गतिशील चुरेको चुरो बुझौं- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गतिशील चुरेको चुरो बुझौं

चुरेको समग्र भूगोललाई विलीन हुन नदिन र सदासर्वदा बचाइराख्न यस क्षेत्रको समस्या समाधानमा अर्जुनदृष्टि दिन ढिलाइ भैसकेको छ । 
चुरेमा पाइने चट्टानहरू घाम, पानी र अन्य बाहिरी वातावरणको प्रभावबाट समेत सजिलै टुक्रने र कुहिने प्रकृतिका छन्, जसले गर्दा यसको सतह र गर्भ अति नै कमजोर छ । 
सुबोध ढकाल

दक्षिणतिर तराईको समतल भू–भाग र उत्तरतिर लेसर हिमालयका पहाडहरूले छेकिएको र नेपालको पूर्वदेखि पश्चिमसम्म फैलिएको अनि सबैभन्दा नयाँ चट्टानहरूले बनेको चुरे क्षेत्रको संरक्षणलाई राष्ट्रिय चुनौतीका रूपमा हेरिएको छ । एकातिर, यो क्षेत्रमा वन पैदावारदेखि ढुंगा, गिट्टीसम्मका प्राकृतिक स्रोतसम्म प्रयोगका सवालमा विवादित क्रियाकलापहरू हुने गरेका छन् ।

यस्ता स्रोतसाधन रहेको क्षेत्र दिनप्रतिदिन विनाशको चपेटामा फसिराखेको छ । अर्कातिर, उत्तरतिरका बलिया महाभारत शृंखला र उच्च हिमालय लगायतका ठूलो भारलाई समेत धान्न बाध्य हुनुपर्दा प्राकृतिक हिसाबले नै पनि भर्खर हुर्किंदै गरेको कलिलो चुरे उसै उकुसमुकुसको अवस्थामा छ । खासमा उत्तरतिरका बलिया पहाडहरूले चुरेकै बुई चढेका छन् । यस्तो अवस्थामा पनि चुरेको व्यवस्थापनमा कमजोरीहरू देखिने गरेका छन् ।

कतिसम्म भने, चुरेको कुन स्थानमा कस्तो अवस्था छ भन्ने दुरुस्त डाटाबेसको पनि अभाव छ । भएको कुरालाई सम्म व्यवहारमा उतार्न सकिएको छैन । चुरेको समग्र भूगोललाई विलीन हुन नदिन र यसलाई सदासर्वदा बचाइराख्न यस क्षेत्रका समस्या समाधानमा अर्जुनदृष्टि दिन ढिलाइ भैसकेको छ । केहीको पनि अस्तित्व जोगाउने कुरा पैसामा दाँज्ने विषय पक्कै होइन । चुरेको अस्तित्व बचाउने कामबाट पनि तत्कालीन रूपमा आम्दानीभन्दा खर्च नै बढी हुने कुरा निश्चित छ । यसलाई बचाउनका निम्ति भौगर्भिक बनोट र प्रक्रिया, मानवीय क्रियाकलाप अनि यसलाई बचाउने कारण र असरमा आधारित वैज्ञानिक विश्लेषणका साथै सोही आधारमा निकालिने समाधानका उपाय महत्त्वपूर्ण हुन्छन् ।

भौगर्भिक बनोट र अन्तर्निहित प्रक्रिया

भौगर्भिक हिसाबले नेपालको चुरे क्षेत्रलाई ३ भागमा विभाजन गर्न सकिन्छ : तल्लो सिवालिक, मध्य सिवालिक र माथिल्लो सिवालिक । तल्लो सिवालिक तराईको उत्तरी भेगमा रहेको भावरसँग जोडिएको छ भने मध्य सिवालिक तल्लो सिवालिकको उत्तरतिर र माथिल्लो सिवालिक त्योभन्दा पनि उत्तरतिर । माथिल्लो सिवालिकको उत्तरतिर भौगर्भिक संरचनाको हिसाबले लेसर हिमालयका चट्टानहरू छन्, जुन चुरेका चट्टानभन्दा धेरै पुराना हुन् र यिनीहरू निकै बलिया पनि छन् । चुरे क्षेत्र नेपालमा कान्छो हिमालयको सबैभन्दा कान्छो सन्तानका रूपमा रहेको छ र यो क्षेत्र अति नै कमजोर चट्टानहरूले बनेको छ । अति नै कमजोर र सूक्ष्म माटाका कणहरूबाट बनेका मडस्टोन, बालुवाबाट बनेका स्यान्डस्टोन र विभिन्न आकारका ग्रेभेलहरूबाट बनेका

