मदन भण्डारीले कोरेको राजनीतिको नयाँ बाटो- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मदन भण्डारीले कोरेको राजनीतिको नयाँ बाटो

आफ्नो जीवनकालमा मात्र होइन, मृत्युपछि पनि मदन भण्डारीबाट प्रतिपादित विचार तथा मान्यताले नेपाली राजनीतिलाई निरन्तर रूपमा प्रभावित गरिरहेका छन् । आज पनि नेपाली राजनीतिका संकटपूर्ण क्षणमा मानिसहरू उहाँलाई सम्झन्छन्, र भन्ने गर्छन्- मदन भण्डारी भएको भए... ।
शंकर पोखरेल

नेपालको राजनीतिमा चर्चित झापा विद्रोहको समयमा विद्रोहका गीत र कविता रचना गर्दै र सुनाउँदै गर्दा बनारसमा पढ्ने नेपाली विद्यार्थीहरूका बीचमा मदन भण्डारी सभा–समारोहमा खोजिने पात्रका रूपमा प्रकट हुनुभयो । उक्त समय बनारसमा अध्ययनरत नेपाली विद्यार्थीहरू छात्र संघका माध्यमबाट निरंकुश पञ्चायती व्यवस्थाविरुद्धको राजनीतिक अभियानमा जोडिने गर्दथे ।

बनारसमा अध्ययनरत विद्यार्थीका लागि छात्र संघ साझा संगठन थियो । तर उक्त संघको नेतृत्वमा पुग्न नेपाली कांग्रेस र नेकपा सम्बद्ध विद्यार्थीहरूका बीचमा प्रत्यक्ष चुनाव हुने गर्थ्यो । मुलुकमा निर्दलीय निरंकुश व्यवस्थाको दमनका सिकार भएकाहरूका लागि छात्र संघको नेतृत्वका लागि हुने निर्वाचन बहुदलीय शासन प्रणालीको अभ्यासको थलोजस्तै थियो । त्यही लोकतान्त्रिक परिवेशमा नै भण्डारीको राजनीतिक व्यक्तित्वको विकास भयो । त्यही परिवेशले नै उहाँलाई नेकपाका संस्थापक महासचिव पुष्पलालको सान्निध्यतामा पुर्‍यायो । पुष्पलाल समूहको सांस्कृतिक मोर्चाबाट संगठित जीवन सुरु गर्नुभएका भण्डारी मुक्तिमोर्चाका माध्यमबाट कोअर्डिनेसन केन्द्र हुँदै नेकपा (माले) को संस्थापक बन्न पुग्नुभयो । उहाँको व्यवस्थापनमा नै भूमिगत रूपमा तात्कालिक नेकपा (माले) पार्टीको पुनर्गठन भएको थियो । जुन पार्टी आज नेकपा (एमाले) का रूपमा नेपाली राजनीतिमा प्रमुख पार्टीका रूपमा स्थापित छ ।

नेपाली राजनीतिमा मदन भण्डारी धेरैका लागि ज्वारभाटाका रूपमा अचानक प्रकट हुनुभयो र रहस्यमय दासढुंगा जिप दुर्घटनाबाट त्यसरी नै अस्ताउनुभयो । उहाँ खुला राजनीतिमा आएदेखि नै दन्त्यकथाको नायकझैं नेपाली राजनीतिमा छाइरहनुभयो । संविधान जारी भएपछि जनसभामार्फत खुला हुनु भएका मदन भण्डारी चार वर्षभन्दा कम समयमै नेपाली जनताका बीचमा सर्वाधिक लोकप्रिय नेताका रूपमा स्थापित हुनुभयो । ताप्लेजुङको ढुंगेसाँघुमा जन्मनुभएका भण्डारी चितवनको दासढुंगामा भएको षड्यन्त्रपूर्ण जिप दुर्घटनाबाट अल्पायुमा हामीबाट सदाका लागि बिदा हुनुभयो । षड्यन्त्रपूर्ण हत्या भएको तीन दशक पुग्न लाग्दा पनि नेपाली राजनीतिमा उहाँ सर्वाधिक सम्झना गरिने नेपाली नेताहरूमा पर्नुहुन्छ । आफ्नो

सक्रिय राजनीतिक जीवनकालमा मात्र होइन, मृत्युपछि पनि उहाँबाट प्रतिपादित विचार तथा मान्यताले नेपाली राजनीतिलाई निरन्तर रूपमा प्रभावित गरिरहेका छन् । दुई दशकपहिले बीबीसी नेपाली सेवाले गरेको एक अनलाइन सर्वेक्षणबाट गएको सय वर्षमा नेपाली समाजलाई सर्वाधिक प्रभाव पार्ने नेताका रूपमा उहाँ सर्वाधिक व्यक्तिका छनोटमा पर्नुभएको थियो । आज पनि नेपाली राजनीतिका संकटपूर्ण क्षणमा मानिसहरू उहाँलाई सम्झन्छन्, र भन्ने गर्छन्- मदन भण्डारी भएको भए... ।

