग र समुदायका नेपालीहरूको सिङ्गो परिवार आजको कम्युनिस्ट आन्दोलन हो । कैयौं इमानदार कार्यकर्ताले नेताको वर्गोन्नतिको कथा थाहा पाएका छैनन्, कैयौंले गलत भैरहेको छ भन्ने जान्दछन् तर चुपचाप बस्दा राजनीतिको रोजीरोटी सुरक्षित देखेका छन्, माथिल्ला ओहोदामा बसेकामध्ये कैयौं अवसरवादी भएका छन्, तलतिर फर्केर ‘माथि बर्बाद भैरहेको’ बताउँछन् भने माथितिर फर्केर ‘सबै ठीक छ’ भन्छन् । अझ कैयौं नेताहरू यस्तो लाक्षणिक भाषा बोल्छन् जस्तो कि घाटे वैद्यले केवल टाउको हल्लाएको होस् । पहिल्यै पढेको र आधाआधी बिर्सिसकेको ऐतिहासिक भौतिकवाद सम्झेर ‘बेथिति सधैं रहन्न’ भन्नेहरू पनि छन् । आज कम्युनिस्टहरू पार्टीमा सबैभन्दा ठूलो संख्या ती क्रान्तिकारीहरूको छ जो विभिन्न कारणले मौन, कमजोर, निरुपाय, चिन्तित वा हतास छन् । ‘परिस्थिति’ ले अवसरवादी भएकामध्ये पनि धेरैजसो सुध्रिन सक्छन् । त्यसैले क्रान्ति ब्युँतिनै नसक्ने गरी कमजोर भएको निष्कर्ष निकाल्नु गल्ती हुनेछ । यसभन्दा पहिले नेताहरूले लत्तो छाड्दा कैयौं पटक कार्यकर्ताले दक्षिणपन्थका बार भत्काएर पार्टीलाई बाटामा ल्याएका उदाहरण हामीसँग छन् । आगामी दिनमा एकपछि अर्को घटनाले क्रान्तिकारीहरूको आँखा खुल्दै जानेछ ।

यस परिस्थितिमा कम्युनिस्टहरूले ‘ठोस परिस्थितिको ठोस मूल्यांकन’ गर्न सक्नुपर्छ । एकातिर यथास्थितिमै हुने तालमेलले केही हजार नयाँ पुराना नेताहरूको वर्गोन्नति हुनेछ, वाम आन्दोलनलाई ‘काले काले मिलेर खाऊँ भाले’ बनाउँछ । अर्कोतिर हाम्रो आन्दोलनले आर्जेको यत्रो विरासत छोडेर ‘पूर्ण पुनर्गठन’ का लागि नयाँ आन्दोलन सुरु गर्दा भएकै आन्दोलन झन् तितरबितर हुनेछ । पार्टी निर्माणका हाम्रा आफ्नै र अरू मुलुकका कैयन् उदाहरण हाम्रा अगाडि छन् । त्यसैले अहिले भएकै पार्टीहरूका बीचमा सिद्धान्तनिष्ठ, भविष्यमुखी, पारदर्शी मार्गचित्र बनाउनुपर्छ जसले आजका पार्टीहरूलाई एकतामा ल्याओस् र सँगसँगै पुनर्गठित पनि गरोस् । अर्थात्, सर्प मरोस्, लाठी नभाँचियोस् । त्यस मार्गचित्रबारे छलफल गरौं ।

