१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

हामी सबै नारीवादी हुनुपर्छ !

अबको नारीवादी आन्दोलनको मुख्य हिस्सेदार सीमान्तकृत वर्ग, समुदाय र जातबाट आएका दोहोरो–तेहरो उत्पीडनको जाँतोमा युगौंदेखि पिल्सिरहेका महिलाहरू नै हुन् ।
रीता परियार

हामी सबै नारीवादी हुनुपर्छ’ भारतका लेखक तथा महिला अधिकारकर्मी कमला भासिनको प्रसिद्ध भनाइ हो यो । यो भनाइले केहीलाई भ्रमित पनि पार्न सक्छ किनकि कतिपयलाई लाग्छ ‘नारीवाद’ भन्नासाथ ‘पुरुषवाद’ पनि आउँछ । महिलाकै विषयमा आवाज उठाउँदै गर्दा पनि आफूलाई नारीवादी भन्न नरुचाउनेहरूको जमात पनि ठूलै छ समाजमा । तर यो अल्पज्ञान मात्रै हो ।

हामी सबै नारीवादी हुनुपर्छ !

खासमा हामीले नारीवाद शब्दसँग आत्तिनु पर्दैन, यसले महिला–पुरुष लगायत सबै लिंगको समान अधिकारको वकालत गर्छ । त्यसैले त क्यानडेली लेखक जस्टिन मस्क भन्छिन्, ‘नारीवादको दुस्मन पुरुषहरू होइनन्, पितृसत्ता हो । र पितृसत्ता पुरुष होइन, संरचना हो अनि यो विभेदकारी संरचनाको पृष्ठपोषण स्वयम् महिलाले पनि गरिरहेका हुन सक्छन् । पुरुषहरू पनि यो संरचनाविरुद्ध लडिरहेका हुन सक्छन् ।’

नारीवादको फराकिलो आयतनसँग अनभिज्ञ भएकाहरू नै नारीवादसँग हिच्किचाउँछन् । अहिलेको नारीवादको लहर अघिल्लाहरूभन्दा केही उदार छ । बृहत् एजेन्डाहरूलाई सम्बोधन गर्दै विभेद र उत्पीडनका सबै स्वरूपविरुद्ध खास गरी उत्पीडितहरूलाई समेट्दै अघि बढ्न खोजिरहेको छ । त्यसैले सबै प्रकारका सामाजिक न्याय र समानतामा विश्वास राख्ने जोकोहीले अब सगौरव आफूलाई नारीवादी भन्न सक्छन् । नारीवादका स्वरूप, विशेषता र आयाममा समय–समयमा उतार–चढाव आएका छन् । आजका दिनसम्म आइपुग्दा नारीवाद झनै सशक्त, सुसज्जित र बृहत्तम हुँदै गएको छ । भलै हामीले खोजेजस्तो उपलब्धि अझै नआइसकेको होस् ।

महिलालाई पनि पुरुषसरह व्यवहार गर्नुपर्ने तथा अधिकार दिनुपर्ने धारणासहित फ्रेन्च सामाजिक चिन्तक चार्ल्स फुरियरले सन् १८३७ मा नारीवाद शब्द पहिलोपटक प्रयोग गरेका थिए । कालान्तरमा यही शब्द संसारकै सबैभन्दा व्यापक अभियानका रूपमा चिनियो । सन् १९१५ मा अमेरिकी पत्रिका ‘द वासिङ्टन हेराल्ड’ ले धेरै व्यक्तिमाझ गरेको सर्वेक्षणको निचोड थियो- ‘नारीवाद सबै लिंगको सामाजिक, न्यायिक र राजनीतिक समानताको वकालत गर्ने सिद्धान्त हो ।’ यो धारणाले १ सय ७ वर्षको यात्रा तय गरिसकेको छ । विभिन्न लहरमा रूपान्तरित हुँदै अहिलेको स्वरूपमा आएको छ ।