भण्डारीले नेपाली राजनीतिका गतिरोधहरूलाई छिचोलेर नयाँ दिशा प्रदान गर्ने कुरामा वैचारिक र राजनीतिक नेतृत्व प्रदान गर्नुभयो । सात सालको राजनीतिक क्रान्ति नेपालको इतिहासमा एउटा ऐतिहासिक परिघटना थियो । जहानियाँ राणा शासनविरुद्धको सशस्त्र संघर्षले सफलता हासिल गरिरहेका बेलामा त्रिपक्षीय दिल्ली सम्झौताका रूपमा त्यसलाई अपूर्ण बनाउने काम भयो । २००७ सालको जनक्रान्तिमा जसका विरुद्ध आन्दोलनको उद्घोष गरियो, हतियार उठाइयो, उसैलाई प्रधानमन्त्री स्वीकार गर्ने विषय आन्दोलनकारीहरूका लागि स्वीकार्य हुनै सक्दैनथ्यो । आन्दोलनकारी शक्तिहरूका बीचको अन्तरविरोधको जगमा शक्ति केन्द्रहरूले खेल्ने मौका पाए । परिणामस्वरूप पहिलो आम निर्वाचनमा दुईतिहाइ बहुमत पाउन सफल नेपाली कांग्रेस नेतृत्वको सरकार छोटो समयमा नै शाही ‘कू’ को सिकार भयो । २०१७ पुस १ गतेको कालो दिनका रूपमा चर्चामा रहेको प्रतिगमनविरुद्धको संघर्ष नेपालमा तीन दशकसम्म चल्यो । नेकपाका संस्थापक नेता पुष्पलालले निरंकुश पञ्चायतका विरुद्धमा संयुक्त जनआन्दोलनको नीति सुरुमै अघि सार्नुभएको थियो । तर त्यसलाई बीपी कोइराला नेतृत्वको नेपाली कांग्रेसले स्विकार्न सकेन । परिणामस्वरूप पुष्पलाल र बीपी दुवैले निरंकुशताविरुद्धको संघर्षमा आफ्नो सम्पूर्ण जीवन समर्पण त गर्नुभयो, तर सफलता पाउन सक्नुभएन । नेपाली राजनीतिमा मदन भण्डारीको भूमिका नेपाली राजनीतिको यही असफलताको विन्दुबाट अघि बढेको मान्न सकिन्छ ।

पुष्पलाल समूहबाट विद्रोह, झापा विद्रोहका नाममा चर्चित धारासँगको एकता, नेकपा (माले) को गठन, नेकपा (माले) लाई उग्रवामपन्थी जडताबाट बाहिर निकाल्न गरिएको वैचारिक र राजनीतिक संघर्षका क्रममा नै भण्डारीको राजनीतिक व्यक्तित्वले नेपाली राजनीतिमा प्रस्फुटन हुने अवसर पायो । सोही समयमा २०४६ सालको भदौमा आयोजना गरिएको नेकपा (माले) को चौथो महाधिवेशले अवलम्बन गरेको नीति र सोही अधिवेशनबाट उक्त पार्टीको महासचिवका रूपमा मदन भण्डारीको उदय नेपाली राजनीतिलाई नयाँ मोड दिने आधार बन्न पुगेका थिए ।

महासचिवका रूपमा भण्डारीले तत्कालीन नेकपा (माले) लाई वामपन्थी दलहरूका साथै नेपाली कांग्रेससँगको सहकार्यतर्फ अग्रसर बनाउनुभयो । त्यसका लागि उहाँले कमरेड पुष्पलालले अघि सार्नुभएको संयुक्त जनआन्दोलनको नीतिमा जोड दिनुभयो । उक्त नीति पुष्पलालको जीवनकालमा सफल हुन नसक्नुको प्रमुख कारण खोजी गर्नुभयो । त्यस सन्दर्भमा उहाँको निष्कर्ष थियो, सही नीति अवलम्बन गरेर मात्र पुग्दैन, त्यसलाई कार्यान्वयनमा लैजान सोही अनुसारको सामर्थ्यको विकास र पहकदमीको आवश्यकता पर्छ । सोही अनुसार उहाँले नेकपा (माले) लाई आन्दोलनको खुला मोर्चामा प्रभावकारी बनाउने कार्ययोजना अघि बढाउनुभयो । संयुक्त जनआन्दोलनका लागि कांग्रेसलाई तयार बनाउने नीति लिनुभयो । त्यसका लागि नेपाली कांग्रेसका सर्वमान्य नेता गणेशमान सिंहसँगको सम्पर्कलाई विशेष जोड दिनुभयो ।

उहाँले नै गणेशमानसँगको परामर्शपछि छरिएर रहेका वामपन्थी शक्तिलाई वाममोर्चामा आबद्ध गर्ने नीति अघि बढाउनुभयो । वाममोर्चा र नेपाली कांग्रेसबीच एजेन्डामा आधारित कार्यगत एकतामा जोड दिनुभयो । परिणामस्वरूप ०४६ सालमा आएर मदन भण्डारीको अग्रसरतामा पुष्पलालले अघि सार्नुभएको संयुक्त जनआन्दोलनको नीतिले सार्थकता पाउन सक्यो । ०४६ सालको ऐतिहासिक जनआन्दोलनको अग्रमोर्चामा नेपाली कांग्रेसका शीर्ष नेता र वाममोर्चाको नेतृत्वमा रहनुभएका नेताहरू देखिनुभयो । भित्री रूपमा भने संयुक्त जनआन्दोलनको मार्गद्रष्टाको भूमिकामा भण्डारी रहनुभयो, तर उहाँले आफ्नो त्यो भूमिकालाई कहिलै चर्चामा ल्याउन चाहनुभएन ।