व्यक्तिवादी एकता गलत थियो

दुईवटा पार्टीको ‘महान् एकता’ बाट बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा…) को जीवन ‘एक था राजा, एक थी रानी, दोनों मर गए खतम कहानी’ जस्तो भयो । त्यो एकता कम्युनिस्टहरूका लागि दशकौं पहिले युद्धमा हराएको आफ्नो परिवारको कुनै महान् यशस्वी सन्तान घर फर्केजस्तो भएको थियो । लाखौं कार्यकर्ता र जनसमुदायको त्यस भावनात्मक उभारको धमिलो पानीमा नेताहरूले सत्तास्वार्थका असला माछाको सिकार गरे । एकतापछि उनीहरूले जेजस्ता घोषणा गरे, दस्तावेजमा जुनजुन कुरा लेखे अनि आज बीच बजारमा ती सबै जसरी जलाउँदै छन्, त्यसले के प्रमाणित गर्छ भने विचार, सिद्धान्त उनीहरूका लागि सट्टा बजारमा धरौटी राख्न मात्रै काम लाग्छ । स्वार्थ मिल्दा उनीहरूले एकले अर्कोको जसरी प्रशंसा गरेका थिए र आज हिसाबकिताब नमिल्दा जसरी घाँटी कोराकोर गर्दै छन्, त्यसले हाम्रो वाम संस्कृतिलाई नै बदनाम गरेको छ । वस्तुतः त्यो एकता प्रक्रियामा जसरी दुई जना नेतालाई सर्वेसर्वा बनाइयो त्यो नै विभाजनको पनि कारण थियो । एकता जति आवश्यक थियो, त्यति नै लोकतान्त्रिक र पारदर्शी हुनुपर्थ्यो । उक्त एकता जसरी भयो त्यसै गरी फेरि भयो भने त्यो नेताहरू र तिनका गुटको स्वार्थका लागि मात्रै हुन्छ, अनि फेरि टुट्छ । त्यसैले अबको तालमेल, मोर्चा वा एकतामा हिजोका कमजोरी नदोहोरिऊन् भन्नका लागि त्यसमा रहेको व्यक्तिवादी गल्तीलाई औपचारिक रूपमा स्वीकार गर्नुपर्छ ।

संसद् विघटन र पार्टी विभाजन गलत थिए

संसद्माथि हुने आक्रमणले लोकतन्त्रलाई अस्थिर बनाउँदो रहेछ । राजा महेन्द्रले अदालत, मन्त्रिमण्डल, सेना, पुलिस सबैतिर आफ्नो वैधानिक नियन्त्रण हुँदाहुँदै पनि संसद्मा आक्रमण गरे । किनकि संसद् रहँदासम्म प्रजातान्त्रिक खतरा ज्युँदै रहन्थ्यो । त्यस्तै, महाकाली सम्झौतामा अदालतको फैसलापछि भारतले हाम्रो संसद्लाई आफ्नो स्वार्थमा अवरोध देख्यो । राजाका सबै शासकीय अधिकार संसद्मा आएको हुँदा दरबार पनि संसद्विरुद्ध साइत हेरेर बसेको थियो । अर्कोतिर, ‘पुरानो सत्ता’ को किल्ला संसद् भएको हुँदा माओवादी जनयुद्धको तारो पनि संसद् नै भयो । संसदीय व्यवस्थाका संरक्षक नेपाली कांग्रेस र नेकपा एमालेका अन्तरविरोध बढ्दै गएपछि संसद् झन् कमजोर हुँदै गयो । वस्तुतः संसद् टुहुरो भयो र अकालमै मर्‍यो । संसद्माथि पटकपटक आक्रमण र राजनीतिक अस्थिरतालाई ध्यान दिएर अहिलेको संविधानमा प्रधानमन्त्रीले मनमौजी संसद् विघटन गर्न नसक्ने व्यवस्था गरिएको थियो । नेकपाभित्र विवाद समाधान गर्न नसकेपछि हामीले आफ्ना नालायकीको सिकार संसद्लाई बनायौं र विघटन गर्‍यौं । हामीले चाहे पनि नचाहे पनि अदालतले यो प्रश्न सधैंका लागि समाधान गरिसकेको छ । संविधान संशोधनबाहेक अर्को कुनै तरिकाले यो व्यवस्था अब उल्टिँदैन । के हामी यस निर्वाचनमा प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउने प्रावधान संविधानमा राख्नका लागि जनतासँग भोट माग्न सक्छौं ? सक्दैनौं भने भने संसद् विघटन गलत थियो भन्ने कुरा स्वीकार गर्नुपर्छ । त्यसले एकातिर कम्युनिस्ट पार्टी लोकतान्त्रिक राजनीतिक स्थिरताको पक्षमा छ भन्ने कुरामा जनतालाई आश्वस्त पार्छ, अर्कातिर संसद् विघटनले पार्टीमा उत्पन्न गरेको विवादलाई पनि समाधान गर्छ ।

