२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

खेतीपाती रूपान्तरणको यात्रा

पछिल्ला सात दशकमा राजनीतिक व्यवस्थाहरू फेरिए तर कृषि प्रणाली जस्ताको तस्तै छ । यसलाई हेर्ने सोच फेरिएन ।
कृष्णप्रसाद पौडेल

जलवायु परिवर्तन र वातावरण प्रदूषणका कारण बहुसंख्यकको जीवनमा संकट गहिरिँदै छ । यसले समग्र जीवनपद्धति थप जोखिमपूर्ण र असुरक्षित बनाइरहेको छ । सबैभन्दा बढी खेतीपातीमा आश्रित विपन्न समुदाय संकटको भुमरीमा छन् । उनीहरूको जीवन दिनदिनै कष्टकर बन्दै गइरहेको छ । सँगै खेतीपातीमा कृत्रिम रसायन र घातक विषका कारण माटो र मानव स्वास्थ्यमा समेत ठूलो संकट छ ।

खेतीपाती रूपान्तरणको यात्रा

कृषिप्रधान देशका आम नागरिकले आयातित र पत्रु खानेकुराबाट गुजारा गर्नु नियति बनेको छ । किसानले खेती नगरे हामी सबै भोकै पर्छौं । उद्यमी किसानले खेती धान्न नसकेर पलायन भएसँगै खानेकुराको आयात थामी नसक्नु भएको छ ।

बाह्य स्रोतमा भर पर्दै जाँदा स्थानीय उत्पादन घटेको घट्यै छ । लागत बढेसँगै कृषिउपज महँगो पनि भएको छ । त्यसमाथि बिचौलिया र दलालको एकाधिकारले कृषिउपजले बजार पाउन नसकिरहेको परिस्थिति हामीमाझ छँदैछ । यसले खेतीपाती र खानेकुराको नियन्त्रण परचक्रीका हातमा मात्र पुर्‍याएको छैन, दिनदिनै महँगो र विषाक्त पनि भएको छ । समय छँदै यस्तो परिस्थितिमा ध्यान नदिने हो भने खेतीपाती र खानाकै कारण हाम्रो र हाम्रा सन्ततिको दुर्दिन नआउला भन्न सकिन्न ।

हामीलाई थाहै छ, विगत ४ दशकदेखि नेपालमा खेतीपाती निरन्तर ओरालो लागिरहेको छ । यसको मुख्य कारण कृषि सपार्ने सोच र ढाँचा हाम्रो विशेषता अनुरूपको नभएर हो । कृषि उन्नत बनाउने जिम्मेवारी र जवाफदेही लिनुपर्ने राजनीतिक तथा प्रशासनिक नेतृत्वले यथार्थलाई स्विकारेर सल्टाउनुभन्दा अहिलेकै जस्तो विषाक्त कृषि प्रवर्द्धन गर्नमै रमाइरहेको देखिन्छ । यस्तो कृषिलाई मलजल गरेबापत आउने कमिसनले उनीहरूको तत्काल गुजारा त चलेको होला तर हाम्रो भविष्य के होला ?

सामाजिक तथा आर्थिक परिवर्तनसँगै प्रविधिमा आएको व्यापक फेरबदललाई आत्मसात् गरी कृषिको उपयुक्त ढाँचा बनाउन नसक्नाले नै आज यो अवस्था आएको हो । अनि मैदानी कृषिलाई हाम्रो भूगोल तथा पर्यावरणीय विशेषतामा जस्ताको तस्तै अपनाउन खोज्दा समस्या झनै बल्झेको हो । राजनीतिक नेतृत्वमा उन्नतिको खाका–दृष्टिकोण नभएपछि हुने यही हो । अहिले स्थानीय आवश्यकता र विशेषता अनुरूपको खेतीपाती प्रवर्द्धन गर्नेभन्दा ‘विकासे’ राम्रो भन्ने उपनिवेशी हरित क्रान्तिको नक्कल गरी कृषिलाई आधुनिकीकरण गर्ने ढाँचा हावी छ । र, यही हाम्रो खेतीपाती तहसनहस हुँदै जाने मूल कारक हो ।

सँगै, अहिले सबैतिर भइरहेको प्रकृतिको दोहन र खनिज ऊर्जामा आधारित भौतिक विकासले मानवीय विकासका अन्य आयामलाई ओझेलमा पारेको छ, जसको प्रभावबाट कृषि क्षेत्र पनि अछुतो छैन । यस्तो एकलकाँटे, असम्भव र गन्तव्यहीन विकासे यात्राले सिंगो मानव सभ्यता नै संकटोन्मुख छ । कृषि सपार्ने जिम्मा लिनुपर्ने नेतृत्वले प्रकृतिसम्मत कृषि प्रणालीलाई उन्नत बनाउने, कुरा बुझ्ने र व्यवहार गर्ने सुझबुझ र विवेक गुमाएका छन् । यस्तो किन भयो ?

