कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

विश्वव्यापी सहयोग र विकासको प्रवर्द्धन

होउ यान्छी

गत जुन अन्त्यमा चिनियाँ राष्ट्रपति सी चिनफिङले अनलाइन भिडियोको माध्यमद्वारा ब्रिक्स मुलुकका नेताहरूको चौधौं वार्ता र विश्वव्यापी विकास उच्चस्तरीय संवार बैठकमा सरिक हुनुभई महत्त्वपूर्ण सम्बोधन गर्नुभयो । त्यस्तै ब्रिक्स मुलुकका उद्योग वाणिज्य फोरमको उद्घाटन समारोहमा पनि मुख्य वक्ताको रूपमा सम्बोधन गर्नुभयो । ती सम्बोधनहरूमा राष्ट्रपति सीले शान्ति र विकासका विषयमा कतिपय महत्त्वपूर्ण विचार र प्रस्तावहरू प्रस्तुत गर्नुभएको थियो ।

विश्वव्यापी सहयोग र विकासको प्रवर्द्धन

पहिलो, सत्य तथा न्यायको रक्षा, विश्व शान्ति तथा स्थिरताको जगेर्ना । अन्तर्राष्ट्रिय समुदायले एक पक्षको जित र अर्को पक्षको हार हुने खेल त्यागी सच्चा बहुलवादलाई प्रयोगमा ल्याउनुपर्छ र आपसमा सम्मानजनक, न्यायपूर्ण, सहयोगात्मक र दुवै पक्षको जित हुने नवीन स्वरूपको अन्तर्राष्ट्रिय सम्बन्ध स्थापना गर्नुपर्छ । दोस्रो, विकासमा ध्यान केन्द्रित गरी सम्पूर्ण विश्वको विकास र सहयोगको दिशा निर्धारण गर्नुपर्दछ । तेस्रो, दुवै पक्षको जित हुने अवस्थाको प्रवर्द्धन र विश्वव्यापी सुशासन व्यवस्थालाई परिमार्जन गर्न रहेका अवरोधहरूको पहिचान गर्नुपर्छ । साथै ती अवरोधहरू हटाउने उपायहरू आपसी सरसल्लाह, विकासशील देशहरूको प्रतिनिधित्व र हरेक देशलाई तिनको अधिकार, नियम र अवसरमा समानता रहेको प्रत्याभूति दिलाउँदै पहिल्याउनुपर्छ । चौथो, सुधार तथा खुलापन नीतिलाई निरन्तरता दिँदै विश्व अर्थतन्त्रलाई पुनर्जीवित बनाउनका लागि चीनले आफ्नो शक्ति त्यसमा लगाउनुपर्छ । चीनले वार्षिक आर्थिक–सामाजिक विकासको लक्ष्य प्राप्तिका लागि बाहिरी विश्वप्रतिको खुलापनको स्तर बढाउँदै अझ उच्चस्तरको नयाँ खुला आर्थिक व्यवस्थाको निर्माण गर्नेछ ।

वर्तमान विश्व नयाँ परिवर्तन एवं अनिश्चितताको अवस्थामा प्रवेश गरेको छ, यस अवस्थामा अर्थतन्त्रलाई पुनर्जीवित बनाउने कार्य कठिन छ । सुरक्षा व्यवस्थाका चुनौतीहरू अझ बढी गम्भीर भएको परिप्रेक्ष्यमा राष्ट्रपति सी चिनफिङले एउटा विशाल देशका नेताको ऐतिहासिक जिम्मेवारी र सम्पूर्ण विश्वप्रतिको सरोकारलाई मनन गरी विश्वको अवस्थालाई सही रूपमा बुझी ऐतिहासिक महत्त्व भएका यी केही विचार र प्रस्तावहरू प्रस्तुत गर्नुभएको छ :

१) ब्रिक्स सहयोग सहकार्य संयन्त्रको विकासको दिशा निर्देशन । ब्रिक्स सहकार्यको प्रस्थानविन्दु सधैं विकास नै रहेको छ । राष्ट्रपति सी चिनफिङको सम्बोधनमा ब्रिक्स सहयोग तथा सहकार्यको रणनीतिक चिन्तनको व्याख्या गरिएको छ । बहुलवाद, अन्तर्राष्ट्रिय सत्यवाद, कोभिड–१९ महामारीविरुद्धको अभियानमा सहयोग आदि विषयमा केन्द्रित रही ब्रिक्स सहयोगको अर्को चरणको दिशानिर्देश गरिएको छ ।