कोङ्लोमेरेटजस्ता चट्टानहरू यो क्षेत्रको भूगर्भका मुख्य संरचना हुन् । चुरेको भौगर्भिक बनोटलाई समग्रमा हेर्दा यहाँ पाइने चट्टानहरू घाम, पानी र अन्य बाहिरी वातावरणको प्रभावबाट समेत सजिलै टुक्रने र कुहिने प्रकृतिका छन् । सारांशमा बुझ्दा चुरेको सतह र गर्भ अति नै कमजोर छ ।

पहिरो र भू–क्षय प्रमुख चुनौती

चुरेको अहिलेको प्रमुख समस्या भनेको पहिरो र भूक्षयले यो भूभाग नै छियाछिया पर्नु हो । चुरे क्षेत्रमा सबैतिर एकै खालका पहिरो पाइँदैनन्, किनकि यसका तिनटै भागका भौगर्भिक बनोट छुट्टाछुट्टै किसिमका छन् । मानवीय क्रियाकलाप र प्राकृतिक बोटबिरुवाको किसिम पनि भौगर्भिक बनोट अनुसार नै फरकफरक पाइएका छन् । विशेषतः तल्लो सिवालिक र माथिल्लो सिवालिकमा सतही पहिरो र भू–क्षय बढी जान्छ भने सापेक्षित रूपमा कडा चट्टान भएकाले मध्य सिवालिकमा गहिराइसम्म फैलिएका ठूलाठूला चट्टानी पहिरो जान्छन् । मध्यमाञ्चल र पूर्वाञ्चल क्षेत्रका विभिन्न स्थानका पछिल्लो अध्ययनमा मध्य सिवालिकमा क्षेत्रफल र संख्याका हिसाबले बढी पहिरा गणना गरिएका छन् । उक्त अध्ययनका अनुसार मध्य सिवालिकमा औसतमा झन्डै ६० प्रतिशत, माथिल्लो सिवालिकमा २२ प्रतिशत र तल्लो सिवालिकमा १४ प्रतिशत पहिरा गएका छन् । बाँकी पहिरा ‘कोटर्नेरी डिपोजिट’ भनिने खोलाले जम्मा गरेका अलि पुराना ग्रेबेल, कोबेल र बोल्डरका साथै बालुवा र त्योभन्दा साना गेग्य्रानहरूले बनाएका सानासाना ढिस्काहरूमा गएका छन् । यसबाट के बुझिन्छ भने चुरेका पहिरालाई यहाँको भौगर्भिक संरचनाले धेरै हदसम्म नियन्त्रण गरेको छ ।

चुरेमा पहिरो जाने र भू–क्षय हुने अर्को प्रमुख कारण यसवरपरको विशिष्ट भौगोलिक अवस्थिति पनि हो । चुरेको उत्तरतिर सापेक्षित रूपमा कडा चट्टान छन्, जसलाई वर्षाको पानी र खोलाको बहावले धेरै कटान गर्न सक्दैन, यही कारण यी भूभागमा अग्ला पहाडहरू छन् । जब यस्ता कडा चट्टानी पहाडबाट कटेर खोला बग्न थाल्छ र त्यसले चुरेको कमजोर चट्टानी पहाडलाई भेट्छ, तब खोलाको पानीको सञ्चित शक्ति तथा ठूलो उचाइको फरकले सृजित उच्च वेगले चुरेको कमजोर बनोटलाई सजिलै कटान गर्छ । यसबाट चुरेमा पहिरो मात्र निम्तिँदैन, जमिनकै क्षय हुन्छ ।

