कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

सपनाको त्यो दोभान

अध्ययन र अनुसन्धान, लेखन र विमर्श, प्रकाशन र प्रसारण गर्ने एउटा जीवन्त संस्था बनाउन सके कति आनन्ददायी हुँदो हो !
उज्ज्वल प्रसाई

झापाको चारआलीबाट इलामतर्फ लाग्दा पहाडको चढाइ सुरु हुनुअघि समतल मैदानभन्दा केही अग्ला तर पहाड नभइसकेका ठाउँहरू आउँछन् । बुधबारेबाट उत्तर लागेपछि भेटिने बर्ने र कोलबुङजस्ता ठाउँ तराई र पहाडका दोसाँध हुन् । अलिकति चिया बगान, साना पसलसहितका चोक, कतै बारी र कतै बाक्ला रूख लगाइएको यो भेग उष्णतम मौसममा पनि शीतल देखिन्छ ।

सपनाको त्यो दोभान

बहुप्रचारित र ‘फोटोजेनिक’ कन्यामको छायामा पर्ने यस क्षेत्रमा धेरैका आँखा अडिँदैनन् । मलाई भने कन्यामका हरिया तरेलीभन्दा यतैका साना थुम्काको झझल्को धेरै आउँछ ।

हरेक पटक त्यस भेगमा पुग्दा लाग्छ— यो भौगोलिक दोसाँधमा ज्ञान र सृजनाको अर्को एउटा दोभान जोड्न पाए क्या गजब हुँदो हो ! अध्ययन र अनुसन्धान, लेखन र विमर्श, प्रकाशन र प्रसारण गर्ने एउटा जीवन्त संस्था त्यहाँ बनाउन सके कति आनन्ददायी हुँदो हो ! ज्ञान र सृजना सपाट उद्यम होइनन्, ती त बरु दोभान र त्रिवेणी नै हुन् । श्रम र कल्पनाको दोभानÙ सोच, चिन्तन र अभिव्यक्तिको त्रिवेणी ।

नेपालमा ‘सेल्फीडाँडा’ हरू जत्तिकै चर्चित छन् बोलीचालीमा ‘जेसीबी’ भनिने डोजर र एक्स्क्याभेटर । तिनका नंग्राले धेरै नकोपरी, ठूला भवनका लोभ अतिशय नहुर्काई बनाउन सकिने होस् त्यस्तो संस्था । फलफूल र तरकारी नमासी, सुपारी र नरिवल सबै नढाली, रूखका अन्य दर्जनौं प्रजाति नसिध्याई, चराका गुँड नबिथोली, र खोला–पैनी दूषित नबनाई खडा गर्न सकिने होस् त्यो । बस्ने र पढ्ने, लेख्ने र गफ गर्ने मझौला कुटीहरू बनून् । किताब, अन्य लिखत र श्रव्यदृश्य सञ्चयन गर्ने आधारभूत पूर्वाधारसहितका थला निर्माण होऊन् । रैथाने सौन्दर्यका कलेवर सज्जित चिटिक्कको निर्मिती होस् सिंगो संस्था ।

पछिल्ला केही वर्षदेखि खिपेर हुर्काएको सपनाको त्यस संस्थामा शास्त्रबीच दुर्लघ्य पर्खाल ठडिएका हुँदैनन् । बरु समाजविज्ञान र मानविकीका अनेक भँगाला मिसिएर ज्ञानको शालीन नदी बग्छ त्यहाँ । नदीमा कतै साहित्य र समाजशास्त्रको संगम भेटिन्छ, कतै फेला पर्छ इतिहास र संस्कृतिको दोभान भने, कतै राजनीतिशास्त्र–मानवशास्त्र–अर्थशास्त्रको त्रिवेणी । सभ्यता–भाषा–संस्कृतिका घामछाया त त्यहाँका दैनिकी नै हुनेछन् । अर्थात्, प्रकृतिका छटा त्यहाँ हुनेछन्, संस्कृतिका कृत्रिम निर्मितीका उहापोह पनि साथै हुनेछन् ।

जस्तो, एउटा रोचक पटकथा पनि जडित छ ज्ञानको यस काल्पनिक उद्यममा । कुनै एक साँझ झापाको किसान समुदायबारे खोज गरिरहेका शोधार्थी आफूले बटुलेका सूचना सुनाउन थालेका छन् । समुदायको इतिहास र हाल भइरहेका अनेकवली परिवर्तन्का वर्णन सुनाउँछन् । त्यस भेलामा सामेल छन्, अन्य धेरै विभागका शोधार्थी र शिक्षक । साथै छन्, यस्ता विषयमा रुचि भएका स्थानीयहरू । विमर्श चलिरहेको ठाउँको एउटा कुनामा मुग्ध बसिरहेका छन्, आफ्नै पुरानो किताब ‘आर्ट अफ नट बिइङ्ग गभर्न्ड’ का पात्रहरू सम्झँदै अमेरिकी मानवशास्त्री जेम्स सी स्कट । अर्को कुनामा बसेर नयाँ नाटकको प्लटमा किसानका सुखदुःख देखाउन सकिने सम्भावना खोज्दै गरेकी कलाकार–निर्देशक सरिता साह छन् । र, कविताका लागि नयाँ विम्ब सुझाइरहेका कवि रावत पनि त्यतै कतै ।

