कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

पढे पो नेता

अध्ययन, लेखन र बौद्धिक मन्थनको जिम्मा बुद्धिजीवीलाई मात्रै सुम्पिएझैं गरी नेताहरू आफैंले रचेको भेटघाट, दौडधुप, षड्यन्त्र र भाषणको अनन्त चक्रमा फँसेका छन् ।
सुजित मैनाली

पुस्तकप्रेमीहरूको आवतजावत बाक्लो हुने काठमाडौंका केही पुस्तक पसल सञ्चालकलाई ‘चिनिएका नेताहरू किताब किन्न कत्तिको आउनुहुन्छ ?’ भनी सोध्दा सबैजसोले ओठ लेपारे । एकाध नेता मात्रै पुस्तक पसल जाँदा रहेछन् ।

पढे पो नेता

अधिकांश नेताले पुस्तक पसल अथवा पुस्तकालय नटेकेको सायद वर्षौं भइसक्यो । किताब र अध्ययनप्रति नेताहरूको उदासीनता उनीहरूले हाँकेका दलमा अनि दलको प्रभाव राज्य सञ्चालनमा परिरहेको छ । अध्ययनको महत्त्वलाई नेताहरूले गहिरोसँग महसुस गर्न सके समग्र देशकै पठन संस्कृतिमा उल्लेख्य सुधार ल्याउन सकिने भएकाले नेता र किताबबीचको सम्बन्धको सान्दर्भिकता केलाउनु सामयिक हुन्छ ।

अपरिहार्य अध्ययन

आम मानिसलाई पथप्रदर्शन गर्ने र देशलाई प्रगतितिर डोहोर्‍याउने अभियानको नेतृत्व गर्ने भएकाले नै त्यस्तो अगुवालाई नेता भनिएको हो । नेता इतिहासका सर्जक मानिन्छन् । यस्तो काम गर्न तीक्ष्ण बुद्धि, अनुभव, समयोचित ज्ञान अनि जोखिम मोल्ने साहस चाहिन्छ । यस्तो सामर्थ्य दिलाउने एउटा मुख्य स्रोतमा किताब पर्छ । यति हुँदाहुँदै पनि अध्ययन, लेखन र बौद्धिक मन्थनको जिम्मा बुद्धिजीवीलाई सुम्पिएझैं मात्रै गरी नेताहरू आफैंले रचेको भेटघाट, दौडधुप, षड्यन्त्र र भाषणको अनन्त चक्रमा फँसेका छन् ।

अध्ययनको आवश्यकता बुद्धिजीवीहरूलाई भन्दा बढ्ता नेताहरूलाई हुन्छ । प्रखर कूटनीतिज्ञ हेनरी किसिन्जरले अन्तर्राष्ट्रिय सम्बन्धका सन्दर्भमा बुद्धिजीवी र नेताबीचको भिन्नताबारे चर्चा गर्दै आफ्नो किताब ‘डिप्लोमेसी’ मा लेखेका छन्, ‘बुद्धिजीवीहरूले अन्तर्राष्ट्रिय व्यवस्था सञ्चालनको विवेचना गर्छन्, नेताहरूले ती व्यवस्थाहरूको निर्माण गर्छन् ।’ विवेचना गर्नुभन्दा रचना गर्नु जटिल र जोखिमपूर्ण काम हो । नेताहरूको यस्तो जिम्मेवारीबारे थप चर्चा गर्दै किसिन्जरले बुद्धिजीवीलाई अध्ययनको विषय चयन गर्ने, त्यसलाई समय लगाएर गहिरिएर अध्ययन गर्ने सुविधा हुने गरेको तर नेताहरू त्यस्तो सुविधाबाट वञ्चित रहने गरेको बताएका छन् । आफूले गरेको विश्लेषण नमिले अर्को एउटा लेखोटमार्फत आफूलाई संशोधन गर्ने सुविधा बुद्धिजीवीलाई हुन्छ तर नेताहरूलाई एउटै विश्लेषण र तदनुरूपको निर्णयले इतिहासमा अभिलिखित गराउँछ । त्यसैले नेताहरूको बुझाइ अझ तीक्ष्ण र खारिएको हुनुपर्ने आशय किसिन्जरको छ ।

