कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

निहारिकाले दुःख नपाऊन्

झमक घिमिरे

ओहो ! यो बारम्बार कति दुःखद समाचार सुन्नुपरिरहेको छ ? त्यो बीभत्स कुराले मान्छेको मन मस्तिष्क एकछिन खाली हुन्छ र विक्षिप्त बन्छ ! अहिले यौन हिंसा र बलात्कारका घटना दिनैजसो भइरहेका छन् । यहाँ बाबुले छोरी भन्दैन, हजुरबाले नाबालिका नातिनी भन्दैन, दाजुले बहिनी भन्दैन ।

निहारिकाले दुःख नपाऊन्

कति आपराधिक प्रवृत्तिका मान्छेहरू बढिरहेका छन् समाजमा ? यहाँ त आफ्नै आमालाई छोराले बलात्कार गर्दा पनि मान्छेहरू सामान्य घटना मानेर टुलुटुलु हेरिरहन्छन् । क्या ! विकृत भयो हामी बाँचेको समाज ?

आज निहारिका राजपूत आफ्नो अस्मिताका लागि न्याय माग्दै जीवन र मृत्युको दोसाँधमा लडिरहेकी छन् । आफ्नो एक्काइस महिने दुधे छोरोलाई लिएर न्यायका लागि बनेका भनिएका कैयौं निकाय खट्खटाइरहेकी छन् । तर उनलाई न्याय कहाँबाट मिल्नु ? किनभने उनी कुमारी आमा । आमा बन्ने स्त्रीको अधिकारको संरक्षण गर्न खोज्दा उनी आफन्तैबाट लखेटिइन् । त्यति मात्र होइन समाजबाटै बहिष्कृत भइन् ।

यहाँ न्यायका लागि ठूलठूला आवाज उठाउनेहरू अहिले किन चुपचाप छन् ? अरू बेला चर्काचर्का नारा लगाउनेहरू निहारिकाको न्यायका लागि बोलेको खोइ ? निर्दोष हुँदाहुँदै उनीमाथि दोष किन थुपार्दै छ समाज ? आमा बन्ने निर्णय गर्दा भोग्नुपरेको सजाय यही हो ? आमा बन्ने–नबन्ने निर्णय प्रत्येक परिपक्व स्त्रीको अधिकारको कुरा हो र हुनुपर्छ । निहारिका बलात्कृत भइन् । उनी गर्भवती भइन् र उनी गर्भको बच्चालाई मार्नविरुद्ध उत्रिन् । कुमारी आमा बनिन् । उनलाई साथ दिनुपर्ने आफन्त, समाज र न्यायालयका ढोकाहरू सबै पन्छिए । उनले आमा बनेर ठूलै अपराध गरिन् ।

नेपालमा आमाको नामबाट बच्चाको नागरिकता बनाउन पाइन्छ भने पनि यसका आवश्यक प्रावधान पूरा गर्न सजिलो र सरल छैन । बढ्दो यौन हिंसालाई निरुत्साहित गर्नुको साटो सरकारले स्त्रीले चाहेमा जुनसुकै उमेर (अपरिपक्व) मा पनि विवाह गर्न कानुनले हस्तक्षेप गर्न नपाउने प्रावधान ल्याउन लागेको सञ्चारमाध्यमहरूमा आएका छन् । सरकारको यो गैरजिम्मेवारी काम निहारिकाहरूलाई मार्ने कदम भन्दा अत्युक्ति नहोला । किनभने किशोरीहरूको पूर्ण रूपमा मानसिक, शारीरिक, शैक्षिक विकास नभई विवाह गर्ने आदेश फरमान गर्नु पुरुषलाई सजिलो पार्नु हो । उहिलेको गोमा कहानी दोहोर्‍याउन खोजेको जस्तो भान भइरहेको छ ।

यो पंक्तिकारको नजरमा कानुनी प्रावधानमै कुमारी आमा बन्न पाउने अधिकार राख्नुपर्छ । यसो भए यौन हिंसा र बलात्कारका घटना कम हुन्थ्यो । कुनै स्त्रीले विवाह नगरी बच्चा पाउँछु भन्दा कानुन, समाज, सरकारले उसको इच्छाको दमन नगरोस् । आमाको नामबाट सजिलै नागरिकता बन्ने प्रावधान हुनुपर्छ । त्यसो भयो भने निहारिकाहरूले यस्तो सास्ती भोग्नुपर्ने थिएन । निहारिकाको यो आँसु, यो संघर्षको सम्मान होस् । उनलाई कुमारी आमा बनेकामा आफन्त, समाजले तिरस्कार होइन इज्जत दिएर दोषीलाई कडाभन्दा कडा दण्ड दिइयोस् । ताकि भविष्यका निहारिकाहरूको अस्मिता लुटिनुअघि अपराध गर्नेले एक पटक सोचोस् । र आउँदा निहारिकाहरूले आजकी निहारिकाले जस्तो दुःख भोग्नु नपरोस् ।

प्रकाशित : असार १०, २०७९ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?