१९ औं शताब्दीको अन्त्य तथा २० औंको सुरुआती चरणमा देखिएको पहिलो लहरको नारीवाद सामाजिक, न्यायिक र राजनीतिक समानताको वकालतमा केन्द्रित थियो । सन् ६० को दशकमा सुरु भएर ९० तिर समाप्त भएको दोस्रो लहरको नारीवादी आन्दोलन महिलाका प्रजनन तथा यौनिक अधिकारमा बढी केन्द्रित देखिन्थ्यो । नारीवादी लहरले विभेदकारी लैंगिक पहिचान र भूमिकामाथि खरो प्रश्न उठाएको थियो । ९० को दशकयताको तेस्रो लहरको नारीवादले सकेसम्म सबै रङ, जात र राष्ट्रियताका महिलाका मुद्दालाई मूलधारको नारीवादमा जोड्ने कोसिस गरेको देखिन्छ । ‘तेस्रो विश्वको नारीवाद,’ ‘अश्वेत नारीवाद’ जस्ता विशिष्ट पहिचानसहितका नारीवादी धार यसकै परिणाम हो ।

तर पाश्चात्य लहरको लेन्सले मात्रै विश्वव्यापी नारीवादी आन्दोलनलाई न्याय गर्न सक्दैन । शताब्दीअघि नेपालकै योगमायाले राज्य व्यवस्था र समाज सुधारका व्यापक माग राखेर गरेको विद्रोहलाई कुनै पनि लहरले समेट्न सक्दैन । पाश्चात्य नारीवादी लहरलाई मात्र हेर्ने हो भने भारतको केरेलाको त्रावणकर राज्यको दलित महिलाले बुझाउनुपर्ने स्तनकरविरुद्ध १९ औं शताब्दीमा विद्रोह गर्ने सोही क्षेत्रको दलित महिला नांगेलीमाथि अन्याय हुन जान्छ ।

नारीवादका एतिहासिक लहरहरूले अबको बाटो पहिल्याउन भने विशेष भूमिका निर्वाह गर्छ । लहर बनाउँछु भनेर बन्दैन । विभिन्न घटनाक्रम र आन्दोलनले स्वस्फूर्त सृजना गर्छ । २१ औं शताब्दीको दोस्रो दशकदेखि विश्वव्यापी नारीवाद पनि चौथो लहरमा प्रवेश गरिसकेको आकलन छ । यो लहरमा भइरहेका घटना, आन्दोलन र बहस के–के हुन् अनि त्यसमा संलग्न महिला कुन तह र तप्काका छन् भन्ने बहस चल्न थालेको छ ।

महिला हिंसाविरुद्धका विश्वव्यापी आन्दोलन

चौथो लहरमा विश्वभर नै महिला हिंसाविरुद्धका धेरै आन्दोलन भए । यद्यपि लैंगिक हिंसा र बलात्कार बढ्दो छ । सामाजिक सञ्जालमा आममानिसको पहुँचसँगसँगै अब जहीँ–कहीँका घटनाबारे हरेक व्यक्ति जानकार हुन्छन् र न्यायका लागि एकबद्ध हुन पनि सहज भएको छ । बलात्कारविरुद्ध सबैभन्दा सशक्त आन्दोलन सन् २०१४ को भारतको निर्भया बलात्कार प्रकरणमा देखियो । पीडितलाई न्याय दिलाउन लाखौं भारतीय महिला सडकमा उत्रिए ।

यसैबाट प्रेरित भएर एक किशोरीको बलात्कारपछि हत्याविरुद्ध अर्जेन्टिनामा भएको ‘नि उना मेनस’ प्रदर्शन शताब्दीकै सबैभन्दा ठूलो प्रदर्शन मानिन्छ । केही दिनमै यो आन्दोलन दक्षिण अमेरिकाका सबै मुलुकभरि डढेलोसरि फैलियो, अन्ततः युरोप र अमेरिकासम्मै पुग्यो । यता दक्षिण अमेरिकाको चिलीको स्यान्टियागोका महिला अभियन्ताले लैंगिक हिंसालाई प्रश्रय दिने संरचनाविरुद्ध सृजना गरेको गीत ‘बलात्कारी होस् तँ’ न्युयोर्क, लन्डन, कोलकाता र दिल्ली हुँदै काठमाडौं आइपुग्यो । अहिले लैंगिक हिंसाप्रति उदासीन सरकार, न्यायालय, प्रशासन लगायतका सम्पूर्ण संरचनामाथि प्रश्न गर्ने विश्ककै साझा माध्यम बनिसकेको छ यो गीत । हाम्रोमा पनि केही वर्षयता लैंगिक हिंसाविरुद्ध व्यापक आन्दोलन भइरहेको छ । ‘निर्मलाका लागि न्याय’ देखि पछिल्लो ‘जस्टिक फर सुस्मिता’ र ‘निहारिकाको लागि न्याय’ सम्म आइपुग्दा महिला हिंसा र संरचनात्मक दमनविरुद्धको विश्वव्यापी आन्दोलनकै हिस्सा बनिसकेका छौं ।

