२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

चुरेलाई हामी खुसी पार्न सकौंला ?

चुरे क्षेत्रका खाली जग्गा र नदीकिनारमा वृक्षरोपण गर्नुको विकल्प छैन । वृक्षरोपण मानव जातिले गर्ने सबैभन्दा पवित्र कार्य हो, जसका फाइदा मात्रै छन्, घाटा केही पनि छैन ।
डा. महेश्वर ढकाल

गत जेठ २६ गतेको कान्तिपुर दैनिकमा चन्द्रकिशोरको ‘मान्छेसँग खुसी छैन चुरे’ शीर्षक लेख पढेपछि मैले चुरे संरक्षण क्षेत्रका सरोकारवालाहरूलाई सम्झें । निजी क्षेत्रसँग त चुरे खुसी होस् पनि कसरी, जसको ध्याउन्न नै चुरेको ढुंगा, गिट्टी र बालुवा बेचेर धनी बन्ने दाउ मात्र छ । यो वर्ग यति धेरै शक्तिशाली छ, आफूले चाहेजस्तो भएन भने सरकारको नीति नै बदल्न पछि पर्दैन । पछिल्लो समय ढुंगा, गिट्टी र बालुवा बेचेर राजस्व बढाउने नाममा यो वर्गसँग स्थानीय तहको पनि घाँटी जोडिएको छ । यी दुवै वर्गलाई चुरे रिसाएकामा खासै चिन्ता छैन; कमाइको शृंखला टुट्नु भएन, बस । 

चुरेलाई हामी खुसी पार्न सकौंला ?

चुरेको चिन्ता त्यहीवरिपरि बस्ने समुदाय, नागरिक समाज र प्रकृतिप्रेमीलाई मात्रै छ । यो वर्ग चुरेको प्राकृतिक स्रोतको जगेर्ना गरेर स्थानीय पारिस्थितिकीय प्रणालीलाई सदाका लागि नियमित राख्न चाहन्छ । यो वर्गको एक मात्र चाहना भनेको चुरे क्षेत्रलाई स्वच्छ र सफा राखेर तराई–मधेशका बासिन्दालाई पनि स्वच्छ र सफा राख्नु नै हो ।

चुरेलाई खुसी पार्न हुनुपर्ने पहिलो काम भनेको नीतिगत पूर्वाधार हो । चुरे संरक्षण क्षेत्र वातावरण संरक्षण ऐनमा टेकेर घोषणा गरिएको हो र यसको व्यवस्थापन गठन आदेश अन्तर्गत समितिले गर्दै आएको छ । वन तथा वातावरण मन्त्रालयबाट खटिएका कर्मचारीहरूले अहिले समितिमातहत रहेर काम गर्ने गरेका छन् ।

चुरे समितिका आफ्नै स्थायी कर्मचारी छैनन् । मन्त्रालयबाट खटिएका कर्मचारीहरू समितिभन्दा मन्त्रालयप्रति उत्तरदायी भएको समितिको गुनासो रहिआएको छ । जबसम्म समितिले आफ्नो कार्यप्रकृति र कार्यबोझका आधारमा आफ्नै कर्मचारीको व्यवस्था गर्दैन, तबसम्म यो गुनासो हट्नेछैन । चुरेका समस्याहरू समधान गर्न गुरुयोजना नै बनाएर अगाडि बढिएको भए पनि दोहन घटेको छैन, किनभने चुरे दोहन रोक्न समितिसँग कानुनी आधार नै छैन ।

चुरे क्षेत्र बहुआयामिक भएकाले कस्तो कानुन बनाउने हो, यसबारे समितिले सरोकारवालाहरूसँग बसेर खुला बहस गर्नुपर्ने हुन्छ । चुरे समिति आफैं कार्यकारी निकाय हुने हो कि समन्वयकारी निकाय, त्यो पनि प्रस्ट हुनुपर्छ । चुरे गुरुयोजनालाई नै टेकेर डिजाइन गरिएको चुरे उत्थानशील आयोजनालाई मन्त्रालयले छुट्टै निकायमार्फत कार्यान्वयन गर्दा अहिले चुरे समितिको औचित्यमाथि नै प्रश्न उठेको छ । एउटै प्रकृतिको कार्यक्रम कार्यान्वयन गर्न राज्य आफैंले दुइटा निकाय खडा गरेकोजस्तो आभास कार्यान्वयन तहमा भएको छ । एउटा मन्त्रालय अन्तर्गतका दुइटा संस्थाले एउटै क्षेत्रमा उस्तै प्रकृतिको काम गर्दा स्रोतको दुरुपयोग र दोहोरोपन कति हुन्छ, त्यो त भविष्यले नै बताउला, तर यतिचाहिँ ठोकुवा गर्न सकिन्छ— नीतिगत तहका मान्छेहरूसँग पनि चुरे खुसी छैन ।