२) विश्वव्यापी विकासको झन्डालाई उँचा राख्ने । राष्ट्रपति सीको सम्बोधनले अन्तर्राष्ट्रिय मामिलाहरूमा विकासलाई सबैभन्दा अग्रस्थानमा राखी, विश्वव्यापी विकासको प्रस्तावलाई अझ ठोस एवं गहन बनाउँदै सन् २०३० को दिगो विकासको एजेन्डालाई साकार बनाउन दिशानिर्देश गरेको छ ।

३) बहुसंख्यक विकासशील देशहरूको हितको प्रतिनिधित्व/चिनियाँ पक्षको प्रत्येक प्रस्ताव, विचार र घोषणाहरूले स्पष्ट रूपमा बहुलवादको समर्थन, प्रभुत्ववादको विरोध गर्छन् । खुलापन एवं सहयोगको समर्थन, विभेद एवं विभाजनको विरोध गर्छन् । नवनिर्मित बजार र बहुसंख्यक विकासशील देशहरूको हित र आवश्यकता प्रस्तुत गरी अन्तर्राष्ट्रिय समुदायमा सबैभन्दा बढी व्याप्त आवाजको प्रतिनिधित्व गर्छन् ।

४) चिनियाँ सूत्रको प्रस्तुति । राष्ट्रपति सी चिनफिङको सम्बोधनले विश्वव्यापी विकास सम्बन्धी प्रस्ताव र विश्वव्यापी सुरक्षा सम्बन्धी प्रस्तावलाई समायोजन गरी विश्वव्यापी सुशासन अर्थतन्त्र पुनर्जीवित गर्ने, कोभिड–१९ महामारीविरुद्धको कार्यमा सहयोग–सहकार्य, सांस्कृतिक आदानप्रदान आदि क्षेत्रमा चिनियाँ ज्ञान र सूत्र प्रस्तुत गरी यो विश्व कतातिर जाँदै छ भन्ने मूल प्रश्नको स्पष्ट उत्तर दिएको छ ।

चीन र नेपाल पुस्तौंपुस्तादेखि मैत्रीपूर्ण सम्बन्ध रहेका छिमेकी देशहरू हुन् । दुवै देश विकासशील भएका हुँदा दुवैले आर्थिक–सामाजिक विकास गरी जनताको जीवनस्तर उकास्ने ऐतिहासिक अभिभारा बोकिरहेका छन् । नेपालले विश्वव्यापी विकास र विश्वव्यापी सुरक्षा सम्बन्धी प्रस्तावलाई सक्रिय रूपमा समर्थन गरेको छ । विकासलाई प्राथमिकता दिने, मानव र प्रकृतिको सामञ्जस्यपूर्ण सहअस्तित्व सहयोगात्मक, साझा, बहुपक्षीय, दिगो सुरक्षा आदि विभिन्न विषयमा चीन र नेपालको समान अथवा मिल्दोजुल्दो धारणा र विचार छन् ।

दुई देशका नेताहरूको सरोकार र प्रयासबाट कूटनीतिक सम्बन्ध स्थापना भएयता चीन र नेपालको सम्बन्धमा उल्लेखनीय विकास भएको छ । दुई देशका उच्चस्तरीय नेताहरूको भ्रमण धेरै पटक भएका छन् भने एकआपसमा राजनीतिक विश्वास पनि बढ्दै गएको छ । त्यस्तै, एकअर्काको मूलभूत हितका प्रश्नहरूमा आपसी समझदारी र सहयोग पनि बढ्दै गइरहेको छ । दुई देशले हातमा हात मिलाई कोभिड–१९ महामारीविरुद्ध लडे । चीन नेपालका महामारी नियन्त्रण सामग्री र खोपको सबैभन्दा ठूलो आपूर्तिकर्ता देश बन्यो । सन् २०२१ मा चीन–नेपालको व्यापार परिमाण १ अर्ब ९७ करोड ७० लाख डलर थियो, जुन एक वर्षअघि भन्दा ६७ प्रतिशत बढी थियो, जसमा नेपालबाट चीनमा गरिएको निर्यातमा ६३ प्रतिशत वृद्धि भएको थियो । चीन–नेपाल सीमा वारपार रेलमार्ग, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौं चक्रपथ आदि ठूला परियोजनाहरू स्थिर रूपमा अघि बढिरहेका छन् । यी परियोजनाहरूले चीन–नेपालबीचको विकास तथा समृद्धितर्फ अघि बढ्ने पुस्तौंपुस्ताको मैत्रीपूर्ण रणनीतिक सहयोगको सम्बन्धलाई अझ विस्तार गरी दुई देशका जनतालाई ठोस फाइदा पुर्‍याएका छन् ।

