२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

उफ ! गृहस्थ जीवन

घरायसी जिम्मेवारी पूरा गरेबापत प्रत्यक्ष आय आर्जन भएको नदेखिँदा गृहिणीले परिवारका लागि खर्चिएको श्रमको अवमूल्यन मात्र होइन, परिवारको नाममा आफ्नो भविष्यलाई बन्धकी राखी उनीहरूले गरेको योगदान र समर्पणलाई समेत नजरअन्दाज गरिन्छ ।
कल्पना भण्डारी

‘जीवन अवसर हो, यसको फाइदा लिनुहोस्; जीवन सुन्दरता हो प्रशंसा गर्नुहोस्; जीवन सपना हो, महसुस गर्नुहोस्; जीवन चुनौती हो, सामना गर्नुहोस्; जीवन वाचा हो, पूरा गर्नुहोस्; जीवन पीडा हो यसलाई जित्नुहोस्; जीवन गीत हो, यसलाई गाउनुहोस्; जीवन संघर्ष हो, यसलाई स्विकार्नुहोस्’ मदर टेरेसाका यी कथनलाई मनन गर्ने हो भने मानव जीवन सृष्टिकै एक सुन्दरतम, अतुलनीय र अद्भुत यथार्थ हो । 

उफ ! गृहस्थ जीवन

विभिन्न शास्त्रमा जीवनलाई चार भागमा विभाजित गरेको पाइन्छ, सुरुका २५ वर्षसम्मको उमेरलाई ब्रह्मचर्य अर्थात् भावी जीवनको तयारीका लागि अनुशासनमा बस्ने अवस्था भनिएको छ । २५ देखि ५० वर्षसम्मको उमेर नै गृहस्थ जीवन हो, यसलाई उत्पादन र उपभोगको अवस्थाका रूपमा व्याख्या गरिएको छ । त्यसै गरी, ५० देखि ७५ वर्षसम्मको उमेरलाई वानप्रस्थ अर्थात् ज्ञान र अनुभव सामञ्जस्यको अवस्था तथा जीवनको उत्तरार्द्धलाई वा ७५ वर्षभन्दा माथिको अवधिलाई संन्यास, जसलाई आत्मकल्याणको अवस्था भनेर शास्त्रमा उल्लेख गरेको पाइन्छ ।

घरेलु जीवन र जीवनको सक्रिय अवस्था नै गृहस्थ जीवन हो । गृहस्थ जीवन सहज नहुँदा संसारमा मानसिक रोगीहरूको संख्या दिनानुदिन बढ्दो क्रममा छ भने अर्कातिर गृहस्थ जीवनबाट थाकेर मानिसमा आएको वितृष्णाले आत्महत्याको दर पनि डरलाग्दो नै छ । गृहस्थ जीवनमा दम्पतीहरूबीच हुने खटपट र बेमेलले गर्दा पारपाचुकेको दर पनि बर्सेनि बढ्ने क्रममै छ । सोचेजस्तो अनुकूल अवस्था नहुनु, सन्तान सुख नहुनु, आर्थिक र सामाजिक पक्ष सबल नहुनुजस्ता कारणले पनि गृहस्थ जीवनमा उथलपुथल ल्याउने गर्छ ।

हाम्रो सामाजिक तथा पारिवारिक संरचनामा गृहस्थ जीवनको आधा पाटो अथवा भनौं परिवारको लालनपालन, वृद्ध सदस्यहरूको स्याहार–सुसार, रेखदेख र घरायसी अन्य कार्य गृहिणीका रूपमा घर सम्हाल्ने महिला सदस्यको जिम्मामा हुन्छ । तथापि, घरायसी जिम्मेवारी पूरा गरेबापत प्रत्यक्ष आय आर्जन भएको नदेखिँदा गृहिणीले परिवारका लागि खर्चिएको श्रमको अवमूल्यन मात्र होइन, परिवारको नाममा आफ्नो भविष्यलाई बन्धकी राखी उनीहरूले गरेको योगदान र समर्पणलाई समेत नजरअन्दाज गरिन्छ । यसले गर्दा गृहिणी महिलामा नैराश्य उत्पन्न भई शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पर्नुका साथै पारिवारिक सन्तुलन खलबलिनेसम्मको जोखिम हुन्छ भने गृहस्थ जीवनमा प्रतिकूल असर पर्न जान्छ ।

