१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

यहाँ आँसु वर्जित छ

संसारमा कुनै समय थियो, रुनुलाई सबल पक्षको रूपमा लिइन्थ्यो । टम लुजको ‘क्राइङ : द नेचरल एन्ड कल्चरल हिस्ट्री अफ टियर्स’ लेखअनुसार ‘अठारौं शताब्दीमा उच्च वर्गका पुरुषहरूमा रुनु सामान्य थियो । बरु नरुनेहरूलाई क्रूर व्यक्तिको रूपमा हेरिन्थ्यो ।’
मैना धिताल

हालै सहरी विकासमन्त्री रामकुमारी झाँक्री मन्त्रालयबाट बाहिरिने क्रममा पत्रकार सम्मेलनमा ‘इमोसनल’ भइन् । तर, उनी रोएको विषय सञ्चारमाध्यम र सोसल मिडियामा यसरी आयो कि मानौं उनले रोएर ठूलै अपराध गरिन् । उनलाई खिस्याइयो । उडाइयो । रिस प्रकट गरियो ।

यहाँ आँसु वर्जित छ

‘पोस्टर गर्ल’ को उपमा पाएकी जबर्जस्त जुझारु युवा नेतृले मन्त्रालयबाट बाहिरिँदै गर्दा भावुक (इमोसनल) भएको दृश्यलाई धेरैले कुर्सीप्रतिको आसक्तिसँग जोडे । उनले सहरी विकास मन्त्रालयको कमान्ड सम्हालेको नौ महिना अवधिमा गर्न सकिने केकति काम गरिन् वा गरिनन्, त्यसको मूल्यांकन गर्न सकिन्छ । तर, उनको रुवाइलाई जुन प्रकारले सतही रूपमा लिएर गाली र मजाकको विषय बनाइएको छ, त्यसले भने नेपाली समाजमा विद्यमान आँसु र रुवाइप्रतिको धारणालाई झल्काउँछ ।

केही वर्षयता नेपालमा चलेका कतिपय ‘रियालिटी सो’ मा सहभागी प्रतिस्पर्धीहरूको ‘इमोसन’ र त्यसप्रति कार्यक्रमका निर्णायक र सञ्चालकहरूबाट आउने प्रतिक्रियाले पनि मलाई पहिल्यै यो लेख लेख्न घचघच्याइरहेको थियो । गीत गाउँदै गर्दा अस्पतालको शय्यामा अन्तिम सास फेरिरहेकी आमा सम्झेर होस् वा आफू ठूलो रियालिटी सोमा छानिरहँदा दिवंगत आमा/बालाई सम्झेर भावुक भएका प्रतिस्पर्धी । अझ राम्रो प्रस्तुति दिँदा प्रशंसामा खुसी भएर निस्केका आँसु हुन् वा पर्याप्त भोट नपाएर बाहिरिनुपरेको क्षणमा निस्किएका आँसु । ती सबै क्षणमा रुनुलाई बारम्बार निर्णायक र सञ्चालकले नकारात्मक दृष्टिले हेरिरहे । रोएर ‘सानो मन गर्नु हुँदैन’ भनेर बारम्बार टिप्पणी गरेको सुनियो । यद्यपि, बेलाबखत ती निर्णायक र सञ्चालक स्वयं पनि भावुक नभएका हैनन् ।

झाँक्रीदेखि रियालिटी सोमा रुनेहरूसम्मप्रति गरिएका टिप्पणी देख्दा लाग्छ, नेपाली समाजमा आँसु वर्जित छ । चाहे त्यो हाँसोको होस् वा खुसीको आँसु । यो लेखमा रुवाइप्रति नेपाली समाजको त्यही बुझाइ र योसँग जोडिएको विज्ञानलाई प्रस्तुत गर्ने जमर्को गरिनेछ ।

