आयोडिनको थपघट र थाइरोइड- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आयोडिनको थपघट र थाइरोइड

ढुण्डीराज पौडेल

अहिले नेपालीले आवश्यकताभन्दा बढी आयोडिन खाइरहेको तथ्य विभिन्न अनुसन्धानबाट उजागर भइरहेका छन् । आयोडिन, महत्त्वपूर्ण शारीरिक प्रक्रियाहरूको सुसञ्चालन र थाइरोइड हर्मोनको उत्पादनमा अनिवार्य एक प्रकारको लवण हो ।

केही दशकअघिसम्म आयोडिनको कमीका कारण संसारभर ठूलो जनसंख्या, गलगाँड एवं थाइरोइड हर्मोनको अभावमा सृजित जन्मजात एवं अन्य विकारबाट ग्रस्त थियो । नेपालको पहाडी भूभागका बासिन्दाको घाँटीमा ठुल्ठूला गलगाँडहरू देखिन्थे जसलाई ‘इन्डेमिक गोइटर’ भनिन्छ । आयोडिनको अभावमा थाइरोइड ग्रन्थीभित्र अस्वाभाविक उत्तेजना पैदा हुँदा गलगाँडका साथै कोषहरू अनियन्त्रित रूपमा विभाजित भई एक प्रकारको क्यान्सर (फोलिक्युलर) समेत हुने सम्भावना रहन्थ्यो ।

नुनको आयोडिनीकरणसँगै यसको कमीबाट हुने रोगहरू न्यून हुँदै गएका छन् । तर त्यही लवणको अत्यधिक सेवनबाट पनि थाइरोइड ग्रन्थीसम्बन्धी विभिन्न रोगबाट ग्रस्त भएका संकेत देखिएका छन् । दैनिक रूपमा बच्चालाई ९०, वयस्कलाई १५० र गर्भवतीलाई २५० माइक्रोग्राम भए पुग्ने आयोडिन सोभन्दा बढी हुन गए विभिन्न शारीरिक विकृति एवं जटिलता पैदा हुने सम्भावना रहन्छ । वयस्कले प्रतिदिन ११०० माइक्रोग्रामभन्दा बढी आयोडिन सेवन गरे हानिकारक हुने सम्भावना हुन्छ ।

आयोडिनीयुक्त नुनबाहेक शल्यक्रियामा प्रयोग गरिने रसायन, विभिन्न मल्हमदेखि सीटी स्क्यान एवं रोग अनुसन्धानका प्रविधि, कर्न्ट्यास्ट आदि परीक्षणमा प्रयोग हुने रसायनमा पनि प्रशस्त आयोडिन हुने गर्छ । अचम्म त के छ भने, शरीरमा आयोडिनको कमी हुँदा सृजित हुने थाइरोइडसम्बन्धी समस्या सो लवण अत्यधिक मात्रामा शरीरमा जम्मा हुँदा पनि पैदा हुन सक्छन् । जस्तो, सो लवण कमी हुँदा कतिपयमा हर्मोनको मात्रा कम हुने (हाइपोथाइरोइडिज्म) हुन्छ भने कतिपयमा त्यही हर्मोन नै बढी हुने (हाइपरथाइरोइडिज्म) समस्या पैदा हुन्छ । यसो हुनुका पछि व्यक्तिमा अन्तर्निहित अन्य थाइरोइड ग्रन्थी या विभिन्न हर्मोनसम्बन्धी खराबी, थाइरोइडको अटोइम्युनलगायत जिम्मेवार छन् ।