त्यस्तै, संसद्को रक्षाका लागि संविधानको मर्म अनुसार पार्टी विभाजन सम्बन्धी ऐनमा ४० प्रतिशत पार्टीको केन्द्रीय कमिटी र ४० प्रतिशत संसदीय दलका सदस्यले मात्रै पार्टी विभाजन गर्न सक्ने प्रावधान राखिएको हो । २० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने अध्यादेशका आधारमा नेकपा एसको गठन पनि संविधानको मर्मका विरुद्ध त्यत्तिकै ठूलो प्रहार हो जत्ति पुस ५ को संसद् विघटन । संसद् विघटन ठीक हो भन्ने एमाले र २० प्रतिशतको अध्यादेश ठीक हो भन्ने नेकपा एस एउटै गुरुका शिष्य हुन् । ‘संसद् विघटन गर्न हुन्छ भने २० प्रतिशत सांसदले पार्टी गठन गर्न किन नपाउने ?’ भन्ने ओठेजवाफ दिएर पार्टी बन्दैन । त्यसैले प्रधानमन्त्रीले संसद् विघटन गर्ने र २० प्रतिशत सांसदले पार्टी गठन गर्ने दुवै निर्णय गलत थिए भन्ने कुरा स्विकार्नुपर्छ जसले एकताको राजनीतिक जग बनाउँछ ।

नयाँ कार्यक्रम र संगठन : एकताको आधार

नागरिकको वास्तविक जीवनमा अर्थात् उनीहरूको खानामा, आवास, लुगाफाटो, शिक्षा, स्वास्थ्य, रोजगारीमा, समानता तथा मर्यादापूर्ण सामाजिक सम्बन्धमा, सांस्कृतिक उत्थानमा, राजनीतिक स्वतन्त्रतामा, मुलुकको स्वाधीनता र सार्वभौमिकतामा आजभन्दा भोलि, भोलिभन्दा पर्सि सकारात्मक योगदान गर्न सक्दैनन् भने हाम्रो मार्क्सवाद, समाजवाद, वामपन्थ, कम्युनिस्ट पार्टी समाजका लागि अर्थहीन हुन्छन् । हामी नेता र कार्यकर्ताको विराट संरचना कम्युनिस्टका नाममा राज्य दोहन गर्ने गुटहरूको महासंघ मात्रै बन्छ । समस्या कहाँ छ भने हामीले समृद्धि र समाजवादको सिद्धान्त बनाएका छौं तर त्यसको कार्यक्रम छैन । नेकपा एमालेको जबज र माओवादीको एक्काइसौं शताब्दीको जनवाद जनक्रान्तिभन्दा अगाडिका कार्यक्रम थिए जसले वाम राजनीतिलाई यहाँसम्म ल्याए । तर अहिले कम्युनिस्ट पार्टीहरूसँग कार्यक्रमै छैन । फलस्वरूप, एमालेको ‘समृद्ध नेपाल- सुखी नेपाली,’ एकीकृत समाजवादीको ‘यात्रा समृद्धिको, लक्ष्य समाजवादको’ माओवादी केन्द्रको ‘एक्काइसौं शताब्दीमा नेपाली विशेषताको समाजवाद’ जस्ता नाराले काम गरिरहेका छैनन् ।