महामारीको कारणले विगत केही वर्षदेखि दुई देशबीचको आवतजावतमा केही प्रतिकूल असर परेको छ, तैपनि दुवै देशले विभिन्न क्षेत्रमा सहयोग बढाई अर्थतन्त्रलाई पुनर्जीवित बनाउन ठूलो मिहिनेत गरेका छन् । यस वर्षको मार्च महिनामा चीनका स्टेट काउन्सिलर एवं विदेशमन्त्रीले नेपालको सफल भ्रमण गर्नुभई कतिपय विषयहरूमा चीन र नेपालको समान धारणा बनाउन सफल हुनुभयो । त्यसबेला नौवटा द्विपक्षीय सहयोग सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर पनि गरिएका थिए, जसमा विकास अनुदान, ‘कनेक्टिभिटी’, ऊर्जा, स्वास्थ्य तथा चिकित्सा आदि विभिन्न क्षेत्र रहेका छन् ।

केही समययतादेखि दुवै देशका विभिन्न निकायहरू माथि उल्लिखित समान धारणा एवं परियोजनाहरू तर्जुमा गर्न प्रयासरत छन् । हालै, दुवै पक्षले काठमाडौं–खुन्मिङ, काठमाडौं–छङ्तुको हवाई सेवा पुनः सञ्चालन गरेका छन् । चीनले विदेशी नागरिकहरूलाई चीन प्रवेशका लागि भिसा प्राप्ति पुनः सहज बनाउँदै छ । यसरी दुई देशका मानिसहरूको आवतजावत बिस्तारै अवरोधरहित बन्दै छ । चीनमा अध्ययन गरिरहेका, तर महामारीका कारण नेपाल फर्केका नेपाली विद्यार्थीहरूको पहिलो समूह चीन फर्किसकेको छ । दुवै पक्षले चीन–नेपाल दसौं चरणको कूटनीतिक वार्ता तथा सीमाक्षेत्र अनुगमन सहकार्य सम्बन्धी भिडियो बैठक सञ्चालन गरेका छन् । यसबाहेक चीनले चीन–नेपाल सीमा नाकामा एकतर्फी मालसामान नाका पार गर्ने परिमाणमा अभिवृद्धि गरेको छ । दुवै पक्षबीच दुईतर्फी मालसामान नाका पार गर्ने विषयमा छलफल भइरहेको छ । दुई देशबीच विभिन्न क्षेत्रमा आदानप्रदान एवं सहयोग अभिवृद्धि पुनः हुने शुभलक्षण देखा परेको छ ।

यस वर्षको उत्तरार्द्धमा चीनमा चिनियाँ कम्युनिस्ट पार्टीको बीसौं महाधिवेशन आयोजना हुन लागेको छ भने नेपालमा पनि प्रादेशिक एवं संघीय निर्वाचन हुन लागेको छ । अर्को वर्षको पूर्वार्द्धमा चीनमा चौधौं राष्ट्रिय जनप्रतिनिधि बैठक आयोजना गरिनेछ भने नेपालमा पनि नयाँ सरकारको गठन हुनेछ । त्यसबखत चीन–नेपाल सम्बन्ध एउटा नयाँ ऐतिहासिक आरम्भविन्दुमा पुग्नेछ । राष्ट्रपति सी चिनफिङले जोड दिनुभएजस्तै, ‘हामीले जनताको मनलाई आफ्नो मन, विश्वको हितलाई आफ्नो हित सम्झी आत्मविश्वास बलियो बनाई अघि बढ्नुपर्छ ।’

विश्वव्यापी विकास सम्बन्धी प्रस्ताव र विश्वव्यापी सुरक्षा सम्बन्धी प्रस्तावलाई दिशानिर्देश मानी दुई देशबीचको राजनीतिक सम्बन्ध, अवरोधरहित व्यापारिक, मौद्रिक र जनस्तरीय सम्बन्धलाई अझ प्रगाढ बनाउँदै कनेक्टिभिटी विकास, गरिबी निवारण, स्रोतसाधन, ऊर्जा, हरित वातावरणीय रक्षा आदि क्षेत्रहरूमा ठोस सहकार्य गरी चीन–नेपाल साझा भाग्यको एक समष्टि निर्माणका निम्ति प्रयत्न गर्नुपर्छ । मलाई विश्वास छ, दुई देशका नेताहरूको निर्देशनमा दुवै पक्षको संयुक्त प्रयत्नद्वारा हामी अवश्य पनि महामारीका कठिनाइमाथि विजय प्राप्त गरी दुई देशको सम्बन्ध र विभिन्न क्षेत्रको ठोस सहकार्यमा अझ ठूलो उपलब्धि हासिल गरी सुन्दर भविष्य निर्माण गर्न सक्नेछौं ।

होउ नेपालका लागि चीनकी राजदूत हुन् ।

प्रकाशित : असार २३, २०७९ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?