मानवसृजित कारण

अहिले चुरे क्षेत्रमा पनि फास्ट ट्र्याक लगायत विभिन्न विकास निर्माण र पूर्वाधार विकासका काम भैरहेका छन् जुन देश विकासका लागि अपरिहार्य छ, तर अहिले भैरहेको सडक निर्माण प्रक्रियाले चट्टान टुक्रिने, खिइने र भूक्षय हुने प्रक्रिया झन् बढेर गएको छ । यस्ता सडक निर्माणमा हाम्रा प्रविधि भनेको प्रायः ‘कट एन्ड फिल मेथड’ हो, जुन चुरेको कमजोर भौगर्भिक बनोट बिगार्न पर्याप्त छ । यस क्षेत्रमा खनिएका सडकमा कहीँ कतै चुस्त इन्जिनियरिङ डिजाइन देखिँदैन । जस्तो कि सडक खनिसकेपछि पहिरो जान नदिन स्लोपको डिजाइन वैज्ञानिक हुनुपर्नेमा जिवोमेट्रिक डिजाइनसम्म पनि देखिँदैन । धेरै ठाउँमा सडकको ट्र्याक मात्र खोलेर अन्य केही नगरी बेवारिस रूपमा छाडिएको छ । मानवजन्य अन्य कारणमा वनजंगल फँडानी तथा अतिक्रमण र उक्त स्थानहरूमा गरिएका अनियन्त्रित र अवैज्ञानिक बस्ती विकास प्रमुख हुन् । वन विनाशबाट प्राकृतिक सम्पदाको नाश भैरहेको एउटा पाटो छ भने वनले ढाकेको जमिन नांगो हुन गै बाहिरी वातावरणसँग सजिलै प्रतिक्रिया हुन जाने, रूखले माटोलाई समातेर राख्न नपाउने, वर्षामा परेको पानीले प्रत्यक्ष रूपमा जमिनलाई गलाउने अनि पहिरो तथा भू–क्षय बढ्न जाने क्रम पनि बढ्ने अर्को पाटो पनि छ । त्यस्तै मानवसृजित स्लोपहरूमा पानी निकासका लागि वैज्ञानिक नालाहरूका संरचना नबन्नुले भीरमा जथाभावी पानी बगेर चट्टान टुक्रिने, खिइने र भूक्षेय हुने प्रक्रिया पनि अति नै बढेको छ ।

ढुंगा–गिट्टीको फसल

वनजंगलमाथि अतिक्रमण गरी नयाँ बस्ती बसाउने क्रम र वन फँडानी तथा जथाभावी खोलाहरूमा अतिक्रमण अनि चट्टानी भीर र खोलाहरूबाट जथाभावी ढुंगा–गिट्टी निकाल्ने चलनले पहिरो र भूक्षयलाई बढावा दिइरहेका छन् । त्यसैले अनियन्त्रित र अवैज्ञानिक रूपमा भैरहेको बालुवा–गिट्टी दोहनलाई तुरुन्तै रोकी यसलाई वैज्ञानिक ढंगबाट चलाउनु अति जरुरी छ । यसो भन्नुको अर्थ कुन स्थानबाट कति मात्रामा ढुंगा, गिट्टी निकाल्न सकिने हो र कुन स्थानबाट निकाल्न नमिल्ने हो त्यो पहिचान गरी सोही अनुसार व्यवस्थापन गर्नु जरुरी छ । चुरेलाई छुनै हुन्न भन्ने एकथरीको आवाज अनि जथाभावी गिट्टी–बालुवा निकालिरहन पाउनुपर्छ वा चुरे पहाडलाई नै काटेर समथर बनाई यहाँ भएका ढुंगा, माटो बेचेर पैसा कमाउनुपर्छ भन्ने अर्कोथरी आवाज दुवै नाजायाज देखिन्छन् । यो समस्याको दिगो समाधान दिन हामीसँग ज्ञान, सीप अनि प्रविधि एक हदसम्मको उपलब्ध भएकाले हामी सक्षम छौं भन्ने कुरालाई नीतिनिर्माता अनि चुरे संरक्षणको मुख्य जिम्मा लिनेहरूले बुझ्नु जरुरी छ र ढिलो नगरी यस सम्बन्धी पहल थाल्न आवश्यक छ ।