रुवाइ र लैंगिकता

वेभ यमडीका अनुसार आँसु तीन प्रकारले आउँछन् । बसल टियर्स, इरिटेन्ट टियर्स र इमोसनल टियर्स । प्याज काट्दा आँखा पोलेर निस्कने आँसु ‘इरिटेन्ट टियर्स’ को उदाहरण हो भने आधारभूत रूपमा आँखा सुक्खा हुँदा निकिल्ने ‘बसल टियर्स’ हो । तर चर्चामा रहने र कमजोरीका रूपमा हेरिने आँसुचाहिँ ‘इमोसनल टियर्स’ हो । यसमा बढीजसो तनावका हर्मोनहरू सक्रिय हुन्छन् । यसलाई प्राकृतिक पेनकिलर पनि भनिन्छ । किनकि ‘गुड क्राई’ भनेर चिनिने यसले उपचारात्मक (थेराप्युटिक) भूमिका खेल्छ । त्यसैले मान्छे रोएपछि मन हलुका भएको महसुस गर्छ ।

अनुसन्धानले पुरुषको तुलनामा महिलाहरू पाँच गुना बढी रुने गरेको देखाएको छ (विलियम एच फ्रे, १९८०) । महिलाहरू पुरुषभन्दा लामो समयसम्म पनि रुन्छन् । पुरुष कम रुनुमा बढीजसो टेस्टोस्टेरोनको मात्रा बढी र प्रोल्याक्टिनको मात्रा कम भएकाले हुन सक्ने अध्ययनहरूले देखाएका छन् । अर्को पुरुषलाई रुन संसारभरि नै निरुत्साहित गरिन्छ । समाजले लगाउने ‘ट्याग’ र सांस्कृतिक मूल्यमान्यताका कारण पनि पुरुषहरू खुलेर रुन सक्दैनन् ।

संसारमा कुनै समय थियो, रुनुलाई सबल पक्षको रूपमा लिइन्थ्यो । टम लुजको ‘क्राइङ : द नेचरल एन्ड कल्चरल हिस्ट्री अफ टियर्स’ लेखअनुसार ‘अठारौं शताब्दीमा उच्च वर्गका पुरुषहरूमा रुनु सामान्य थियो । बरु नरुनेहरूलाई क्रूर व्यक्तिको रूपमा हेरिन्थ्यो ।’ उन्नाइसौं शताब्दीमा मात्रै पुरुष आत्मासंयम (स्टोअसिजम्) को अवधारणा आयो । यस्तै, २० औं शताब्दीको मध्यसम्म आँसुले सार्वजनिक पद धारणा गर्ने व्यक्तिमा पुरुषार्थ वा पर्याप्त स्थिरता नभएको संकेत गर्थ्यो । वास्तवमा सानो हुँदा बालक र बालिका दुवै उत्तिकै रूपमा रुन्छन् । जब उमेर बढ्दै जान्छ, पुरुषहरू महिलाभन्दा कम मात्रामा रुन थाल्छन् । अझ यसो भनूँ, रुन मन लाग्दालाग्दै पनि आँसुलाई दबाउन पुग्छन् । निस्किहाले पनि लुकाउन पुग्छन् ।

नेता र सेलिब्रिटीको रुवाइ

हुन त नेताहरूको हकमा रुनुलाई त्यति सकारात्मक रूपमा नलिने चलन विश्वभरि नै छ । नेताहरूलाई आत्मविश्वासी र बलियो भएको देख्न चाहने भएकाले पनि सार्वजनिक समारोहमा रुनुलाई विश्वभरि नै निरुत्साहित गरिँदै आएको छ । कार्यस्थलमा रुने मान्छेलाई कम व्यावसायिक र कम योग्य व्यक्तिका रूपमा पनि बुझ्ने गरिएको न्युयोर्क टाइम्समा मे ३, २०२० मा प्रकाशित जेसिका बेनेटको ‘लिडर्स आर क्राइङ अन द जब । मेबी द्याट्स अ गुड थिङ’ लेखमा उल्लेख छ । सोही लेखमा फ्रान्सको इन्सिड कलेजका संगठनात्मक व्यवहार विषयकी सहप्राध्यापक एलिजावेथ बेली वुल्फले भनेकी छन्, ‘रुँदा महिला र पुरुष दुवै कमजोर देखिन्छन्, तर पुरुषका लागि यो परम्परागत मूल्यमान्यताविपरीत भएकाले अझ बढी नराम्रो देखिन पुग्छ ।’ जब महिलाहरू कार्यस्थलमा रुन्छन्, त्यसले महिलाहरू इमोसनल हुन्छन्, हिस्टेरियन (अनियन्त्रित उत्तेजना) हुन्छन् वा कामको चाप थेग्न सक्दैनन् भन्ने परम्परागत धारणालाई थप बलियो बनाउँछ ।