कृषि र उद्योगमा केके गरिनेछन्, स्वास्थ्य र शिक्षामा, पर्यटन तथा अन्य पूर्वाधारमा के गरिन्छन्, सुशासन कसरी ग्यारेन्टी गरिन्छ, ती सबैका लागि हाम्रो आर्थिक कार्यक्रम के हुन्छ, राष्ट्रिय उत्पादनको वितरण र सामाजिक विभेदहरू अन्त्य कसरी गरिन्छन्, हाम्रा ती कार्यक्रमले कस्तो विदेश नीति माग गर्छन्, संक्षेपमा, राष्ट्रिय पुँजीको विकास र समाजवादको तयारी कसरी हुन्छ भन्ने फेहरिस्त नै कार्यक्रम हो । त्यसपछि यो सबै काम गर्ने पार्टी कस्तो हुन्छ ? अर्थात्, सदस्यता कस्ता व्यक्तिलाई दिने, पार्टी कमिटी कसरी बन्छन्, ती कमिटीका नेताहरूको मूल्यांकन वा योग्यताको मापन कसरी हुन्छ, सदस्य र कमिटीहरूको कर्तव्य र अधिकार कसरी निर्धारण हुन्छ, जस्ता प्रश्नको समाधान संगठनात्मक सिद्धान्तमा हुन्छ । त्यसका आधारमा विधान बन्छ । त्यसरी हाम्रो समृद्धि र समाजवादको सिद्धान्त, कार्यक्रम र संगठन तयार हुन्छ । कार्यक्रम अभावमा अहिलेका संगठनात्मक सिद्धान्त र विधानले क्रान्तिको होइन बरु गुटहरू र तिनका नेताको सेवा गर्छन् । जसले ठूलो गुट बनायो त्यो ठूलो नेता हुन्छ । स्वार्थका कारणले सत्ताधारी गुटमै पनि उपगुटहरू बन्छन् । साना गुटले ठूला गुटसँग सौदाबाजी गरेर केही हात पार्छन् र खाइजीविका चलाउँछन् । गुट नभएकाहरू किनारा पर्छन्, एक्लिन्छन्, कारबाहीमा पर्छन् । त्यसपछि पार्टी काम भनेको माथिको चाकरी गर्नु र तलकालाई चाकरी गराउनु बन्न जान्छ । त्यसैले, अबको पार्टी एकता वा मोर्चाको आधार समृद्धि र समाजवादको कार्यक्रम र संगठनलाई बनाउनुपर्छ ।

वाममोर्चा र एकता

पार्टी एकता प्रक्रियामा नेताहरूलाई दिइएको वा उनीहरूले लिएको विशेषाधिकार, पुस ५ गतेको संसद् विघटन र २० प्रतिशतको संविधानविरोधी अध्यादेशमा रहेका कमजोरी स्वीकार गर्नासाथ नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी अलग-अलग पार्टीका रूपमा रहनुपर्ने वैचारिक, सैद्धान्तिक र राजनीतिक कारण रहन्न । नेकपा एमाले र नेकपा एसका बीचमा तत्कालै पार्टी एकता गर्ने बाटो खुल्छ । इतिहास, मनोविज्ञान र कार्यशैलीका हिसाबले पनि उनीहरू अलग्गै रहनुपर्ने कुनै कारण हुँदैन । तत्कालका लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बीचमा वाम मोर्चा बनाउन कुनै समस्या रहन्न । निर्वाचन नजिक आइसकेको हुँदा इतिहासका कतिपय मामिलाहरू र त्यसका मनोवैज्ञानिक पक्षहरूलाई सम्बोधन गर्दै पार्टी एकता गर्न संस्थागत र पारदर्शी निर्णयका आधारमा ‘पार्टी एकता संयोजन कार्यदल’ बनाएर अगाडि बढ्नुपर्छ । त्यस्तो मोर्चा वा एकताले मात्र कुनै पनि ‘भित्री र बाहिरी’ शक्तिले फुटाउन नसक्ने कम्युनिस्ट पार्टी बन्छ ।

