मधेशका मेयरहरूलाई खुला पत्र- विचार - कान्तिपुर समाचार

मधेशका मेयरहरूलाई खुला पत्र

मधेशमा सामाजिक रूपान्तरणको पहिलो चरणमा शिक्षा र स्वास्थ्यको अवस्थामा सुधारका साथै महिला, दलित र मुसलमान समुदायका लागि विशेष कार्यक्रमहरू सुरु गर्नुपर्ने हुन्छ । यी समूहका समस्या जटिल छन् तर यी सबसँग जुध्न मेयरसँग पर्याप्त बजेट र संवैधानिक अधिकार छ ।
प्रमोद मिश्र, तुलानारायण साह

मधेशका मेयरज्यूहरू,
हालै सम्पन्न स्थानीय निर्वाचनमा सफलताका लागि यहाँहरूलाई धेरैधेरै बधाई ! 
यस निर्वाचनमा कोही विभिन्न पार्टीबाट उठ्नुभयो भने कोही स्वतन्त्र भएर पनि मेयर हुनुभएको छ । यो विविधता हाम्रो लोकतन्त्रको प्रशंसनीय पक्ष हो । अबका पाँच वर्षमा यहाँहरूले आआफ्ना नगर र गाउँपालिकाका सबै जनताको प्रमुख भएर काम गर्नु नै हुनेछ भन्ने हामीलाई विश्वास छ ।

यो लेख खास गरी मधेश प्रदेशबारे भए पनि यसका कतिपय कुरा पूरै तराई–मधेश क्षेत्र र कतिपय पहाडका पालिकाहरूमा पनि लागू हुन सक्छन् भन्ने हाम्रो बुझाइ छ । नगर र गाउँपालिकाका निर्वाचित प्रमुखहरूलाई हामीले मेयर भनेरै सम्बोधन गरेका छौं ।

मेयरको पदलाई हाम्रो गणतान्त्रिक संविधानले प्रत्यक्ष मतदानबाट छानिने कुनै पनि पदभन्दा बढी शक्ति र स्रोतसम्पन्न बनाएको छ । किनभने प्रत्यक्ष मतदानबाट छानिसकेपछि पाँच वर्षका लागि पद सुरक्षित हुनुका साथै मेयर आफ्नो पालिकाका कार्यकारी हुन्छन् जोसँग करोडौंको बजेटसहित पालिका हाँक्ने अधिकार पनि हुन्छ । पाँच वर्षका दौरान पालिकाको सामाजिक, आर्थिक, शैक्षिक र राजनीतिक विकासका लागि दिशानिर्देश गर्दै भौतिक एवं मानवीय विकासमा तपाईंहरूले निर्णायक भूमिका खेल्ने अवसर पाउनुभएको छ ।

सन् २०१९–२० को डिसेम्बर–जनवरीमा हामीले झापादेखि कैलालीसम्म मधेशका गाउँहरूको यात्रा गरेका थियौं । त्यस क्रममा हामीले देखेका समस्याबारे यहाँ चर्चा गर्नेछौं र आउँदा पाँच वर्षसम्म मेयरज्यूहरूको यी समस्या/मुद्दाहरूमा ध्यान आकृष्ट हुनेछ भन्ने हामी आशा गर्दछौं, ताकि तपाईंहरूमा निहित सामाजिक रूपान्तरण गर्ने सामर्थ्य वास्तविकतामा परिणत होस् ।

हामीले दलित समुदायको बस्ती भएको ठाउँमा चरम गरिबी देखेका थियौं । बस्तीका घरहरू, बाटाघाटा र शौचालयको अवस्था दयनीय थियो । हाम्रो बुझाइमा मधेशमा सामाजिक रूपान्तरणको पहिलो चरणमा शिक्षा र स्वास्थ्यको अवस्थामा सुधारका साथै महिला, दलित र मुसलमान समुदायका लागि विशेष कार्यक्रमहरू सुरु गर्नुपर्ने हुन्छ । किनभने यी समूहका समस्या जटिल छन् तर यी सब समस्यासँग जुध्न मेयरसँग बजेट र संवैधानिक अधिकार पर्याप्त मात्रामा छ भन्ने हाम्रो बुझाइ छ ।

