१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

ज्येष्ठ नागरिकका लागि योग

अजय रिसाल

संस्कृतको ‘युज्’ धातुबाट व्युत्पत्ति भएको ‘योग’ शब्दले ‘जोड्नु’, ‘मिलाउनु’ या ‘संयोजन गर्नु’ भन्ने अर्थ दिन्छ । इसापूर्व २७०० वर्षभन्दा अघिको भनिए पनि सदियौं पुरानो हाम्रो पूर्वीय सनातन धर्म संस्कृतिको अभिन्न अंग हो- योग । सनातन परम्परामा एक व्यक्तिको ब्रह्माण्डीय चेतनासितको अथवा जड अवस्थामा रहेको प्रकृतिको चैतन्य पुरुषसँगको या शरीर, मन एवं आत्माबीचको संयोजनकारी विधिका रूपमा योगलाई मानिने गरिन्छ ।

ज्येष्ठ नागरिकका लागि योग

आधुनिक पद्धतिबाट शिक्षित–दीक्षित भई चिकित्सकीय पेसामा लागेको तर स्वाध्ययन अनि संस्कारजन्य कारणले अलिअलि पूर्वीय धर्मसंस्कृति–परम्पराको पनि अध्ययन–अनुसरण गर्ने गरेकाले मैले ‘योग’ लाई पूर्वीय सनातन ज्ञान एवं पश्चिमी आधुनिक विज्ञानको संयोजन गर्ने माध्यमका रूपमा लिने गरेको छु ।

आदियोगी भगवान् शिवद्वारा प्रवर्तित भई सप्तऋषिहरूका माध्यमबाट प्रसारित योगविधि पतञ्जलिजस्ता महर्षिहरूले वर्तमान अवस्थामा ल्याइपुर्‍याएको मानिन्छ । गुरुशिष्य परम्परामा श्रुतिस्मृतिको माध्यमबाट पुस्तौंपुस्ता सर्दै आएको यो परमज्ञानमा विभिन्न प्रारूप पाइन्छन्, पतञ्जलयोग, कुण्डलिनीयोग, हठयोग, लययोग, मन्त्रयोग, राजयोग, जैनयोग आदि । योगेश्वरका रूपमा मानिएका श्रीकृष्णले त श्रीमद्भगवद्गीतामा ज्ञानयोग, भक्तियोग, कर्मयोग, ध्यानयोग, बुद्धियोग, सांख्ययोग आदि विभिन्न विधामा विशद व्याख्या गरेर योगलाई जीवनपद्धतिका रूपमै स्विकार्न सबैलाई आह्वान नै गरेका छन् ।

वर्तमान समयमा विश्वका तीन करोडभन्दा बढी मानिसले योगाभ्यास गर्ने गरेको विभिन्न अध्ययनले दखाउँछन् । आसन, श्वासप्रश्वास, ध्यान आदिको अभ्यास गरेर पनि योगाभ्यास गर्ने गर्छन्, मानिसहरू । स्वअनुशासन, सामाजिक विधिव्यवहार अनि शुद्धिका विविध प्रारूप पनि पालना गरिने गरिएको छ, योगाभ्यासमा । अहिले आएर पूरक या वैकल्पिक चिकित्सा पद्धतिका रूपमा पनि योगलाई लिइने गरिएको छ पाश्चात्य चिकित्सा विधिमा समेत । यसलाई शारीरिक, मनोवैज्ञानिक एवं मनोसामाजिक स्वास्थ्योपचारको साधनका रूपमा मान्यता दिइएको छ । कोभिड महामारीपछिको आजको समयमा त यसको सान्दर्भिकता अझै बढी हुन पुगेको छ ।

पतञ्जलिले ‘यम, नियम, आसन, प्राणयाम, प्रत्याहार, धारणा, ध्यान अनि समाधि’ गरेर योगका आठ अंगबारे उल्लेख गरेका छन् । हामी योगका तिनै अंगमध्ये कुनै एक या दुईको परिधिभित्र रहेर योगाभ्यास गर्ने गर्छौं । त्यस्तै श्रीमद्भगवद्गीतामा योगका लागि ‘आहार, विहार, स्नान, शुद्धता, श्रद्धा’ आदि विविध गुणको महत्त्व दर्साइएको छ ।

योग शारीरिक सक्रियताका लागि मात्र नभएर सबै उमेर समूहका लागि गतिशीलता, सन्तुलन, बोध, अनुभूति, निद्रा, जीवनको गुणात्मकता, व्यक्तिपरक स्वस्थता अनि मनोवैज्ञानिक स्वास्थ्यका लागि समेत महत्त्वपूर्ण अवयव बन्न सक्ने अन्तर्राष्ट्रिय अध्ययनहरूमा समेत देखिएका छन् ।

वर्तमान समयमा आधुनिक चिकित्सा पद्धतिमा भएको विकास आदिका कारण व्यक्तिहरूको औसत आयुमा समेत वृद्धि भएको देखिन्छ । नेपालीको नै सरदर आयु ७२ वर्ष पुगिसकेको छ । त्यसैले विश्वभर नै ज्येष्ठ नागरिकको संख्या बढिरहेको छ । सन् २००० देखि २०५० सम्मको अवधिमा ज्येष्ठ नागरिकको संख्या दोब्बरै बढ्ने प्रक्षेपण गरिएको छ, जसको ८० प्रतिशत नेपालजस्तो न्यून तथा मध्यम आय हुने मुलुकमा हुनेछन् ।