भावर र तराईको भविष्य

चुरे क्षेत्र भावर र तराईका लागि पानीको महत्त्वपूर्ण रिचार्ज जोनका रूपमा रहेको छ । यहाँ हुने वातावरणीय असन्तुलन तथा पहिरोको समस्याले यो क्षेत्रको समग्र पानीको प्रवाहलाई नै असन्तुलित बनाउन सक्ने जोखिम छ । साथै पहिरो र भूक्षयका कारणले चुरेबाट बग्ने खोलाहरू अनियन्त्रित भई थप समस्या निम्त्याउने सम्भावना बढ्दै गएको छ । पहिरोका कारण आकासेपानी जमिनमुनि छिर्ने क्रम कम भएर भूमिगत जलमा पनि प्रतिकूल प्रभाव पार्दै छ । यस्तो पानी जोगाउन पनि चुरेमा पहिरो, भूक्षय र वनजंगल फँडानी रोक्नु जरुरी छ । भावरमा हुने पानीको समस्या समाधानका लागि तल्लो तराईमा प्रतिकूल असर नपर्ने गरी भावरका ठाउँ ठाउँमा ठूलाठूला पोखरी बनाई एक हदसम्म पानी सिल गर्नु जरुरी देखिन्छ । साथै चुरेतिरका प्राकृतिक तालतलैयाहरूको संरक्षणले पनि तल्लो तटको पानीको स्रोत व्यवस्थापनका लागि सकारत्मक प्रभाव पार्ने देखिन्छ । पानीबाहेक चुरेको पहिरो र भूक्षयले तराईमा निम्त्याइरहेको र अझै निम्त्याउन सक्ने बाढी अनि यसले ल्याउने विपद् हाम्रा लागि मुख्य खतरा हुन सक्छन् । यसका लागि असर परेको स्थानमा मात्र ध्यान दिने अहिलेको चलनलाई हटाई कारक तत्त्वलाई नै निर्मुल बनाउने गरी खोलाको उपल्लो तट, बीचको तट र तल्लो तट तिनटैको संयोजनकारी बाढी जोखिम बचाउ अभियानमा जानु जरुरी देखिन्छ ।

ढकाल त्रिभुवन विश्वविद्यालयका सह–प्राध्यापक हुन् ।

प्रकाशित : असार १०, २०७९ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्

पढे पो नेता

अध्ययन, लेखन र बौद्धिक मन्थनको जिम्मा बुद्धिजीवीलाई मात्रै सुम्पिएझैं गरी नेताहरू आफैंले रचेको भेटघाट, दौडधुप, षड्यन्त्र र भाषणको अनन्त चक्रमा फँसेका छन् ।
सुजित मैनाली

पुस्तकप्रेमीहरूको आवतजावत बाक्लो हुने काठमाडौंका केही पुस्तक पसल सञ्चालकलाई ‘चिनिएका नेताहरू किताब किन्न कत्तिको आउनुहुन्छ ?’ भनी सोध्दा सबैजसोले ओठ लेपारे । एकाध नेता मात्रै पुस्तक पसल जाँदा रहेछन् ।

अधिकांश नेताले पुस्तक पसल अथवा पुस्तकालय नटेकेको सायद वर्षौं भइसक्यो । किताब र अध्ययनप्रति नेताहरूको उदासीनता उनीहरूले हाँकेका दलमा अनि दलको प्रभाव राज्य सञ्चालनमा परिरहेको छ । अध्ययनको महत्त्वलाई नेताहरूले गहिरोसँग महसुस गर्न सके समग्र देशकै पठन संस्कृतिमा उल्लेख्य सुधार ल्याउन सकिने भएकाले नेता र किताबबीचको सम्बन्धको सान्दर्भिकता केलाउनु सामयिक हुन्छ ।

अपरिहार्य अध्ययन

आम मानिसलाई पथप्रदर्शन गर्ने र देशलाई प्रगतितिर डोहोर्‍याउने अभियानको नेतृत्व गर्ने भएकाले नै त्यस्तो अगुवालाई नेता भनिएको हो । नेता इतिहासका सर्जक मानिन्छन् । यस्तो काम गर्न तीक्ष्ण बुद्धि, अनुभव, समयोचित ज्ञान अनि जोखिम मोल्ने साहस चाहिन्छ । यस्तो सामर्थ्य दिलाउने एउटा मुख्य स्रोतमा किताब पर्छ । यति हुँदाहुँदै पनि अध्ययन, लेखन र बौद्धिक मन्थनको जिम्मा बुद्धिजीवीलाई सुम्पिएझैं मात्रै गरी नेताहरू आफैंले रचेको भेटघाट, दौडधुप, षड्यन्त्र र भाषणको अनन्त चक्रमा फँसेका छन् ।

