सिद्धान्तको समयानुकूल प्रयोग र नेतृत्व- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिद्धान्तको समयानुकूल प्रयोग र नेतृत्व

जुनसुकै समाजले पनि आफ्नो सामाजिक परिवेश अनुसार सिद्धान्त तथा दर्शनको व्याख्या, विश्लेषण र प्रयोग गर्न सक्नुपर्छ ।
दुर्गाप्रसाद गौतम

कुनै पनि दर्शन तथा सिद्धान्त विशेषतः बौद्धिकहरूले आफ्नो प्रयोजन तथा समाजमा आफूअनुकूल अवस्था सृजना गर्दै आफू र आफ्नो समाजका आकांक्षाहरूलाई पूरा गर्न सकियोस् भन्ने अभिप्रायद्वारा विकास गरेका हुन् । यस्ता दर्शन तथा सिद्धान्तहरू विभिन्न कालखण्डमा समाज विकसित हुँदै गइरहेको विशेष अवस्था वा परिस्थितिलाई समयानुकूल बनाउनुपर्ने परिस्थितिवश सृजित हुन पुग्छन् । यिनले मूलतः तत्कालीन समाजको गतिलाई अगाडि बढ्नका निम्ति बाटाका अवरोधहरू हटाउन मद्दत गर्छन् ।

फलस्वरूप समाज नयाँ मूल्य, मान्यता र सिद्धान्तलाई अंगीकार गर्दै तथा मानवीय चाहनालाई परिपूर्ति गर्दै अगाडि बढ्छ । यदि सिद्धान्त समयानुकूल मानवीय गतिविधि र चाहना अनुसार परिवर्तन भएन भने त्यस्तो सिद्धान्त वा विचार जडसूत्रवादी बन्न पुग्छ । सिद्धान्ततः शास्त्रीय भनिए तापनि आधुनिक विचार तथा दर्शन र दृष्टिकोणद्वारा दीक्षित भैसकेको समाजका मानवीय आकांक्षा तथा चाहनाहरूलाई सम्बोधन गर्न यस्तो सिद्धान्तले सक्दैन ।

फलस्वरूप समाजका विभिन्न क्षेत्रहरूमा बेमेलका शृंखलाहरू सृजना हुन पुग्छन्, जसले एकातर्फ समाजको गतिलाई अवरुद्ध गर्छ भने अर्कातर्फर्, मुलुक प्रगतिको दिशातर्फ उन्मुख हुनुको सट्टा अधोगतितर्फ लम्कन्छ । त्यसैले प्रत्येक कालखण्डमा समाजको परिवर्तनसँगै उजागर हुने जनआकांक्षासित व्यवहारतः मेल खाने ढंगले सिद्धान्तलाई ढाली प्रयोग गर्न सक्दा मात्र समाज तथा मुलुकले इच्छित उपलब्धि हासिल गर्न सक्छन् । अन्यथा प्रशस्तै सम्भावना हुँदाहुँदै पनि मुलुकहरू दीर्घकालीन अन्योलमा रुमलिन्छन् ।

विचार तथा दर्शन सिद्धान्ततः मानव जीवनका बहुआयामिक आकांक्षाहरूको सम्बोधनका लागि फलदायी हुन्छन् भनिए तापनि व्यवहारतः उही सिद्धान्त र दर्शनको हुबहु नक्कल सबै समाज तथा समुदायका मानिसका लागि फलदायी हुँदैनन् । उदाहरणका लागि सन् १९९० पछि हामीले बढावा दिएको उदारीकरण तथा बजार अर्थतन्त्रले तीन दशक बितिसक्दा नेपाली अर्थव्यवस्थाका विभिन्न क्षेत्रहरू कृषि, उद्योग, पर्यटन, व्यवसाय आदिमा के कस्तो प्रभाव पार्‍यो ? उक्त नीतिको अवलम्बनपश्चात् हामी मानव संसाधन तथा अन्य हाम्रा साधन तथा स्रोत परिचालनमा कति अब्बल वा निर्बल भयौं ?

यस्ता जिज्ञासाहरूको उत्तर खोज्न थाल्ने हो भने धेरै कुरा आफैं प्रस्ट हुन्छ, समय खर्चिरहनु पर्दैन । अतः विश्व परिवेशमा सृजित व्यवहार तथा सिद्धान्तहरूको प्रयोग समयसापेक्ष सामाजिक परिवेशअनुकूल गर्न सकिएन भने यसको नतिजा हामीले इच्छा गरेजस्तो फलदायी नहुन सक्छ । त्यसैले कुनै पनि सिद्धान्त तथा दर्शनलाई देखासिकीमा प्रयोग गर्नुभन्दा पनि उक्त सिद्धान्तको मर्मले हाम्रो सामाजिक परिवेश तथा यस अन्तर्गतका सामाजिक तत्त्वहरूबीच सामञ्जस्य मिलाउन सक्छ कि सक्दैन भन्ने हेक्का पुर्‍याउनु जरुरी रहन्छ । अन्यथा सिद्धान्तको प्रयोग फलदायी हुँदैन ।