विगत ७ दशकमा राजनीतिक व्यवस्था परिवर्तनका ठूल्ठूला आन्दोलन भए । यसैको बलमा राजनीतिक प्रणालीहरूसमेत फेरिए । तर कृषि प्रणाली जस्ताको तस्तै छ । यसलाई हेर्ने सोच फेरिएन । विडम्बना, खेतीपाती सहज बनाउन सामान्य सुधारका कामसमेत भएनन् । बरु आफ्नो र आसेपासेको स्वार्थअनुरूपका कृषि कार्यक्रम ल्याइए । आम किसानले पाउनुपर्ने सेवा सुविधालाई ध्यान दिइएन । यो प्रवृत्ति खानेकुरा र खेतीपाती उन्नत बनाउने विषयमा मात्र सीमित छैन । आर्थिक–सामाजिक उन्नतिका लागि बाटो पहिल्याउनेसँग पनि जोडिएको छ । किसानका नाममा धेरैले गोहीका आँसु झारे तर खेतीपातीका लागि सक्षम बनाउन कुनै सार्थक प्रयास भएन । उल्टै उनीहरूकै नाममा बिचौलियाहरू फस्टाए ।

विडम्बना, कृषिको राजनीतिक तथा प्रशासनिक नेतृत्वले कृषि सपार्न आवश्यक सामान्य ज्ञान र सीप बढाउने चेष्टा नै गरेनन् । स्थायी सरकार भनिने परम्परागत ढर्राको कृषि कर्मचारीतन्त्रलाई समयसापेक्ष पुनर्गठन गर्न पहल गर्नुको साटो निहित स्वार्थ पूरा गर्न लागिरहे । हाम्रो कृषि उन्नत बनाउने सपनाको सबैभन्दा ठूलो बाधक यही हो । कृषिक्षेत्र उन्नति अभियानको अगुवाइ गर्ने राजनीतिक तथा प्रशासनिक नेतृत्व निकम्मा र अक्षम हुँदै गएको बलियो प्रमाण पनि हो यो ।

कृषिको पुनर्जीवनका लागि नीतिगत निर्णय, कार्यान्वयन, अनुगमन तथा पृष्ठपोषण गर्ने संसद्देखि सरकारसम्म सबै मुख्य थलो निरीह भएका छन् । नेपालको खाना र खेतीपाती सपार्न अहिलेको जस्तो शैलीले हुँदैन । कृषि रूपान्तरणको दृष्टि, अठोट र क्षमतासमेत नभएको नेतृत्वले यो अहं भूमिका पूरा गर्न सक्दैन भन्ने घामजत्तिकै छर्लंग भैसकेको छ । कृषि सपार्ने सुझबुझ गुमाउँदै गएको नेतृत्व माफियातन्त्रमा चुर्लुम्म डुबेको छ । कृषिलाई खानेकुराभन्दा पनि पैसा फलाउने अर्थमा मात्र बुझेको देखिन्छ । नत्र खानेकुरामा कृषि रसायन र विष मिसाउनमै किन जोड दिन्थे र ? यस्तो बुझाइ बोकेको नेतृत्वको प्रवृत्तिबाट दीर्घकालीन उन्नति त कुरै छाडौं विद्यमान संकट सामना गर्ने विश्वाससमेत गर्न सकिँदैन ।