उत्पीडित तप्काको उपस्थिति

यसअघिका जति पनि नारीवादी लहर थिए, ती बिलकुलै कुलीन महिलाको हातमा थिए । अनि विशेषतः सेमिनार र सिद्धान्तमा केन्द्रित थिए । तर, पछिल्ला नारीवादी आन्दोलनमा उत्पीडित वर्ग, समुदाय, जातका महिलाको भूमिका उल्लेखनीय छ । लैंगिक हिंसामा पनि दलित तथा सीमान्तकृत महिला नै बढी प्रताडित हुने गरेका छन् । आन्दोलनको अपनत्व पनि यही उत्पीडित वर्गले नै लिने गरेको देखिँदै छ । भारतको साहिनबागमा मुस्लिम महिलाले गरेको नागरिकता विधेयकविरुद्धको आन्दोलन, काठमाडौं आएर बादी महिलाहरूले गरेको आन्दोलन तथा लालपुर्जाका लागि सुकुम्बासी महिलाहरूको आन्दोलन अहिलेका नारीवादी लहरका गतिला उदाहरण हुन् । अबको नारीवादी आन्दोलनको मुख्य हिस्सेदार सीमान्तकृत वर्ग, समुदाय र जातबाट आएका दोहोरो–तेहरो उत्पीडनको जाँतोमा युगौंदेखि पिल्सिरहेका महिलाहरू नै हुन् ।

सामाजिक न्यायको मुद्दामा महिला

अहिलेको नारीवादको अर्को पाटो हो- सामाजिक न्यायका हरेक मुद्दामा महिलाको सक्रिय सहभागिता । महिला हिंसाको अन्त्य र लैंगिक समानता महिला आन्दोलनको प्रमुख मुद्दा हुन् । म्यानमार होस् या हङकङ या इरान, फरकफरक उद्देश्यका लागि त्यत्तिकै संख्यामा महिलाहरू लडिरहेका छन् । लैंगिक विभेदकारी तालिबानी नीतिविरुद्ध मेसिनगन बोकेर काबुलमा प्रदर्शनीमा उत्रिएका अफगानी महिलाको तस्बिर अझै ताजै छ ।

राजनीति मात्र होइन, धारा र पानीदेखि लालपुर्जासम्मको माग राखेर आन्दोलनको अग्रपंक्तिमा होमिएका महिलाहरू हाम्रै नेपालमा छन् । अफ्रिकाको बुर्किनाफासोदेखि ब्राजिलको अमेजनसम्मका अदिवासी महिलाहरू पर्यावरण संरक्षणमा दिलोज्यान दिएर लागिपरेका छन् । यसै वर्ष ग्लास्गोमा भएको जलवायु सम्मेलनमा आदिवासी महिलाहरूको उपस्थितिले बताउँथ्यो, अब सबै खाले सामाजिक न्याय र पृथ्वीको भविष्यको जिम्मा पनि महिलाहरूले नै लिनेछन् । पर्यावरणीय मुद्दामा ग्रेटा थनवर्ग एउटा आदर्श हुन् । उत्पीडनका सबै खाले स्वरूपविरुद्ध अहिलेको नारीवाद सशक्तसँग उभिएको छ । त्यसैले ‘हामी सबै नारीवादी हुनुपर्छ’ भन्ने भासिनको भनाइले एकदमै अर्थ राख्छ ।

प्रकाशित : असार १३, २०७९ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?