२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

वीरगन्ज–रक्सौल जनसम्बन्ध

दशगजाले दुई सहरलाई छुट्याए पनि धार्मिक, सांस्कृतिक र ऐतिहासिक निरन्तरताले सम्बन्धहरूलाई सीमाविहीन बनाइरहेका छन् । सामीप्य र पृथकताको सम्मिश्रण नै वीरगन्ज–रक्सौल दुवैको मौलिकता हो ।
चन्द्रकिशोर

नेपालको आर्थिक राजधानीको नामले चिनाइने वीरगन्जसँग भारतीय सीमावर्ती सहर रक्सौल पनि गाँसिएर आउँछ । यी दुईको साझा परिचय छ— ‘सीमान्त सहर ।’ सिर्सिया नदी किनारमा अवस्थित शताब्दी पुरानो दुई सहर एकअर्काका पूरक र सहयोगी हुन् । यसै कारण दुवै सहरको विस्तार र महत्त्व बढेको छ ।

वीरगन्ज–रक्सौल जनसम्बन्ध

भनिन्छ, नेपाल गभर्मेन्ट रेलवेबाट अमलेखगन्जसम्म जान सकिने भएपछि र त्यहाँबाट काठमाडौं पुग्न सजिलो पर्ने भएकाले वीरगन्जले त्यसैताका नेपालको प्रवेशद्वारको परिचय बनायो । नेपालका कैयौं ऐतिहासिक प्रसंगमा रक्सौल जोडिन्छ । रक्सौल लामो समयसम्म विभिन्न भूगोलका नेपालीका लागि काठमाडौं जाने मुख्य मार्ग–आधार थियो । त्यसैले पनि सीमावर्ती भारतीय सहरहरूमध्ये रक्सौल नेपाली जनजिब्रोमा बढी झुन्डिएको छ ।

रक्सौलवासी दुई सहरको सम्बन्धलाई यसरी रंग्याएर प्रस्तुत गर्छन् कि हरेक कुरा भावनात्मक भइदिन्छ । रक्सौल आज बिहारको मुख्य अन्तर्राष्ट्रिय नाका भए पनि यसको प्रशासनिक हैसियत जिल्ला मुख्यालय जत्तिको पनि छैन । यो पूर्वी चम्पारण जिल्लाको अनुमण्डल मात्र हो, यता वीरगन्ज महानगरको हैसियतमा छ । रक्सौलवासीहरू भावुक हुँदै भन्छन— ‘हाम्रो नाता रगतको छ, उही सिर्सियाको पानी खाएर हामीसँगै हुर्किएका छौं ।’ इतिहासमा राज्यको भूगोल बदलिरह्यो, तर यस क्षेत्रको बसोबासको आधार, सिर्सिया उही रह्यो । लोकमान्यता अनुसार सिर्सियामा रामायणकालमा सीताले वाल्मीकि आश्रममा शरण लिएको बेला लव–कुशलाई नुहाइदिएकी थिइन् । पछिसम्म पनि त्यहाँ स्नान गर्नेहरू चर्मरोगबाट आरोग्यको अनुभूति गर्थे । आज यो नदी औद्योगिक नगर वीरगन्जका कारण प्रदूषित छ ।

