२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

फोहोर व्यवस्थापनमा मनोविज्ञान

सफा सहरले यहाँ जथाभावी फोहोर फाल्न हुँदैन भन्ने संकेत दिइरहेको हुन्छ, जसले गर्दा त्यहाँ हत्पती कसैले फोहोर फाल्ने आँट गर्दैन । तर गल्ली–गल्लीमा फोहोर थुप्रने सहरले यहाँ यसरी नै फोहोर विसर्जन गर्ने हो भन्ने सन्देश प्रसारित गरिरहेको हुन्छ ।
उत्तमबाबु श्रेष्ठ

सन् १९६९ मा स्ट्यान्फोर्ड विश्वविद्यालय, अमेरिकाका मनोविज्ञान अध्येता फिलिप जिम्बाराडो र साथीहरूले अनुसन्धानको सिलसिलामा एउटा परीक्षण गर्ने निधो गरे- नम्बर प्लेटविहीन कारको हुड खुला राखेर बाटामै मिल्काएको जस्तो गरी अमेरिकाका दुई सहरमा छाड्ने र त्यसपछिको नतिजा हेर्ने ।

फोहोर व्यवस्थापनमा मनोविज्ञान

योजना मुताविक एउटा कार न्युयोर्क सहरको अत्यधिक अपराध हुने टोलमा र अर्को कार क्यालिफोर्निया सहरको कम अपराध हुने टोलमा छाडियो । छाडिएको केही मिनेटमै न्युयोर्कको बस्तीमा राखिएको कारलाई मानिसहरूले घेरे । उनीहरूले निमेषभरमै कारलाई तोडफोड गरे र बेच्न मिल्ने पाटपुर्जा झिकेर फरार भए । तर क्यालिफोर्नियामा राखिएको कार भने हप्तौंसम्म जस्ताको तस्तै रह्यो । त्यसपछि उनीहरूले उक्त सग्लो कारको झ्याललाई फुटाए र फेरि त्यहीँ छाडिदिए । केही समयभित्रै न्युयोर्कको जस्तै क्यालिफोर्नियामा राखिएको कार पनि तोडफोड भयो र पाटपुर्जा चोरी भयो ।

फिलिपको उक्त सामाजिक परीक्षणबाट प्रभावित भएर सन् १९८२ मा दुई अध्येता जर्ज एल केलिङ र जेम्स क्यू विल्सनले ‘द एटालन्टिक’ मासिकमा ‘ब्रोकन विन्डोज’ शीर्षकको एक लामो लेखमा लेखे, ‘यदि घरको एउटा झ्याल फुटेको छ र त्यसलाई बिनामर्मत छाडियो भने उक्त घरका अन्य झ्यालहरू पनि बिस्तारै फुट्दै जान्छन् ।’ भद्रगोलले अराजकता र अपराधलाई निम्ताउँछ भन्ने निष्कर्षसहितको उक्त लेख चर्चित बन्यो र त्यसको आधारमा ‘ब्रोकन विन्डोज’ नामक नयाँ सिद्घान्त जन्मियो । केलिङले फुटेको झ्याल कसरी टाल्ने भन्दै ‘फिक्सिङ ब्रोकन विन्डोज : रिस्टोरीङ अर्डर एन्ड रिडिउसिङ क्राइम इन आवर कम्युनिटिज’ नामक पुस्तक लेखे । ‘ब्रोकन विन्डोज थ्योरी’ लाई आधार मानेर ‘समाजमा अमनचयन राख्न फुटेका झ्यालहरू टाल्ने’ उपाय सहरी अपराध नियन्त्रणमा लागू गर्न थालियो । न्युयोर्कका चर्चित मेयर रुडी गिलियानीले त्यसलाई मन्त्र बनाएर सहरी अपराध नियन्त्रणका लागि सार्वजनिक रूपमै रक्सी खाने, खुला ठाउँमा पिसाब फेर्ने, ट्रेनको भाडा नतिर्नेलाई ‘घरको झ्याल फुटाएको’ ठानेर नियन्त्रण गर्न लगाए । नभन्दै न्युयोर्कको अपराध दर घट्यो । केलिङ अन्य अमेरिकी सहरहरूमा पनि अपराध–नियन्त्रण परामर्शदाताको रूपमा नियुक्त भए । तर उक्त सिद्घान्तमा थप अनुसन्धान हुँदा पछिल्ला अध्ययनहरूले अपराध नियन्त्रणमा न्युयोर्कमा अपनाइएको ‘फुटेको झ्याल टाल्ने मोडल’ गलत भएको भन्दै उक्त सैद्घान्तिक मान्यतालाई खारेज गरिदिएका छन् ।