थाइरोइड ग्रन्थीका गिर्खा र क्यान्सर

खाने नुनको आयोडिनीकरणपश्चात् पनि विभिन्न कारणले समुदायमा थाइरोइड ग्रन्थीमा गिर्खाहरू पैदा हुने समस्यामा वृद्धि भइरहेको छ । अमेरिकालगायतका विकसित देश एवं भारतमा समेत घाँटीको अल्ट्रासाउन्ड (भिडियो एक्सरे) का माध्यमबाट गरिएको जाँचपड्तालमा करिब १५ देखि २५ प्रतिशत वयस्कमा थाइरोइड ग्रन्थी बढेको पाइएको छ । तीमध्ये ५–१५ प्रतिशतसम्ममा थाइरोइड क्यान्सर भएको अनुमान छ । क्यान्सरमध्ये पनि बहुसंख्यक (८० प्रतिशत) विस्तारै बढ्ने, कम आक्रामक, प्यापिलरी प्रकारको भएकाले सीमित प्रभावित व्यक्तिहरू मात्रै लक्षणयुक्त हुने सम्भावना रहन्छ, बहुसंख्यकमा कुनै लक्षण नै देखिन्न । आन्तरिक रूपमा कोषभित्र आणुवंशिक उत्परिवर्तन (जेनेटिक म्युटेसन) का कारण कम खतरापूर्ण क्यान्सर बढी आक्रामक बन्न पुगे मृत्युदर बढ्न सक्नेतर्फ सचेत हुन आवश्यक छ । त्यसैले त्यस्ता बिरामीलाई निगरानीमा राख्न आवश्यक हुन्छ, ताकी समयमै शल्यक्रिया गर्न सकियोस् ।

थाइरोइडका गिर्खाहरूको निदान

स्तनमा उत्पन्न गिर्खाजस्तै घाँटीको अग्र एवं अन्य भागमा गिर्खाहरू दुई हप्तासम्म भेटिए समयमै क्यान्सर भए नभएको यकिन गर्न आवश्यक छ । उल्ट्रासोनोग्राफी (भिडियो एक्सरे) र सँगै सियोद्वारा कोषहरूको समूह तानेर परीक्षण (एफएनएसी) गर्न सकिन्छ । यो प्रविधिबाट थाइरोइड क्यान्सरका विभिन्न प्रकारमध्ये ८० प्रतिशतसम्म प्यापिल्लरी समूहको कम खतराजनक र कम आक्रामक ( क्लास्सिकल) भेरिएन्ट्सको क्यान्सर भए नभएको ठम्याउन सकिन्छ ।

एफएनएसीबाट खतराजनक बढी आक्रामक प्रकारको र प्यापिल्लरीभन्दा फरक र कडा प्रकारको ‘फोल्लिक्युलर’ क्यान्सर हो होइन छुट्याउन सकिन्न । त्यसैले एफएनएसीमा आक्रामक क्यान्सर देखिएन भने पनि अल्ट्रासाउन्डले आक्रामक प्रकारको क्यान्सरको शंका देखाउँछ, घाँटीमा सम्बन्धित लिम्फ ग्रन्थीहरू बढेको देखिए कडाखाले आक्रामक क्यान्सरको शंका गर्नुपर्ने हुन्छ ।

थाइरोइड ग्रन्थीका क्यान्सरको उपचार

सबै थाइरोइड क्यान्सर आक्रामक हुँदैनन् । त्यसैले क्यान्सर भन्नेबित्तिकै त्रसित हुनुपर्ने आवश्यकता छैन । बहुसंख्यक थाइरोइड क्यान्सर कम आक्रामक र नबढ्ने प्रकारका हुन्छन् । सानो एक–डेढ सेमीसम्म आकारको, रेडियो विकिरणबाट प्रभावित नभएको, एफएनएसी परीक्षणबाट प्यापिलरी समूहको कम खतराजनक क्लास्सिकल उपसमूहको र भिडियो एक्सरेमा ट्युमर ग्रन्थी भित्रै सीमित छ भने यस्तो गिर्खा क्यान्सरै भए पनि तुरुन्तै शल्यक्रिया गर्न आवश्यक नहुन पनि सक्छ । बरु त्यस्ता बिरामीलाई निगरानीमा राख्नुपर्ने हुन्छ । यदि बढी खतरापूर्ण या आक्रामक प्रतीत हुन पुगे, सम्बन्धित लिम्फ ग्रन्थीमा फैलिए पूरै थाइरोइड र लिम्फ ग्रन्थी पनि निकाल्नुपर्ने हुन्छ ।