भण्डारीको भूमिका जनआन्दोलनको उतारचढावलाई सही दिशा प्रदान गर्ने कुरामा समेत महत्त्वपूर्ण थियो । पञ्चहरूको नेतृत्वमा गठन भएको अन्तरिम सरकार र संविधान सुझावका लागि राजाका तर्फबाट एकतर्फी रूपमा गठन गरिएको शाही आयोगलाई अस्वीकार गर्ने कुरादेखि लिएर त्यसलाई सही दिशामा पुर्‍याउन उहाँले लिनुभएको अग्रसरता अहम् रह्यो । त्यति मात्र होइन, राजनीतिक दलको सहभागितामा गठन भएको मस्यौदा आयोगलाई जनआन्दोलनको भावनाअनुरूप संविधानको मस्यौदा तयार पार्न तात्कालिक नेकपा (माले) का तर्फबाट प्रभावकारी भूमिका खेल्ने र दरबारिया तत्त्वबाट भएका अवाञ्छित दबाब र षड्यन्त्रलाई असफल बनाउने कुरामा पनि उहाँको भूमिका विशेष थियो । त्रिपक्षीय संघर्षको रस्साकस्सीबाट तयार भएको नेपाल अधिराज्यको संविधान २०४७ नेकपा (माले) को सोचअनुरूप नरहँदा नरहँदै पनि उहाँले प्राप्त उपलब्धिको जगमा टेकेर अघि बढ्ने नीतिअनुरूप आलोचनात्मक समर्थनसहितको २७ बुँदे असहमति सार्वजनिक गर्नुभएको थियो । उक्त असहमति ०६२–०६३ को जनआन्दोलनबाट पुनःस्थापित प्रतिनिधिसभाको ऐतिहासिक घोषणाका आधार बन्न पुग्यो ।

बहुदलीय शासन व्यवस्थामा आधारित नयाँ संविधान जारी भएपछि तात्कालिक नेकपा (माले) लाई खुला गर्ने, नेपालका पुराना नेताहरूको बाहुल्य रहेको नेकपा (मार्क्सवादी) समूहसँग पार्टी एकता गर्ने र पहिलो आम निर्वाचनमा नेपाली कांग्रेसलाई देशव्यापी रूपमा टक्कर दिँदै बलियो प्रतिपक्षका रूपमा स्थापित गर्ने कुरा भण्डारीको नेतृत्व कुशलताको परिणाम थियो । उक्त निर्वाचनमा अन्तरिम सरकारका लोकप्रिय प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापतिलाई पराजित गरेर उहाँले आफूलाई एकैचोटि विश्व राजनीतिमा परिचित बनाउन सफल हुनुभयो । उक्त निर्वाचनमा उहाँ काठमाडौंका दुइटा निर्वाचन क्षेत्रमा एकैसाथ विजयी बन्नुभएको थियो । उक्त निर्वाचनमा हासिल भएको सफलता र नेपाली राजनीतिमा बढ्दै गएको लोकप्रियताले नै भन्नुपर्छ- अमेरिकाबाट प्रकाशित हुने विश्वचर्चित पत्रिका ‘न्युजविक’ ले ‘नेपालमा कार्लमार्क्स जीवित छन्’ भन्ने शीर्षकमा उहाँको अन्तर्वार्ता प्रकाशित गरेको थियो । जुन कुरा त्यतिबेलाको समयमा नेपाली राजनीतिमा निकै चर्चित रह्यो ।

नेपालको राजनीतिमा जननेता मदन भण्डारीको योगदान विचार र सिद्धान्तको प्रश्नमा नै प्रमुख रह्यो । नेकपा (एमाले) द्वारा आयोजित नेकपाको पाँचौं महधिवेशनमा उहाँले प्रस्तुत गर्नुभएको जनताको बहुदलीय जनवाद (जबज) को कार्यक्रम नेपालको राजनीतिलाई नयाँ दिशा प्रदान गर्ने मौलिक र नवीनतम विचार बन्न पुग्यो । विश्व कम्युनिस्ट आन्दोलनका अनुभव, शोभियत मोडेलको समाजवादको असफलता, नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपालका कम्युनिस्ट क्रान्तिकारीहरूको सक्रिय सहभागिता तथा बहुलतामा आधारित नेपाली समाजको विशिष्ट अवस्थासमेतका आधारमा उहाँले उक्त नवीनतम विचार–सिद्धान्त नेपाली राजनीतिको महत्त्वपूर्ण उपलब्धिका रूपमा छोडेर जानुभएको छ । आज नेपाली राजनीति मूलतः जनताको बहुदलीय जनवादको सैद्धान्तिक र नीतिगत मान्यताबाट निर्देशित र प्रभावित हुने गरेको छ ।