व्यक्तिको आयु लामो हुनु सकारात्मक नै हो तर यसका नकारात्मक पाटा पनि छन् । वृद्धवृद्धाको संख्यामा हुने वृद्धिका कारण मानसिक, व्यवहारजन्य अनि हड्डी, मांसपेशीजन्य समस्याको बढोत्तरी हुनु पनि स्वाभाविकै भयो । यसले ती ज्येष्ठ नागरिकको जीवनको गुणात्मकतामा अनि स्वतन्त्रतामा पनि असर पार्ने नै भयो । त्यस्तै, ज्येष्ठ नागरिकको संख्यामा वृद्धि हुँदा बिरामीको संख्या पनि बढ्ने गर्छ जसकारण सामुदायिक स्वास्थ्यमा पनि नवीन चुनौती थपिने देखिन्छ ।

त्यसोभए यी ज्येष्ठ नागरिकको सबल स्वास्थ्यका लागि के गर्न सकिन्छ त ? ‘जीवेम शरदः शतम्’ भनेर ‘स्वस्थ भई सय वर्ष नै बाँच्न सकियोस्’ भनेर प्रार्थना गर्न या चाहना राख्न त हाम्रो सनातन संस्कृतिले नै सदियौंदेखि नै सिकाउँदै आइरहेको हो नि !

हाम्रो चिकित्सा विज्ञानमा शारीरिक गतिशीलतालाई नै स्वस्थ रहने आधार मान्ने गरिएको छ । विश्व स्वास्थ्य संगठनले हप्तामा दुईदेखि तीन दिनको करिब १५०–३०० मिनेटको गतिशील व्यायामको आवश्यकता रहेको देखाएको छ ज्येष्ठ नागरिकका लागि । वृद्धवृद्धालाई उमेर अनुसारको कार्यक्षमतामा आउने ह्रासको रोकथामका लागि पनि शारीरिक गतिशीलताको जरुरत छ । यसबाट तिनमा स्वास्थ्यका साथसाथै स्वायत्तता, स्वतन्त्रता, सामाजिक उत्तरदायित्व, मर्यादा अनि जीवनको गुणात्मकतामा समेत वृद्धि हुने गर्छ ।

विश्वमा करिब २५ प्रतिशत मात्र ज्येष्ठ नागरिक शारीरिक रूपमा सक्रिय रहने गर्छन् । निष्क्रिय जीवन बिताउनेहरू ठूलो संख्यामा विभिन्न रोगको चपेटामा पर्ने गर्छन् । शारीरिक सक्रियताका लागि वृद्धवृद्धाका लागि योगाभ्यासजस्तो उपयोगी माध्यम अरू के पो होला र ? हाम्रोजस्तो सनातन संस्कृतिमा भिजेका ज्येष्ठ नागरिकले त सजिलैसँग योगाभ्यासमा आफ्नो दैनिकीलाई अभ्यस्त गराउन सक्छन् । योगको आसन विधिले तिनलाई शारीरिक सन्तुलनका लागि अभ्यस्त गराउँछ भने प्राणयाम अनि ध्यान विधिले मानसिक शान्ति दिन्छ । अन्ततः आत्मानुशासनमा बाँधेर सबल एवं जागरुक बनाउँछ । विभिन्न अध्ययनले योगले स्मरणशक्तिमा समेत वृद्धि गराउने तथ्य पस्केका छन् । योगले उदासीनता, तनावजन्य मनोसामाजिक तथा निद्राका समस्यामा पनि कमी ल्याउँछ । योगाभ्यासले मुटुरोग, रक्तचाप, दम, श्वासप्रश्वासजन्य समस्यामा कमी ल्याएर रोग प्रतिरक्षा क्षमतामा पनि वृद्धि गराउँछ । अन्ततः योगले व्यक्तित्व विकास अनि आध्यात्मिक चेतनामा पनि जागरुक गराउँछ ।

‘योगाभ्यासले बढी नै परिश्रम गराउने भएकाले वृद्धवृद्धालाई उपयोगी अनि सम्भव हुँदैन’ भन्ने धारणा भ्रमसिवाय केही होइन । यो त्यत्ति खर्चिलो पनि हुँदैन । सबै उमेर समूहकाले घरैमा बसेर अभ्यास गर्न सकिन्छ ।

त्यसैले हामीले परापूर्वकालदेखि नै हाम्रो संस्कृति–परम्पराको अभिन्न अंगका रूपमा रहेको योगविधिलाई पुनर्जागृत गराउनुपर्छ । ज्येष्ठ नागरिकलाई स्वस्थ एवं सबल जनशक्तिका रूपमा कायम राखिराख्न योगाभ्यासजस्तो उपयुक्त विधि अरू छैन । अतः आज अन्तर्राष्ट्रिय योग दिवस हो र यो अवसरमा हाम्रा आमाबाबालाई योगाभ्यास गर्नका लागि आह्वान गरौं, सहयोग एवं प्रोत्साहन गरौं ।

रिसाल धुलिखेल अस्पताल मनोचिकित्सा विभागमा कार्यरत छन् ।

प्रकाशित : असार ७, २०७९ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?