२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

मायादेवी मन्दिर मर्मत गर

सम्पादकीय

बुद्ध जन्मस्थल लुम्बिनीको सबैभन्दा महत्त्वपूर्ण थलो र धार्मिक पर्यटकका लागि आस्था र आकर्षणको केन्द्र दुवै हो मायादेवी मन्दिर । तर, विश्व सम्पदामा सूचीकृत पुरातात्त्विक महत्त्वको यो मन्दिर चुहिन थालेको १८ वर्ष भैसकेको छ । यसबाट मन्दिरभित्रका पुरातात्त्विक वस्तु क्षयीकरण हुन सक्ने चिन्ता बढेको छ ।

मायादेवी मन्दिर मर्मत गर

पुनर्निर्माण भएको केही समयपछि नै छतबाट पानी चुहिन थाले पनि अहिलेसम्म समस्या नसुल्झाउनु लुम्बिनी विकास कोषको कमजोरी हो । बेलैमा मन्दिर मर्मत नगर्दा भोलि केही गरी पुरातात्त्विक र ऐतिहासिक सामग्रीमा क्षति पुग्यो भने त्यो कोषको गम्भीर लापरबाही ठहर्छ । पुरातात्त्विक वस्तुहरू यथा रूपमा जोगाउँदा मात्रै विश्वभरका बौद्धमार्गीको आस्थाको यस थलोको महत्त्व उही रूपमा जुगजुगसम्म कायम रहन सक्छ । तसर्थ, कोषले यथासम्भव चाँडो मन्दिर चुहिने समस्या हल गर्नुपर्छ ।

यति महत्त्वको मन्दिर खासमा रसाउनु मात्रै पनि ठूलो समस्या हो । तर यसमा १८ वर्षदेखि पानी चुहिरहेको छ । कतिसम्म भने, पानी परेका बेला दर्शनार्थीले भित्रै छाता ओढ्नुपर्ने बाध्यता छ । धेरै वर्षा भए परिसरमा पानी जम्छ । डुबानबाट सम्पदा जोगाउन मन्दिरबाहिर पाँच/छवटा इनार खनेर पानी संकलन गरी मोटरले फाल्ने गरिएको छ । अहिल्यै चिस्यानले प्राचीन इँटाका भग्नावशेष गल्दै र खिइँदै गएर ढल्न लागेकाले फलामको टेकोले अड्याइएको छ । यस्तो अवस्थामा पुरातात्त्विक र ऐतिहासिक सम्पदालाई कसरी जोगाउने भन्नेमा केन्द्रित हुन कोषले थप ढिलाइ गर्नु हुँदैन ।

सम्राट् अशोकले राख्न लगाएको बुद्ध जन्मस्मृति शिला (मार्कर स्टोन), इसापूर्व तेस्रोदेखि सातौं शताब्दीसम्मका इँटाका भग्नावशेष र बुद्धलाई जन्म दिने अवस्थाको मायादेवीका मूर्तिजस्ता सम्पदा संरक्षण गर्न २०६० सालमा मायादेवी मन्दिर पुनर्निर्माण गरिएको थियो । मायादेवीको मूर्तिदेखि दक्षिणतर्फ, मार्कर स्टोनछेउ, पूर्वतर्फको पुरातात्त्विक भग्नावशेष, मन्दिरको उत्तरपश्चिम कुना र दर्शनार्थी हिँड्ने चौतर्फी बाटामा छतबाट पानी चुहिन्छ । यसै पनि मायादेवीमुनि जमिनको पानीमा नुनको मात्रा धेरै रहेको र यसले अम्लीयपन बनाउने हुँदा ती सम्पदाको क्षयीकरण हुने गरेको तथ्य अध्ययनबाट पत्ता लागिसकेको अवस्थामा पानी चुहिने समस्या पनि थपिएकाले मन्दिरभित्रका सम्पदाको दीर्घकालीन संरक्षणबारे कोष तथा नेपाल सरकार गम्भीर बन्नैपर्छ ।

