२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

त्रिचन्द्र कलेजको खुम्चिँदो साख

पदमसिंह कार्की

१९७५ भदौ ५ गते प्रधानमन्त्री चन्द्रशमशेरले त्रिचन्द्र कलेजको उद्घाटन गरेका थिए । प्रारम्भमा आईएतर्फ संस्कृत, इतिहास र दर्शन साथै अंग्रेजी र नेपाली भाषा, विज्ञानमा भौतिक रसायन र गणित राखिएको थियो । संस्थापक प्रधानाध्यापक वटुककृष्ण मैत्री बंगाली थिए ।

त्रिचन्द्र कलेजको खुम्चिँदो साख

पछि नरेन्द्रमणि दीक्षित र रुद्रराज पाण्डे उनका उत्तराधिकारी भए । भूगोल विषय २००४ सालमा थपियो । यसै सालबाट बीएस्सी, भौतिक समूहको पठन–पाठन सुरु गरियो भने वनस्पति र प्राणीशास्त्रको स्नातक तहको पढाइ २००७ बाट सुरु भयो । २०११ सालमा वाणिज्य संकाय सुरु गर्ने श्रेय ईश्वरीलाल श्रेष्ठलाई जान्छ । त्यसपछिका वर्षहरूमा क्रमशः तथ्यांकशास्त्र, भूगर्भशास्त्र, जलवायु विज्ञान, माइक्रोबायोलोजी, वातावरण र समाजशास्त्र थपियो । ७० हजार रुपैयाँमा १४ महिनामा निर्माण भएको मूल भवनको हालत अहिले दयनीय छ । छाना टाल्न सकिएको छैन, आँगनभरि झार उम्रिएका छन् । कुनै बेला त्रिभुवन विश्वविद्यालयकै जननीका रूपमा रहेको यो ज्ञान मन्दिर अहिले उसैको आंगिक क्याम्पस भएर मस्जिद, सिनेमाहल र बसस्टपको कोलाहलमा हराएको छ, जीर्ण र रुग्ण चोला फेर्न व्यग्र छ ।

सहिद जन्माउने कलेज

त्रिचन्द्र कलेजका गंगालाल श्रेष्ठ र ठाकुर दशरथ चन्द मात्र होइन लक्ष्मीनन्दन चालिसे पनि सहिद बने । महाकवि लक्ष्मीप्रसाद देवकोटा, क्रान्तिकारी कवि गोपालप्रसाद रिमाल र नाटककार बालकृष्ण समले पनि यहीँ पढे । यदुनाथ खनाल, डिल्लीरमण रेग्मी, ईश्वर बराल, भुवनलाल जोशी, महेशचन्द्र रेग्मीजस्ता विद्वान् यही कलेजका शोभा हुन् । राजनीति, प्रशासन लगायत क्षेत्रमा पनि यस्तै सफल व्यक्तिहरू यहीँका उत्पादन थिए ।

आन्दोलनमा अब्बल

२००४ सालमा प्रथम कवि सम्मेलन गरेको त्रिचन्द्र कलेजबाटै लाइब्रेरीकाण्डको सूत्रपात भएको थियो । त्यसपछिका मुख्यमुख्य राजनीतिक आन्दोलनको जग पनि यही कलेज थियो । यहीँका विद्यार्थीहरूको अहम् भूमिका थियो । गिर्दो शैक्षिकस्तरप्रति त्रिचन्द्रका अवकाशप्राप्त प्राध्यापक राजेश गौतमको अनुभूति छ, ‘हिजो यहाँ अध्ययन गर्ने विद्यार्थी तथा अध्यापनमा संलग्न हुनेहरू शिक्षामुखी हुन्थे । आज दुवैथरी राजनीति र दलमुखी बढी भएका छन् । जबसम्म शैक्षिक केन्द्रमा बस्नेहरूले राजनीतिक सिद्धान्तलाई महत्त्व दिन्छन्, तबसम्म शिक्षाको विकास हुन सक्दैन ।’

खुम्चेको साँधसीमा

गेहेन्द्रशमशेरको जग्गामा बनेको त्रिचन्द्र कलेजमाथि विभिन्न बहानामा अतिक्रमण गरेर साँधसीमा मिच्ने र ताछ्ने काम भएको छ । सार्क सम्मेलनको निहुँमा महानगरले कलेजलाई दुई फ्याक पारिदियो । चारैतिर सडक विस्तार गर्ने नाममा तीन रोपनीभन्दा बढी जमिन मास्यो । भक्तपुर बसस्टप अगाडिको रेडक्रस भवनले चर्चेको जग्गा र लैनचौर खानी विभाग पछाडिको सहिद पार्कमा करिब चार रोपनी जग्गा अलपत्र छ । जमलमा भएका आवासगृह पनि सरकारले राष्ट्रिय पुस्तकालयलाई दियो । त्यसै त थोरै जग्गा, सबैको तारो बन्दाबन्दै कलेजको क्षेत्रफल पनि निकै कम भइसकेको छ ।