सफल बन्ने हो भने राजनीतिज्ञले अध्ययनलाई आफ्नो जीवनको अभिन्न अंग बनाउनुपर्छ भन्ने कुरामा राजनीतिशास्त्रका प्रतिष्ठित सिद्धान्तकारहरूबीच मतैक्य छ । प्राचीन भारतका राजनीतिशास्त्री कौटिल्यले विद्याश्रमको समाप्तिपछि पनि शासकले अध्ययनलाई निरन्तरता दिनुपर्छ भनेका छन् । शासकको अध्ययनको ढाँचाबारे उनले लेखेका छन्, ‘(उनीहरूले) दिनको पहिलो भागमा हात्ती, घोडा, रथ र अस्त्रशस्त्र सम्बन्धी विद्या आर्जन गर्नुपर्छ; दिनको पछिल्लो भाग इतिहास पढेर/सुनेर बिताउनुपर्छ । इतिहास अन्तर्गत पुराण, विगत समयका वास्तविक घटनाको वर्णन (इतिवृत्त), आख्यायिका (कथा), उदाहरण (राजाहरूको जीवनचरित्र), धर्मशास्त्र (कानुन) पर्छन् । दिउँसो र राति बचेका बाँकी समयमा नयाँ ज्ञान आर्जन गर्ने र पहिले पढेर बिर्सिएका कुराहरूलाई मननचिन्तन गर्नुपर्छ । जुन कुरो एक पटक सुनेर/पढेर सम्झिइँदैन, त्यसलाई बारम्बार सुन्नुपर्छ/पढ्नुपर्छ (कौटिल्यीय अर्थशास्त्र, १।२।४।६) ।’

नेताको योग्यता र पात्रतासँग समग्र देशको भविष्य गाँसिएको हुन्छ । त्यस्तो महत्त्वपूर्ण व्यक्तिले आफ्नो परिवेशलाई गहिरोसँग बुझेको हुनुपर्छ । कौटिल्यले गरेको विवेचनाको मर्म यही हो । कौटिल्यको समयको जस्तो राजनीति अहिले छैन । एउटा नेताको योग्यता अथवा अयोग्यतालाई इतिहास निर्धारणको कारक बन्न नदिनेगरी राजनीतिलाई विधि र विधानले बाँधेर यसका अवयवहरूलाई संस्थागत गर्ने परिपाटी चलेको धेरै भइसक्यो । नेतालाई भन्दा नीतिलाई प्रधान मान्ने र देशको हित गर्न नसक्ने अथवा अहित गर्ने नेतालाई पन्छाउने परिपाटीको महत्त्व, यसको सफल अभ्यासका उदाहरण आदि पेस भएको पनि धेरै भइसक्यो । तर हाम्रोमा आफूलाई राजनीतिको केन्द्रमा राखिरहन नेताहरूले राजनीतिक प्रणालीलाई संस्थागत हुन दिइरहेका छैनन् । यसले गर्दा देशले अग्रगति लिन सकेको छैन । विधिको सट्टा नेताहरू अहिले पनि राजनीतिको मियो छन् । जनतालाई कर्मशील र व्यस्त राख्नेगरी हुने प्रगतिलाई नेताकेन्द्रित राजनीतिले मर्दन गरिराखेकाले प्राथमिकताका सारा विषय छोडेर हामी जनता पनि बाह्रैमास राजनीतिको कुरा गर्न स्वाद मानिरहेका छौं । यो जटिल राजनीतिक रोगको लक्षण हो । यस्तो रोग नेपाली समाजमा नराम्रोसँग संक्रमण भइसकेको छ । यसले हाम्रो चेतनालाई बोधो बनाइदिएको छ । त्यसैले समयमै किताब छाप्न अथवा मल ल्याउन नसकेर देश र जनताप्रति हरेक वर्ष घात गर्दै आएका (गैर)जिम्मेवार अधिकारीहरूका कुकर्मको चर्चासम्म गर्न पनि हामी आवश्यक ठान्दैनौं । तर ‘फलानो नेता चतुर कि तिलानो, फालानो पार्टीले फलानो नेतालाई कारबाही गर्न मिल्छ कि मिल्दैन’ जस्ता बकम्फुसे र अर्थहीन कुरामा गलफती गर्दै चिया र रक्सीका ग्लास रित्याइरहन्छौं ।