नेपाली राजनीतिमा संवैधानिक राजतन्त्रलाई आफ्नो पार्टीको सिद्धान्तका रूपमा संश्लेषण गरेको नेपाली कांग्रेसलाई गणतन्त्रको दिशामा अघि बढ्न र दीर्घकालीन जनयुद्धलाई क्रान्तिको एक मात्र बाटाको रूपमा आत्मसात् गरिरहेको नेकपा (माओवादी) लाई शान्ति प्रक्रियामार्फत बहुदलीय प्रतिस्पर्धाको संवैधानिक बाटामा ल्याउन पनि जनताको बहुदलीय जनवादको भूमिका छ । त्यति मात्र होइन, ०६२–०६३ को जनआन्दोलनलाई मौलिक चरित्रको राजनीतिक जनक्रान्तिका रूपमा विकास गर्न र शान्तिपूर्ण बाटोबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापना गर्ने कुरामा समेत जबजका नीति तथा मान्यताहरूको महत्त्वपूर्ण योगदान रहेको छ । संविधानसभाबाट गठन भएको नेपालको संविधान २०७२ ले आत्मसात् गरेका सामाजिक न्यायसहितको लोककल्याणकारी राज्यव्यवस्था र जनअधिकारले परिपूर्ण मौलिक हकहरू तथा समाजवादउन्मुख राज्यका निर्देशक सिद्धान्तहरूजस्ता विशेषताहरू स्थापित गर्ने कुरामा पनि त्यसको गहिरो प्रभाव देख्न सकिन्छ ।

नेपालको राजनीतिमा नेकपा (एमाले) लाई जनतामा आधारित कार्यकर्ताहरूको विशाल पंक्ति भएको सुदृढ पार्टीका रूपमा स्थापित गर्ने कुरामा जनताको बहुदलीय जनवादले आत्मसात् गरेको पार्टी निर्माण सम्बन्धी नवीनतम मान्यताको महत्त्वपूर्ण योगदान छ । क्रान्तिपूर्व कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकार गठन गर्ने कुरा, क्रान्तिपूर्वको सरकारले गर्ने काम शक्ति सञ्चयको कार्यनीतिमा आधारित हुनुपर्ने मान्यता तथा राजनीतिक क्रान्तिपछि समाजवादको आधार निर्माणको बाटो हुँदै अघि बढ्ने कुरा जनताको बहुदलीय जनवादको मार्गदर्शनमा अघि बढेका सफल प्रयोगहरू हुन् । यतिबेला नेकपा (एमाले) र त्यसको नेतृत्वका विरुद्धमा चौतर्फी घेराबन्दी र आक्रमण भइरहेको तथा एउटा पार्टीकाविरुद्धमा पाँच–पाँचवटा पार्टीहरू मिलेर चुनाव लडिरहेको अवस्थामा पनि नेकपा (एमाले) आफूलाई जसरी जनताका बीचमा स्थापित गर्न सफल भएको छ, त्यो जबजले अवलम्बन गरेको प्रतिस्पर्धा र पहलकदमीका आधारमा श्रेष्ठता हासिल गर्ने नीतिको परिणाम नै हो । यद्यपि उक्त मान्यता नेकपाकालीन समयमा अवरुद्धजस्तै बन्यो । जसले गर्दा नेपालको कम्युनिस्ट आन्दोलनमा संगठनात्मक अराजकता र अवसरवाद बलशाली बन्न पुग्यो । अराजकता र अवसरवादको विरुद्धको वैचारिक र राजनीतिक संघर्षमा पनि जबज प्रेरक बनिरहेको छ ।

जननेता भण्डारीले निरंकुशताका विरुद्धको संघर्षको समयमा संयुक्त जनआन्दोलनको नीतिमा जोड दिनुभयो । संक्रमणकालमा समेत त्यो नीति आवश्यक हुने उहाँको मान्यता थियो । तर राजनीतिक परिवर्तनपछि आर्थिक–सामाजिक विकास र रूपान्तरणको प्रश्नमा भने नेपाली कांग्रेस र नेपालका कम्युनिस्टहरूका बीचमा स्वस्थ प्रतिस्पर्धा आवश्यक रहेको उहाँको मान्यता थियो । यतिबेला नेपाली राजनीति राज्यविरुद्ध विद्रोहको समयको मनोविज्ञानबाट बाहिर आउन नसकिरहेको अवस्थामा विचारमा आधारित राजनीतिक ध्रुवीकरणतर्फ मुलुकलाई डोर्‍याउनुपर्ने खाँचो छ । राजनीतिक क्रान्तिपछिको नयाँ समाज व्यवस्थाको निर्माण र रूपान्तरणका सन्दर्भमा तीन विशेष चरणबाट समाज गुज्रन्छ भन्ने जननेता भण्डारीको मान्यता थियो । त्यसमा पहिलो, पुरानो समाज व्यवस्थाका अवशेषहरूलाई समूल रूपमा अन्त्य गर्ने अवधिका रूपमा दोस्रो, नयाँ उत्पादन सम्बन्धका आधारमा योजनाबद्ध रूपमा आर्थिक सामाजिक विकास र रूपान्तरणको प्रक्रियालाई तीव्रता दिने अवधिका रूपमा र तेस्रो समाजवादमा संक्रमण गर्ने उद्देश्यका साथ आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणको कामलाई तीव्रता दिने अवधिका रूपमा । यतिबेला सोही नीतिअनुरूप नेकपा (एमाले) समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई सार्थक बनाउने योजनाका साथ अघि बढिरहेको छ ।