शल्यक्रियापश्चात् थाइरोइडको कोष छुट्टिएको क्यान्सरका निम्ति रेडियोआयोडिनबाट स्क्यानिङ गरी बाँकी रहेको तन्तुलाई उच्छेदन गर्न आवश्यक हुन्छ । साथै थाइरोइडबाट मात्रै निःसृत हुने विशेष प्रकारको प्रोटिन (थाइरोग्लोब्युलिन) को पनि मार्करको रूपमा परीक्षण गर्नुपर्ने हुन्छ ।

थाइरोइडको शल्यक्रिया गर्दा एकातिर क्यान्सरयुक्त कोषको तन्तु नरहोस् भन्नेतर्फ हेक्का राख्नुपर्ने हुन्छ भने अर्कोतिर थाइरोइड ग्रन्थी निकाल्दा मुटु मांसपेसी, नसालगायतका अंगको सुसञ्चालनका लागि आवश्यक खनिज क्याल्सियमको नियमन गर्ने पाराथ हर्मोन निष्कासन गर्ने पाराथाइरोइड ग्रन्थीहरूलाई बचाउन अपरिहार्य रहन्छ । त्यसैगरी विशेषगरी स्वरयन्त्र एवं सास नलीलाई संचालन गर्ने नसा पनि काटिन सक्छ । तर सावधानी अपनाए यस्ता जटिलताबाट बचाउन सकिन्छ ।

क्यान्सरका कारणको निवारण

अन्य जस्तो मुख, घाँटी, फोक्सो, सास नली, खाने नली आदि अंगका क्यान्सरको कारण अल्कोहल एवं धूमपानसहितका सुर्तीजन्य वस्तु रहेको प्रमाणित भएको छ । विशेषगरी एक्सरेलगायतका रेडियोधर्मी विकिरण, आणुवंशिकता, आयोडिन घटीबढी हुँदा थाइरोइड ग्रन्थीमा पर्न सक्ने असर, अटोअन्टिबडी पैदा भई थाइरोइडका कोषहरूमा पर्न सक्ने प्रतिक्रिया आदि थाइरोइड क्यान्सरको कारण मानिएका छन् ।

थाइरोइड क्यान्सरका मुख्य कारक नमानिए पनि फोक्सो एवं गलाको क्यान्सर धूमपान, मुख र जिब्रोको क्यान्सरहरू खैनी, गुटखा, सुपारीजस्ता वस्तुका कारण हुने गरेको तथ्य वैज्ञानिक अनुसन्धानबाट सिद्ध भइसकेको छ । निकोटिनमा ६ सय प्रकारका र त्यसलाई जलाएर धूमपानका रूपमा प्रयोग गर्दा ७ हजार प्रकारका रसायन भेटिन्छन्, तीमध्ये ६९ प्रकारका रसायनले क्यान्सर गराउँछन् । नाक, घाँटी स्वरयन्त्र हुँदै फोक्सोसम्म फैलिने चुरोटको धूवाँले कोषहरूलाई क्यान्सर युक्त बनाउन सक्छन् । अझै सँगै अल्कोहल खादा यस्तो सम्भावनालाई धेरै गुणा बढाउँछ ।