युनेस्को, पुरातत्त्व विभाग अन्तर्गत विश्व सम्पदा शाखा र विश्व सम्पदा केन्द्रले तयार पारेको मापदण्ड अनुसार गरिएको पुननिर्माणलगत्तै जस्तो मन्दिर चुहिन थालेको हो । मन्दिर निर्माण–पुनर्निर्माण सामग्रीमा राणाकालीन दुई सय वर्ष पुरानो विधि सुर्की (इँटाको धूलो) र चुन प्रयोग गरिएको छ । निश्चय पनि पुरातात्त्विक महत्त्वको स्थलमा डन्डी, सिमेन्टजस्ता आधुनिक निर्माण सामग्री प्रयोग गर्नु हुँदैन, परम्परागत विधिबाटै भरपर्दो काम गर्नुपर्छ, गर्न सकिन्छ पनि । खालि यसका निम्ति कालिगडहरू पोख्त हुनु अत्यावश्यक छ ।

यसबीचमा दुई पटकसम्म ‘वाटर प्रुफिङ’ गर्दा पनि समस्या समाधान नभएको हो । दीर्घकालीन समाधानका लागि कोषले थाइल्यान्डको थाइपुङ थाई नामक संस्थासँग गत वर्ष सहमति गरे पनि उताबाट प्राविधिक टोली आएकै छैन । उदेकलाग्दो त, कहिले आउँछ भन्ने पनि यकिन छैन । समस्या थप गहिरिन नपाउँदै कोषले टोली चाँडो बोलाउन तदारुकता देखाउनुपर्छ । र, यस क्रममा परम्परागत विधिबाहेकका कुनै सामग्री–प्रविधि प्रयोग गर्नुपरेमा भने पुरातत्त्व विभाग, युनेस्को, विश्व सम्पदा केन्द्र लगायत सम्बद्ध निकायको पूर्वसहमति अनिवार्य रूपमा लिनुपर्छ ।

मन्दिरभित्रको बुद्ध जन्मस्मृति शिला लगायतका सामग्रीले बुद्धको जन्मस्थल लुम्बिनी भएको प्रमाणित गरेका मात्र छैनन्, यस स्थानलाई जीवन्त पनि बनाएका छन् । त्यसैले जुनसुकै हालतमा र जति खर्च लागे पनि मन्दिरलाई नचुहिने बनाउनु अपरिहार्य छ । कोष र सरकारले ख्याल राख्नुपर्छ— बुद्ध जन्मस्थलका खास सम्पदाहरूमै क्षति पुग्यो भने कसरी जोगिएला लुम्बिनीको साख ? कसरी गर्न सकिएला लुम्बिनीको प्रचारप्रसार र पर्यटन प्रवर्द्धन ? सरकारले व्यवस्थित पहल र अन्य पूर्वाधारहरूमा सुधार गर्ने हो भने लुम्बिनी अथाह पर्यटकीय सम्भावना बोकेको थलो हो । त्यसका निम्ति विश्वभरका ५० करोडभन्दा बढी बुद्धमार्गीहरूको आस्थाको केन्द्र यस स्थलको पुरातात्त्विक महत्त्व जोगाएर राख्नु अति जरुरी छ ।

नेपालमा लुम्बिनी हुनुको उचित लाभ आजको आजै लिन नसकिए पनि भोलि संघ र प्रदेशमा दूरदर्शी र त्यही अनुसार व्यवस्थापन कौशल भएका सरकारहरू आए भने, यस दिशामा पक्कै ठोस प्रगति हुनेछ, जसको पहिलो सर्त भनेको फेरि पनि ऐतिहासिक सम्पदाहरूलाई दुरुस्त रूपमा जगेर्ना गर्नु नै हो । त्यसैले, कोषले पानी चुहिने समस्यालाई गम्भीर रूपमा लिएर समाधानको ठोस प्रयास थालोस्, पुरातात्त्विक महत्त्वका वस्तुहरू क्षयीकरण हुनबाट जोगाओस् ।

प्रकाशित : असार २३, २०७९ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?