यतिबेला नेपालको राजनीति गठबन्धन भर्सेज बलियो राष्ट्रिय शक्तिका रूपमा पार्टीलाई सुदृढ गर्ने मान्यताका बीचमा तीव्र अन्तरसंघर्ष चलिरहेको छ । क्रान्तिकालमा मोर्चा वा एकता राजनीतिक क्रान्तिको सफलताका लागि आवश्यक हुन्थ्यो नै । नेपालमा राजनीतिक दलहरूको सहकार्य र एकताबाट नै ठूलाठूला राजनीतिक परिवर्तन सफल भएका हुन् तर जब मुलुकको विकास र समृद्धिको प्रश्न अघि आउँछ त्यतिबेला सही नीति र सिद्धान्तमा आधारित योजनाबद्ध पहलकदमीको आवश्यकता पर्छ । सक्षम नेतृत्व र बलियो पार्टीको आवश्यकता पर्छ । त्यसमा यथोचित ध्यान दिन नसक्दा नेपालको लोकतान्त्रिक आन्दोलनले पटकपटक प्रतिगमनको दुश्चक्र बेहोर्नुपरेको छ । त्यस प्रकारको अवस्थाबाट नेपालको राजनीतिलाई मुक्त गर्ने हो भने विचारधारामा आधारित राजनीतिक ध्रुवीकरणको आवश्यकता पर्छ । क्रान्तिकालमा धेरै पार्टी हुँदा पनि प्रहारको निसाना एउटै हुने अवस्था थियो । तर व्यवस्था नै परिवर्तन भई नयाँ संवैधानिक व्यवस्था स्थापित भएको अवस्थामा राजनीतिक दलहरूको ध्यान विकास र समृद्धिका प्रश्नमा केन्द्रित हुनुपर्छ । यतिबेला मुलुकमा विद्यमान राजनीतिक अस्थिरता, नीतिगत विचलन र बाह्यशक्तिको चलखेलमा कुनै न कुनै रूपमा दलहरूका बीचमा देखिने अस्वस्थ प्रतिस्पर्धाले समेत काम गरेको छ । त्यसबाट नेपालको राजनीतिलाई मुक्त गरी स्वाधीन तथा आत्मनिर्भर आर्थिक, सामाजिक व्यवस्थाको निर्माणका लागि राजनीतिक ध्रुवीकरण आवश्यक छ र राजनीतिक दलहरूका माध्यमबाट बलियो राष्ट्रिय शक्तिको विकास आवश्यकता छ । तर पछिल्लो समय नेपाली कांग्रेसले नीतिगत नेतृत्वमा भन्दा गठबन्धनमा जोड दिन थालेको छ । तर नेकपा (एमाले) भने गठबन्धनको बाटामा होइन, नीतिगत नेतृत्व प्रदान गर्न सक्ने बलियो राष्ट्रिय शक्ति बन्ने दिशामा अग्रसर छ । राजनीतिक क्रान्तिपछिको कार्यभार पूरा गर्ने सन्दर्भमा जननेता मदन भण्डारी र जबजले मार्गदर्शन गरेको बाटो पनि यही नै हो ।

पोखरेल एमाले महासचिव हुन् ।

प्रकाशित : असार १४, २०७९ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्

मदनलाई कसरी सम्झिने ?

मदन भण्डारीले जोडेको वामपन्थी एकता हतारमा गरिएको सत्ताको एकता थिएन । मदनले २०४६ सालमै वाम आन्दोलनलाई विशिष्ट ढंगले एकीकृत गर्नुपर्छ भन्ने भावना बोध भएर यो प्रस्ताव अघि सारेका थिए ।
गोपाल खनाल

मदन भण्डारीलाई एमालेका तत्कालीन महासचिव भनेर सम्झँदा आदर्श नेताको चरित्र हावी हुन्छ, सिद्धान्त र व्यवहार दुवै कोणमा । जब मदनलाई जनताको बहुदलीय जनवाद (जबज) का प्रणेता मानिन्छ, उनको बढी सैद्धान्तिक, यथार्थवादी दार्शनिक, उदार व्यावहारिक चरित्र सामुन्नेमा आउँछ । त्यसो त, महासचिव र सिद्धान्तकार मदनलाई पारदर्शी पातलो सीमाले मात्र विभाजित गरेको छ ।

कम्युनिस्ट पार्टीमा सबै महासचिव सिद्धान्तकार हुँदैनन्, हुन सक्दैनन् पनि । कम्युनिस्टको पहिलो घोषणापत्र लेखे पनि कार्लमार्क्स कम्युनिस्ट नेता होइनन्, महान् दार्शनिक हुन् । लेनिन दार्शनिक होइनन्, मार्क्सवादी सिद्धान्तकार र ‘एक्सन’ नेता हुन् । त्यही मार्क्सवाद पढेर र लेनिनको संगत गरेका जोसेफ स्टालिनलाई कम्युनिस्ट शासकभन्दा अधिनायकवादी शासक भन्दा हुन्छ ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) कै छाताभित्र माओत्सेतुङ सम्मानका साथ ‘चेयरम्यान’ का रूपमा चिनिए जब कि उनी अनुदार मार्क्सवादी थिए । पहिलो सर्वहारावर्गको अधिनायकत्व स्थापित गरेको भन्दै स्टालिन मान्ने र स्टालिनलाई नमानेको भन्दै निकिता ख्रुस्चेवलाई संशोधनवादी भन्ने पनि माओ नै । यद्धपि, उत्तरार्द्धमा ख्रुस्चेव र माओबीच हार्दिक सम्बन्ध सुधार भयो । तर नितान्त भिन्न देङ स्याओ पिङ चिनियाँ आर्थिक क्रान्तिका नायकका रूपमा चिनिए । नेपालमा सीपी मैनाली, झलनाथ खनाल, माधव नेपाल माले/एमालेका महासचिव र अध्यक्ष भए, तर सिद्धान्तकार हुन सकेनन्, अहिले कम्युनिस्ट नामधारी नयाँ पसलका मालिकजस्ता भएका छन् ।