नेपालको उच्च शिक्षाको धरोहर मानिएको यो कलेजले अहिले कक्षाकोठामा भरपर्दो ओत पनि दिन सकेको छैन । मानविकीका २४ मध्ये १४ विषय र बीएस्सीका सबै बिषयको पढाइ हुने यो कलेजमा करिब १५० पूर्णकालीन शिक्षक तथा १३५ कर्मचारी छन् । पटना विश्वविद्यालयको स्वीकृतिमा ८ जना विद्यार्थीले सुरु गरेको कलेजमा हाल चार सिफ्ट गरेर १० हजारभन्दा बढी विद्यार्थी अध्यनरत छन् । घण्टाघर दक्षिणको पूर्णभवन नै अस्तित्वहीन हुने अवस्थामा छ, अन्य भवन पनि भूकम्पले थिलथिलो पारेको छ । त्यसैले त, अहिले विद्यार्थीहरूले झरीमा रुझ्दै कक्षाकोठा छोडेर सडकमा आउन बाध्य भएका छन् ।

चन्द्रशमशेरको बन्चरो

कलेजको उद्घाटनका साक्षी राममणि आदिले आफ्नो सस्मरण अनुसार चन्द्रशमशेरले यस्तो भनेका रहेछन्, ‘हेर, आजको दिन नेपालका (राणा परिवार) निमित खुसीको दिन आउने हो वा नेपालको सर्वनाश गर्ने दिन आउने हो त्यसको केहि ठेगान छैन । त्यो कलेज खुल्नाको परिणाममा नेपालको असल होला भन्ने त म देख्दिन । काल बषत बेलाले मैले यो काम गर्नु परन आएको मात्र हो ।’ यसरी अन्तर्राष्ट्रिय दबाबका कारण कलेज खोलेको पुष्टि गर्दै कलेज स्थापना गरेकै दिन चन्द्रशमशेरले आफ्नो खुट्टामा बन्चरो हानेको कथन जगजाहेर भयो । उनको बन्चरोले उनकै निरंकुश सत्ताको शिरोच्छेदन मात्र नगरी नेपालको प्रजातान्त्रिक आन्दोलनको झोलुंगोका रूपमा अद्यापि झुलिरहेको छ । २०२२ सालमा पञ्चायतलाई शेरबहादुर देउवा, मार्सलजुलुम र गोविन्दमान र निर्मल अर्यालहरूले कलेजमा धरान थापेर आरा लाउँदा र दिनहुँजसो प्रजातन्त्रको नारा घन्काउँदा मैले पनि स्वर थपेको छु ।

झन् २०४६ सालको सम्पूर्ण आन्दोलन, चाहे एकेडेमीको होस् वा नारायणहिटीविरुद्ध होस् त्रिचन्द्र कलेज नै खनिन्थ्यो । आन्दोलनको भुंग्रोमा बहुदलको थुप्रै रोटी सेकेर सत्तामा पुगे पनि विद्यार्थीको पठनपाठनमा सुधार भएन । दलहरूले झन् झोले बनाए । जतिजति आन्दोलन उत्कर्षमा पुग्छ उतिउति अध्ययन र अध्यापन ओरालो लाग्छ ।

औसरैऔसरको विकल्प

कालो बादलमा चाँदीको घेरा भनेझैं शताब्दी कलेजले पनि औसरको ढोका खुलै राखेको छ । मूल भवनलाई पुनर्निर्माण गर्न सकिन्छ, सय वर्ष नाघिसकेकाले सम्पदा ऐन पनि आकर्षित हुन्छ र सोले निर्देश गरेअनुरूप बनाउन कठिन भए पनि असम्भव छैन । विद्यार्थी नेताहरूबीच समन्वय हुने हो भने भवन बनाउन चाहिने रकम सहयोगको वर्षा हुन बेर लाग्दैन । त्रिचन्द्रका गुरु र चेलाहरूको नगन्य दानले पनि अर्बौं नाघ्न सक्छ । अझ अहिले प्रधानमन्त्री पदमा यहीँका विद्यार्थी आसीन छन् । निष्ठापूर्वक आँट गर्ने हो भने विद्यार्थीको गर्जो टर्ने मात्र होइन विश्वकै लागि अनुकरणीय नजिर पनि हुनेछ ।

प्रकाशित : असार १७, २०७९ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?