मधेश भ्रमणमा हामीले स्थानीय सरकारहरूले आफ्नो बजेट र ध्यान भौतिक पूर्वाधारमा विशेष केन्द्रित गरेको पायौं । जताततै बाटाहरू खनिएका देखिन्थे । झापा र मोरङमा सडक कतै कालोपत्रे थिए त कतै भत्केका भए पनि सानो कार गुड्न सक्ने खालका थिए । मोरङको एउटा भित्री गाउँमा, पहिले हिलाम्मे र धूलाम्मे हुने सडक कालोपत्रे भएकाले, सहरभन्दा गाउँमा मर्निङ वाक स्वच्छ र स्वास्थ्यकर भएको सुखद अनुभव भयो, जसको श्रेय त्यहाँका वडाध्यक्षलाई जान्छ । तर कोसीपश्चिम मधेश प्रदेशमा जानलाई हामीले ठूलो चक्काको गाडीको व्यवस्था गर्नुपर्‍यो । तैपनि यात्रा सहज रहेन । जताततै खाल्डाखुल्डी भएर गाडी गुड्यो । अनेकौं ठाउँमा बग्रेल्ती स्वागतद्वार र मन्दिरहरू बन्दै गरेको देख्यौं । करदाताको पैसाले स्वागतद्वार र मन्दिर किन बनाइएका होलान् भन्ने प्रश्न हाम्रो मनमा आइरह्यो ।

जताततै बाटामा माटो हाल्ने काम खुबै चलेको देख्यौं । सीमा क्षेत्रको एउटा गाउँमा बास बस्दा बाटामा माटो भर्दा, ग्राभेल गर्दा वा कालोपत्र लाउँदा प्रदेश सरकारका मन्त्री, नेता र स्थानीय पालिकाका कार्यकर्ताहरू सबैको मिलीभगतमा भ्रष्टाचार हुने गरेको, निश्चित दररेटमा तलदेखि माथिसम्म कमिसन जाने गरेको आम मानिसको बुझाइ रहेको थाहा भयो । देश, समाज र लोकतन्त्रलाई नै बदनाम गराउने र आम जनतालाई विकासका नाममा ठग्ने यो समस्यालाई मेयरज्यूहरूले कसरी सम्बोधन गर्नुहुन्छ ?

तर भौतिक पूर्वाधारहरूमा अत्यधिक जोड दिइएको भए पनि मानव विकासलाई एकदमै कम महत्त्व दिएको हामीले पायौं । यसमा पनि दलित समुदायका शिशु र महिलाको स्वास्थ्य एवं शिक्षाको समस्या सबभन्दा विकराल देख्यौं । बेरोजगारी सबै दलित बस्तीको साझा समस्याका रूपमा रहे पनि शिक्षित बेरोजगारी पूर्वपश्चिम राजमार्गछेउछाउका दलित बस्तीहरूमा चर्को रूपमा रहेको देख्यौं । त्यस क्षेत्रको सामाजिक संरचना, आर्थिक गतिविधि, शिक्षा र स्वास्थ्यको अवस्था अलिक राम्रो देखिए पनि दक्षिणी मधेशमा चर्को गरिबी थियो; बाटोघाटोको समस्या र स्कुलहरूको दुर्दशा अति चिन्ताजनक थियो ।

पारम्परिक रूपमा मधेशी समाजका सम्भ्रान्तहरूले सर्वजनहितायमा कम अनि आफू र आफ्ना परिवारजनको भलाइमा बढी ध्यान दिँदै आएकामा वर्तमान संवैधानिक व्यवस्थाले पालिकास्तरमा महिला र दलित समुदायहरूको प्रतिनिधित्व बढाएको छ । तर तिनीहरू त्यति प्रभावकारी हुन सकेका छैनन् । किनभने झापामा हामीले एउटी दलित महिला वडासदस्यबाट स्थानीय तहमा दलित र महिलालाई थपनाका रूपमा मात्र स्थान दिने गरिएको कुरा पनि सुन्यौं ।

नीति निर्माण र कार्यान्वयन स्तरमा पुरुष पदाधिकारीहरूले महिलालाई त्यति महत्त्व नदिएको कुरा पनि थाहा पायौं । तर सबभन्दा बढी चिन्ताको विषय ग्रामीण मधेशी महिलामा स्वास्थ्यबारे पर्याप्त जानकारी नरहनु थियो । गाउँगाउँमा महिलाहरूमा रक्तअल्पता देखियो; महिलाहरूमा स्वास्थ्य, शिक्षा र सामाजिक–राजनीतिक जागरुकताको अभाव देखियो । बारीमा हिउँद महिनामा हुने सागपात पर्याप्त भए पनि महिलाहरूमा रक्तअल्पता देखिनुले हामीलाई किन यस्तो भएको होला भन्ने प्रश्नले घचघच्याइरह्यो । महिलाहरूमा घरेलु कामकाज, बच्चाबच्ची हुर्काउने कार्यबाहेक अरू कुनै उत्पादनमूलक सीप र काम पनि त्यति नभएको देखियो । यसले हामीलाई अमर्त्य सेनको भनाइको सम्झना गरायो । उनले भनेका छन्- जबसम्म दक्षिण एसियामा महिलाको स्वास्थ्य, शिक्षा र प्रजननमा स्तरोन्नति हुँदैन, तबसम्म दक्षिण एसियाको समाज उँभो लाग्दैन ।