अब आत्मनिर्भर खेती प्रणालीलाई पुनर्जीवित गर्ने, विकासलाई प्रकृतिसम्मत र स्थानीयतामा आधारित बनाउँदै लैजाने र यसको मुख्य कर्ता राजनीतिक र प्रशासनिक नेतृत्वको पुनःसंरचना नगरी खाना, नाना, छाना, शिक्षा, स्वास्थ्यजस्ता प्राथमिक सवाल सम्बोधन हुँदैनन् । यो सम्भव बनाउन सामाजिक पुनर्जागरण र प्रकृतिको पुनर्निर्माण सँगसँगै लैजानु अनिवार्य छ । यसले मात्र नेतृत्वको प्रवृत्ति, प्रकृति र हाम्रो जीवनको मूल आधार खेतीपाती पुनर्जीवित हुँदै जान्छ । अब खानाका लागि गरिने खेतीपातीलाई प्रवर्द्धन गर्न मानिस र प्रकृतिको अन्तरसम्बन्धको विवेकसम्मत र व्यावहारिक ढाँचा बनाउने चुनौतीलाई स्विकार्दै नयाँ खाना र खेतीपातीको संस्कृति निर्माण गर्नु अपरिहार्य भैसकेको छ । यी सबै पक्षलाई सम्बोधन गर्न अब राजनीतिक तहमै हस्तक्षेप गर्नुपर्ने भएको छ । यसका लागि राजनीतिक दलहरूलाई जिम्मेवार र जवाफदेही बनाउँदै संसद् र सरकारको भूमिका प्रभावकारी बनाउन लोकतन्त्रलाई सुदृढ गर्नुपर्ने देखिन्छ । सक्षम र प्रतिबद्ध अगुवाहरूले राजनीतिक हस्तक्षेप गर्ने अठोट गर्नुपर्छ । सँगै, अहिलेको खेतीपातीको यो अवस्था फेर्न आतुर जमातले यस्ता उत्साही अगुवालाई प्रोत्साहित गर्न चुक्नु हुँदैन । आम समुदायले यो प्रक्रियामा साथ दिने आँट गरे राजनीतिक दल र नेतृत्वको प्रवृत्ति सुधार्न सम्भव छ । अन्यथा हाम्रो जीवन थप दुरूह बन्नेछ सँगै सन्ततिको भविष्य पनि उज्ज्वल हुने छैन ।

आगामी संघ–प्रदेशको निर्वाचनमा कृषि सपार्नर् प्रतिबद्ध पार्टी वा समूहका उमेदवारलाई जिताएर सुधार प्रक्रियाको थालनी गर्न सकिन्छ । सँगै, हामी जनताले पनि कृषि क्षेत्रमा भैरहेको कुशासन र बेथिति नसहने अठोट गर्ने हो भने अक्षम र अयोग्य व्यक्ति राजनीतिको अग्रपंक्तिमा पुग्दैनन् । राजनीतिक दलहरू पनि सक्षम व्यक्ति चयन गर्न बाध्य हुनेछन् ।

सबै व्यक्ति सबै कामका लागि उत्तिकै सक्षम हुँदैनन् । कस्ता व्यक्तिलाई के कामका लागि छनोट गर्ने भन्ने नेतृत्वका लागि सबैभन्दा पेचिलो प्रश्न बन्ने गरेको छ । अपवादबाहेक राजनीतिमा हस्तक्षेप गर्न सक्षम र प्रतिबद्ध नेतृत्व राजनीतिक आन्दोलनले नै जन्माउने गर्छ । हाम्रो समाजमा पनि यस्ता अगुवाको कुनै कमी छैन । राजनीतिमा वैचारिक र इमानको खडेरी परिरहेको बेला समाज रूपान्तरणको राजनीतिक चेत, विषयको ज्ञान–सीप र अभ्यासले भएको उम्मेदवारको उपस्थितिले मात्र पनि रूपान्तरणको आस जगाउन सक्छ ।

‘अस्ताउँदो सूर्यले जगलाई सोध्यो- म त अस्ताउँदै छु तिमीलाई उज्यालो कसले देला ? यस्तो प्रश्न सुनेर सारा जग मौन थियो । एउटा माटाको दियोले झुकेर भन्यो- मलाई जिम्मा दिनुस् जति सक्छु, गर्छु ।’ प्रसिद्ध कवि रवीन्द्रनाथ टेगोरको यो कविताले भनेझैं हामीलाई आशा जगाउने दियोको प्रतीक्षा छ ।

हामी सबैलाई थाहै छ, खानेकुरा नभए हाम्रो जीवन रहँदैन । किसानले उत्पादन नगरे खानेकुरा हाम्रा भान्सासम्म आउँदैन । यो मर्म बुझ्नेले मात्र हामी सबैको भरोसा जगाउन सक्छ । यस्ता भरोसायोग्य, सक्षम र प्रतिबद्ध अगुवाको अहिले सबैतिर खोजी भैरहेको छ । माटाको दियो बनेर बल्न तयार अगुवालाई राजनीतिक हस्तक्षेप गर्न साथ दिएर मात्र कृषि रूपान्तरणको यात्रा सुरु हुन्छ । तसर्थ, अब ढिला नगरी यस्तो माटाको दियोमा तेल हालौं, सँगै यसलाई हावाबाट जोगिन साथ दिऔं । अनि मात्र हाम्रो राजनीतिक पुनर्जागरणसँगै खेतीपातीको रूपान्तरण सुरु हुन्छ ।

प्रकाशित : असार १०, २०७९ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?