अध्ययनको आवश्यकता बुद्धिजीवीहरूलाई भन्दा बढ्ता नेताहरूलाई हुन्छ । प्रखर कूटनीतिज्ञ हेनरी किसिन्जरले अन्तर्राष्ट्रिय सम्बन्धका सन्दर्भमा बुद्धिजीवी र नेताबीचको भिन्नताबारे चर्चा गर्दै आफ्नो किताब ‘डिप्लोमेसी’ मा लेखेका छन्, ‘बुद्धिजीवीहरूले अन्तर्राष्ट्रिय व्यवस्था सञ्चालनको विवेचना गर्छन्, नेताहरूले ती व्यवस्थाहरूको निर्माण गर्छन् ।’ विवेचना गर्नुभन्दा रचना गर्नु जटिल र जोखिमपूर्ण काम हो । नेताहरूको यस्तो जिम्मेवारीबारे थप चर्चा गर्दै किसिन्जरले बुद्धिजीवीलाई अध्ययनको विषय चयन गर्ने, त्यसलाई समय लगाएर गहिरिएर अध्ययन गर्ने सुविधा हुने गरेको तर नेताहरू त्यस्तो सुविधाबाट वञ्चित रहने गरेको बताएका छन् । आफूले गरेको विश्लेषण नमिले अर्को एउटा लेखोटमार्फत आफूलाई संशोधन गर्ने सुविधा बुद्धिजीवीलाई हुन्छ तर नेताहरूलाई एउटै विश्लेषण र तदनुरूपको निर्णयले इतिहासमा अभिलिखित गराउँछ । त्यसैले नेताहरूको बुझाइ अझ तीक्ष्ण र खारिएको हुनुपर्ने आशय किसिन्जरको छ ।

सफल बन्ने हो भने राजनीतिज्ञले अध्ययनलाई आफ्नो जीवनको अभिन्न अंग बनाउनुपर्छ भन्ने कुरामा राजनीतिशास्त्रका प्रतिष्ठित सिद्धान्तकारहरूबीच मतैक्य छ । प्राचीन भारतका राजनीतिशास्त्री कौटिल्यले विद्याश्रमको समाप्तिपछि पनि शासकले अध्ययनलाई निरन्तरता दिनुपर्छ भनेका छन् । शासकको अध्ययनको ढाँचाबारे उनले लेखेका छन्, ‘(उनीहरूले) दिनको पहिलो भागमा हात्ती, घोडा, रथ र अस्त्रशस्त्र सम्बन्धी विद्या आर्जन गर्नुपर्छ; दिनको पछिल्लो भाग इतिहास पढेर/सुनेर बिताउनुपर्छ । इतिहास अन्तर्गत पुराण, विगत समयका वास्तविक घटनाको वर्णन (इतिवृत्त), आख्यायिका (कथा), उदाहरण (राजाहरूको जीवनचरित्र), धर्मशास्त्र (कानुन) पर्छन् । दिउँसो र राति बचेका बाँकी समयमा नयाँ ज्ञान आर्जन गर्ने र पहिले पढेर बिर्सिएका कुराहरूलाई मननचिन्तन गर्नुपर्छ । जुन कुरो एक पटक सुनेर/पढेर सम्झिइँदैन, त्यसलाई बारम्बार सुन्नुपर्छ/पढ्नुपर्छ (कौटिल्यीय अर्थशास्त्र, १।२।४।६) ।’

नेताको योग्यता र पात्रतासँग समग्र देशको भविष्य गाँसिएको हुन्छ । त्यस्तो महत्त्वपूर्ण व्यक्तिले आफ्नो परिवेशलाई गहिरोसँग बुझेको हुनुपर्छ । कौटिल्यले गरेको विवेचनाको मर्म यही हो । कौटिल्यको समयको जस्तो राजनीति अहिले छैन । एउटा नेताको योग्यता अथवा अयोग्यतालाई इतिहास निर्धारणको कारक बन्न नदिनेगरी राजनीतिलाई विधि र विधानले बाँधेर यसका अवयवहरूलाई संस्थागत गर्ने परिपाटी चलेको धेरै भइसक्यो । नेतालाई भन्दा नीतिलाई प्रधान मान्ने र देशको हित गर्न नसक्ने अथवा अहित गर्ने नेतालाई पन्छाउने परिपाटीको महत्त्व, यसको सफल अभ्यासका उदाहरण आदि पेस भएको पनि धेरै भइसक्यो । तर हाम्रोमा आफूलाई राजनीतिको केन्द्रमा राखिरहन नेताहरूले राजनीतिक प्रणालीलाई संस्थागत हुन दिइरहेका छैनन् । यसले गर्दा देशले अग्रगति लिन सकेको छैन । विधिको सट्टा नेताहरू अहिले पनि राजनीतिको मियो छन् । जनतालाई कर्मशील र व्यस्त राख्नेगरी हुने प्रगतिलाई नेताकेन्द्रित राजनीतिले मर्दन गरिराखेकाले प्राथमिकताका सारा विषय छोडेर हामी जनता पनि बाह्रैमास राजनीतिको कुरा गर्न स्वाद मानिरहेका छौं । यो जटिल राजनीतिक रोगको लक्षण हो । यस्तो रोग नेपाली समाजमा नराम्रोसँग संक्रमण भइसकेको छ । यसले हाम्रो चेतनालाई बोधो बनाइदिएको छ । त्यसैले समयमै किताब छाप्न अथवा मल ल्याउन नसकेर देश र जनताप्रति हरेक वर्ष घात गर्दै आएका (गैर)जिम्मेवार अधिकारीहरूका कुकर्मको चर्चासम्म गर्न पनि हामी आवश्यक ठान्दैनौं । तर ‘फलानो नेता चतुर कि तिलानो, फालानो पार्टीले फलानो नेतालाई कारबाही गर्न मिल्छ कि मिल्दैन’ जस्ता बकम्फुसे र अर्थहीन कुरामा गलफती गर्दै चिया र रक्सीका ग्लास रित्याइरहन्छौं ।

