कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४
सम्पादकीय

अर्थमन्त्री शर्मा किन दण्डित हुनुपर्छ ?

सम्पादकीय

एकपछि अर्को विवादमा मुछिँदै तर उन्मुक्ति पाउँदै आएका अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा पनि बजेटको मर्यादाका दृष्टिले अस्वीकार्य तथा मुलुकको आर्थिक हितका दृष्टिले आपराधिक कार्य गराएका रहेछन् ।

अर्थमन्त्री शर्मा किन दण्डित हुनुपर्छ ?

बजेट निर्माणको अन्तिम घडीमा राज्य संरचनाले चिन्दै नचिनेका अनधिकृत व्यक्तिलाई उनले करका दरहरू हेरफेर गर्न अख्तियारी दिएका रहेछन्, र कर्मचारीहरूलाई उनीहरूको आदेश मान्न लगाएछन् । जबकि, करको सैद्धान्तिक पक्षमा सरोकारवालाबीच छलफल गर्नुलाई मात्रै सामान्य मानिन्छ; बजेटमार्फत गरिने करको दर हेरफेरबारे त बजेट निर्माणमै संलग्न पनि अति कम उच्च अधिकारीहरूलाई मात्रै थाहा हुन्छ । यही संवेदनशीलताकै कारण यो काम अन्तिम घडीमा गरिन्छ, र संसद्मा बजेट प्रस्तुत नगरुन्जेलसम्म यसबारे अरू कसैलाई जानकारी दिइन्न । त्यसबीचमै कथं कर सम्बन्धी सूचना चुहिहाल्यो भने अर्थमन्त्रीको पद नैतिक धरापमा पर्छ, यही कारण अरू देशमा राजीनामै दिने गरिएको दृष्टान्तसम्म छ ।

तर, यहाँ त करको दर सम्बन्धी सूचना चुहिएको मात्रै होइन, अमुक व्यापारीहरूको स्वार्थ सम्बोधन गर्ने गरी करको दर तोक्न अनधिकृत व्यक्तिहरूलाई बजेट निर्माणमै सहभागी गराइएको रहेछ । र, तिनै व्यक्तिको ‘हुकुमप्रमांगी’ अनुसार बजेट निर्माण भएछ । मुलुकको इतिहासमा कहिल्यै नभएको तथा नसुनिएको यो घटना अर्थमन्त्रीद्वारा प्रदर्शित राजकीय अराजकताको उत्कर्ष हो । तैपनि अचम्म छ, यो प्रकरण सार्वजनिक भएको चार दिन बितिसक्दासमेत प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्रीसम्बद्ध दल माओवादी केन्द्रका प्रमुख पुष्पकमल दाहाल लगायत सत्तारूढ गठबन्धनका ओहोदावालाहरू तैं चुप–मै चुपको अवस्थामा छन् । अर्थ मन्त्रालय उल्टै अर्थमन्त्रीको बचाउमा विज्ञप्ति निकालेर टकटकिएको छ । मन्त्रालयका सचिव लगायत उच्च प्रशासकहरूले आफ्नै नूर गिराएर मौनता साधेका छन् । र, राजस्व दर परिवर्तन प्रक्रियाप्रति गद्दारी तथा राष्ट्रघातको आरोप नै लाग्दा पनि अर्थमन्त्रीले स्वैच्छिक रूपमा पद त्याग्न चाहेका छैनन् । गभर्नर मामिला र स्रोत नखुलेको रकम रोक्का प्रकरणमा उठेका नैतिक प्रश्नलाई त्यसै पचाइदिएका अर्थमन्त्रीले अब पनि नैतिकता भुलेर पद नछाड्नुलाई अनौठो नमान्न पनि सकिन्छ । तर, प्रधानमन्त्री देउवाले पनि उनलाई बरखास्त गर्न नचाहनु र अर्थमन्त्रीसम्बद्ध दलका अध्यक्ष दाहालले पनि उनलाई फिर्ता नबोलाउनुको कारणचाहिँ बुझिनसक्नु छ । होला–नहोला, तर अर्थमन्त्रीमाथि आवश्यक कारबाही नगरिँदा आम आशंका देउवा र दाहाल दुवैमाथि पनि उत्तिकै सोझिएको छ ।