कुनै पनि समाजमा सिद्धान्तलाई व्यवहारतः प्रयोग गर्ने कार्य राजनीतिक नेतृत्वले गर्छ । राजनीतिक नेतृत्वको दक्षताले नै साँचो अर्थमा दर्शन तथा सिद्धान्तको प्रयोगलाई चिरस्थायी राख्न सक्छ वा सक्दैन भन्ने निर्क्योल गर्छ । उदाहरणका लागि मार्क्सवादी दर्शनको समय र समाजसापेक्ष प्रयोग गर्न तत्कालीन सोभियत संघ लगायत विभिन्न देश उचित नेतृत्वकै अभावमा कसरी पतन भए अनि, साम्यवादी अर्थतन्त्रहरूको विश्वव्यापी पतनका बीच पनि चीनको राजनीतिक स्वरूपमा उक्त दर्शनको कुशल प्रयोग के कति कारणले सम्भव भयो भन्ने विषयलाई हेर्न सकिन्छ । विश्व परिवेशमा बढ्दै गइरहेको भूमण्डलीय प्रभावका बीच आफ्नो मुलुकको विकासका लागि अन्य मुलुकसँगको आर्थिक तथा व्यापारिक सम्बन्धलाई बेग्लै ढंगले सम्बोधन गर्ने तथा मुलुकको अवस्थितिअनुरूपको राजनीतिक प्रयोगमा ध्यान पुर्‍याउने चिनियाँ नेतृत्वको वैचारिक दूरदर्शिताका कारण चीनमा मार्क्सवादको परिष्कृत अभ्यास सम्भव भएको बुझ्न सकिन्छ ।

तसर्थ, जुनसुकै समाजले पनि आफ्नो उत्पीडन तथा उन्मुक्तिका लागि विशेषतः आफ्नो सामाजिक परिवेश तथा उत्पीडन र उन्मुक्तिको परिस्थिति अनुसार कुनै सिद्धान्त तथा दर्शनको व्याख्या, विश्लेषण र प्रयोग गर्न सक्नुपर्छ । अन्यथा यस्तो प्रयोग दिगो बन्न सक्दैन । भारतको स्वतन्त्रतापछिको प्रजातान्त्रिक अभ्यास र त्यसलगत्तै नेपालमा राणा शासनको समाप्तिपछिको प्रजातान्त्रिक अभ्यास र ततपश्चात् विकसित घटनाक्रम र बढ्दो परनिर्भरताको परिवेशलाई यस क्रममा नियाल्न सकिन्छ । ब्रिटिस साम्राज्यको कब्जामा कैयौं दशक व्यतीत गरेको मुलुक भारत आज विश्वको उदीयमान शक्तिका रूपमा स्थापित हुन खोजिरहेको छ, तर कहिल्यै आफ्नो सार्वभौमिकता नगुमाएकामा गर्व गर्ने हामी किन विकासको गतिमा अगाडि बढ्न सकेनौं भन्ने प्रश्न यस सन्दर्भमा मुनासिब छ ।

दर्शन चेतनाको उपज हो, र कुशल नेतृत्वले मात्र सिद्धान्त तथा दर्शनलाई समयसापेक्ष वस्तुनिष्ठ ढंगले आफ्नो परिवेश र परिस्थितिअनुरूप विवेकसंगत प्रयोग गर्न सक्छ । फलतः यसले त्यही समाजको मौलिकपनको झझल्को दिन्छ जुन समाजमा यसलाई प्रयोग गरिएको हुन्छ । विडम्बना नेपाली अर्थतन्त्रले यस्तो नेतृत्वको झझल्को एकाध घटना परिघटनामा दिने प्रयास गरे पनि समग्रमा नेपाली नेतृत्वले नेपाली समाजलाई यसको मूल्य, मान्यता तथा आफ्नो मौलिक अवस्थितिका आधारमा अगाडि लैजान सकेको देखिँदैन ।

यसको प्रमुख कारण शीर्षस्थ नेताहरूले नेपाली राजनीतिको उच्च स्थान सार्वभौम नेपाली जनताको मताधिकारबाट प्राप्त हुने कुरालाई सिद्धान्ततः स्विकारे पनि व्यवहारतः फेरि यहाँका राजनीतिक शक्ति अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको अधीनमै रहेको मान्नु र उनीहरूको तावेदारीबापत मात्रै बकसमा राज्यसत्ताको साँचो प्राप्त हुन्छ भन्ने ठान्नु नै हो । तर पनि निराशा र क्रन्दन तथा गालीगलौज र आरोपले मात्र साँचो अर्थमा समाज न अगाडि बढ्छ न त हामीले भनेजस्तो सार्वभौमिक नेपाल निर्माण नै हुन्छ ।

