कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बालबालिकालाई विद्यालयबाहिरको शिक्षा

प्रसिद्ध दार्शनिक जिन ज्याक्स रुसोले भनेका छन्— ‘किताबहरू थन्काऊ, पर्खालहरू भत्काऊ र बालबालिकालाई प्रकृतिमा विचरण गर्न सिकाऊ ।’ रुसोले बालबालिकालाई कक्षाकोठाभित्र मात्र थुनेर दिइने शिक्षा रूखो, नीरस र अनुत्पादक हुन्छ भन्थे ।

बालबालिकालाई विद्यालयबाहिरको शिक्षा

विद्यार्थीलाई हप्ताभरि विद्यालयको अग्ला पर्खालभित्र थुनेर मात्र सम्पूर्ण मानवोपयोगी तथा व्यवहारोपयोगी सिकाइ सम्भव हुँदैन पनि । विद्यालयबाहिरको वातावरणबाट पनि बालबालिकालाई प्रशस्त ज्ञान–सिप आर्जन गर्ने अवसर उपलब्ध गराउनुपर्छ । विकसित मुलुकहरूले यस्तो तरिकाको अनुसरण गरेका छन् । त्यहाँ बालबालिका कक्षाकोठाको सिकाइका अतिरिक्त स्वाध्ययन वा विभिन्न ठाउँको भ्रमणबाट ज्ञान आर्जन गरिरहेका हुन्छन् । सीप सिकाउँदै दिइने शिक्षाले बालबालिकालाई स्वावलम्बी र सक्रिय बनाउने भएकाले विकसित मुलुकमा विद्यालय शिक्षालाई रोजगारीसँग जोड्ने प्रयत्न गरिएको हुन्छ ।

हामीकहाँ भने औपचारिक शिक्षाका नाममा वर्षदिनभरि कक्षाकोठामा मात्र सीमित गर्दा बालबालिकाले हेरेर, घुमेर र स्पर्श गरेर सिक्ने अवसर गुमाइरहेका छन् । घोकाएको भन्दा प्रकृतिमा विचरण गरी सिकेका कुरा धेरै स्मरणीय र प्रभावकारी हुन्छन् । त्यसैले त, बालबालिकालाई कक्षाकोठाबाहिर ल्याएर अवलोकन र निरीक्षण गर्न प्रेरित गर्नुपर्छ । वर्षमा १८० देखि २०० दिनसम्म पढाइ हुने अमेरिकामा बालबालिकाका शारीरिक, मानसिक र संवेगात्मक विकासका लागि कक्षाकोठाको सिकाइका साथसाथै अतिरिक्त क्रियाकलापहरूमा पनि उत्तिकै जोड दिइन्छ । शिक्षा कक्षाभित्रको ज्ञान प्राप्ति मात्र नभई जीवन जिउने अनुपम कला र कडी हो भन्ने बुझाइन्छ ।

विद्यार्थीका लागि आराम र घुमफिरलाई गौण ठानेर हरबखत पढ्न र घोक्न मात्र बसेको देख्न चाहन्छन् हाम्रा शिक्षक र अभिभावक । विद्यार्थीले गृहकार्य गर्न नभ्याएको, स्वाध्ययनमा समय दिन नपाएको र एकोहोरो सिकाइले विद्यार्थीका सृजनशीलतामै ह्रास आइरहेको विशेषतः निजी विद्यालयहरूको सूक्ष्म अनुगमनबाट थाहा पाउन सकिन्छ । परीक्षामुखी सिकाइ प्रणाली भएकाले हाम्रा बालबालिका पाठ्यपुस्तकको रटानबाहेक अन्यत्र माध्यमबाट सिक्ने वा सोच्ने समय पाउँदैनन् । हप्ताको छ दिन ६ देखि ७ घण्टासम्म पढाइ हुने हाम्रा विद्यालयमा कक्षा ९ तथा १० का बालबालिका त बिहान ६ देखि बेलुका ७ बजेसम्म विद्यालयमै हुन्छन् । एसईई परीक्षाका तयारीका नाममा शैक्षिक सत्रको सुरुदेखि नै प्रायः टहरामुनिका अध्यारा र साँघुरा कक्षामा लगातार दुईदेखि पाँच पिरियडसम्म एउटै कक्षामा एउटै शिक्षकबाट अध्ययन गर्नुपर्ने बाध्यताले ती विद्यार्थीहरू उकुसमुकुस भइरहेका हुन्छन् ।