मसाल, मशाल, एकता केन्द्र, माओवादी हुँदै एमाओवादी केन्द्रसम्म आइपुग्दा प्रचण्ड महासचिव र अहिले सुप्रिमो नै छन् तर रणनीतिक लक्ष्य गायब छ र कार्यनीतिमा चरम अवसरवाद देखिन्छ । उनी यति लचक छन् कि एकै समय उनी एमालेका अध्यक्ष ओलीलाई अध्यक्ष मान्छन् भने कांग्रेस सभापति देउवालाई काँध थाप्छन् र उनीमार्फत देशमा समाजवाद स्थापना हुने विश्वास राख्छन् । अरू कम्युनिस्ट नेतातिर खासै प्रवेश गर्नु नै पर्दैन । चीनलाई अलग गरेर हेर्दा, विश्व कम्युनिस्ट आन्दोलनका कर्ताहरू क्रान्तिताका बढी आदर्शवादी र जनवादी देखिन्छन् तर जब सत्तासीन हुन्छन् शासक बन्छन् र कम्युनिस्टप्रति वितृष्णाका कारक बन्छन् । पश्चिम बंगालमा ३४ वर्ष सत्ता चलाएका भारतीय मार्क्सवादीको त अहिले समूल नष्ट भयो ।

जननेता मदनको राजकीय जिम्मेवारीको अनुभव जनताले गर्न पाएनन् । महासचिव भएको र सिद्धान्तको प्रतिवादनको केही वर्षमै अल्पायुमै षड्यन्त्रपूर्वक हत्या भएका कारण सत्तासीन मदनलाई राष्ट्रले बेहोर्न पाएन । तर खुला र सक्रिय राजनीतिको छोटो अवधिमा घरेलु मात्रै होइन, विश्व कम्युनिस्ट आन्दोलनमा जुन योगदान उनले गरे, त्यसले दशकौंसम्म कम्युनिस्टहरूको मार्गको रेखाङ्कन गरेको छ । कम्युनिस्टका लागि उनले बाटो बनाइदिएका छन्, पहिल्याउँदै यात्रा गर्दा मात्र पनि दुर्घटनाबाट बच्ने सम्भावना छ । कम्युनिस्टइतर शक्तिलाई पनि उनले ठोस परिस्थितिको ठोस विश्लेषण गरेर अघि बढ्न प्रेरित गरेका छन् ।

उपलब्धिबाट थपतिर

जब राजनीतिमा मौलिक सिद्धान्तको प्रतिपादन हुँदैन वा मौलिक एजेन्डा स्थापित गर्न सकिँदैन, राजनीति अघि बढाउने आधारका लागि इतिहासको खोजी हुन्छ । बीपी कोइराला र मदन भण्डारीहरूलाई पढ्ने त्यही कारणले हो । सायद, मदनकै अवधारणा बमोजिम हुनुपर्छ राजावादी राप्रपा, जनवादी विप्लव र अलगाववादी सीके राउतहरू पनि संविधानकै उपलब्धिबाट आफ्ना माग सम्बोधन गर्ने बाटामा आइपुगेका छन् । मदन भण्डारीले २०४७ को संविधानमाथि २७ बुँदे लिखित असहमति राखेर संविधानभित्रैबाट थप उपलब्धि प्राप्ति गर्न सकिने निष्कर्ष निकालेका थिए, यो पार्टीका रूपमा मालेको निष्कर्ष थियो । आखिर मुलुकको कम्युनिस्ट कित्ता व्यवहारतः ३१ वर्षपछि पनि यही बहुदलीयताको सिद्धान्तको मार्गमा छ ।

राजा र हिन्दुराष्ट्रबिना देश बाँच्दैन भन्ने राप्रपा, सर्वहारा वर्गकै जनवादी राज्यसत्ता स्थापित गर्छु भन्ने विप्लव र अलग मधेश देशको निर्माणबिना मधेशीको आत्मसम्मान पुनःस्थापित गर्न सकिँदैन भन्ने सीकेले यही संविधान र मूलधारे राजनीतिबाटै त्यो सम्भव देख्ने अवस्थाको निर्माणमा जबजको व्यावहारिक साझेदारी छ । त्यस्तै, १० वर्षे भूमिगत जनयुद्ध गरी जनवाद अर्को भाषामा सर्वहारा वर्गको सत्ता स्थापना गर्ने लक्ष्य राखेको माओवादी अन्ततः बहुदलीय जनवादकै अनुयायी देखियो । जबजको स्वीकारोक्तिले पहिचान लोप हुन्छ भन्ने लघुताभास पाल्दा मात्र एक्काइसौं शताब्दीको जनवादको जामा पहिरियो । त्यसको एउटा जल्दोबल्दो प्रमाण २०७५ जेठ ३ मा एमाले र माओवादीले एकीकरणको घोषणा गर्दा जबज र २१ औं शताब्दीको जनवादको अस्पष्ट सिद्धान्त त्यागेर भविष्यमा व्याख्या गर्ने सर्तमा जनताको जनवादको साझा सैद्धान्तिक मार्गदर्शन अपनाउनु ।