पछिल्लो समय भने राजनीतिज्ञ, प्रमुख कार्यकारी, समाचारवाचकलगायतले सार्वजनिक रूपमा रुन थालेका छन् । कोरोना संक्रमण कालमा न्युयोर्क राज्यका डेमोक्रेटिक गभर्नर एन्ड्रयु कुमोदेखि म्यासाचुसेट राज्यका रिपब्लिकन गभर्नर चार्ली बेकरसम्म सार्वजनिक रूपमा रोए । पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामादेखि नाम चलेका पत्रकार र सेलिब्रिटीहरू पनि सार्वजनिक रूपमा रोएका देखिए । कोही अन्तर्वार्ता दिँदादिँदै रोएका छन् त कोही लिँदालिँदै । बलिउड र हलिउडमा पनि कलाकारहरू रियालिटी सोमा सजिलै रोएको देखिन्छ । गएको निर्वाचनमा सीएनएनका टिप्पणीकार भ्यान जअन्ज प्रत्यक्ष प्रसारणमा एकाएक भक्कानिए । ‘यो बिहानीमा अभिभावक हुनु थप सहज भएको छ,’ राष्ट्रपतीय चुनाव जो बाइडेनले जितेको समाचारमाथि टिप्पणी गर्दै गर्दा ओबामा कालमा ह्वाइट– हाउसका स्टाफसमेत रहिसकेका उनी भावुक भएका थिए । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका कारण बालबच्चालाई नैतिक शिक्षा शिक्षा सिकाउने आधार नभएको र बाइडेनको जितले आफूजस्ता अभिभावकलाई सत्यता, चरित्रलगायत नैतिक शिक्षाको पाठ सिकाउन पनि सजिलो भएको उनको भनाइ थियो । पछि थुप्रै मिडियाले त्यसको समाचार बनाए । तर, त्यसलाई उनको कमजोरीका रूपमा प्रस्तुत गरिएन । बरु ट्रम्पको व्यवहारले मान्छेहरू कतिसम्म आहत थिए भन्ने अर्थमा अर्थ्याइयो ।

रुनु स्वास्थ्यका लागि फाइदाजनक

भावुकताका हिसावले कतिपय अवस्थामा रुनुलाई राम्रो रूपमा नलिइए पनि स्वास्थ्यका दृष्टिले राम्रो मानिन्छ । त्यसैले रुनुलाई लैंगिकता वा कमजोरीसँग जोडिनु हुँदैन । आँसुसम्बन्धी अनुसन्धानकर्ता तथा नसा वैज्ञानिक डाक्टर विलियम एच फ्रे द्वितीय भन्छन्, ‘रुनु भनेको दुःख र हार/निराशाको मानव प्रतिक्रिया मात्रै हैन । यो स्वस्थकर पनि छ । वास्तवमा भावनात्मक तनाव कम गर्ने प्राकृतिक तरिका पनि हो ।’ उनका अनुसार इमोनल स्ट्रेसलाई रिलिज गर्न नसके शरीरमा नकारात्मक ऊर्जा बढ्छ । र, अन्ततः मुटुसम्बन्धी रोग र तनावसम्बन्धी डिसअर्डर हुने जोखिम बढ्छ ।