थाइरोइड क्यान्सरको स्तरीय शल्यक्रियापश्चात् आवश्यक पर्नेहरूलाई रेडियोआयोडिन, स्क्यानिङ एवं थाइरोग्लोबुलिनको परीक्षण आदि पनि सहज रूपमै परीक्षण गर्ने व्यवस्था हुनुपर्छ । थाइरोइड एवं अन्य नाक, कान, घाँटीसम्बन्धी दक्ष जनशक्तिको बढिरहे पनि त्यो अझै पर्याप्त छैन । त्यसैले यस्तो जनशक्तिको आवश्यकता पूर्ति गर्न तालिम एवं उच्च अध्यापनको खाँचो छ । क्यान्सर अस्पतालहरूको प्रवर्द्धनको आवश्यकता छ । मोफसलका अस्पतालहरूमा पनि क्यान्सर उपचारको प्रबन्ध मिलाउनु जरुरी छ ।

प्रकाशित : असार ८, २०७९ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्

गलत सूचनाको महामारी

संसारभरि नै सामाजिक सञ्जालमा राम्राभन्दा नराम्र्रा कुराले बढी लाइक, कमेन्ट र सेयर पाउने गरेका छन् । ‘सोसल साइन्स’ मा प्रकाशित केटी ल्यान्जिनको एक लेखअनुसार ट्वीटरमा झूटा समाचार सत्य समाचारको तुलनामा ७० प्रतिशत बढी रिट्वीट हुन्छन्  ।
मैना धिताल

केही दिनअघि सहरी विकास मन्त्री रामकुमारी झाँक्रीको घर भन्दै सेयर गरिएको तस्बिर सामाजिक सञ्जाल (सोसल मिडिया) मा ‘भाइरल’ भयो । मुलुकका नाम चलेका लेखकलगायत धेरै जनाले त्यो फोटोसहित ट्वीट गरे । तर ‘नेपाल फ्याक्ट चेक’ लगायतले जाँच गर्दा त्यो तस्बिर–सूचना झूटो ठहरियो । उक्त संस्थाका अनुसार, त्यो फोटो केन्याको रस्मिया होम डिजाइन लिमिटेडको वेबसाइटलगायत थुप्र्रै विदेशी वेबसाइटमा रहेको भेटियो । 

इन्टरनेट, डिजिटल मिडिया र सोसल मिडियामा नागरिकको बढ्दो पहुँचसँगै मिथ्या सूचना फैलिने क्रम पनि बढेको छ । यसै पनि नेपाली समाजमा कसैले कागले कान लग्यो भन्यो भने आफ्नो कानै नछामी कागको पछि दौडने प्रवृत्ति छ । अर्थात्, हामी हल्लाका पछि धेरै लाग्छौं । सायद सोझासीधा भएकाले पनि होला, अरूले भनेको कुरा- खासगरी नकारात्मक- सजिलै पत्याइहाल्छौं । अझ राष्ट्रियता र अन्तर्राष्ट्रिय सम्बन्धबारे त सजिलै बहकिएर धारणा बनाइहाल्छौं । पछिल्लो समय विवादमा रहेका मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा त्यो झनै छताछुल्ल भयो ।

फेसबुक, ट्वीटर र युट्युबको उदयसँगै सोसल मिडियामार्फत झुक्केर वा जानजान गलत सूचना फैलाउने र फैलिने क्रम बढ्दो छ । डिजिटल मिडिया र इन्टरनेटमा मान्छेको पहुँच बढ्दो छ । र, तिनैमार्फत हुने गलत जानकारी (मिस्इन्फरमेसन) र दुस्प्रचार (डिस्इन्फरमेसन) ले अहिले नेपाललगायत समग्र विश्व ग्रसित छ । पछिल्लो समय नेपालमा युट्युब च्यानलमा भ्युज बढाएर आम्दानी गर्ने लोभमा तोडमोड गरिएका र झूटा सूचना दिएर मान्छेलाई भ्रमित गर्ने सामग्री बग्रेल्ती छन् । विश्वभरि नै झूटो समाचार टाउको दुखाइ बनेको छ ।