२०४७ को संविधान स्विकारेर त्यसैको आलोचनात्मक समर्थन गर्दै जनतामा आफ्नो विचारसहित अघि बढेको एमाले अहिले मूल शक्तिका रूपमा स्थापित भयो भने संसदीय व्यवस्था उखेलेर फाल्ने भन्दै भूमिगत सशस्त्र विद्रोहमा लागेको माओवादी ठूलो क्षतिपछि अन्ततः मदनकै बाटामा आयो । आखिर ब्यालेटमार्फत नै अर्को शक्ति बन्यो । त्यसैले प्रश्न त उठ्छ १७ हजारको बलिदान र एउटा पुस्ताको राजनीतिक समयको हत्यापछि फेरि उही पुरानै ‘दक्षिणपन्थी संसदीय भास’ को राजनीतिमा ?

भूमिगत विद्रोहको तयारी गरेका यिनै शक्तिले २०४८ सालको चुनाव बहिष्कार गर्नुपर्छ भन्ने माहोल बनाउने कोसिस गर्दा त्यसका विरुद्ध मदनले अडान लिएका हुन् । र, संसदीय निर्वाचनमार्फत नै समाजको नेतृत्व गर्न सकिन्छ र त्यस भित्रै अधिकतम अधिकारको प्रयोग गरी आफ्ना विचार विस्तार गर्ने सकिन्छ भनेर मदनले आह्वान गरेको बिर्सनु हुँदैन ।

आन्तरिक प्रजातन्त्र

कम्युनिस्ट पार्टीभित्र प्रायः उठ्ने अर्को महत्त्वपूर्ण प्रश्न आन्तरिक प्रजातन्त्रको अभ्यास हो । हुन त पार्टी संगठनको प्रजातन्त्रीकरण, भ्रातृ संगठनको आवधिक अधिवेशन र निर्वाचन, मुद्दामा यथोचित बहसलाई आधार मान्दा नेपालका कम्युनिस्ट नामका पार्टीभन्दा देउवा कांग्रेस प्रजातान्त्रिक देखिँदैन । कम्युनिस्टमा व्यक्तित्वको टकराव बढी छ भने आन्तरिक विद्रोहको अभ्यास पनि । अहिले नेपालका सबै मुख्य पार्टीका रहेको एउटा समानता भनेको मुख्य नेतृत्व अर्थात् प्रमुखलाई चुनौती दिने अवस्था नहुनु । त्यसैले कम्युनिस्ट भन्नेबित्तिकै आन्तरिक प्रजातन्त्रको निषेध र कांग्रेस भन्दैमा गजबको आन्तरिक बहस भन्ने अवस्था कम्तीमा अहिले नेपालमा विद्यमान छैन ।

जहाँसम्म मदनको प्रसंग छ, उनी खुला बहसलाई आह्वान गरेर त्यसैमार्फत कम्युनिस्ट पार्टी अघि बढ्न सक्नुपर्छ भन्ने मान्यतामा अडिग देखिन्थे । सायद, जनवादी केन्द्रीयताको वास्तविक अभ्यास यही थियो । ‘२०४७ को संविधानमा मालेको धारणा’ नामक सानो पुस्तिकाको एक ठाउँमा भण्डारीले भनेका छन्, ‘हाम्रो पार्टीले अघि सारेका विचारहरूप्रति टीकाटिप्पणी गर्नुहोस्, हाम्रो आलोचना गर्नुहोस् ।’ यसो भन्नुको अर्थ नेतृत्वमा आलोचना सुन्ने क्षमता हुनुपर्छ र त्यसो हुँदा पार्टी गतिशील हुन्छ भन्ने हो । पार्टीभित्र दृष्टिकोणका कारणले होस् वा व्यक्तित्वको टकराव नै छ भने पनि आन्तरिक बहसमार्फत समाधान गर्न सकिन्छ भन्ने निष्कर्ष हो ।

मदन प्रायः व्यक्तिभन्दा प्रवृत्तिमाथि प्रहार गर्थे । त्यसैको एक उदाहरण थियो– राजा रहने र नरहने कुराले मात्रले तात्त्विक फरक ल्याउन सक्दैन भन्ने मान्यता । राजा नरहने तर सामन्तवाद, दलाल नोकरशाही कायम रहने हो भने परिवर्तन आउँदैन भन्नु वास्तवमै सही थियो भन्नलाई त्यसयताका विकासक्रम नै पर्याप्त छन् । संवैधानिक र निरंकुश राजा हटाएकै डेढ दशक हुँदा पनि समृद्धि र विकासले अपेक्षित लय नलिनुको दोष अब हुँदै नभएको उक्त संस्थालाई थोपरेर हुँदैन । र, सत्य के पनि हो भने जन्मँदै राजा हुने व्यवस्थाको पुनःस्थापनाको सपना नदेख्नुमै देशको कल्याण छ ।