चुरेलाई खुसी पार्ने दोस्रो उपाय भनेको पानीको स्रोत संरक्षण हो । चुरे क्षेत्रमा साना–ठूला गरी १६४ वटा नदी प्रणाली छन्, जसको स्रोत भनेको वर्षातको पानी नै हो । चुरे संरक्षण गुरुयोजनाको मुख्य ध्येय ‘चुरेको माटो चुरेलाई, सफा पानी सबैलाई’ रहेकाले चुरे क्षेत्रको ठूलो क्षेत्रफलमा लामो समय पानी सञ्चय गरिरहन सकिन्छ, चुरे र त्यहाँको जैविक विविधता त्यति नै धेरै खुसी हुने देखिन्छ । चुरे क्षेत्रको माथिल्लो तटीय क्षेत्रमा पानी संकलन र सञ्चय गरेर तल्लो तटीय क्षेत्रमा उपलब्ध गराउन सकियो भने चुरे स्वतः खुसी हुन्छ, किनभने सिँचाइ सुविधा भयो भने त्यसले कृषि उत्पादनमा योगदान पुर्‍याउँछ । चुरे क्षेत्रले प्राकृतिक प्रक्रियालाई अक्षुण्ण राख्न र जलवायु अनुकूलन क्षमता वृद्धि गर्न सके मात्र यो हामीसँग खुसी हुन्छ ।

तेस्रो उपाय हो— कृषिवन । नेपालीको जनजीवन आफैंमा कृषिमय छ, चुरे क्षेत्र आसपासमा बस्ने समुदाय पनि कृषिमय नै छन् । तर हामीले बजारको मनोविज्ञान बुझेर चुरेक्षेत्रमा कृषिवनको विकास र विस्तार नगर्ने तर, चुरे दोहोनमै ध्यान दिदा आज चुरे मान्छेसँग रिसाएको छ । पूर्वपश्चिम राजमार्गलाई आधार मानेर, त्यसको वरिपरि बहुउपयोगी रैथाने प्रजातिका फलफूलका बिरुवा रोप्न तथा जडीबुटी खेतीको विकास र विस्तार गर्न सकियो भने मान्छेसँग चुरे त्यसै खुसी हुन्छ । चुरेक्षेत्रमा कृषिवन प्रवर्द्धनमार्फत खाद्य सुरक्षामा आत्मनिर्भर र खाद्य पदार्थको आयातमा प्रतिस्थापन गर्न सकियो भने पनि चुरेलाई खुसी पार्न सकिन्छ ।

पर्यापर्यटन प्रवर्द्धन चुरेलाई खुसी पार्ने चौथो उपाय हो । चुरेक्षेत्र प्राकृतिक र सांस्कृतिक सम्पदामा धनी छ । यी प्राकृतिक र सांस्कृतिक सम्पदालाई पर्यटन गन्तव्यका रूपमा विकास गरेर, तिनका वरिपरिका गाउँलाई होमेस्टे र हिलस्टेका रूपमा विकास गर्न सकियो भने चुरे खुसी नहुने कुरै छैन । त्यसो हुन सके चुरे समृद्धिको आधार पनि बन्न सक्छ ।

पाँचौं उपाय हो— कृषि र वनमा आधारित हरित अर्थतन्त्रको विकास र विस्तार । नेपालको अर्थतन्त्रको टेको कृषिले निजी क्षेत्रलाई आकर्षण गर्न नसक्दा व्यावसायिक रूप धारण गर्न सकेको छैन । चुरेक्षेत्र पनि यो समस्याबाट मुक्त छैन । चुरे वनक्षेत्रका लागि धनी छ, तर विदेशबाट आयात हुने काठ र फर्निचरले गर्दा चुरेको मन रोएको छ । विगतमा लागू भएको वैज्ञानिक वन कार्यक्रमले त चुरेलाई रुवाएरै छाड्यो । समुदायमा आधारित वन व्यवस्थापनले पनि चुरेलाई सोचेजति खुसी पार्न सकेको छैन । निजी क्षेत्रलाई वनमा आधारित उद्योगमा लगानी गर्न आकर्षित गर्न सक्ने हो भने चुरे खुसी हुन्छ र त्यसले राजस्व वृद्धिमा समेत सकारात्मक भूमिका खेल्नेछ ।