जतन गरीगरी बिस्तारैबिस्तारै दिमागी भित्तोमा कोरिँदै गरेको यस काल्पनिक संस्थाको सञ्चालनमा सामूहिकताको लोकतान्त्रिक अभ्यास पनि गाँसिएको छ । संस्था सञ्चालनका निम्ति आवश्यक श्रम त्यहाँ आबद्ध अध्येताहरूमै विभाजित हुनेछ । करेसाबारी स्याहार्नेदेखि फूलबारी सजाउने, चमेना सञ्चालन गर्नेदेखि प्रशासन र पुस्तकालय रेखदेख गर्नेसम्म । बराबरीको भाव सिर्जना गर्ने र कुनै एउटा मालिकका लागि जागिर खाइदिएको अनुभूति नहुने वातावरण निर्माण गरिनेछ । बिहान कफी उमाल्दै गरेको कोही, अपराह्न नयाँ शोधार्थीलाई शोध प्रणालीका जटिलताबारे बताउँदै गरेको देखिनेछ । अघिल्लो साँझ चमेना व्यवस्थापनमा लागेको अर्को कोही भोलि दिउँसो पुस्तकालयमा घोत्लिइरहेको भेटिनेछ ।

कल्पनामा कुँदेको यो संस्था लक्ष्मीप्रसाद देवकोटाको भाका टिपेर भन्दा सुन्दर, शान्त, विशाल छ । रोमाञ्चक त्यति नै । कसैका कानमा यो औधी आदर्श पनि सुनिन सक्छ । त्यो यथार्थ— जसको सामना गरेर यस कल्पनालाई मूर्तता दिनुपर्नेछ— भने न सुन्दर छ, न अपेक्षा गरेजति शालीन छ, र त्यो हदै साँघुरो पनि छ । जटिलता त यस्तो संस्थाको कानुनी वैधताबाटै सुरु हुन्छ । आखिर के हो यो ? मौजुदा कुनै विश्वविद्यालयको सम्बन्धन लिएको कलेज ? काठमाडौंमा अभ्यास भइरहेका केही प्राज्ञिक एनजीओजस्ता संस्था ? कुनै पुरानो गुरुकुल शैलीको स्थापना ? वा, आफैंमा एउटा विश्वविद्यालयल ?

अर्को पेचिलो प्रश्न साथै गाँसिएर आउँछ । संस्थाको कानुनी वैधता जे होस्, यसको सञ्चालनका निम्ति स्रोत कसले र कसरी जुटाउँछ ? सरकारले खटाएर दिने सार्वजनिक स्रोतको उपयोगबाट यो सञ्चालन हुने भए, अहिले भएकै संस्थाहरू आकण्ठ डुबेका दलदल हेर्दै कहाली लाग्दैन र ? स्रोतसँगै आइलाग्ने कर्मचारीतन्त्रका उदास, नीरस र दिक्दारिला छिँडी सम्झँदै नौनारी गलेर आउँछन् । कर्मचारीतन्त्रसँग जुध्ने साहस बटुली नसक्दै दलतन्त्रले बाउने ओढारजस्तो असाध्यै ठूलो र अँध्यारो मुख कल्पेर तर्सन थालिन्छ । यी सबै छिचोलेर निर्बाध सञ्चालन गर्न सक्ने सामर्थ्य कोसँग होला ?

यस्तो कल्पना गर्दा अर्को बिर्सन नहुने यथार्थ पनि छ । यसरी नै केही मान्छेका कल्पनामा पहिल्यैदेखि भएका र बिस्तारै मूर्तरूप लिन थालेका विश्वविद्यालयको एउटा लामो पंक्ति नै तयार छ नेपालमा । प्रदेशका आफ्ना विश्वविद्यालयका जपना पनि छँदै छन् । संसद् र मन्त्रालयमा विचाराधीन रहेका संस्थाका अन्य धेरै फाइल होलान् । त्यति मात्रै होइन, ज्ञानोद्यमको समग्र क्षेत्रमा समाजविज्ञान र मानविकीप्रति बढेको उदासीनताको हेक्का पनि राख्नैपर्छ । बजारको प्राथमिकतामा नपर्दाका दुःख पनि बिर्सन नहुने नै छन् । यी सबै गाह्रा–साँघुराले कल्पनालाई कल्पनामै सीमित गराउने संकेत दिन्छन् ।