नकारात्मक कुरा बढी भाइरल

संसारभरिकै प्रवृत्ति हेर्दा सामाजिक सञ्जालमा राम्राभन्दा नराम्र्रा कुराले बढी लाइक, कमेन्ट र सेयर पाउने गरेका छन् । पढेलेखेकै व्यक्तिहरू पनि सूचनाको स्रोतको विश्वसनीयता नबुझीकनै सेयर गर्न हतारिने गरेको पाइन्छ । सन् २०१६ मा अमेरिकामा भएको राष्ट्रपतीय चुनाव र बेलायतमा भएको ब्रेक्जिट जनमत संग्रहका बेला पनि त्यो प्रस्टै देखियो । त्यसको एउटा कारण आलोचनात्मक चेतबाट नहेर्नु पनि हो । के यो साँच्चै भएको हो त ? मैले सेयर गरेको विषय गलत हुँदा त्यसले समाजमा के असर पार्छ भनेर विश्लेषण नगर्नु पनि हो । प्रायः मानिसहरू आफ्नो विचार र दृष्टिकोण मिल्ने खालका सूचनाको खोजीमा हुन्छन् । र, त्यस्ता समाचार वा सामग्री भेट्नेबित्तिक्कै सेयर गर्न तम्सिहाल्छन् ।

च्याउ उम्रेझैं उम्रिएका अनलाइन, ब्लग र युट्युब च्यानलहरू त्यसका कारक बनेका छन् । हाम्रो जस्तो समाजमा यसले पार्ने असर ठूलो हुन्छ । हुन त कतिपय अवस्थामा सोसल मिडियाकै कारण पीडितले न्यायमा पहुँच पनि पाएका छन् । तर, कतिपय अवस्थामा सोसल मिडियाका कारण पीडितहरू थप मारमा परेका पनि छन् ।

सेन्टर फर मिडिया रिसर्च– नेपालले सन् २०१९ मा गरेको एक सर्वेक्षणले पनि ९५ प्रतिशत नेपाली इन्टरनेट प्रयोगकर्ताहरू ‘डिस्इन्फरमेसन’ को जोखिममा रहेको देखाएको छ । अझ कोभिड महामारीका बेलामा पुष्टि नभएका र झूटा सूचना फैलिने क्रम झनै तीव्र रह्यो ।

‘सोसल साइन्स’ मा केटी ल्यान्जिनको मार्च ८, २०१८ मा प्रकाशित ‘फेक न्युज स्प्रेड्स फास्टर द्यान ट्रु न्युज...’ लेखअनुसार ट्वीटरमा झूटा समाचार सत्य समाचारको तुलनामा ७० प्रतिशत बढी रिट्वीट हुन्छन् । कतिपयले इन्टरनेटमा प्रयोग हुने ‘बट्’ नामको स्वचालित प्रणालीले यस्ता सूचनालाई भाइरल बनाउन भूमिका खेलेको मान्न सक्छन् । सोरस भसोगी, डेब रोयन्ड र सिनान एरलको अध्ययनले भने मान्छेहरूले नै यस्ता सामाजिक सञ्जालमार्फत झूटा सूचना फैलाउन भूमिका खेलेको देखाएको छ । यसमा ट्वीटरको प्रयोग अझ बढी हुने गरेको छ । बाह्र वर्ष अवधिमा ट्वीटरमा भएका सूचनालाई तथ्य जाँच गर्ने स्वतन्त्र ६ संस्थामार्फत छानबिन गर्दा १ लाख २६ हजार ‘फेक’ समाचार ३० लाख मान्छेले ४५ लाख चोटि सेयर गरेका थिए । तर, सही समाचार भने मुस्किलले १ हजार ट्वीटर प्रयोगकर्ताकामा पुगेको पाइयो । यस्तो प्रवृत्ति नेपाली समाजमा पनि छ ।