ढुंगा, गिट्टी, बालुवाको संकलन र उत्खननको व्यवस्थापन चुरेलाई खुसी पार्ने छैटौं उपाय हो । चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवाको दुश्चक्र हेर्दा सन् १९६८ मा हार्डिनले ‘ट्राजेडी अफ कमन्स’ शीर्षक लेखमा निकालेको निष्कर्ष ठ्याक्कै मेल खान्छ । चुरे क्षेत्रका ढुंगा, गिट्टी र बालुवाका ठेकदार र व्यवसायी नाफैनाफामा छन्; घाटामा छन् त केवल चुरे क्षेत्र, प्रकृति र सरकार । कानुनका छिद्र प्रयोग गरी दुईभन्दा बढी ठेक्का लगाएर नदी प्रणालीको अखण्डतालाई बचाउन नसक्दा आज चुरे रिसले चूर भएको छ । ढुंगा, गिट्टी र बालुवाको सुशासनमा स्थानीय सरकार गम्भीर नहुँदा आगामी दिनमा चुरे अझै विपद्का रूपमा रिसाउने सम्भावना छ । तसर्थ, स्थानीय तहहरूले खोला र नदीतटीय क्षेत्रमा ठेक्कापट्टा लगाउने बेलामा दुई पटक सोच्नुपर्ने हुन्छ ।

सातौं उपाय हो— चुरेलाई खुसी पार्ने अर्को उपाय विकास र वातावरणबीचको सन्तुलन हो । चुरे क्षेत्रमा निर्माण हुने भौतिक पूर्वाधार विकास आर्थिक समृद्धिको आधार भए पनि वातावरण विनाशका लागि प्रमुख कारक भएको कसैबाट छिपेको छैन । विस्तृत परियोजना दस्तावेज र वातावरणीय प्रभाव अध्ययन गरेर मात्र भौतिक पूर्वाधार विकास गर्ने पद्धति अवलम्बन गर्ने हो भने चुरे आफैं सन्तुलित हुँदै जान्छ । हचुवाको भरमा गरिने विकासले चुरे क्षेत्रको सामाजिक–आर्थिक पछौटेपनलाई समेत बढाएको छ ।

पूर्वपश्चिम राजमार्गको निर्माण गर्दा होस् वा सरकारले बस्ती विकास गर्दा, सबै घटनाले चुरेलाई रिस उठाउने मात्र काम गरेका छन् । यस्तो बेथितिबाट चुरेलाई मुक्ति दिलाउने हो भने यहाँका खाली जग्गा र नदीकिनारमा वृक्षरोपण गर्नुको विकल्प छैन । वृक्षरोपण मानव जातिले गर्ने सबैभन्दा पवित्र कार्य हो । यस कार्यका फाइदा मात्रै छन्, घाटा केही पनि छैन । यस कार्यबाट कार्बन सञ्चिति, जलवायु अनुकूलन क्षमतामा वृद्धि, पानीका स्रोत संरक्षणमा योगदान, भू–संरक्षण, जैविक विविधताको संरक्षण, उद्योगका लागि कच्चा पदार्थको आपूर्ति, प्राकृतिक प्रक्रियामा नियमन आदि फाइदा मात्र छन् । संस्कृतमा भनिएकै पनि छ— ‘प्रकृति रक्षित रक्षिताः’ अर्थात् प्रकृतिको संरक्षण गरे प्रकृतिले हाम्रो पनि संरक्षण गर्छ ।

वृक्षरोपण उद्देश्यमूलक हुन जरुरी छ । भू–बनोट र हावापानीका आधारमा स्थानीय समुदायको चाहनालाई ख्याल गरेर बहुउपयोगी बिरुवा रोप्नुपर्दछ । उद्देश्यमूलक वृक्षरोपण सकेसम्म तारबार गरेर, स्याहार–सम्भारसमेतको व्यवस्थासहित ठूलो क्षेत्रमा गर्नुपर्दछ । ठूलो क्षेत्रमा वृक्षरोपण गर्न सकियो भने उद्योगधन्दालाई चाहिने कच्चा पदार्थको आपूर्ति सहजै गर्न सकिन्छ ।

नेपालका सामुदायिक वनबारे विद्यावारिधि गरेका ढकाल राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिका सदस्य–सचिव हुन् ।

प्रकाशित : असार २, २०७९ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?