अतः आज विभिन्न पेसा, वर्ग, क्षेत्र, धर्म, पार्टी समूहका नेपालीले आफ्नो वर्ग, पेसा, धर्म, क्षेत्र तथा पार्टीभन्दा माथि उठी राष्ट्रिय परिवेशअनुकूल सिद्धान्तको व्याख्या, विश्लेषण र प्रयोगमा चासो राखे मात्र नेतृत्व नयाँ सन्दर्भको खडा हुनेछ । नत्र अझै कति समय कृत्रिम नेतृत्वको कृत्रिम सार्वभौमिकताको नाराले नेपाल र नेपालीलाई पिरोलिरहनेछ ।

प्रकाशित : असार १२, २०७९ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्

दुई सातामै कोरोना संक्रमण दर तेब्बर

संक्रमण बढ्ने क्रम दुई महिनादेखि नै सुरू भए पनि एक सातायता तीव्र  
सघन उपचारमा ४ जना, सक्रिय संक्रमितको संख्यासमेत उकालो लाग्यो
अतुल मिश्र

काठमाडौँ — दुई सातायता कोभिडको संक्रमण दरमा झन्डै तीन गुणाले बढेको छ । गत जेठ २९ मा कोभिड संक्रमण दर (पोजिटिभिटी रेट) ०.५५ प्रतिशत मात्र थियो । दुई सातामै शनिबार त्यो दर १.४९ प्रतिशत पुगेको छ । पछिल्लो पटक असार ६ गते पाजिटिभिटी दर १.१३ प्रतिशत पुगेको थियो ।

संक्रमण दर उकालो लागेसँगै सक्रिय संक्रमितको संख्या पनि बढेको छ । दुई साताअघि (२९ गते जेठमा) १०६ जना सक्रिय संक्रमित रहेकामा शनिबार त्यो संख्या बढेर १८८ पुगेको छ । त्यस्तै सघन उपचार कक्षामा भर्ना हुने कोभिड बिरामीको संख्यासमेत चार पुगेको छ । ६ दिनअघि एक जनामात्र सघन उपचारमा थिए ।

‘दुई सातामा पोजिटिभिटी रेट झन्डै तीन गुणाले बढेको छ,’ स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.चुमनलाल दासले भने, ‘भारतमा बढ्दो संक्रमणको प्रभाव र मुलुकमा हाल देखिएको जनस्वास्थ्य मापदण्डमा लापरबाहीले संक्रमणमा वृद्घि देखिएको हो ।’

विज्ञहरूका अनुसार संक्रमण बढ्ने क्रम दुई महिनादेखि नै सुरु भए पनि एक सातायता तीव्र बनेको हो । कोभिडको केस बढेपछि सबै अस्पताललाई सतर्क हुन पत्र पठाइसकेको डा. दासले जानकारी दिए । भारतमा संक्रमण बढ्ने क्रमसँगै नेपालमा पनि त्यसको प्रभाव देखिन थालेको डा. दासको भनाइ छ । भारतबाट नेपाल आउनेको परीक्षण नतिजा हेर्दा पनि संक्रमण दर क्रमशः बढ्न थालेको छ । ‘नाकामा आज (शनिबार) मात्र ४ जना पोजिटिभ देखिएका छन् भने केही दिनयता दैनिक सरदर ४ देखि ६ जना संक्रमित भेटिएका छन्,’ उनले भने । दासका अनुसार नाकामध्ये सबैभन्दा बढी संक्रमण लुम्बिनी प्रदेशको बेलहियामा देखिएको छ ।

भारतमा शुक्रबार कोभिडले २० जनाको मृत्यु भएको छ भने संक्रमण दर बढेर ४.३९ प्रतिशत पुगेको छ । कोभिड संक्रमितको संख्या करिब एक लाख पुगेको छ । संक्रमण उकालो लागेपछि भारतमा बढी संक्रामक मानिएका ‘बीए ४’ र ‘बीए ५’ भेरिएन्ट नेपाल भित्रिएको आशंका गरिएको छ । यसका लागि विशेष सावधानी अपनाइएको डा. दासले बताए । ‘तेस्रो लहरअन्तर्गत ओमिक्रोन र यसको ‘बीए.२’ भेरिएन्ट मात्र पाइएकामा भारतमा बढी संक्रामक मानिएका ‘बीए.४’, र ‘बीए.५’ भेरिएन्ट नेपालमा भित्रियो वा भित्रिएन भन्नेबारे निरन्तर परीक्षण गरेर सावधानी अपनाइरहेका छौं ।’

कुल जनसंख्याको झन्डै ७० प्रतिशतले कोभिडविरुद्धको पूर्ण खोप लगाइसकेकाले जटिल संक्रमण, संक्रमणको विस्तार धेरै तीव्र नभएको र मृत्युदर न्यून रहेको डा. दासको दाबी छ । संक्रमणबाट बच्न मास्कको प्रयोग, खोप, हातको सरसफाइलगायतका स्वास्थ्य मापदण्ड पालना गर्न उनले सुझाव दिए ।

प्रकाशित : असार १२, २०७९ ०८:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×