पिउ रिसर्चले सन् २०१६ मा ३७ करोड ६० लाख फेसबुक प्रयोगकर्ताहरूले ९ सयभन्दा बढी सञ्चारमाध्यमहरूसँग गरेको साक्षात्कारलाई लिएर एक अध्ययन गर्‍यो, जसमा आफ्नो विचारसँग मेल खाने खालको सूचनाको खोजी बढी हुने गरेको पाइयो । अझ यसो भनूँ, हामी जे सोच्छौं, जे दृष्टिकोण राख्छौं, त्यसलाई नै बल पुग्नेखालका सूचनाको भोको हुन्छौं ।

सानो सूचना, ठूलो क्षति

हामीले विचारै नगरी सेयर गर्ने सुचनाले क्षणिक आनन्द त देला । तर, त्यस्तो गलत सूचनाले अरु थुप्रैलाई पार्ने असरबारे बिर्सन मिल्दैन ।

कोभिड महामारीका बेला गलत सूचना प्रवाह हुने क्रम झनै बढ्यो । धेरैले यसलाई ‘होक्स’ (हावादारी) भने । अरु त अरु जो बिरामी कोभिड लागेर मर्दै छ, उसले समेत कोभिड भनेको ‘होक्स’ हो भन्न छोडेन । सन् २०२० को मार्चमा झन्डै ३० प्रतिशत अमेरिकी वयस्कहरूले चीनले जैविक हतियारका रूपमा कोरोना भाइरस जन्माएको विश्वास पनि गरे (सोसल साइन्स एन्ड मेडिसिन, भोलम २६३) । पिउ रिर्सचले सोही वर्ष गरेको अर्को एक सर्वेक्षणमा एक तिहाइले भने शक्तिमा रहेका मान्छेहरूले नियतवश यो प्रकोप गराएको विश्वास गरे । यस्ता अफवाहले मान्छेको व्यवहार र सोचमा नै प्रभाव पार्ने गरेका छन् । अझ मास्क लगाउनु भनेको व्यक्तिगत स्वतन्त्रता खतरामा पर्नु हो भन्ने खालका गलत प्रचारबाजी गरिए । सोही सूचनालाई पत्याएर कतिपयले मास्क लगाउन मानेनन्, जसले गर्दा अमेरिकामा महामारी नियन्त्रण गर्न सुरुवाती समयमा निकै सकस पर्‍यो ।

यस्तै, सोही वर्ष भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रिपलप्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प त हुलाकमार्फत मतपत्र पठाएर डेमोक्र्याटले व्यापक धाँधली गरेको र बाइडेनको विजय अवैध रहेको जस्ता घोषणा गर्नसम्म पछि परेनन् । उनले यस्तो झूटो सूचना फैलाउँदा उनका समर्थकहरूले पत्याए । उनको समर्थनमा क्यापिटल हिलमाथि नै आक्रमण भयो ।

मिथ्या सूचनाले मान्छेलाई यसरी गाँज्छ कि गलत सूचनालाई सच्याउँदा पनि मान्छेहरू त्यही झूटो सूचनालाई नै पत्याइरहन्छन् (जर्नल अफ पर्सनालिटी एन्ड सोसल साइकलजी, भोलम ३९, नं ६, १९८०) । र, राजनीतिक आदर्शले पनि यसमा भूमिका खेल्ने गरेको पाइएको छ ।

झूटा समाचार तथा गलत सूचनाबाट विश्वले मनोवैज्ञानिक र सामाजिक रूपमा मात्रै हैन, आर्थिक रूपमा पनि ठूलो मूल्य चुकाउनुपरेको छ । सन् २०१७ मा क्रिप्टोकरेन्सी एथरमका संस्थापक विटलिक बटरिनको कार दुर्घटनामा मृत्यु भएको झूटो समाचार फैलिँदा सेयर बजारमा उक्त कम्पनीले ४ अर्ब डलर मूल्य गुमाउनुपर्‍यो । स्टाटिस्टा २०२० का अनुसार, गलत सूचना र झूटा समाचारका कारण विश्वले ७८ अर्ब डलर मूल्य चुकाएको छ ।