सघन शल्यक्रियाबिना हाम्रो रोगी राजनीति तङ्ग्रिन गाह्रो छ । यस्तोमा राजनीतिज्ञहरू विवेकी र विषयगत ज्ञानमा पोख्त हुनुपर्छ भन्ने आम धारणा संस्थागत हुन सके राजनीतिलाई क्रमशः प्रगतिमुखी र मर्यादित बनाउने अभियान सहज हुन सक्छ । नेताहरू आम चासोको केन्द्रमा रहेकाले किताबलाई उनीहरूले प्राथमिकताको विषय बनाए यसले देशभरि पठन संस्कृति विस्तार गर्ने अभियानमा उल्लेख्य टेवा पुर्‍याउन पनि सक्छ ।

छुटेको पढाइ

अहिलेका मुख्य नेताहरू राजनीतिक संघर्षको पृष्ठभूमिबाट आएका हुन् । संघर्षको समयमा अध्ययन गर्नु अनिवार्य हुन्छ । तात्कालीन राज्यव्यवस्थालाई निकम्मा साबित गर्न र आफूहरूले हासिल गर्न खोजेको लक्ष्यबारे जान्न किताब नपढी हुँदैन । हाम्रा इन्द्रियले भोग्ने जीवन सीमित हुने भएकाले इन्द्रियजनित ज्ञानको सीमा साँघुरो हुन्छ । किताबमा असंख्य व्यक्तिका भोगाइ र निष्कर्ष समेटिएका हुन्छन् । त्यसैले सूचना र ज्ञानको प्रमुख स्रोतमा किताब पर्छ । अध्ययनबिना जनतालाई विश्वासमा लिएर राजनीतिक प्रभाव फैलाउन असम्भव हुने भएकाले संघर्षको अवधिमा नेताहरू पढ्ने गर्थे पनि । अहिले क्रियाशील नेताहरूमध्ये अधिकांशले सम्भवतः सबैभन्दा बढ्ता पञ्चायतकाल वा सशस्त्र द्वन्द्वकालमा पढे होलान् ।

संघर्षको भावले मानिसमा क्रान्तिकारी काम गर्ने हुटहुटी पैदा गराउँछ । त्यस्तो हुटहुटीलाई थप उद्वेलित गर्न र आकार दिलाउन किताबले मद्दत गर्छ । अधिकांश नेताले क्रान्तिको व्यग्रता किताबबाटै ग्रहण गरेका हुन्छन् । प्रजातान्त्रिक आन्दोलनका नेता टंकप्रसाद आचार्यको भोगाइलाई उदाहरण मान्न सकिन्छ । किशोरवयमा आचार्यले हिन्दीमा प्रकाशित नेपोलियन बोनापार्टको जीवनी पढ्न नपाएका भए क्रान्तिप्रति उनमा हुटहुटी जाग्न समय लाग्ने थियो होला । बोनापार्टको जीवनी पढेपछि उनको मनमा फ्रेन्च जनक्रान्तिबारे थप जान्ने उत्सुकता जाग्यो । त्यसका लागि नेपाली र हिन्दी भाषाको ज्ञान पर्याप्त थिएन । फ्रेन्च जनक्रान्ति र त्यस्तै खालका राजनीतिक संघर्षका गाथा पढेर प्रेरणा लिनकै लागि उनले बनारस हिन्दु विश्वविद्यालय पढेका भिनाजु रामनाथ शर्मासँग अंग्रेजी सिके । दुई वर्षको अथक परिश्रमपछि अंग्रेजी भाषामा छापिने पत्रिका पढ्न सक्ने भए । त्यसपछि उनले भोल्तेयर, जाँ ज्याक रुसो, कार्ल मार्क्स, भ्लादिमिर लेनिन, जर्ज बर्नाड श, एच.जी. वेल्स, बर्ट्रेन्ड रसेलदेखि त्यतिबेला भारतमा चर्चित अमेरिकी स्वतन्त्रता संग्रामका नेता थोमस पेनसम्मका किताब पढे । संघर्षको हुटहुटीले अध्ययनलाई उनको कर्मको अभिन्न अंग बनायो । आचार्यका अन्तर्वार्ताकार जेम्स फिसरका अनुसार आचार्यले सबैभन्दा गहिरिएर पढेको किताब एच.जी. वेल्सको ‘द आउटलाइन अफ हिस्ट्री’ थियो । जीवनको अन्तिम घडीसम्मै उनी त्यो किताब पल्टाइरहने गर्थे । आचार्यको घरमै गएर अन्तर्वार्ता लिएका फिसरले त्यस किताबमा प्रशस्तै अन्डरलाइन गरिएका थिए र त्यसका असंख्य पृष्ठमा फोल्ड गरिएका डाम लागेका थिए भनी लेखेका छन् । किताबमा वेल्सले पृथ्वीको उत्पत्तिदेखि पहिलो विश्वयुद्धसम्मका घटनाको एकसरो वर्णन गरेका छन् ।