सघन शल्यक्रियाबिना हाम्रो रोगी राजनीति तङ्ग्रिन गाह्रो छ । यस्तोमा राजनीतिज्ञहरू विवेकी र विषयगत ज्ञानमा पोख्त हुनुपर्छ भन्ने आम धारणा संस्थागत हुन सके राजनीतिलाई क्रमशः प्रगतिमुखी र मर्यादित बनाउने अभियान सहज हुन सक्छ । नेताहरू आम चासोको केन्द्रमा रहेकाले किताबलाई उनीहरूले प्राथमिकताको विषय बनाए यसले देशभरि पठन संस्कृति विस्तार गर्ने अभियानमा उल्लेख्य टेवा पुर्‍याउन पनि सक्छ ।

छुटेको पढाइ

अहिलेका मुख्य नेताहरू राजनीतिक संघर्षको पृष्ठभूमिबाट आएका हुन् । संघर्षको समयमा अध्ययन गर्नु अनिवार्य हुन्छ । तात्कालीन राज्यव्यवस्थालाई निकम्मा साबित गर्न र आफूहरूले हासिल गर्न खोजेको लक्ष्यबारे जान्न किताब नपढी हुँदैन । हाम्रा इन्द्रियले भोग्ने जीवन सीमित हुने भएकाले इन्द्रियजनित ज्ञानको सीमा साँघुरो हुन्छ । किताबमा असंख्य व्यक्तिका भोगाइ र निष्कर्ष समेटिएका हुन्छन् । त्यसैले सूचना र ज्ञानको प्रमुख स्रोतमा किताब पर्छ । अध्ययनबिना जनतालाई विश्वासमा लिएर राजनीतिक प्रभाव फैलाउन असम्भव हुने भएकाले संघर्षको अवधिमा नेताहरू पढ्ने गर्थे पनि । अहिले क्रियाशील नेताहरूमध्ये अधिकांशले सम्भवतः सबैभन्दा बढ्ता पञ्चायतकाल वा सशस्त्र द्वन्द्वकालमा पढे होलान् ।

संघर्षको भावले मानिसमा क्रान्तिकारी काम गर्ने हुटहुटी पैदा गराउँछ । त्यस्तो हुटहुटीलाई थप उद्वेलित गर्न र आकार दिलाउन किताबले मद्दत गर्छ । अधिकांश नेताले क्रान्तिको व्यग्रता किताबबाटै ग्रहण गरेका हुन्छन् । प्रजातान्त्रिक आन्दोलनका नेता टंकप्रसाद आचार्यको भोगाइलाई उदाहरण मान्न सकिन्छ । किशोरवयमा आचार्यले हिन्दीमा प्रकाशित नेपोलियन बोनापार्टको जीवनी पढ्न नपाएका भए क्रान्तिप्रति उनमा हुटहुटी जाग्न समय लाग्ने थियो होला । बोनापार्टको जीवनी पढेपछि उनको मनमा फ्रेन्च जनक्रान्तिबारे थप जान्ने उत्सुकता जाग्यो । त्यसका लागि नेपाली र हिन्दी भाषाको ज्ञान पर्याप्त थिएन । फ्रेन्च जनक्रान्ति र त्यस्तै खालका राजनीतिक संघर्षका गाथा पढेर प्रेरणा लिनकै लागि उनले बनारस हिन्दु विश्वविद्यालय पढेका भिनाजु रामनाथ शर्मासँग अंग्रेजी सिके । दुई वर्षको अथक परिश्रमपछि अंग्रेजी भाषामा छापिने पत्रिका पढ्न सक्ने भए । त्यसपछि उनले भोल्तेयर, जाँ ज्याक रुसो, कार्ल मार्क्स, भ्लादिमिर लेनिन, जर्ज बर्नाड श, एच.जी. वेल्स, बर्ट्रेन्ड रसेलदेखि त्यतिबेला भारतमा चर्चित अमेरिकी स्वतन्त्रता संग्रामका नेता थोमस पेनसम्मका किताब पढे । संघर्षको हुटहुटीले अध्ययनलाई उनको कर्मको अभिन्न अंग बनायो । आचार्यका अन्तर्वार्ताकार जेम्स फिसरका अनुसार आचार्यले सबैभन्दा गहिरिएर पढेको किताब एच.जी. वेल्सको ‘द आउटलाइन अफ हिस्ट्री’ थियो । जीवनको अन्तिम घडीसम्मै उनी त्यो किताब पल्टाइरहने गर्थे । आचार्यको घरमै गएर अन्तर्वार्ता लिएका फिसरले त्यस किताबमा प्रशस्तै अन्डरलाइन गरिएका थिए र त्यसका असंख्य पृष्ठमा फोल्ड गरिएका डाम लागेका थिए भनी लेखेका छन् । किताबमा वेल्सले पृथ्वीको उत्पत्तिदेखि पहिलो विश्वयुद्धसम्मका घटनाको एकसरो वर्णन गरेका छन् ।