सामुदायिक विद्यालय र तिनमा जाने निम्न वर्ग र समुदायका बालबालिकामा शिक्षाप्रति उदासीनता देख्यौं । सात–आठ पढेर स्कुल त्यागेका बहुतै युवा पाइए । गाउँगाउँमा रहेका निजी महँगा विद्यालयमा शिक्षाशास्त्रमा तालिम नपाएका शिक्षकले पनि पठनपाठन उच्च स्तरको बनाएको तर सामुदायिक विद्यालयमा शिक्षाशास्त्रमा तालिम पाएका शिक्षक रहे पनि शिक्षाको गुणस्तर गिरेको भेट्यौं । आश्चर्य लाग्यो । कारण खोज्दै जाँदा तीनवटा क्षेत्रमा समस्या रहेको पायौं- शिक्षक, स्कुल व्यवस्थापन समिति र शैक्षिक स्रोत ।

विभिन्न ठाउँमा आम मानिससँग संवाद गर्दा शिक्षकहरूको कार्यशैलीप्रति गम्भीर असन्तोष रहेको भेट्यौं । पहाडका स्कुलमा जागिर खाँदा जो शिक्षक कर्तव्यनिष्ठ हुन्छन् तिनै सरुवा गराएर मधेशको आफ्नो घरपायक ठाउँमा आउँदा समयमा स्कुल नै जाँदैनन् । आफ्नो गाउँसमाजका बालबालिका शिक्षित होऊन् भन्ने कर्तव्यबोध तिनमा त्यति देखिँदैन । बडा आश्चर्यको कुरा लाग्यो हामीलाई । फेरि मेयरज्यूहरूलाई यस्ता कर्तव्यच्युत शिक्षकहरूलाई अनुशासित बनाउन पनि गाह्रो लाग्ने कुरा हामीले सुन्यौं । किनभने त्यस्ता शिक्षकहरूले स्थानीय राजनीतिमा कडाइ गर्ने मेयरविरुद्ध राजनीतिक र सामाजिक रूपमा चलखेल पनि गर्दा रहेछन् । मधेशको यस गम्भीर समस्यालाई कसरी सम्बोधन गर्ने, चुनौती हाम्रा मेयरज्यूहरूका अगाडि छ ।

यसो हुनुको एउटा कारण स्कुल व्यवस्थापन समितिको गठन र नियमनमा रहेको समस्या पनि भएको हामीले बुझ्यौं । सामुदायिक स्कुलमा पढ्ने छात्रछात्रा सामाजिक र आर्थिक रूपमा प्राय: वञ्चितिमा परेका (डिसएड्भान्टेज्ड) परिवारका हुन्छन् । तर गाउँगाउँमा राजनीतिक लाभांशका कारण स्कुलहरूको सञ्चालक समितिमा भने ती विद्यार्थीका अभिभावक हैन कि त्यहाँका सम्पन्न र प्रभावशाली व्यक्तिहरू हुँदा रहेछन् । तिनका र प्राय: शिक्षकका पनि छोराछोरीचाहिँ निजी स्कुलमा पढ्दा रहेछन् । ती किन सामुदायिक विद्यालयको व्यवस्थापन समितिमा रहन्छन् त भन्ने प्रश्नको उत्तरमा हामीले सुन्यौं- विद्यालय सञ्चालक समितिमा सहभागिताकै कारण तिनीहरूले स्थानीय राजनीति र समाजमा सार्वजनिक स्टाटस र भूमिका पाएका हुन्छन् । यदि ती शिक्षाविद् र शिक्षाप्रेमी भए त राम्रै हुन्थ्यो तर फगत राजनीतिक लाभ र समाजमा दबदबा कायम राख्नका लागि यस्तो भूमिका लिएकाले गर्दा कुन विद्यार्थीले कति पढ्यो, कति ड्रपआउट भए, किन भए, विद्यार्थीको घरको वातावरण कस्तो छ आदि कुरामा तिनको कुनै चासो हुँदैन । तिनको रुचि केवल स्कुलको स्रोत र साधनको दोहनमा रहन्छ । अर्कातिर, जजसका बच्चाहरू त्यो स्कुलमा पढ्छन्, तिनले आफ्नो बच्चाको प्रगति वा पढे–नपढेको कुरा स्कुलमा उठाउन पाउँदैनन् किनभने व्यवस्थापन समितिमा तिनको भूमिका हुँदैन ।