फोहोर सामाजिक मान्यता बनेपछि

अपराध नियन्त्रणमा एउटा फुटेको झ्याल मर्मत नगर्दा अन्य झ्याल फुट्छन् भन्ने मान्यता कामयावी नभए तापनि सहरी क्षेत्रमा गरिएका फोहोर सम्बन्धी अनुसन्धानहरूले देखाएका छन्- जथाभावी फालिएको थोरै फोहोरले, थप फोहोर निम्त्याउँछ र अन्ततः त्यसले सहरलाई नै फोहोरी बनाउँछ । जर्मनीको एक विश्वविद्यालयमा अध्येताहरूले विश्वविद्यालय हातामा राखिएका बेन्चहरूमध्ये केहीमा चुरोटका ठुटाहरू छरे, केहीलाई सफा राखे र मानिसहरूको गतिविधि नियाले । नतिजा चुरोट छरिएका बेन्चमा नयाँ चुरोटका ठुटाहरू फालिने क्रम सफा बेन्चमा भन्दा बढी पाइयो । अन्य अनुसन्धानहरूले पनि थोरै फोहोरले थप फोहोर निम्त्याउने र सफाइले थप सफाइ ल्याउने देखाएका छन् । नेपालको भरतपुर र बंगलादेशको सिलेट सहरमा मणि नेपाल र विशाल भारद्वाजले गरेको अनुसन्धानले पनि सहरी क्षेत्रहरूमा बटुवाहरूलाई फोहोर फ्याक्न सहज हुने गरी स–साना टोकरी राख्दा फोहोर व्यवस्थापनमा सहयोग पुगेको देखाएको थियो ।

सफा सहरमा सफाइ सामाजिक मान्यता बन्छ भने फोहोर सहरमा फोहोर । मानिसले अवलम्बन गर्ने आनीबानी सम्बन्धित ठाउँमा विद्यमान सामाजिक मान्यताअनुरूप हुने गर्छ । सफा सहरले यहाँ जथाभावी फोहोर फाल्न हुँदैन भन्ने संकेत मानिसहरूलाई दिइरहेको हुन्छ, जसले गर्दा मानिसले त्यहाँ हत्पती फोहोर फाल्ने आँट गर्दैनन् । तर गल्ली–गल्लीमा फोहोर थुप्रने सहरले मानिसहरूलाई यहाँ यसरी नै फोहोर विसर्जन गर्ने हो भन्ने सन्देश प्रसारित गर्छ, जसले फोहोर त्यसरी फाल्न सबैलाई अप्रत्यक्ष उत्प्रेरणा दिन्छ र त्यो त्यहाँको सामाजिक मान्यता बन्छ । सम्भवतः उपत्यका लगायतका नेपालका सहरका चोक–गल्लीमा एकपल्ट थुप्रिएका थोरै फोहोरका पोकाहरू बिस्तारै सानातिना पहाडहरूमै परिणत हुनुमा यही मनोवैज्ञानिक संकेत (क्लु) ले काम गरेको हुनु पर्छ ।

सामाजिक मान्यता बदल्ने गुप्त उपाय

मानिसको आनीबानी हत्पती फेरिँदैन । आनीबानी भनेको सोचविचार र मनन नगरीकनै स्वचालित हिसाबले तत्कालै गरिने अविवेकी मानवीय क्रियाकलापहरूको गठजोड हो । मानिसको मस्तिष्कको तौल शरीरको तौलको तुलनामा करिब ४० गुणा कम अर्थात् लगभग १३०० ग्राम हुन्छ तर मस्तिष्कले शरीरले ग्रहण गरेको कुल ऊर्जाको २० प्रतिशत एक्लैले खपत गर्छ । त्यसकारण मानिसको मस्तिष्कले हरेक कुरा सोचेर, विचार गरेर गर्दा शरीरको ऊर्जा बढी खपत हुने भएकाले तारन्तार गरिइरहने कामहरूलाई स्वचालित बनाउँछ । त्यसो गर्दा शरीरको ऊर्जा जोगिन्छ । बिहान दाँत माझ्ने, पटकपटक फोन हेर्ने, सञ्जाल चहार्नेजस्ता कामहरू मानिसले त्यसका फाइदा–बेफाइदाको विश्लेषण नगरी, नघोत्लिई स्वचालित रूपमा गर्ने क्रियाकलाप हुन् । त्यसकारण जथाभावी फोहोर फाल्नेजस्ता अविवेकी मानवीय आनीबानीमा फेरबदल ल्याउन आनीबानी निर्माणको चरित्र र चालक बुझ्न जरुरी हुन्छ ।