आचार्यको समयका अन्य नेताहरूको राजनीतिक बुझाइलाई आकार दिलाउने र उनीहरूमा क्रान्तिको हुटहुटी पैदा गर्ने काम पनि किताबले नै गरेको थियो । यो कुरा दशरथ चन्द, गंगालाल श्रेष्ठ, बीपी कोइराला, पुष्पलाल आदिका जीवन अथवा उनीहरूका रचना नियाल्दा पनि स्पष्ट हुन्छ ।

अहिले क्रियाशील नेताहरूको अनुभव पनि संघर्षका दिनताका भिन्न थिएन । प्रजातन्त्र प्राप्तिपछि राजकाजमा व्यस्त हुन थलेसँगै उनीहरूले पढ्न क्रमशः छोड्दै गए । पञ्चायती व्यवस्थाको अन्त्य र प्रजातन्त्रको स्थापनालाई उनीहरूले आफ्नो प्रमुख लक्ष्य बनाएका थिए । प्रजातन्त्र स्थापनापछि सशस्त्र युद्ध सुरु गरेका माओवादी नेताले गणतन्त्रलाई गन्तव्य बनाएका थिए । जब लक्ष्य प्राप्त भयो, तब नेताहरूमा ज्ञान बढाउने हुटहुटी क्रमशः हराउँदै गयो । यदी दलहरूले प्रजातन्त्र वा गणतन्त्र प्राप्तिपछि भूमिसुधार वा औद्योगिकीकरण वा कृषि क्रान्ति वा शैक्षिक क्रान्तिलाई नयाँ लक्ष्य बनाएर पार्टीपंक्तिलाई संघर्षको नयाँ चरणमा होम्न सकेको भए नेताहरूमाझ पठन संस्कृति हराउने थिएन । नयाँ कुरा जान्नैपर्ने बाध्यता उनीहरूलाई हुने थियो । यसले राजनीतिलाई प्रगतिमुखी र संस्कारी बनाउने थियो ।

विरासतको प्रश्न

देश हाँक्ने अहिलेको नेतृत्वपंक्तिले राजनीतिबाट निष्क्रिय भएपछि लेखपढ गरेर बाँकी जीवन बिताउनेछ । जीवनको एउटा अवधिमा पढाइको स्वाद चाखेको र यसको महत्त्व आत्मसात् गरेको अनुभव उनीहरूसँग छ । राजनीतिबाट निष्क्रिय हुने संघारमा रहेको यो पुस्ताले सोच्नुपर्छ— हामीले कस्ता उत्तराधिकारीलाई राजनीतिको बागडोर सुम्पिँदै छौं ?

सार्वजनिक जीवनमा सक्रिय एउटा पुस्ताको योग्यता उसले कस्तो उत्तराधिकारी जन्मायो भन्ने कुराले निर्धारण गर्छ । प्रमुख दलका युवा तथा विद्यार्थी संगठनका नेताले भोलि देशको राजनीति सम्हाल्नेछन् । यो पुस्तासँग राजनीतिक संघर्षको कम, दलतन्त्रका लागि मारमुङ्ग्री, झेल र गुन्डागर्दी गरेको अनुभव बढी छ । किताबको महत्त्व यो पुस्ताले महसुस गरेको छैन । एकाध अपवादलाई बिर्सिने हो भने अध्ययनसँग यो पुस्ताको कुनै सरोकार वा अभिरुचि छैन । नत्र उनीहरूले त्रिचन्द्र क्याम्पसको पुस्तकालयमा आगो लगाएर हजारौं किताब खरानी पार्न कसरी सक्थे ?

