कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

पानीका स्रोत संरक्षण र पुनर्भरण

सम्पादकीय

काठमाडौं नगर सभ्यताले विकास गरेको रैथाने पानी प्रयोग प्रणाली र योसँग जोडिएको ज्ञान–विज्ञानलाई उद्भूत मानिन्छ, जुन आज–पर्यन्त उपयोगी पनि छ । अघिल्लो महिना इनार र ढुंगेधारा सफा गर्दै ‘सिथि नखः’ मनाइयो । पानी स्रोतको संरक्षण हाम्रो संस्कृति नै बन्नुले पुर्खाले यसलाई दिएको महत्त्व दर्साउँछ । पानीको जोहो नगर सभ्यताको एउटा मूल मान्यता नै बनेको पाइन्छ । तर, पछिल्लो समय काठमाडौं सहर र यसको आधुनिक भनिएको पानी प्रयोग प्रणालीले पानी स्रोतको संरक्षणलाई ध्यान दिएको छैन ।

पानीका स्रोत संरक्षण र पुनर्भरण

इतिहासकारहरू अनुसार काठमाडौं उपत्यकामा छैटौं शताब्दीदेखि नै ढुंगेधारा प्रचलनमा आएको थियो । लिच्छवि हुँदै मल्लकालसम्म आइपुग्दा पानी प्रणालीका संरचनाहरू झनै विकसित भए, कति त अझै उपयोगमा छन् । उहिले आकाशे पानी जोगाउन पोखरीहरू बनाइएका थिए, वर्षाको पानी सोझै जमिनमा पुनर्भरण हुन्थ्यो, वर्षभरि नै ढुंगेधाराहरू यसैबाट चल्थे, जसमा राजकुलोहरूले पनि सघाउँथे ।

अहिले जनसंख्या वृद्धिसँगै ठूला–ठूला भवन–पूर्वाधारहरू बनिरहेका छन्, जसबाट यस्ता परम्परागत संरचना तथा प्रणालीमा क्षति पुगिरहेको छ, अधिकांश त मासिइसकेका छन् । खुला स्थानहरू खुम्चिँदै गएका छन् । वर्षामा आकासे पानी सोझै जमिनमा पर्दैन, अधिकांश स्थानमा कंक्रिट र पिच हुँदै ढलमा मिसिन्छ,र त्यसै खेर जान्छ । यसले जमिनमुनिको पानीको प्राकृतिक भण्डारणलाई घटाउँदै लगिरहेको छ । भुल्नु हुँदैन— अझै काठमाडौंवासीको भरपर्दो पानीको स्रोत भूमिगत पानी नै हो । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले पनि जमिनमुनिबाट समेत पानी निकालेर बाँड्ने गर्छ । त्यसैले भूमिगत पानीको संरक्षणमा जोड दिनु अपरिहार्य छ ।

भूमिगतबाहेक काठमाडौंवासीका लागि वरिपरिका पहाडका मूलबाट पानी ल्याइन्छ । यसरी ल्याइएको र भूमिगत पानीले नपुग्दा घरघरले पानी उद्योगबाट किनेर काम चलाउने गरेका छन् । अधिकांश पानी उद्योगले पनि भूमिगत पानी नै बेच्ने हुन् । यसबाहेक पानीका लागि काठमाडौंवासीले वर्षैदेखि व्यग्रताका साथ मेलम्ची आयोजनाको प्रतीक्षा त गरिरहेका छन्, तर यसले मात्र संकट टार्ने निश्चित छैन । मेलम्ची आयोजनाले पहिलो चरणमा दैनिक १७ करोड लिटर पानी ल्याउने जनाइएको छ जबकि हामीलाई दैनिक ४३ करोड लिटर चाहिएको छ, जनसंख्यावृद्धिसँगै माग झन्झन् बढ्दै जानेछ । सरकार मेलम्ची आयोजनामा मात्र निर्भर भएकाले उपत्यकाको पानी प्रयोग प्रणालीमा अन्य विकल्प, खास गरी परम्परागत तरिका र पुनर्भरणमा प्राथमिकता दिइएको छैन, जुन चिन्ताजनक छ । मेलम्चीले काठमाडौंको पानी संकट ‘छु मन्तर’ को शैलीमा समाधान गर्छ भन्ने सरकारी धारणामा परिवर्तन हुनु जरुरी छ ।