वामपन्थी एकता

नेकपा बन्यो, भत्क्यो । नेकपाको निर्माण देशकै आवश्यकता थियो तर सत्तास्वार्थमा समान हिस्सेदारी खोज्दा भत्क्यो । कसैको बलमिच्याइँ भयो, कसैले हैसियत बिर्स्यो, जेहोस् कम्युनिस्ट मिल्दा झन्डै दुइतिहाइ आयो, फुट्दा सिट शक्ति घट्यो । फेरि थप घट्न पनि सक्छ । मदनले जोडेको वामपन्थी एकता हतारमा गरिएको सत्ताको एकता थिएन । मदनले २०४६ सालमै वाम आन्दोलनलाई विशिष्ट ढंगले एकीकृत गर्नुपर्छ भन्ने भावना बोध भएर यो प्रस्ताव अघि सारेका थिए । अन्ततः त्यो एकतामा पुग्छ भन्ने सोच उनको थियो । नभन्दै माले र मार्क्सवादी मिलेर एमाले बन्यो । राष्ट्र बदल्ने सोच हुँदा एकतामाथि व्यक्तिगत स्वार्थ हावी हुँदैन ।

अध्यक्ष ओलीले अहिले विनिर्माण गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय आकांक्षामा मदनको सपनाको अंश छ । जबजले सैद्धान्तिक आधार नपाउँदै संविधानमाथि राखिएको आलोचनात्मक समर्थन र वामपन्थी एकतामार्फत भविष्यको नेपालको कल्पनाभित्र यो जनआकांक्षा सन्निहित थियो । त्यसो त ओली आफैंले ‘समृद्धि नेपाल, सुखी नेपाली’ को आकांक्षामा टंकप्रसाद आचार्यको समेत सोच प्रतिविम्बित भएको स्विकारेका छन् ।

मदनले देशलाई जिम्मा लगाएको राजनीतिक सम्पत्ति फेरि पनि जबज नै हो । कम्युनिस्टका लागि यो कम्युनिस्ट घोषणापत्रको नेपाली संस्करण थियो । वास्तवमा जबजप्रति अधिक स्वामित्व ग्रहण गर्नेले यसलाई जडसूत्रवादी र यान्त्रीकरण गर्न खोजेको देखिन्छ भने आजाद आलोचकहरूले हैसियत बिर्सेर विद्वान् पल्टिन आलोचना गर्ने गरेको देखिन्छ । मार्क्सवाद लेनिनवादको मार्गदर्शनलाई कायम राख्दा त्यसको प्रगतिशील रूपान्तरणमा मदनको जोड देखिन्छ । समाजवाद र साम्यवादको आदर्शलाई सधैं अनुसरण गर्नुपर्ने धारणा उनको छ । तर आजका कम्युनिस्टले प्रमाणित गरेको सत्य के हो भने साम्यवाद अब असान्दर्भिक भइसक्यो । मदन सोचेजस्तो वास्तविक वाम एकता हुँदा सम्भव थियो सायद तर अब समयले त्यतातिर अनुमति दिन सक्दैन ।

अर्को, अहिलेका कम्युनिस्ट समाजवादी हुन्, साम्यवादी होइनन् । कम्युनिस्टको आधारभूत चरित्र वर्गीय पक्षधरतालाई तिलाञ्जली दिएका र प्रजातान्त्रिक समाजवादीलाई गुरु थापेका पार्टीले साम्यवादकै अपमान गरेका छन् । समाजवाद स्थापनाको लक्ष्य त कम्युनिस्टका दस्तावेजमा मात्र होइन, संविधानसभाद्वारा निर्मित यो संविधानमै छ । पुँजीवादको घोडा चढेर समाजवाद ल्याउने एजेन्डा मुलुकको साझा एजेन्डा नै भयो, भलै समाजवादको व्याख्या फरक छ । कम्युनिस्टहरूको मार्क्सवादी समाजवाद र कांग्रेसको प्रजातान्त्रिक समाजवाद । गजब के छ भने कम्युनिस्टले सत्ता नेतृत्व गर्दा होस् वा कांग्रेसले, समाजवादको उनीहरूले दाबी गरेको मोडलको अभ्यासको भएको देखिँदैन ।

जनवादी व्यवस्था कस्तो हुने त्यसको रूपरेखा आफूलाई क्रान्तिकारी ठान्ने कम्युनिस्ट नेताले दिन सकेका छैनन् । जब रूपरेखाको अन्दाजसमेत छैन भने मार्क्स र एङ्गेल्सको सन् १८४८ को घोषणापत्रका केही पाठ रट्दैमा जनवादी भइँदैन । र, एउटा ढुक्कका साथ भन्न सकिन्छ, यिनै विद्यमान कम्युनिस्टबाट नेपालमा जनवादी व्यवस्था आउँदैन । कम्युनिस्टको अन्तर्राष्ट्रिय जाति हुनेछ भनेर गीत गाउने तर देशलाई १४ जातीय राज्यमा विभाजन गर्ने प्रस्ताव ल्याउने प्रचण्डपथ देखेकै हो । र, त्यही देशलाई विभिन्न जातजातिमा विभाजन गर्ने क्रान्तिकारी प्रस्ताव रोक्ने पनि अर्का कम्युनिस्ट नेता ओली नै हुन् । जातीय राज्य बनाउन चाहने कम्युनिस्ट कि जातीय राज्य बनाउनु हुँदैन भन्ने कम्युनिस्ट ?

बुझाइ र संश्लेषणका कोण फरक हुन्, मूल मुद्दा मदनलाई कसरी सम्झिने भन्ने मात्र हो ।

प्रकाशित : असार १४, २०७९ ०८:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×