भित्र गहिराइदेखि नै हामी उदास हुन्छौं, त्यसैले हामी खुसीका आँसु झार्न सक्दैनौं । किन यसो गर्छौं त ? एरगन भन्छन्, हाम्रा आँसुहरूले लुसिन एन्केफलिन नामको न्युरोट्रान्समिटरहरूलाई रिलिज गर्छन्, जसले प्राकृतिक पेनकिलरको काम गर्न सक्छ । जब मान्छे उदास हुँदा रुन्छ, त्यसले उनीहरूलाई राम्रो अनुभूति (बेटर फिल) गराउँछ । अनि जब मान्छेहरू खुसी हुँदा रुन्छन्, त्यही न्युरोट्रान्समिटरले उनीहरूलाई अझ धेरै खुसी बनाउँछ । अर्थात् आँसुले भावना (इमोसन) प्रकट गर्न प्रोत्साहन गर्छ ।

नेदरल्यान्डको युनिभर्सिटी अफ टिलबर्गका अस्मिर ग्रेकनिनलगायतको समूहले गरेको एउटा अध्ययनले मन खिन्न बनाउने खालका चलचित्र देखाएर सहभागीमध्ये को–को रोए र को–को रोएनन् भनेर अवलोकन गरेका थिए । त्यसमा चलचित्र हेर्दा रोएकाहरूले चलचित्र हेरेपछि झन् नराम्रो अनुभव गरे । तर, नरुनेहरूले त्यसमा भावनात्मक रूपमा खासै भिन्नता महसुस गरेनन् । तर, २० मिनेटपछि भने जोजो रोए, उनीहरू चलचित्र हेर्नुअघि जस्तो मनोदशामा थिए, त्यही अवस्थामा पुगे । अझ ९० मिनेटपछि त उनीहरूले नरुने सहभागीहरूको तुलनामा झनै राम्रो मुड भएको महसुस गरे । सफलता वा सकारात्मक समाचार हुँदा खुसी भएर रुदा एकदमै खाँदिएको ‘इमोसन’ कम हुन जान्छ । एल युनिभर्सिटीका ओरियना आरागोनलगायतका मनोवैज्ञानिकहरूले सन् २०१५ मा गरेको एक अनुसन्धानले खुसीको आँसु निस्कँदा शरीरले ‘भावनात्मक सन्तुलन’ पुनःस्थापना गर्ने देखाएको छ ।

रुवाइप्रतिको दृष्टि बदलौं

रुनुलाई कमजोरीसँग जोड्ने संस्कार र संस्कृतिमा हुर्केका हामी सकभर आँसु लुकाउनुपर्छ भन्ने ठान्छौं । जतिसुकै मनमा गाह्रो भए पनि आँसु देखाउनु हुँदैन, लुकाएरै राख्नुपर्छ भन्ने छ । अझ केटा मान्छे भए त रुनु अक्षम्यजस्तै । कोही रोइहाल्यो भने केटीजस्तो रहेछ । पिलपिले । छोरा मान्छे भएर पनि रुनुहुन्छ ? जस्ता अभिव्यक्ति आइहाल्छन् ।

अब रुवाइप्रतिको दृष्टिकोणलार्ई परिवर्तन गर्ने समय आएको छ । कोही रुन्छ भने एकछिन् रुन दिऔं । अथवा तपाईंको मन पनि गह्रुँगो हुन्छ भने गएर अंकमाला गरौं । या ढाडस दिऔं । वा, एकछिन् चुप लागेर बसौं । रुँदै गरेको व्यक्ति एकछिन्मा आफू सम्हालिन्छ । तर, रुँदा अपराध नै गरेझै उल्टै लज्जित नबनाऔं । यसको अर्थ सबै जना सधैं रोइरहनुपर्छ भन्ने हैन । केही निश्चित अवस्थामा रुनबाट केही छिनलाई रोकेर बाथरुम वा एक्लै ठाउँमा गएर पनि रुने गर्न सकिन्छ । तर, कतिपय अवस्थामा भित्रबाट उकुसमुकस भएर निस्केका आँसुलाई रोक्न गाह्रै पर्छ । कोही रोइहाल्यो भने त्यसलाई कमजोर व्यक्ति वा लाज नभएको जस्ता टिप्पणी गर्न जरुरी छैन । किनकि रिसाउनु, डराउनु, हाँस्नुजस्तै रुनु पनि प्रकृतिले दिएको इमोसन हो ।

प्रकाशित : असार २२, २०७९ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?