पुरुषलाई पनि गृहस्थ जीवन त्यति सहज छैन । हाम्रोजस्तो मुलुकमा आर्थिक अभिभारा अझै पनि बहुसंख्यक पुरुषले नै धानिरहेका छन् भने आर्थिक रूपमा काँध मिलाउन महिलाहरू पनि भरमग्दुर प्रयास गरिरहेका नै छन् । आर्थिक व्यवस्थापन गरेपछि पुरुषले आफ्नो कर्तव्य पूरा भयो भन्ने मानसिकता त्याग्न नसक्दा पनि गृहस्थ जीवन असफल भएका घटनाहरू धेरै छन् । पुरुषको तुलनामा महिलाहरूलाई गृहस्थ जीवन फलामको च्युरा चपाउनुसरह नै हुन्छ । आयआर्जन गर्ने महिलाहरूको तुलनामा आयआर्जन नगर्ने महिलाहरू त झन् धेरै पीडित हुन्छन्, गृहस्थ जीवनमा । कमाउने श्रीमान्लाई भन्दा व्यवस्थित तरिकाले खर्च गर्न श्रीमतीहरूलाई अझ सकसपूर्ण हुन्छ । गृहस्थ जीवन सहज र सरल नहुँदा आउने उकुसमुकुस र छटपटीले मानिस विक्षिप्त हुनपुग्छ र अनेक प्रकारका अप्रिय निर्णय गर्न पनि पछि पर्दैनन् । बढ्दो महँगी, बेरोजगारी समस्या, अपराध, हिंसाका कारणले पनि गृहस्थ जीवनलाई असर पारेको विभिन्न अध्ययनले देखाएका छन् । एकअर्काको भावना नबुझ्दा वा भावनाको सम्मान नहुँदा गृहस्थ जीवन बिथोलिन पुग्छ । जति नै तालमेल मिलाउन खोज्दा पनि कैयौंपल्ट गृहस्थ जीवनदेखि वितृष्णा, वैराग्य जाग्नु स्वाभाविक हो । परिवार र आफन्तजनमा सबैको चित्त बुझाएर खुसी राख्न सक्नु असम्भवप्रायः छ ।

नातिनातिना पुस्तादेखि हजुरबुबा, हजुरआमा पुस्तासम्म एउटै परिवारमा समेटिने हाम्रोजस्तो संयुक्त पारिवारिक संरचना भएको समाजमा र सूचना सञ्चार तथा प्रविधिको तीव्र विकासका कारण पुस्ताबीच निकै अन्तराल देखिन्छ । यस्ता अन्तरालहरूलाई सम्बोधन गर्दे सहज तरिकाले पारिवारिक सन्तुलन कायम गर्न साँच्चीकै चुनौतीपूर्ण छ । यसलाई सही तरिकाले व्यवस्थापन गर्न सकिएन भने पनि गृहस्थ जीवन जटिल बन्न जान्छ ।

गृहस्थ जीवनलाई स्वस्थ, सुखी बनाउन हामीले केही असल बानीको विकास गर्न सक्यौं भने जीवनरथलाई सहजै अगाडि बढाउन सक्षम हुन्छौं । हरबखत आफूलाई शारीरिक वा मानसिक रूपमा क्रियाशील राख्नाले उत्साह, जोस–जाँगर आउँछ र सकारात्मक सोचाइको विकास हुन्छ जसले गर्दा शारीरिक र मानसिक स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल प्रभावबाट बच्न सकिन्छ । स्वस्थ शरीर हाम्रो सम्पत्ति हो, जसको कारणले भित्र शान्ति बाहिर प्रगति हुन्छ । सहयोग र सेवा गर्ने भावनाको विकास गर्न सके परिवारमा प्रेम उजागर हुन्छ, प्रेमबिनाको गृहस्थ जीवन विषाक्त बन्न जान्छ ।

भौतिक आवश्यकता पूरा हुनु मात्र जीवन सफल हुनु हैन । जीवन सफल बनाउन इज्जत, सम्मान, श्रद्धा, सेवाभाव, सहयोग, माधुर्यता, पारिवारिक प्रेमको पनि आवश्यकता पर्छ । प्रेमलाई जोगाउन सहयोग अनिवार्य छ, सहयोगबिनाको प्रेम कहिले पनि सफल हुँदैन । प्रेम, सद्भाव, सहयोग, समर्पण र विश्वासले नै घरायसी वातावरण सुन्दर र आकर्षक बन्छ र घर घर नभई मन्दिरमा परिणत हुन्छ । सद्गुणले भरिएको सुन्दर मनभित्र भगवान्को बास हुन्छ । परिवारमा भएको योगदानको उचित मूल्यांकन र कदर सही तरिकाले भएमा स्वस्थ गृहस्थ जीवनको परिकल्पना गर्न सकिन्छ । त्यसरी नै आफ्नो मनलाई अधीनमा राखी अन्तरमनले अह्राएको काम विवेकपूर्ण तरिकाले गर्नाले पक्कै पनि परिवारमा सौहार्दता पैदा हुन्छ । मानिसहरू स्वअनुशासित भएनन् भने अराजक हुन जान्छन् र अराजकताले गृहस्थ जीवनलाई तहसनहस पार्न सक्छ । त्यसैले मन, वचन र कर्मको माध्यमबाट आ–आफ्नो गृहस्थ जीवन सफल पार्ने कोसिस गनुपर्छ । एउटा गृहस्थ जीवन सफल हुनु परिवार सफल हुनु हो, सफल परिवारहरूको संयोजनबाट सफल समाजको निर्माण हुन्छ र यो नै सफल राष्ट्रको आधारशिला हो ।

प्रकाशित : असार १६, २०७९ ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?