नेपाल गभर्मेन्ट रेल्वेको स्थापना र सञ्चालनले वीरगन्ज तथा यसवरिपरिका क्षेत्रहरूको आर्थिक जीवनमा परिवर्तन देखा पर्न थाल्यो । वीरगन्ज–रक्सौलबीच सिर्सियामाथि राणाकालमै काठको पुल बनेको थियो, पछि रेलको लिक ओछ्याइएको पुल बन्यो जसको भग्न अस्तित्व अझै छ । आज सोही स्थानमा पक्की मितेरी पुल छ । रक्सौलमा रेलसेवाको विकाससँगै नेपालीहरू आफ्नो कारोबार उतै गर्थे । यहाँसम्म कि आफ्ना बजारहरूमा अचल सम्पत्ति आर्जन गर्नुभन्दा उतैतिरकालाई प्राथमिकता दिन्थे । फ्रेडरिक एच. गेजले ‘रिजनलिज्म एन्ड नेसनल युनिटी इन नेपाल’ मा लेखेका छन्, ‘सीमावर्ती बजारहरूमा नेपाली कारोबार गर्नु वा घर बनाउनु तत्कालीन समयमा खास गरी मधेशी समुदायका लागि ठूलो हैसियतको विषय मानिन्थ्यो । रेलले गर्दा २००७ सालको क्रान्तिताका नेपाली जागरणमा बल पुग्यो । सीमावर्ती क्षेत्रमा समानान्तर रेल सेवा नभएको भए भारतीय पुनर्जागरणको देशव्यापी प्रभाव नेपालमा पर्ने थिएन । आधुनिक दुनियाँलाई चियाउने आँखीझ्यालका रूपमा रक्सौलको रेल देखा पर्‍यो ।’ दिल्ली र काठमाडौंबीच मनमुटाव हुँदा त्यसको प्रभाव कतिपय बेला वीरगन्ज र रक्सौलबीच देखा परेको छ । कैयौं पटक स्थानीयस्तरमा ‘भर्सेज’ को उत्तेजना प्रकट हुन्छ फेरि छोटो समयमै ‘केही भएकै छैन’ जस्तो हुन्छ ।

अतीतमा रक्सौलले वीरगन्जमा हुने नेपाली जनसंघर्षलाई शरण दियो । २००७ सालको राजनीतिक संघर्षमा रक्सौल नेपाली योद्धाहरूका लागि प्राथमिक छनोटमा थियो । यो क्रान्तिलाई केन्द्रविन्दु मानेर लेखिएका पुस्तकहरूमा रक्सौलको महिमा वर्णन गरिएका छन् । नेपाली जनक्रान्तिका अग्रणी वीरगन्जका तेजबहादुर अमात्य राजा महेन्द्रको ‘कू’ पश्चात् रक्सौलमै ओत लागेका लिए । त्यहाँ चामल बजारस्थित वैधनाथप्रसाद गुप्ताको घरमा बस्थे जो पञ्चायतविरोधी राजनीति गर्नेहरूका लागि एक महत्त्वपूर्ण सीमावर्ती केन्द्र बनेको थियो । १९६२ मई २९ का दिन अमात्यलाई लक्षित गरेर सो स्थानमा बम विस्फोट गराइयो तर उनी जोगिए । घर भने ध्वस्त भयो । यो घटनाको लगभग चार वर्षपछिको एक साँझ पञ्चायती सरकारका भरौटेहरूले रक्सौलमै उनको हत्या गरे । रक्सौलले पछिल्ला मधेश आन्दोलनलाई समर्थन दिँदै आएको छ । वीरगन्ज–रक्सौल सीमावरिपरिका बासिन्दाको कतिपय सामाजिक–आर्थिक स्वार्थहरू साझा छन्, नियमित संवाद र सम्पर्क पनि छ । सम्बन्धको यही गहिरोपनले गर्दा नेपालका क्रान्तिहरूलाई रक्सौलका जनताले ऐक्यबद्धता दिँदै आएका छन् ।

वीरगन्ज–रक्सौल सम्बन्ध ‘प्लेस टु प्लेस’ को छ । वीरगन्जबाट रक्सौल जानेहरू भारत गएको भन्दैनन् । स्थानिक सम्बन्धका आफ्नै आयामहरू छन् । वीरगन्जका कथ्यमा जुन प्रकारको रक्सौल छ अनि रक्सौलले वीरगन्जलाई जुन भाष्य दिन्छ, त्यसले दिल्ली र काठमाडौंका लागि बेलाबखत अचम्भित पार्छ । वीरगन्जको साहित्य, कला, संगीत रक्सौलबिना अधुरो छ, रक्सौलका सांस्कृतिक अनुष्ठानहरू वीरगन्जको उपस्थितिबिना पूर्ण हुँदैन । सार्वजनिक कार्यक्रममा वीरगन्जबाट रक्सौल कोही पुग्छ भने उसले सिंगो नेपालको प्रतिनिधित्व गर्छ । सामीप्य र पृथकताको सम्मिश्रण नै वीरगन्ज–रक्सौल दुवैको मौलिकता हो ।