शिक्षकले नै स्वाध्ययन र अवलोकन भ्रमणबाट पनि विद्यार्थीलाई स्वयम् सिक्न–बुझ्नका लागि अभिप्रेरित गर्नुपर्नेमा यस्ता अभ्यास हाम्रा विद्यालयमा पाइँदैन । सरकारी विद्यालयमा त अधिकांश शिक्षक कक्षामा पस्छन्, विद्यार्थीलाई पढपढ भन्छन् र आफूचाहिँ निद्रा वा मोबाइलमा मस्त हुन्छन् । यो रोग क्रमशः निजी विद्यालयमा पनि झांगिँदै छ । संविधानको धारा ३१ ले प्रत्येक नागरिकलाई आधारभूत तहमा अनिवार्य र निःशुल्क शिक्षाको व्यवस्था गरेको छ, जस अनुसार आधारभूत तहका सम्पूर्ण कक्षा निजी विद्यालयबाट झिकेर सरकारले मात्र सञ्चालन गर्ने गरी यही शैक्षिक सत्रबाट व्यवस्था गर्नुपर्ने हो । निःशुल्क शिक्षाको मौलिक अधिकार सुनिश्चित गर्न विद्यालय शिक्षामा मात्र कुल बजेटको २० प्रतिशत रकम छुट्याउनुपर्ने हो । तर हाल सालाखाला १० प्रतिशत मात्र छुट्याएकाले सरकार नागरिकको संविधानमा उल्लिखित शैक्षिक हकप्रति संवेशनशील नभएको स्पष्ट हुन्छ । अक्षर मात्र चिन्ने नर्सरी कक्षामै नागरिकले लाखौं रकम खर्च गरिरहेको सरकार कहिलेसम्म मुकदर्शक भएर हेरिरहने ?

शिक्षा भनेको शैक्षिक संस्थामा पढ्ने, सिक्ने मात्र नभई अन्यत्र क्षेत्रमा पनि जीवनोपयोगी सिकाइ क्रियाकलापतर्फ उन्मुख हुँदै जाने हो भन्ने धारणाबाट हाम्रा पाठ्यपुस्तक र शिक्षकहरू अझै अभिप्रेरित देखिँदैनन् । विद्यार्थीले समयमै पाठ्यपुस्तक नपाएकामा, शिक्षक नियुक्तिको उचित व्यवस्थापन नभएकामा, प्रधानाध्यापकहरूले आफ्नो जिम्मेवारी र उत्तरदायित्व निर्वाह नगरेकामा, विद्यालयमा शैक्षिक भौतिक वातावरण उपयुक्त नभएकामा सरोकारवालाहरूले खासै चासो राख्दैनन् । शैक्षिक सत्र सुरु भएको महिना दिन हुन आँटिसक्यो । विद्यार्थीहरू पाठ्यपुस्तकबिना नै कक्षामा प्रवेश गरिसकेका छन् । शिक्षकहरू पाठ्यपुस्तक नभएको बहानामा शिक्षणमा आलटाल गरिरहेका छन् । विद्यार्थीहरू पनि सिकाइमा केन्द्रित हुनै सकेका छैनन् ।

पाठ्यपुस्तकको पर्खाइमा लामो समय खेर फाक्नुभन्दा विद्यालयको चारकिल्लाबाहिर पनि सिकाइलाई निरन्तरता दिन र अझ विभिन्न माध्यमबाट प्रभावकारी र स्मरणीय बनाउन सकिन्छ भन्ने तथ्य शिक्षक–विद्यालय प्रशासनले बुझ्नु जरुरी छ ।

अभिभावकले पनि छोराछोरीलाई पार्क लैजाने, पौडी खेलाउने, अरू भाषा सिकाउने लगायत गतिविधिमा सक्रिय बनाउनुपर्छ । बिदाका दिन विद्यार्थीहरू घरमै बसेर पनि विभिन्न माध्यमबाट सिकिरहेका हुन्छन् । प्रविधिको विकासका कारण अब पढ्नका लागि सारा दिन विद्यालय नै धाउनुपर्ने र शिक्षकले नै भट्याउनु, भनिदिनु, सिकाइदिनु वा जसरी पनि भ्याइदिनुपर्ने अवस्था रहेन । विद्यालय तहदेखि नै स्वाध्ययन तथा अवलोकन भ्रमणबाट पनि विद्यार्थीले अझ राम्रो सिक्ने–बुझ्ने भएकाले विश्वका धेरै मुलुकले अपनाइरहेका दुईदिने विद्यालय बिदालाई हामीले पनि अंगीकार गर्नुपर्छ । तर, सरोकारवालाको दबाब र निजी विद्यालयहरूका प्रभावमा परेर सरकार यो निर्णयबाट पछि हट्यो । सातामा एक दिन मात्र बिदा दिइएको हाम्रा विद्यालयको हालसम्मको शैक्षिक गुणस्तरप्रति हामी सबै जानकार छौं । यसबाट पनि स्वाध्ययनका लागि अतिरिक्त समय र अवसरको खाँचो खट्किएको बुझ्न सकिन्छ । सरोकारवालाहरूले अब विद्यालयभित्र र बाहिर जुनसुकै माध्यमबाट सिक्ने–सिकाउने प्रणाली व्यवस्थित गर्न सरकारलाई दबाब दिनुपर्छ ।

प्रकाशित : असार ९, २०७९ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?