फोहोर मानिसको आवश्यकता र चाहनाले निर्मित वस्तु हो । फोहोरको उत्पादन, उपभोग र विर्सजन मानवीय निर्णयहरूका परिणाम हुन् । जस्तै ः जथाभावी फोहोर फाल्ने, स्रोतमै कम फोहोर उत्पादन हुनेगरी प्लास्टिकको झोलाको प्रयोग गर्ने/नगर्ने, फोहोरलाई कुहिने र नकुहिनेमा छुट्याउने वा घरमै कम्पोस्टिङ गर्ने काम सबै मानवीय निर्णयका उपजहरू हुन् । यस्ता मानवीय निर्णयहरू स्वचालित रूपमा अञ्जानमै भएका हुन्छन् जसलाई हामीले आनीबानी भन्छौं । मानिसले जथाभावी फोहोर फाल्नुअघि म के गरिरहेको छु वा यस्तो काम गर्न हुन्न है भनेर विवेकसंगत सोच्ने भए, त्यसरी फोहोर फाल्ने कर्म नै गर्दैन । किनभने सफा ठाउँ सबैलाई मन पर्छ । त्यसैले मानिसको फोहोर व्यवस्थापन सम्बन्धी अविवेकी निर्णयलाई सुधार्न त्यसलाई असर पार्ने वरपरका प्रत्यक्ष वा अप्रत्यक्ष संकेतहरू बदल्न जरुरी छ, ताकि तोकिएको ठाउँमा फोहोर फाल्ने, फोहोरको वर्गीकरण गर्ने काम नयाँ सामाजिक मान्यताका रूपमा फेरियोस् ।

वरपरको वातावरणमा सानो फेरबदल गरिदिँदा कतिपय मानवीय आनीबानी फेरिएर चाहेको नतिजा प्राप्त गर्न सकिन्छ । उदाहरणका लागि बुफेमा सानो साइजको प्लेट राख्दा खाना फालिने परिमाण उल्लेख्य घट्छ । फोहोरसँग सम्बन्धित मानवीय आनीबानीका पछाडि त्यसलाई प्रत्यक्ष वा परोक्ष रूपमा उक्साउने वा उत्प्रेरित गर्ने तत्त्व विद्यमान हुन्छन् । जस्तै ः केही दशक पहिलेसम्म मानिसले प्लास्टिकका झोला प्रयोग गर्दैनथे । अहिले त्यो अपरिहार्यजस्तै छ । त्यसको पछाडि बजारमा प्लास्टिकको झोलाको प्रचुरताले काम गरेको छ । अहिले ग्राहकले सामान खरिदसँगै प्रयोग गरेको केही मिनेटमै फोहोरमा रूपान्तरण हुने प्लास्टिक झोला सित्तैमा, तत्कालै र सजिलोसँगै पाउँछ । त्यसो भएपछि उसले घरबाट झोला बोक्ने झन्झट किन गरोस् !

पसले र ग्राहकबीचमा हुने झोलाको त्यो स्वचालित अविवेकी विनिमयमा ग्राहकलाई विवेकी निर्णय गर्न सघाउने केही संकेत मात्रै फेरिदिने हो भने प्लास्टिकको झोलाको प्रयोग उल्लेख्य घट्ने अध्ययनहरूले देखाएका छन् । प्लास्टिकको झोला प्रयोगको निर्णयलाई विवेकसम्मत बनाउने त्यस्ता संकेतहरू झोलालाई पैसा लाग्ने बनाउने र झोलाको हानिकारक पक्षबारे ग्राहकलाई जानकारी दिने हुन सक्छन् । बेलायत र अस्ट्रेलियाका डिपार्टमेन्टल स्टोरहरूमा नेपालमा जस्तै सित्तैमा पाइने प्लास्टिकका झोलाहरूमा ५–१० पैसा (त्यहाँको मुद्राको) मूल्य राखेर, ग्राहकलाई प्लास्टिकको झोलाको पैसा पर्छ भनेर सम्झाउँदा प्लास्टिकका झोलाको प्रयोग करिब ८० प्रतिशतले घटेको थियो । सित्तैमा दिँदा पनि पसलले ग्राहकलाई घर लगेपछि फोहोरमा परिणत हुने र कुहिन सयौं वर्ष लाग्ने यो प्लास्टिकको झोला लग्नुहुन्छ र ? भन्ने हो भने त्यसले उपभोक्ताको चेतनालाई झंक्रित गराउँछ र प्लास्टिकको झोला प्रयोग गरेकामा आफैंलाई दोषी ठान्ने मानसिकताको विकास गर्न मद्दत पुग्छ । यसले प्लास्टिकको झोलाको प्रयोगमा कमी ल्याउन भूमिका खेल्न सक्छ । पछिल्लो समय हाम्रो फोहोरमा प्लास्टिकका बोतल अत्यधिक हुन्छ । प्लास्टिकका बोतलको प्रयोगको अर्थ हाम्रो धारामा पिउनयोग्य पानी आउँदैन भन्ने हो । मानिसको धेरै जमघट हुने ठाउँहरूमा पिउनयोग्य पानी भर्न मिल्ने स्टेसन राख्ने हो भने बोतल पानीको प्रयोग घटाउन सकिन्छ ।