पृथक् राजनीतिक अस्तित्वले गर्दा वीरगन्ज रक्सौलभन्दा तुलनात्मक रूपमा उदार र प्रगतिशील रहेको रक्सौलवासीकै टिप्पणी सुनिन्छ । नेपालको वैभवशाली सहर वीरगन्जको भव्यता सामुन्ने आफ्नै राज्यको बेखबरीले गर्दा रक्सोलको अवस्था लथालिंग भएकोप्रति हीनताबोध पनि छ त्यहाँ । यो हीनताबोध कैयौं सवालमा वीरगन्जतिर पनि छ, वीरगन्ज आफैंमा ‘गाउँ नै गाउँ’ को महानगर हो, यहाँका किसानभन्दा पारिका किसान, राज्यबाट बढी संरक्षित छन् ।

दुई सार्वभौम मुलुकका जुम्ल्याहा सहरको सम्बन्धलाई निरन्तरता जनताले दिन्छन् । सम्बन्धलाई जीवन्त, जोडिएको भूगोल र त्यसजनित पारस्परिकताले मात्र बनाएको होइन । दशगजाले दुई सहरलाई छुट्याए पनि धार्मिक, सांस्कृतिक र ऐतिहासिक निरन्तरताले सम्बन्धहरूलाई सीमाविहीन बनाइरहेका छन् ।

भाषा, संस्कृति, परम्परा, साहित्य, लोक मुहावरा, लोक साहित्य, लोकसंगीत तथा लोककलाले अन्तर्राष्ट्रियतालाई स्थानीयताको इन्द्रेणी दिएको छ । राजनीति आआफ्नो सीमामा कतिपय सन्दर्भमा बाँधिएको हुन्छ तर संवेदना र साहित्यको कुनै सिमाना वा सत्ता राजनीतिको मुखापेक्षी हुँदैन ।

सीमाञ्चलको अवधारणा यहीँनिर मूर्तिमान हुन पुग्छ । साहित्य स्मृतिको एक माध्यम हो । स्मृतिहरूले हाम्रा लागि एक दर्पणको काम गर्छ । साहित्यकारले सीमाले उठाएको कतिपय पर्खालमा रोशनदान (उज्यालो आउने झ्याल) को काम गर्छ । रक्सौलका कवि जयप्रकाश पुष्पले लेखेका छन्— ‘सीमांए बांटती है बेशक दोनों मुल्कों को लेकिन/दिलों का बांटने का काम, कभी हो न सका ।’ भारतीय सार्वजनिक विमर्शमा अमृतसर र लाहौर वा बाघा– अटारी सीमाको जति घनत्वका साथ चर्चा चल्छ त्यति वीरगन्ज–रक्सौलको चल्दैन ।

