काठमाडौं उपत्यकामा भित्रभित्रै हैजा फैलिरहेको केही दिन भइसक्यो । बागबजार, डिल्लीबजार, सानेपा, कालो पुल, कपन, बल्खु, बालाजु, बोहोराटार र थानकोटमा यसका बिरामीहरू देखिएका छन् । वर्षा लागेसँगै पानीजन्य संक्रमणहरू फैलिरहेको अवस्थामा हैजा देखिनु, र यसका बिरामी धेरैतिर भेटिनु चिन्ताको विषय हो ।
सरकार र नागरिक दुवै बेलैमा सतर्क नभएमा भोलि यसले महामारीको रूप लिन पनि सक्छ । तसर्थ, सरकारले तत्काल यसको रोकथाम तथा नियन्त्रणका लागि यथोचित कदम चाल्नुपर्छ । र, नागरिकले पनि यसबाट बच्न स्वच्छ पानी लगायत खानपिन र व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ ।
हैजाको संक्रमण मानव दिसाबाट प्रदूषित पानी र सडकछेउ अस्वास्थ्यकर ढंगले बिक्री–वितरण गरिएका खाद्य पदार्थको माध्यमले फैलिरहेको प्रारम्भिक जानकारी छ । यस्तो अवस्थामा सरकारले सर्वप्रथम त सार्वजनिक रूपमा वितरण गर्ने पानीलाई निर्मलीकरण गरी स्वच्छ तुल्याउनुपर्छ । चिकित्सकहरूले ‘मिनरल वाटर’ भनिएका जार लगायतका पानीबाट पनि यो फैलिएको जनाएकाले पानी व्यवसायीहरूसमेत यसतर्फ सतर्क रहनुपर्छ । उनीहरूले स्वच्छ पानी मात्र बिक्री–वितरण गर्नुपर्छ, र सरकारी निकायबाट पनि यसको प्रभावकारी अनुगमन हुनुपर्छ ।
यस्तै, नागरिकहरूले हैजाको जोखिमलाई मध्यनजर गर्दै आफ्नो स्वास्थ्यको ख्याल राख्नुपर्छ । सबै उमेर समूहका व्यक्तिले जुनसुकै माध्यमको पानी भए पनि उमालेर मात्र पिउनुपर्छ, वा उपयुक्त मात्रामा क्लोरिन प्रयोग गरेर त्यसलाई शुद्ध बनाएर मात्र प्रयोग गर्नुपर्छ । यस क्रममा खानेपानीमा मात्र सचेत भएर पुग्दैन, चम्चा–काँटा लगायत खाना खाने भाँडाकुँडादेखि सलाद–फलफूलसम्म धुन पनि स्वच्छ पानीकै प्रयोग गर्नुपर्छ । अन्यथा पानी उमालेर वा स्वच्छ बनाएर पिए पनि अन्य स्रोतबाट हैजा फैलन सक्छ । यस मामिलामा पर्याप्त सावधानी नअपनाइए पानीजन्य अरू संक्रमण फैलने सम्भावना पनि त्यत्तिकै हुन्छ । यसका साथै, सरसफाइमा पर्याप्त ध्यान नपुर्याइएका होटलहरूको खाना खानु हुन्न । खास गरी सडकछेउछाउ बेचिने खानेकुराबाट पनि हैजा फैलिएको देखिएकाले यसतर्फ पनि सबै सावधान रहनुपर्छ ।
अनियन्त्रित रूपमा चौलानीजस्तो पातलो दिसा हुने रोगलाई बोलीचालीमा झाडापखाला भनिन्छ भने रोगीको पखालामा ‘ब्याक्टेरियम भिब्रियो कोलेरी’ नामक ब्याक्टेरिया जीवाणु देखियो भने त्यो हैजा हो । यसको मतलब, भिब्रियो कलेरीबाट संक्रमित दूषित खाना वा पानी सेवन गर्दा कुनै पनि व्यक्तिलाई हैजा हुन सक्छ । र, महामारीको समय सामान्यतः हैजा संक्रमित व्यक्तिको दिसाबाट अन्य व्यक्तिमा फैलिन्छ । यसको संक्रमण भएमा प्यास बढी लाग्ने, नाडी मन्द हुने, पिसाब कम आउने र बेहोससम्म हुने समस्या देखिन्छन् । धेरै मात्रामा बान्ता र पखाला हुनाले बिरामीको शरीरमा भएको पानीसँगै लवण लगायतका शरीरका लागि आवश्यक पदार्थसमेत निस्किन्छन्, जसको समयमै आपूर्ति नभए संक्रमित व्यक्तिको मृत्युसमेत हुन सक्छ ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार हैजाको जीवाणु शरीरमा प्रवेश गरेपछि यो रोगको लक्षण दुई घण्टादेखि पाँच दिनसम्म देखिन सक्छ । धेरै कम अवधिमै फैलिने भएकाले बेलैमा रोकथामका उपाय नअपनाइए यो संक्रमणले समाजमा विस्फोटकै रूप लिन सक्छ । डब्लूएचओको अनुमान अनुसार विश्वभर हरेक वर्ष १३ लाखदेखि ४० लाख जनामा हैजा देखिन्छ, र त्यसमध्ये २१ हजारदेखि १ लाख ४३ हजार जनासम्मको मृत्यु हुने गरेको छ । तसर्थ, हैजाबाट जोगिन नागरिकले सतर्कताका सम्पूर्ण उपाय अपनाउनुपर्छ, र संक्रमणको लक्षण देखिएमा अर्थात् एक–दुई पटक चौलानीजस्तो पखाला हुनासाथ उपचारका निम्ति अस्पताल जानुपर्छ । झाडापखाला त हो, सामान्य औषधिमुलो गरेपछि ठीक भैहाल्छ नि भनेर बिरामीले घरमै बस्ने गल्ती गर्नु हुँदैन । डब्लूएचओका अनुसार हैजाका ८० प्रतिशत संक्रमितमा कुनै लक्षण विकसित हुँदैन, सामान्य पखाला मात्र लाग्ने गर्छ । तर, लक्षण नदेखिएका संक्रमितबाट पनि १० दिनसम्म दिसाको माध्यमबाट संक्रमण फैलने जोखिम हुने भएकाले सबैले शौचालय प्रयोग आदिमा पनि ध्यान दिनुपर्छ ।
गृहमन्त्री बालकृष्ण खाँणले शनिबार काठमाडौं उपत्यकासहित विभिन्न ठाउँमा देखा परेको हैजा नियन्त्रणमा लाग्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएका छन् । गृहमन्त्रीको निर्देशन आफैंमा सकारात्मक भए पनि यसमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विशेष तदारुकताको पनि उत्तिकै खाँचो छ । हैजा रोकथाम तथा नियन्त्रणमा स्वास्थ्य मन्त्रालयले अरू सम्बन्धित निकायसित उचित समन्वय गरेर प्रभावकारी पहल थाल्नुपर्छ । यसका निम्ति सर्वप्रथम त, उपत्यकामा विभिन्न स्रोतबाट वितरण हुने खानेपानीको परीक्षण गरी तदनुरूप प्रतिकार्य गर्नुपर्छ, र अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई पनि तयारी अवस्थामा राख्नुपर्छ । नागरिकहरूलाई स्वास्थ्य सतर्कता अपनाउन सजग गराउनुपर्छ । महामारी नफैलियोस् भनेर सम्बन्धित सबैले सम्पूर्ण उपाय लगाउनुपर्छ ।
प्रकाशित : असार १३, २०७९ ०७:११