रह्यो, बाहिरी सहायतामा निर्भर एनजीओ । बाहिरी भन्ने शब्दले विदेशी दानदातव्य मात्र जनाउन खोजेको होइन । प्राज्ञिक दुनियाँभन्दा पर रहेका अन्य घरेलु संस्था पनि प्राज्ञिक एनजीओका स्रोत बन्न सक्थे । तर, त्यस्तो सम्भावना धेरै बलियो देखिन्न । बरु, ‘कर्पोरेट सोसल रेस्पोन्सिबिलिटी’ का स्रोत निजी स्वार्थपूर्तिकै निम्ति धेरै खपत भइरहेको यथार्थ छ । मठमन्दिरदेखि विज्ञापनिक लाभ हुने झिलिमिली कार्यक्रमसम्म त्यस्ता स्रोतका प्रापक हुन् । पछिल्लो समय सञ्चारक्षेत्रमा ती खाले स्रोत उपयोग हुने सम्भावना पनि देखिएको छ । अन्तर्य भने कुनै न कुनै किसिमको निजी लाभ नै हुनुपर्छ ।

माथि वर्णित कल्पनाको महत्त्व बुझ्ने, स्वतन्त्र ढंगले त्यस्ता काम गर्न दिने र तिनलाई सफलता हासिल गर्न सघाउने उदारमना दाता कति होलान् नेपालमा ? सतही अन्दाजले भन्छ, कोही पनि छैन । त्यसो भए, विदेशी सहायता यस्ता कामका लागि कत्तिको भरपर्दो स्रोत बन्न सक्छ ? सहायताका चालु रीत हेर्दा, सृजनात्मक र प्राज्ञिक काममा खासै ठूलो जाँगर कसैले देखाउँदैन । तत्काल उपयोगी हुने सूचना बटुल्न, सरकारी संयन्त्रका स्वार्थमुताबिक काम गर्न, र चलन अनुसार नै जोखिमरहित काम गरेरै बसिरहनुमा दाताले सहज मानेको देखिन्छ । ‘कम्फोर्ट जोन’ छिचोल्न नचाहनुमा उनीहरूका बाध्यता होलान् ।

संस्था स्वयंले उपार्जन गर्ने र बटुलेका नाफाको पुनर्लगानीमार्फत निरन्तर काम गर्ने सम्भावना देखिन्न । किनभने बजारमा तत्कालै बिक्री गर्न मिल्ने वस्तु उत्पादन गर्ने संस्था होइन यो । त्यसो त यसले डिग्री प्रदान गर्ने मेसो मिलाउन सक्यो भने पनि तात्तातै हाताहाती बिक्ने डिग्री वितरण गर्नु यसको उद्देश्य होइन । शक्तिशाली बजारको मन्त्र भने यस्तो छ— जे बिक्दैन, त्यो टिक्दैन । त्यसैले आफ्नो मात्रै उपार्जनमा निर्भर हुन यस्ता संस्थालाई महाहम्मे हुनेछ ।

उपाय एक मात्र छ, समाजको उल्लेख्य हिस्साले यस्ता संस्थाको उपादेयता गहिरो गरी महसुस गर्नेछ र समाजले यसलाई टिकाउनेछ भन्ने विश्वासका आडमा जोखिम मोलेर काम सुरु गर्ने । अनेक कारणले असफल भइएछ भने सिकाइ र अनुभव भयो भनेर चित्त बुझाउन सक्ने सामर्थ्य भएकाले मात्रै यस्तो सुरुआत गर्न सक्लान् । त्यसो त सुरुआत मात्रै गर्न पनि एकदुई मान्छे लागेर पुग्दैन । सानै सही एउटा समूह नै इमानदारी र पूर्ण लगन साथ यसमा खटिनुपर्छ । सयौं निजी आवश्यकता र स्वार्थलाई बेवास्ता गरेर अघि बढ्न सक्नुपर्छ ।

सपनाको दोभान अक्करिलो छ । अहिले देखेको सपना, अहिले नै पूरा नहुन सक्छ । जसले सपना देख्यो, उसैले त्यो यथार्थमा बदल्नुपर्छ भन्ने पनि केही छैन । सपनाको सञ्चयन मात्रै भइरहे, त्यो अझै पाकेर उन्नत हुन सक्छ । कसैले कुनै दिन सपनाभन्दा अझ सुन्दर यथार्थ बनाएर यसको उपादेयता प्रमाणित गरिदिन सक्छ । सपनासँगै आशा हुर्काउनुमा के हानि छ र ?

प्रकाशित : असार १७, २०७९ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?