१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

विराटनगरको साख र सर्वोपरि विकास

सरकारी र निजी विद्यालयको शैक्षिकस्तरमा रहेको दूरी कम गर्नुले विराटनगरको भविष्य उज्ज्वल बनाउँछ । 
डीला संग्रौला

झन्डै तीन हजार वर्षअगाडि हालको विराटनगरसमेतलाई समेटेर नगर सभ्यताको विकास भइसकेको देखिन्छ, जसको नाम विराटनगर थियो । कथाहरूको वर्णनमा यो सभ्यता शान्त, सुन्दर, स्वच्छ र समुन्नत थियो । आज हामी त्यही स्थानमा बसोबास गर्छौं । प्रजातान्त्रिक आन्दोलनको प्रसंग होस् या उद्योगधन्धाको विकास, अहिलेको युगमा पनि विराटगर बलियो छ ।

विराटनगरको साख र सर्वोपरि विकास

इतिहास, संस्कृति, सभ्यता र शिक्षाका क्षेत्रमा पनि धनी छ । पहिलो जुट उद्योग यहीँ खुल्यो । विराटनगरबाट सुरु भएको मजदुर आन्दोलनले मजदुर हक–अधिकारका साथै २००७ सालमा प्रजातन्त्र स्थापन गर्न पनि सघायो । नेपाली राजनीतिमा विशिष्ट स्थान बनाएका बीपी कोइराला र गिरिजाप्रसाद कोइरालाको कर्मभूमि पनि हो यो ।

विराटनगर विविधतापूर्ण छ । तर, अहिले विराटनगरको अवस्था परिवर्तन भएको छ । सहरका लागि चाहिने आवश्यक मापदण्ड पूरा भएको छैन । विराटनगरको विकासका लागि सबै राजनीतिक दल र समुदाय अब क्रियाशील हुने बेला आइसकेको छ । विराटनगरलाई फेरि गौरवशाली बनाउन यहाँका बासिन्दालाई दैनिक चाहिने अत्यावश्यक सेवाहरूको उपलब्धतामा ध्यान दिनुपर्छ । विराट राजाको दरबार क्षेत्रको संवर्द्धन र प्रचारप्रसार पनि जरुरी छ । साथै महाभारतको कथामा उल्लेख गरिएका क्षेत्रहरूको संरक्षण गर्दै खुला स्थानका रूपमा विकास गर्नुपर्छ । विराटनगरको पहिचान रानी मन्दिर र महन्त पोखरी लगायत स्थानको संरक्षर र विकास आवश्यक छ । सहरको पूर्व र पश्चिमबाट बग्ने सिंगियागंगा र केसलियाबीच नहरका आसपासका क्षेत्रलाई पार्कका रूपमा विकास गर्न सकिन्छ । अबका जनप्रतिनिधिले विराटनगरका प्रत्येक वडामा पार्क बनाउने कार्यलाई प्राथमिकतामा राख्नुपर्छ ।

भारतसँग सिमाना जोडिनु विराटनगरको विकासका सम्भावना र चुनौती दुवै हुन् । एकातर्फ खुला सिमानाका कारण लागूऔषध ओसारपसारदेखि अन्य अवैध धन्धा सञ्चालन हुने जोखिम छ, अर्कातर्फ व्यापार बढाउने सम्भावना पनि हामीसामु छन् । यहाँबाट भारतका विभिन्न स्थानका लागि रेलसेवा लगायतका यातायातका सेवा उपलब्ध छन्, जुन व्यापार व्यवसायका लागि अति महत्त्वपूर्ण मानिन्छ । आयात–निर्यातलाई व्यवस्थित गरी राजस्व वृद्धि गर्ने सम्भावना पनि प्रचुर छ । सिमानापारि गएर अत्यावश्यक सामान खरिद गर्ने कामलाई व्यवस्थित गरी सिमानाभित्रै सुलभ मूल्यमा सामान पाइने व्यवस्था मिलाएमा विराटनगरको व्यापार स्वतः बढ्नेछ ।

नेपालको औद्योगिक नगरीका रूपमा परिचित विराटनगरमा अहिले थुप्रै उद्योग बन्द छन् । यहाँका जीर्ण उद्योगलाई टेको दिनु र बन्द भएका उद्योगलाई सञ्चालनमा ल्याउनुपर्छ । यो काममा स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण छ । यसो गरेमा लगानी बाहिर जाने र युवाशक्ति बिदेसिने क्रम रोकिनेछ । विराटनगर जुट मिललगायतका यहाँका पुराना र जीर्णोद्धार गर्न नसकिने उद्योगलाई भने औद्योगिक संग्रहालयका रूपमा विकास गर्नुपर्छ । यहाँका अधिकांश साना तथा घरेलु उद्योगहरू मृतप्रायः भएकाले तिनलाई पुनर्जीवन दिनु पनि अति आवश्यक छ । संघीयता कार्यान्वयनपछि वैज्ञानिक कर प्रणाली स्थापित भइसकेको छैन । यसले एक त स्थानीय सरकारको आम्दानीलाई व्यवस्थित बनाउन सकेको छैन, अर्को चर्को कर तिनुपरेकाले पनि उद्योगीहरू खुसी छैनन् । उनीहरूको माग सम्बोधन गरी उद्योग प्रवर्द्धन गर्नु आजको आवश्यकता हो ।