आचार्यको समयका अन्य नेताहरूको राजनीतिक बुझाइलाई आकार दिलाउने र उनीहरूमा क्रान्तिको हुटहुटी पैदा गर्ने काम पनि किताबले नै गरेको थियो । यो कुरा दशरथ चन्द, गंगालाल श्रेष्ठ, बीपी कोइराला, पुष्पलाल आदिका जीवन अथवा उनीहरूका रचना नियाल्दा पनि स्पष्ट हुन्छ ।

अहिले क्रियाशील नेताहरूको अनुभव पनि संघर्षका दिनताका भिन्न थिएन । प्रजातन्त्र प्राप्तिपछि राजकाजमा व्यस्त हुन थलेसँगै उनीहरूले पढ्न क्रमशः छोड्दै गए । पञ्चायती व्यवस्थाको अन्त्य र प्रजातन्त्रको स्थापनालाई उनीहरूले आफ्नो प्रमुख लक्ष्य बनाएका थिए । प्रजातन्त्र स्थापनापछि सशस्त्र युद्ध सुरु गरेका माओवादी नेताले गणतन्त्रलाई गन्तव्य बनाएका थिए । जब लक्ष्य प्राप्त भयो, तब नेताहरूमा ज्ञान बढाउने हुटहुटी क्रमशः हराउँदै गयो । यदी दलहरूले प्रजातन्त्र वा गणतन्त्र प्राप्तिपछि भूमिसुधार वा औद्योगिकीकरण वा कृषि क्रान्ति वा शैक्षिक क्रान्तिलाई नयाँ लक्ष्य बनाएर पार्टीपंक्तिलाई संघर्षको नयाँ चरणमा होम्न सकेको भए नेताहरूमाझ पठन संस्कृति हराउने थिएन । नयाँ कुरा जान्नैपर्ने बाध्यता उनीहरूलाई हुने थियो । यसले राजनीतिलाई प्रगतिमुखी र संस्कारी बनाउने थियो ।

विरासतको प्रश्न

देश हाँक्ने अहिलेको नेतृत्वपंक्तिले राजनीतिबाट निष्क्रिय भएपछि लेखपढ गरेर बाँकी जीवन बिताउनेछ । जीवनको एउटा अवधिमा पढाइको स्वाद चाखेको र यसको महत्त्व आत्मसात् गरेको अनुभव उनीहरूसँग छ । राजनीतिबाट निष्क्रिय हुने संघारमा रहेको यो पुस्ताले सोच्नुपर्छ— हामीले कस्ता उत्तराधिकारीलाई राजनीतिको बागडोर सुम्पिँदै छौं ?

सार्वजनिक जीवनमा सक्रिय एउटा पुस्ताको योग्यता उसले कस्तो उत्तराधिकारी जन्मायो भन्ने कुराले निर्धारण गर्छ । प्रमुख दलका युवा तथा विद्यार्थी संगठनका नेताले भोलि देशको राजनीति सम्हाल्नेछन् । यो पुस्तासँग राजनीतिक संघर्षको कम, दलतन्त्रका लागि मारमुङ्ग्री, झेल र गुन्डागर्दी गरेको अनुभव बढी छ । किताबको महत्त्व यो पुस्ताले महसुस गरेको छैन । एकाध अपवादलाई बिर्सिने हो भने अध्ययनसँग यो पुस्ताको कुनै सरोकार वा अभिरुचि छैन । नत्र उनीहरूले त्रिचन्द्र क्याम्पसको पुस्तकालयमा आगो लगाएर हजारौं किताब खरानी पार्न कसरी सक्थे ?