भविष्यका दृष्टिले पनि काठमाडौंमा पानीको दिगो स्रोतका लागि पुनर्भरणलाई एउटा प्रमुख उपायका रूपमा अपनाउनुपर्छ । यसका निम्ति भूमिगत पानीको जसरी अत्यधिक दोहन भइरहेको छ, त्यसलाई तत्काल व्यवस्थित बनाउनुपर्छ । उद्योग, अस्पताल तथा सर्वसाधारणले ठूलो मात्रामा भूमिगत पानी निकालिरहे पनि त्यहीअनुरूप जमिनमा पानी पठाइँदैन । यसबाट भूमिगत पानीको सतह झन्झन् भासिँदै गएको छ । बेलैमा वर्षाको पानीको उपयोग र ‘बोरिङ’ लाई नियमन नगरे, छिटै काठमाडौं सुक्खा हुने जोखिम छ । अहिले जोकसैले जुनै प्रयोजनका लागि जति पनि पानी जमिनबाट निकाल्न पाउँछन्, तर कुनै तरिकाले प्रकृतिलाई त्यसको क्षतिपूर्ति तिर्नुपर्ने प्रबन्ध मिलाइएको छैन ।

यस्तो अवस्था निरन्तर रहनु हुन्न, भूमिगत पानीका लागि वैज्ञानिक मापदण्ड बनाएर अनिवार्य रूपमा त्यसको पालना गर्नुपर्छ । साथै, पोखरी, ढुंगेधारा, इनार, राजकुलोजस्ता पानी पुनर्भरणका परम्परागत संरचनाहरूको संरक्षण र परिमार्जन गर्दै लैजानुपर्छ । काठमाडौंमा यस्ता अधिकांश संरचना नासिएका छन्, र बाँकी रहेकाहरू पनि ममर्त–सम्भार र संरक्षण अभावमा सञ्चालनमा कमै आएका छन् । निम्न आय स्रोत भएकाहरूले पानी किनेर साध्य लाग्दैन, यस अर्थमा ढुंगेधारा, इनार लगायत सार्वजनिक पानीको स्रोतको पुनर्जीवन अझ बढी अर्थपूर्ण छ ।

सरकारले उतिसारो चाख नलिए पनि काठमाडौं उपत्यकाका अधिकांश पालिकाले पुनर्भरणका लागि आवश्यक योजना बनाएका छन्, काठमाडौं महानगरले केही वर्षअघि ‘रिचार्ज काठमाडौं’ सञ्चालनको कार्यविधि नै ल्याएको छ । महानगरका मेयर बालेन्द्र शाहले गत साता घोषणा गरेको काठमाडौंको नीति तथा कार्यक्रममा उक्त अभियान अन्तर्गत ‘प्रत्येक वडाको कम्तीमा एउटा सार्वजनिक वा सामुदायिक स्थलमा आकासे पानी संकलन तथा पुनर्भरण गरिने’ उल्लेख छ ।

यस्ता घोषणा तथा प्रयास आफैंमा सकारात्मक छन् । तर एकातिर परम्परागत पुनर्भरणका संरचनाको संरक्षणमा ध्यान नदिनु र अर्कातिर भएका सार्वजनिक जग्गा पनि व्यापारिक प्रयोजनका लागि दिइनुले पालिकाका पुनर्भरण कार्यविधि तथा योजनाहरू फेरि पनि देखाउनका लागि मात्र नहोऊन् भन्नेमा सम्बन्धित सबैले जोड दिनुपर्छ । यस्ता नीति नियमहरू पालिकाहरू आफैंले धरि पालना नगर्नु, अझ तिनका परिसर नै कंक्रिटले ढाकेका देखिनुले उनीहरूमाथि प्रश्न उठेको हो, यसतर्फ नवनिर्वाचित जनप्रतिनिधिहरूले ध्यान पुर्‍याउनुपर्छ । र, आगामी दिनमा यस्तो प्रश्न उठ्ने वातावरण बनाउनु हुन्न, घोषित योजना तथा कार्यक्रमहरूको यथोचित पालना गरिनुपर्छ ।

सहरवासीलाई पुनर्भरणका लागि खाल्डो बनाऊ भन्नुअघि पालिका र सरकारी कार्यालय आफैं उदाहरण बन्न सक्नुपर्छ, कंक्रिट हटाएर इँटा मात्रै छाप्दा पनि यसमा सुधार आउँछ । यस्तै सार्वजनिक जग्गालाई पनि भूमिगत पानी पुनर्भरणका लागि उपयोग गर्न सकिन्छ । यसका लागि ठूलो लगानी गर्नु पनि पर्दैन, इच्छाशक्ति भए पुग्छ । नियम बनाउने, योजना ल्याउनेहरूबाटै यसको लागू भए सहरवासीमा पनि त्यसको प्रभाव पर्छ, उनीहरूलाई दबाब दिन पनि सजिलो हुन्छ । पालिका र नागरिकहरूको संयुक्त पहलमा पानीको स्रोत संरक्षण र पुनर्भरणलाई जीवनशैली नै बनाउनुपर्छ ।

प्रकाशित : असार १२, २०७९ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?