क्षमा सप्ताहको आयोजना

गएको निर्वाचनमा वाम गठबन्धनले जनतासँग कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्न, राजनीतिक स्थिरताको ग्यारेन्टी गर्न र मुलुकलाई समृद्ध बनाउँदै समाजवादको जग बसाल्न भोट मागेको थियो । मागे अनुसारकै भोट जनताले दिए । तर हामीले पार्टीमा कचिंगल गर्‍यौं, संसद् विघटन गर्‍यौं, पार्टी फुटाल्यौं, एकपछि अर्को सरकारहरू भत्कायौ र जनताको अपेक्षामा पानी खन्यायौं । आगामी संघीय र प्रादेशिक निर्वाचनमा यी प्रश्नको सही–सत्य जवाफ हामीले दिनुपर्नेछ । आफ्ना नालायकीलाई ढाक्न जनतासँग झूटा कुरा गर्नु अनैतिक काम हुन्छ । बरु जेजति गल्ती भएका छन् तिनका लागि जनतासँग माफी माग्नु असाधारण साहसको काम हुन्छ । एक त राजनीतिक पार्टीले गरेका गल्ती जनताका सामु स्वीकार गर्दा त्यसले हामी जनउत्तरदायी हौं भन्ने कुरा स्थापित हुन्छ, दोस्रो पार्टीबाट भएका गल्ती जस्ताको त्यस्तै जनतासँग बताउन सक्ने पार्टीका नेता-कार्यकर्ताको नैतिक हैसियत उँचो हुन्छ । तेस्रो, पार्टीभित्र साँचो बोल्ने, षड्यन्त्र नगर्ने संस्कार बसाल्न पनि यसको असाधारण महत्त्व हुन्छ ।

झट्ट सुन्दा अनौठो लागे पनि आफू, आफ्नो समूह, जात, सम्प्रदाय, राज्यले गरेका गल्तीको प्रायश्चित्त गर्ने एउटा उत्तम तरिका माफी माग्नु हो । हाम्रो आफ्नै र दुनियाँका अरू परम्परामा पनि यसको महत्त्व स्थापित छ । ठूल्ठूला द्वन्द्वपछि सत्य निरुपण तथा मेलमिलापको कानुनी संवैधानिक व्यवस्था पनि त्यसकै आधारमा गरिएको हो । निर्वाचनको मुखमा आयोजना गरिने क्षमा सप्ताह जनतालाई झुक्याउन गरिएको नाटकीय अभिनय होइन भनेर राष्ट्रव्यापी प्रशिक्षणद्वारा सम्पूर्ण पार्टी पंक्तिलाई स्पष्ट पार्नुपर्छ । देशभरि जनताको घरघरमा पुगेर हामीले के गर्नुपर्थ्यो, किन गर्न गर्न सकेनौं र अब कसरी गर्छौं भन्ने स्पष्ट पार्न सक्दा जनताले माफी गर्नेछन्, अझ बढी सहानुभूति र समर्थन दिनेछन् । यस्तो राष्ट्रिय कार्यक्रमले गल्ती गर्नेले जनताप्रति उत्तरदायी/जवाफदेह हुने संस्कृतिको विकासमा समेत योगदान गर्नेछ ।

अन्त्यमा,
आगामी ५ वर्षभित्र नेपाली राजनीतिमा महत्त्वपूर्ण परिवर्तन हुँदै छ । खास गरी, २०४७ सालपछि नेपाली राजनीतिको मियो समातेर राजनीतिमा सत्ता अभ्यास गरिरहेको पुस्ता चाहेर वा नचाहेर यसैबीच बिदा हुँदै छ । राजनीतिक पार्टीहरूको परम्परागत भर्ती प्रक्रियाको जग धर्मराइसकेको छ । तिनको योग्यतामा ठूल्ठूला प्रश्न उठिसकेका छन् । यो पुस्ताले आफूले विश्राम लिँदा कस्तो पार्टी र राजनीतिक संस्कृति छोड्छ भन्ने कुराले अर्थ राख्छ । योग्य नेताले आफूभन्दा योग्य उत्तराधिकारी पीँढीको अपेक्षा गर्छ । अयोग्य नेताले भएकै वैभव पनि रित्याएर जान्छ । आफ्नो अहंकारको चुकुल लगाएर इतिहासको ढोका बन्द गर्न खोज्ने कोही पनि अमर बनेको छैन । कम्युनिस्ट पार्टीमा त्यसरी बिदा हुँदै गरेका नेताहरूले आफूपछि पनि पार्टी र त्यसमार्फत समृद्धि र समाजवादको भविष्य सुनिश्चित देख्न चाहन्छन् भन्ने कुरा प्रमाणित गर्नका लागि यो एउटा ठूलो, र सम्भवतः अन्तिम मौका हो ।

प्रकाशित : असार २४, २०७९ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?