दलका युवा नेताहरूको प्रसंग आउनासाथ आम मानिसका मनमा लेखपढ नगर्ने, राजनीतिबाहेक अर्को इलम नभएका, राजनीतिक दर्शन र परिवेशबारे अत्यन्तै सतही बुझाइ भएका, विधागत सीप र विनोदी स्वभावरहित, टेन्डर र ठेकापट्टाका काममा अहोरात्र लाग्ने एउटा दम्भी चाकरीबाजको विम्ब निर्माण हुन्छ । यस्ता युवाले आम युवाको प्रतिनिधित्व गर्न र जनतालाई पार्टीप्रति आकर्षित गर्न सक्दैनन् भनी शीर्ष नेतृत्वले महसुस गर्न आवश्यक छ ।

राजनीतिको यस्तो पतनोन्मुख अवस्था रोक्न नेताहरूले आफू स्वयं र आफ्ना दललाई सिद्धान्त र कौशलको दरिलो टेको दिलाउन सक्नुपर्छ । यसका लागि पार्टीपंक्तिमाझ पठन संस्कृति अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गर्नु एउटा उपाय हुन सक्छ । देशभरिका पार्टी कार्यालयमा पुस्तकालय स्थापना वा अद्यावधिक गरी कार्यकर्तालाई पढ्न प्रेरित गर्ने योजना ल्याउन सकिन्छ । यसका लागि महिनाको कम्तीमा एक पटक राजनीति, दर्शन, समाज, अर्थतन्त्र आदिबारे लेखिएका गहकिला किताबबारे विमर्श गर्ने परिपाटी चलाउन सकिन्छ । विद्यार्थी संगठनको अग्रसरतामा हरेक वर्ष पार्टी कार्यालय वा अन्य उपयुक्त स्थानमा पुस्तक मेला र पठन महोत्सव आयोजना गर्न सकिन्छ । नेताहरूका गतिविधि र अभिव्यक्ति पछ्याउने जमात ठूलो भएकाले उनीहरूले पढेका किताबबारे आफ्ना टिप्पणी पत्रपत्रिका वा सामाजिक सञ्जालमा छाप्ने जाँगर चलाउन सके पठन संस्कृतिको लहर ल्याउन सजिलो हुन्छ ।

जंगबहादुर राणाको अध्ययनबारे टिप्पणी गर्ने क्रममा उनका पुत्र पद्मजंग राणाले लेखेका छन्, ‘उनलाई अक्षरहरूको मैदानमा होइन, युद्धभूमिमा चम्किनु थियो । आफ्नो लडाकुपनबारे सुरुमै जानकार भएझैं गरी उनले (बाल्यावस्थादेखि नै) आफ्ना उमेरका केटाहरूले भन्दा बढी किताबलाई प्रेम गरेनन् ।’ इतिहासकार दिनेशराज पन्तको सम्पादनमा छापिएको किताब ‘श्री ३ वीरशमशेरको जीवन चरित्र’ मा पनि यस्तै खालको भाव आउनेगरी वीरशमशेरले ५/७ वर्ष पढेपछि ‘हामी क्षत्रीयलाई यति पढाइले पुग्छ’ भनी बाबु धीरशमशेरले गुरु लक्ष्मण पण्डितलाई बिदा गरिदिएको उल्लेख छ । फगत साक्षर हुनु राजनीतिमा पर्याप्त मानिने जंगबहादुरको युग अहिले छैन । तिघ्रा ठटाएर वा खुकुरी चम्काएर राजनीति गर्ने दिन सकिएको छ । संसारमा प्रगतिको आधार सूचना, शिल्प र ज्ञान बनेको धेरै भइसक्यो । यसकै आधारमा हामीसरहका थुप्रै देश अघि फड्किसके । देशको प्रगतिका लागि राजनीति हुनुपर्छ भनी चाहने हो भने हामीले जंगबहादुरले झैं अध्ययनलाई ‘प्रेम नगर्ने’ आम राजनीतिक प्रवृत्तिलाई विसर्जन गर्न ढिलो भइसकेको छ ।

प्रकाशित : असार १०, २०७९ ०८:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×