दलका युवा नेताहरूको प्रसंग आउनासाथ आम मानिसका मनमा लेखपढ नगर्ने, राजनीतिबाहेक अर्को इलम नभएका, राजनीतिक दर्शन र परिवेशबारे अत्यन्तै सतही बुझाइ भएका, विधागत सीप र विनोदी स्वभावरहित, टेन्डर र ठेकापट्टाका काममा अहोरात्र लाग्ने एउटा दम्भी चाकरीबाजको विम्ब निर्माण हुन्छ । यस्ता युवाले आम युवाको प्रतिनिधित्व गर्न र जनतालाई पार्टीप्रति आकर्षित गर्न सक्दैनन् भनी शीर्ष नेतृत्वले महसुस गर्न आवश्यक छ ।

राजनीतिको यस्तो पतनोन्मुख अवस्था रोक्न नेताहरूले आफू स्वयं र आफ्ना दललाई सिद्धान्त र कौशलको दरिलो टेको दिलाउन सक्नुपर्छ । यसका लागि पार्टीपंक्तिमाझ पठन संस्कृति अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गर्नु एउटा उपाय हुन सक्छ । देशभरिका पार्टी कार्यालयमा पुस्तकालय स्थापना वा अद्यावधिक गरी कार्यकर्तालाई पढ्न प्रेरित गर्ने योजना ल्याउन सकिन्छ । यसका लागि महिनाको कम्तीमा एक पटक राजनीति, दर्शन, समाज, अर्थतन्त्र आदिबारे लेखिएका गहकिला किताबबारे विमर्श गर्ने परिपाटी चलाउन सकिन्छ । विद्यार्थी संगठनको अग्रसरतामा हरेक वर्ष पार्टी कार्यालय वा अन्य उपयुक्त स्थानमा पुस्तक मेला र पठन महोत्सव आयोजना गर्न सकिन्छ । नेताहरूका गतिविधि र अभिव्यक्ति पछ्याउने जमात ठूलो भएकाले उनीहरूले पढेका किताबबारे आफ्ना टिप्पणी पत्रपत्रिका वा सामाजिक सञ्जालमा छाप्ने जाँगर चलाउन सके पठन संस्कृतिको लहर ल्याउन सजिलो हुन्छ ।

जंगबहादुर राणाको अध्ययनबारे टिप्पणी गर्ने क्रममा उनका पुत्र पद्मजंग राणाले लेखेका छन्, ‘उनलाई अक्षरहरूको मैदानमा होइन, युद्धभूमिमा चम्किनु थियो । आफ्नो लडाकुपनबारे सुरुमै जानकार भएझैं गरी उनले (बाल्यावस्थादेखि नै) आफ्ना उमेरका केटाहरूले भन्दा बढी किताबलाई प्रेम गरेनन् ।’ इतिहासकार दिनेशराज पन्तको सम्पादनमा छापिएको किताब ‘श्री ३ वीरशमशेरको जीवन चरित्र’ मा पनि यस्तै खालको भाव आउनेगरी वीरशमशेरले ५/७ वर्ष पढेपछि ‘हामी क्षत्रीयलाई यति पढाइले पुग्छ’ भनी बाबु धीरशमशेरले गुरु लक्ष्मण पण्डितलाई बिदा गरिदिएको उल्लेख छ । फगत साक्षर हुनु राजनीतिमा पर्याप्त मानिने जंगबहादुरको युग अहिले छैन । तिघ्रा ठटाएर वा खुकुरी चम्काएर राजनीति गर्ने दिन सकिएको छ । संसारमा प्रगतिको आधार सूचना, शिल्प र ज्ञान बनेको धेरै भइसक्यो । यसकै आधारमा हामीसरहका थुप्रै देश अघि फड्किसके । देशको प्रगतिका लागि राजनीति हुनुपर्छ भनी चाहने हो भने हामीले जंगबहादुरले झैं अध्ययनलाई ‘प्रेम नगर्ने’ आम राजनीतिक प्रवृत्तिलाई विसर्जन गर्न ढिलो भइसकेको छ ।

प्रकाशित : असार १०, २०७९ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?