राजकाज सम्बन्धी सामान्य समझ हुने व्यक्तिलाई पनि थाहा हुन्छ, राज्यले नचिनेका मानिसले यसरी बजेट चलाउन पाउँदैन, यो तथ्यको हेक्का स्वयं अर्थमन्त्रीलाई नहुने त कुरै भएन । तैपनि उनले किन यसो गरे भन्ने विषय अनुसन्धेय छ । राज्यका सम्बन्धित निकायहरूले यसबारे मिहिन ढंगले अनुसन्धान गर्नुपर्छ । खास गरी यसमाथि संसदीय छानबिन नै हुनुपर्छ । अर्थमन्त्रीले यो प्रकरणलाई ‘अत्यन्त भ्रामक, कपोलकल्पित, एउटा झुटा कथा’ भनेका छन्, त्यसैले सुरुमा यसको सत्यता स्थापित गर्नकै निम्ति अनुसन्धान केन्द्रित हुनुपर्छ । त्यसका निम्ति उक्त समयको मन्त्रालयको सीसीटीभी फुटेजको जाँच गरिनुपर्छ । कथं त्यति बेलाको सीसीटीभी फुटेज हटाइएको रहेछ भने उक्त कार्यमा संलग्नहरूउपर पनि अनुसन्धान हुनुपर्छ । र त्यसपछि, अर्थमन्त्रीले बजेट निर्माणमा घुसाएका व्यक्तिहरूले अवाञ्छित रूपमा कुन–कुन करको दर चलाए ? त्यसबाट को–को व्यापारीलाई कति फाइदा भयो, कसैलाई हानि पनि भयो कि ? र राज्यले कति राजस्व गुमाउनुपर्‍यो ? यी सबै विषयमा खोजबिन गरी आवश्यक कदमहरू चालिनुपर्छ ।

बहुमत सांसदले यो विषयको गम्भीरताप्रति बेवास्ता गर्दा बिहीबार बजेट संसद्‍बाट पारित भएको छ । तर यस विषयको निरूपण नहुन्जेल बजेटको वैधतामाथि प्रश्न उठिरहनेछ । अब पनि, अनुसन्धानका क्रममा करका दरहरूमा गम्भीर खेलबाड गरिएको पाइएमा सम्बन्धित दोषीहरूलाई कारबाही गर्ने मात्र नभएर पूरक बजेट नै पनि ल्याउनुपर्ने हुन सक्छ, यसतर्फ अवश्य ध्यान दिइनुपर्छ । र, यस क्रममा अर्थमन्त्रीको गैरकानुनी आदेशलाई लुरुलुरु पालना गर्ने सरकारी अधिकारीहरूलाई पनि चेतावनी दिइनुपर्छ । किनभने, राजनीतिक नेतृत्वले बाटो बिराउन खोज्दा उनीहरूलाई कानुनी दायरा सम्झाउने दायित्व कर्मचारीतन्त्रकै हो, जसबाट उनीहरू च्युत हुन मिल्दैन । उनीहरू राज्य र नागरिकप्रति जिम्मेवार हुने हो, राजनीतिकर्मी तथा मन्त्रीहरूप्रति होइन, त्यसका निम्ति उनीहरू कानुनी शासनका पक्षमा उभिनैपर्छ, र जायज अडानबाट कदापि पछि हट्नु हुँदैन ।

मूल विषय, नेपालको अर्थ प्रशासन तथा बजेट निर्माणको इतिहासमा भएको यति गम्भीर घटनालाई त्यसै ढिसमिस पार्ने गल्ती कसैबाट हुनु हुन्न । यो प्रकारण सामान्य हुँदै होइन, यसलाई पनि सामान्यीकरण गरियो भने भविष्यमा राज्य–अराजकता अझ मौलाउनेछ, जुन यथार्थ बुझ्न खास गरी देउवा–दाहालले ढिलाइ गर्नु हुँदैन । जसरी हुन्छ, जिम्मेवार ओहोदावालाहरूले, अर्थमन्त्रीको हुल्लडबाजी कुकृत्य सच्याएर भविष्यमा पनि यस्ता कार्यहरू नदोहोरिने सुनिश्चितता गर्नैपर्छ ।

प्रकाशित : असार ३, २०७९ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?