कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

श्रममा रमाउने युवाको खाँचो

झमक घिमिरे

नेपालीहरू श्रम गरेर पनि त्यसको सम्मान गर्न भने खुलेर जान्दैनन् । कुनै डकर्मीले राम्रो काम गरिरहेको छ भने उसको अगाडि गएर भनिदिन्छौं– के गर्ने पेट पाल्नका लागि जस्तो दुःख पनि गर्नुपर्ने । उसको कामलाई दुःखसँग जोडिदिन्छौं । हाम्रो कस्तो मानसिकता ? कुनै सिकर्मीलाई अलि धेरै पढेको भए तैंले यस्तो काम गर्न पर्दैनथ्यो भनिदिन्छौं । अनि हामी ? कुन सभ्यतामा बाँचिरहेका छौं ? अरूले गरिरहेको कामलाई सानो ठानेर होच्याएर बोल्ने अनि पढाइसँग तुलना गरेर हेर्ने यो कस्तो चलन हो हाम्रो ? के पढेलेखेका मान्छे डकर्मी, सिकर्मी नहुने ?

श्रममा रमाउने युवाको खाँचो

कुनै पनि काम सानो र ठूलो हुँदैन । त्यो मान्छेको दुःख र सुखसँग जोडिँदैन, यो त स्वाभिमानी मान्छेको सोच, विचार अनि शारीरिक तन्दुरुस्तीसँग जोडिन्छ । कामै नगर्ने पढेलेखेका मान्छेहरू समाजमा धेरै छन् । दिनभरि चोकमा बसेर तास–जुवा खेलेर, परिश्रमी मान्छेहरूको चाहिँदानचाहिँदा कुरा काटेर र उनीहरूलाई होच्याएरै दिन बित्छ । यसोभन्दा त आफ्नै खेतबारीमा पसिना बगाएर जे उब्जिन्छ, त्यसलाई बेचेर जीवन चलाउँदा मानव चोला सार्थक ठहरिन्छ ।

जीवन सधैं गुनासो र असन्तुष्टिहरू पाल्नका लागि मात्र होइन । यो त आफूले सक्ने श्रम गरेर खान र सन्तुष्ट भएर बाँच्नका लागि हो । यहाँ प्रश्न उठ्न सक्छ, ‘हामीले यति दुःख गरेर पाएको शैक्षिक प्रमाणपत्र खान र बाँच्न मात्र हो त ?’ हाम्रो योग्यता, दक्षताको कुरा एक ठाउँमा छ । हामीलाई त्यो अनुसारको काम नमिल्न सक्छ । हाम्रो देशमा शैक्षिक बेरोजगारको संख्या बढ्दो छ । पैसा हुनेहरू युरोपियन देशमा गएर उतै आफ्नो जीवनलाई व्यवस्थापन गर्ने गरेका छन् । कैयौं व्यक्ति अमेरिका उडेर आफ्नो देश फर्किंदैनन् भने कैयौं खाडीमा गएर रगत, पसिना रित्याएर अलिकति पैसा कमाएर फर्किन्छन् अनि कैयौं त्यही भूमिबाट रातो बाकसमा फर्किन्छन् ।

यहाँ रहनेहरू कतिपय तनावमा गएर आत्महत्यासम्म गर्न पुगेका छन् भने कोही दुर्व्यसनी हुन पुगेका छन् । सरकार यो विषयमा गम्भीर हुनु आवश्यक छ । दिनानुदिन बिदेसिएका युवा जनशक्तिलाई उनीहरूको योग्यता, दक्षता अनुसारको रोजगारी दिएर यहीँ रोक्ने वातावरण सिर्जना गर्नु आवश्यक छ । युवा जनशक्तिले पनि देशलाई हामीले नबनाए कसले बनाउँछ भनेर सोच्न जरुरी छ । देशको माया सबै युवामा हुनुपर्छ । पढेलेखेका मान्छेले ‘यो काम गर्नुपर्छ’, ‘यो गर्नु हुँदैन’ जस्ता मानसिकताभन्दा माथि उठेर स्वाभिमानी भएर आफ्ना लागि रोजगारी सृजना गर्न लागिपरून् युवाहरू ।

कसैले सानोभन्दा सानो ठानिएका काम गर्‍यो भने नानाथरी कुरा गरेर उसलाई हतोत्साहित बनाउने होइन, उसको कामलाई प्रशंसा गर्दै प्रोत्साहन गर्ने बानी बसालौं । कुरा काटेर खर्च गर्ने समयको कहिल्यै सदुपयोग गर्न जानेनौं । अरूले राम्रो काम गरिरहेको छ भने त्यसको प्रशंसा गर्न जानेनौं, उसलाई स्याबासी दिन कहिल्यै सिकेनौं । यो मानसिकता बदलेर नयाँ सोचको बीजारोपण अब गरौं आफू पनि खुसी होऔं, अरूलाई पनि खुसी पार्न सिकौं ।

प्रकाशित : असार २०, २०७९ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?