नियन्त्रणमा चुनौती

फेक न्युज लोकतान्त्रिक समाज र यसको मूल्यमान्यताका लागि समेत खतरा बनेको छ । कुनै निश्चित समूह, संगठन वा राज्य प्रायोजित कार्यक्रममार्फत नाफा र राजनीतिकलगायत अन्य लाभका लागि यसको प्रयोग गर्ने गरिएको छ । इन्टरनेटको पहुँच हरेक कुनाकाप्चामा पुगिरहेको यो समयमा मिथ्या सूचना नियन्त्रण गर्न सजिलो पनि छैन । खुला र लोकतान्त्रिक व्यवस्थामा यो अभिव्यक्ति र प्रेस स्वतन्त्रतासँग पनि जोडिने भएकाले नियन्त्रण चुनौतीपूर्ण छ ।

नेपाली सञ्चारमाध्यममा आफ्नै तथ्य जाँच गर्ने व्यवस्था छैन । अब सञ्चारमाध्यमले पनि आफूलाई विश्वासयोग्य बनाउन र गलत सूचना प्रवाह हुनबाट रोक्न यतातिर ध्यान दिनु जरुरी छ । अन्तर्राष्ट्रिय रूपमा ठूला सञ्चारमाध्यमसँग आफ्नै तथ्य जाँच गर्ने युनिट छन् । त्यसबाहेक पोलिटिफ्याक्ट, अफ्रिका चेक, साइन्सचेक, फ्याक्टचेक, अल्टन्युजजस्ता मिडियाको तथ्य जाँच गर्ने स्वतन्त्र संस्था पनि छन् । नेपालमा साउथ एसिया चेक र नेपाल फ्याक्ट चेकलगायतका संस्था यसमा कार्यरत छन् । तर, यतिले मात्रै झूटा सूचना नियन्त्रण गर्न पर्याप्त छैन ।

सबैको सहकार्यबाट मात्रै ‘मिस्इन्फरमेसन’ र ‘डिस्इन्फरमेसन’ प्रवाहलाई न्यूनीकरण गर्न सकिन्छ । यसका लागि राज्य, निजी क्षेत्र र उपभोक्ता सबैले सहकार्य गर्न जरुरी छ । राज्यले समाचार साक्षरता र बलियो व्यावसायिक पत्रकारितालाई प्रवर्द्धन गर्न खाँचो छ≤ सञ्चारमाध्यमले पनि ब्रेकिङ न्यूजमा हतारो नगरी समाचारको विश्वासनीयता बढाउन आफ्नो छुट्टै तथ्यजाँचको व्यवस्था गर्नुपर्छ । पछिल्ला वर्षहरूमा परम्परागत सञ्चारमाध्यमप्रति खस्किँदै गएको जनविश्वासलाई उकास्न पनि यसको खाँचो छ ।

प्रविधि क्षेत्रमा रहेका कम्पनीले पनि नाफासँगै सामाजिक दायित्व पनि ख्याल गर्नुपर्छ । झूटो समाचारलाई पहिचान गर्ने र मिथ्या सूचना फैलाएर नाफा कमाउनेहलाई निरुत्साहित गर्न आवश्यक छ । प्रयोगकर्ताले पनि सेयर गर्नुअघि एकपटक जाँच गर्न आवश्यक छ । एक क्लिकका भरमा सयौं मान्छेमा पुग्ने भएकाले केही सेकेन्ड पर्खेर त्यसको स्रोत, शीर्षक र त्यसअनुसारको सामग्री छ/छैन आफैंले जाँच्न सके धेरै हदसम्म यसको फैलावट रोकिन सक्छ । नजिकिँदै गएको आमनिर्वाचनमा पनि झूटा समाचार र नियोजित रूपमा गलत सूचना प्रवाह हुने सम्भावना बढी छ, जसमा निर्वाचन आयोगले पनि सचेतना अभियान चलाउन र नियमन गर्न जरुरी छ ।

प्रकाशित : असार ८, २०७९ ०८:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×