नेपाल–भारत सीमावर्ती क्षेत्रका कैयौं सहरबीच वीरगन्ज–रक्सौलझैं समतुल्य सम्बन्ध छ । तर नयाँ ढंगले सम्बन्ध विकसित गर्न अध्ययन अनुसन्धानको कमी छ । भारतको बजेट त छँदैछ, बिहारको बजेटको कुन विषयले सीमामा कस्तो प्रभाव पार्‍यो≤ रक्सौलमा हुने राजनीतिले वीरगन्जसँगको सम्बन्धमा कस्तो असर पार्छ, सीमावर्ती सहरहरूको सम्बन्ध कसरी बदलिँदैछ≤ पहिलेको सामाजिक–आर्थिक आकर्षक अब कति फेरिएजस्ता विषयमा दुवैतिरका मिडियामा खासै रिपोटिङ पाइँदैन । सीमावर्ती सहरहरूको जनसम्बन्धका पत्रहरू बारे संवाद हुँदैन । पर्यावरण, विपद्, जीवनस्तर सुधार, सहज आवागमन, पारस्परिक हार्दिकताजस्ता पक्षमाथि साझापनको खोजी हुँदैन । यो काम स्थानीयले नै गर्न सक्छन्, मानवीय सरोकारहरूबाट विमुख कसरी हुन सकिन्छ र ?

रक्सौल एकातिर नेपालको जीवनदायिनी नाका हो भने अर्कातिर उत्तिकै साथ मूल्यान्तर कारोबारको स्वर्ग पनि हो । सार्वजनिक बहसका लागि उपलब्ध स्थानको निरन्तर संकुचन यो सीमान्त सहरको परिचायक हुन पुगेको छ । सस्तो पाइने लोभले यस क्षेत्रका उपभोक्ता रक्सौल र उताका वीरगन्ज आउने प्रचलन अद्यपि छ । रक्सौलका जनप्रतिनिधिले आफ्नो नागरिकको नाडी छाम्ने नगरेको गुनासो छ । रक्सौलवासी ‘दिल्ली दूर है’ भन्ने मनोभावमा हुर्किएका छन् । त्यसैले होला वीरगन्जले काठमाडौंमार्फत दिल्लीसमक्ष रक्सौलका उन्नतिका लागि पैरवी गर्छ ।

रक्सौलमा नेपाली रुपैयाँ सहजै चल्छ तर बजारमा त्यसको सटही दर प्रत्येक दिन फरक हुन्छ, दुई केन्द्रको सहमतिमा निर्णय भएअनुसारको हुँदैन । त्यसमा भारतीय राज्यभन्दा स्थानीय बजारको नियन्त्रण बढी छ । सीमा नाकामा दुवैतर्फ सरकारी सटही केन्द्र छैनन् । यी दुई सहरबीच हुने अनौपचारिक व्यापारका आफ्नै शब्दावली छन् । सीमा नाकालाई वैज्ञानिक एवं व्यावहारिक बनाउन सुक्खा बन्दरगाह, रक्सौलसँग जोडिएको मालवाहक रेल र अब एकीकृत भन्सार चौकी सञ्चालनमा छन् । तैपनि अनेक अवरोध छन् । यता वा उताका स्थानीय प्रशासनका मर्जीमा धेरै रीतिहरू बनाउने र भत्काइने गरिन्छ ।

वीरगन्जले रक्सौललाई कतिको चिनेको छ वा रक्सौलले वीरगन्जलाई कति बुझेको छ ? दुवै समाजमा के फेरबदल हुँदै छ ? एकअर्काप्रतिको आकर्षक केवल सस्तो किनमेलसम्म मात्र सीमित छ कि ? दुवै सहरले अपेक्षित सहजता र समृद्धिका लागि साझा रूपमा उठाउने कुरा के हुन् ? यस्ता प्रश्न हामीसामु छन् । रक्सौलमा मदिरा बेचबिखनमा प्रतिबन्ध छ तर वीरगन्जले यसैलाई लक्षित गरी आफ्नो नयाँ बजार बनायो । त्यस्तै वीरगन्जका युवालाई लक्षित गरी रक्सौल लागूपदार्थको अघोषित बजार बनेको छ । रक्सौलमा आगो लाग्दा के वीरगन्ज सुरक्षित रहला ? वीरगन्जमा बाढी आउँदा के रक्सौलले जोखिम बेहोर्दैन ? ठण्डा दिमागले सोचौं त !

प्रकाशित : असार २३, २०७९ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?