केही दशकअघिसम्म हामीले खाद्यान्न लगायतका वस्तु निर्यात गर्थ्यौं । पछिल्लो समय कृषि क्षेत्रलाई ध्यान नदिँदा देशको उत्पादनले केही महिना मात्र पुग्ने भएको छ । अन्नपात, फलफूल र सागसब्जी उत्पादनमा अब्बल रहेको विराटनगरमा हाल आयातित वस्तुले बजार ओगट्न थालेको छ । यसको प्रतिस्थापनका लागि विशेष योजनाका साथ काम गर्नुपर्छ ।

विराटनगर क्षेत्र पर्यटनको विकासका दृष्टिले धेरै सम्भावना बोकेको भए पनि यसतर्फका हाम्रा प्रयासहरू अझै प्रभावकारी हुन सकेका छैनन् । विराटराजा दरबार क्षेत्र, हड्ताली हाट र यहाँका मठमन्दिर तथा थानहरूले पर्यटकलाई अकर्षित गर्न सक्छन् । मस्जिद, गुम्बा–विहार तथा साकेलाथानले विराटनगरलाई बहुजातीय र बहुधार्मिक स्थलका रूपमा चिनाएको छ । एसियाकै ठूलो मध्येको राधाकृष्ण रथजात्रा यहीँ हुने गर्छ । यहाँका चाडवर्प, उत्सव र साप्ताहिक हाटहरू पनि पर्यटनका दृष्टिले उल्लेख्य छन् । यसै गरी औद्योगिक संग्रहालय निर्माण गरी पर्यटकलाई आकर्षित गर्न सकिने सम्भावना पनि उत्तिकै छ । यथार्थमा विराटनगर प्रदेश १ को पर्यटन हबका रूपमा रहेको छ । विराटनगर एयरपोर्ट, यहाँका सुविधासम्पन्न होटलहरू र अन्य पूर्वाधारका कारण पर्यटकहरूले विराटनगरलाई केन्द्र बनाएर आसपासका क्षेत्रको भ्रमण गर्न सक्छन् । तसर्थ प्रदेश सरकारले पनि विराटनगरलाई अन्य पर्यटकीय क्षेत्र जोड्ने स्थानका रूपमा विकास गर्नुपर्छ ।

विराटनगर एयरपोर्टलाई स्तरोन्नति गरी अन्तर्राष्ट्रियस्तरको बनाउन आवश्यक छ । यसका लागि हवाई मैदान वरपरका जमिनको उचित मुआब्जा दिई जमिन खरिद–बिक्रीमा लगाइएको रोकलाई फुकुवा गर्नुपर्छ । त्यस्तै विराटनगर प्रदेश १ को स्वास्थ्यको केन्द्रविन्दुका रूपमा परिचित भए पनि यो क्षेत्रमा थप काम गर्नु आवश्यक छ । कोसी अञ्चल अस्पताललाई प्रदेश अस्पतालका रूपमा विकसित गरी गुणस्तरीय स्वास्थ्य सेवामा नागरिकको पहुँच बढाउनु पर्छ । सरकारको स्वास्थ्य बिमा कार्यक्रमलाई अझ व्यवस्थित गरी सबै वर्गमा पुर्‍याइनुपर्छ । गरिब, निमुखा र असहाय जनतालाई स्वास्थ्यमा पहुँच पुर्‍याउन निश्चित योजना तर्जुमा गरी प्रभावकारी कार्यान्वयन गर्न आवश्यक छ । विराटनगर शिक्षाको हबका रूपमा परिचित भए पनि यहाँको शिक्षा प्राणालीमा व्यापक सुधार हुन सकेको छैन । सरकारी विद्यालयलाई अभिभावक र विद्यार्थीको पहिलो रोजाइ बनाउनलाई निश्चित योजनाका साथ स्थानीय सरकार अगाडि बढ्नुपर्छ । सरकारी र निजी विद्यालयको शैक्षिकस्तरमा रहेको दूरीलाई कम गर्नुले सहरकै भविष्य उज्ज्वल बनाउँछ ।

डुबान विराटनगरको जल्दोबल्दो समस्या हो, जसको स्थायी समाधान आवश्यक छ । ढल र नालीलाई वैज्ञानिक ढंगमा व्यवस्थापन गरी विराटनगरलाई डुबानमुक्त क्षेत्र बनाउनुपर्छ । त्यस्तै नगर क्षेत्रको फोहोर व्यवस्थापनमा पनि भरपर्दो योजना छैन । बाटोघाटो भरपर्दो छैन । यस्ता आधारभूत आवश्यकता सम्बोधन गरे मात्र नगर बस्नयोग्य बन्नेछ ।

विराटनगरको समृद्ध इतिहास र अहिलेको वास्तविकतामा निकै फरक छ । विराटनगरका लागि अहिले सबै क्षेत्रमा सुधार चाहिएको छ । त्यसका लागि स्थानीय सरकार र समुदाय मिलेर काम गर्नुपर्छ । विराटनगर महानगरको यो आर्थिक वर्षको बजेट यसैको गत वर्षको र देशका अन्य पाँच महानगरको बजेटभन्दा धेरै कम छ । यसले पनि विराटनगर कमजोर बनिरहेको संकेत गर्छ । सम्पूर्ण समस्या महानगर एक्लैले हल गर्न सक्दैन । यसका लागि नागरिक समाज, प्रदेश तथा संघीय सरकार र अन्तर्राष्ट्रिय दातृ निकायको सहयोग पनि त्यत्तिकै आवश्यक पर्छ ।

प्रकाशित : असार १९, २०७९ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?