बहुआयामिक समस्या तर एकांकी समाधान

काठमाडौं महानगरपालिकाले साउन १ गतेबाट स्रोतमै छुट्याएको फोहोर मात्रै संकलन गर्ने नियम लागू गर्दै त्यसो नगर्नेलाई जरिवाना गर्ने जनाएको छ । अहिलेसम्म वर्षौंदेखि एकमुस्ट फोहोर फाल्ने बानी लागेका राजधानीवासीलाई फोहोर नछुट्याएमा जरिवाना लगाउने उपाय महानगरले अपनाउनुअघि केही समय प्रत्येक घरको फोहोर अडिटिङ गर्ने विधि उपयुक्त हुन सक्छ । त्यो भनेको केही समय स्रोतमै फोहोर नछुट्याउने घरलाई उनीहरूको व्यवहारको जानकारी दिँदै फोहोर नछुट्याएकामा पछुताउने अवस्थाको सिर्जना गरिदिनु हो, जसले स्रोतमै फोहोर छुट्याउने विवेकी आनीबानी निर्माणमा सहयोग पुर्‍याउँछ । बिजुलीको बिलमा अघिल्ला महिनाहरूमा उठेको रकम पनि संलग्न गरेर पठाउँदा ग्राहकले बिजुली खपत घटाउने अध्ययनहरूले देखाएका छन् । जरिवानाजस्ता दण्ड–सजायको उपाय नियमक निकायसँग हुने अन्तिम अस्त्र हो । अधिकांश काठमाडौंवासीले उक्त नियम उल्लंघन गरे भने त्यसपछि के गर्ने ? महानगरसँग त्यो बेला विकल्प रहँदैन । त्यसकारण केही समय दण्डसजायभन्दा मानवीय आनीबानी फेर्ने उपायहरूको अवलम्बन गर्नु उपयुक्त हुन्छ ।

उपत्यकाको फोहोरको ५० औं वर्षदेखि नसुल्झिएको, बहुआयामिक र जटिल समस्या हो । यसलाई केही दिनभित्रै केही नियम बनाएर समाधान गर्छु भन्नु मुर्ख्याइँसिवाय केही होइन । हाल यसको समाधानमा मुख्यतः दुई उपायहरू कानुनी र प्राविधिक मात्रै अपनाइएको देखिन्छ । कानुनी उपायमा फोहोर सम्बन्धी कानुन नमान्नेलाई कारबाही गर्ने कुरा छन् भने प्राविधिक उपायमा फोहोर संकलन, ढुवानी र डम्पिङ साइटमा लगेर विसर्जन गर्ने कुरा पर्छन् । काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापनमा वार्षिक करोडौं खर्च गर्छ, साथै यहाँका बासिन्दाबाट अर्बौं उठाउँछ । तर पनि फोहोरको समस्या जस्ताको तस्तै हुनुमा बहुआयामिक जटिल समस्याको एकांकी हल खोज्नु मूल कारण हो ।

अन्त्यमा, नेपालमा फोहोर व्यवस्थापनको नियमन र प्राविधिक पक्षमा धेरै खर्च गर्ने, छलफल र बहस गर्ने गरिए तापनि यसको मनोवैज्ञानिक पाटाहरूबारे निकै कम अध्ययन र बहस हुने गरेका छन् । फोहोर व्यवस्थापनमा नियमनकारी र प्राविधिक समाधानसँगै मानव मनोविज्ञानका ससाना पक्षहरू मिसाउने हो भने त्यसले फोहोरको उत्पादन, उपयोग र विसर्जनमा हुने मानिसको अविवेकी निर्णयलाई सच्च्याई फोहोर व्यवस्थापनलाई सहज र प्रभावकारी तुल्याउन सक्छ ।

प्रकाशित : असार १६, २०७९ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

केन्द्रमा सत्ता गठबन्धन फेरबदल हुँदा प्रदेश सरकारमा समेत त्यसको असर पर्नुको सन्देश के हो ?