अर्को कुरा, वञ्चित परिवारका अधिकांश अभिभावकमा शिक्षाबारे त्यति जानकारी पनि हुँदैन । उत्प्रेरणा पनि हुँदैन किनभने तिनको दृष्टिकोणमा पनि बच्चा जनमजदुरी गर्ने र कुनै सानोतिनो सीपमूलक काम गरी जीविकोपार्जन गर्ने भए पुग्छ भन्ने हुन्छ । बच्चामा बढीमा पासपोर्ट बनाएर मजदुरी गर्न विदेश जाने सोच हुन्छ । अभिभावकहरूमा पनि पढाएर के गर्ने, जागिर पाउँदैन भन्ने धारणा रहेको पनि हामीले पायौं ।

तेस्रो समस्या हामीले शैक्षिक सामग्रीको अभावको पायौं । युवाहरूका हातहातमा स्मार्ट फोन र फेसबुकजस्ता सामाजिक सञ्जालमा पहुँच रहे पनि मधेशको नामी र शिक्षित गाउँमा समेत चालु अवस्थामा पुस्तकालय नरहेको पायौं । मधेशमा पठनपाठन संस्कृतिमा व्यापक ह्रास भएको देख्यौं, खास गरी दक्षिणी भेगमा । सिरहा नगरपालिकामा रहेको पुस्तकालय कहिल्यै नखुल्ने गरेको कुरा छेउछाउका स्कुलमा पढाउने शिक्षकहरूले बताएका थिए । चालु अवस्थामा पुस्तकालय त मधेशको कुनै पनि ठाउँमा हामीले भेटेनौं । मधेशका शिक्षक, अभिभावक, स्रोत र व्यवस्थापन समितिका समस्या कसरी समाधान गर्ने हाम्रा मेयरज्यूहरूले ?

हाम्रो सुझाव यस्तो छ । शिक्षक नियुक्ति गर्दा होस् वा सरुवा, स्थानीय व्यक्तिलाई भन्दा योग्यताका आधारमा बाहिरको व्यक्तिलाई प्राथमिकता दिनुपर्छ । शिक्षकलाई राजनीतिक दलको सदस्य हुन दिनु हुँदैन । विद्यालयमा जुन समुदायका विद्यार्थी बढी छन् (जस्तै : दलित, मुस्लिम) त्यही समुदायका शिक्षक र व्यवस्थापन समिति सदस्य समानुपातिक रूपमा राख्नुपर्छ । यसले स्कुलका शिक्षक र अभिभावक समितिहरूमा हुन सक्ने जातीय कुसंस्कार र पूर्वाग्रहलाई निकै कम गर्नेछ । किनभने हामीले कतिपय दलित बस्तीहरूमा जाँदा त्यहाँका अभिभावकबाट ‘सवर्ण जातका मधेशी शिक्षकले हाम्रो विद्यार्थी नपढोस् भन्ने चिताएको, बच्चालाई हेला गरेको र होच्याएको’ गुनासो सुन्यौं । थपमा, हाम्रा मेयरज्यूहरूले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको नेतृत्वमा शिक्षामन्त्री मनीष सिसौदियाले दिल्लीका सार्वजनिक विद्यालयलाई निजी विद्यालयभन्दा पनि असल कसरी बनाए भन्नेबारे पनि अध्ययन गर्नुपर्ने आवश्यकता छ ।

चेतना र शिक्षा सम्बन्धी कमजोर अभिभावकको समस्या समाधान गर्न गाउँगाउँमा सामूहिक अभिभावक टोल समिति गठन गर्नुपर्छ । यसले गर्दा गाउँका छात्रछात्रालाई अनुशासन र बाटो देखाउने अभिभारा सबैको काँधमा जानेछ । साथै सामाजिक सुरक्षा भत्ता लिने व्यक्तिहरू (जस्तै : ज्येष्ठ नागरिक र एकल महिला) लाई अभिभावक टोल समितिमा विशेष रूपमा जिम्मेवारी दिए यस समस्यालाई अझ प्रभावकारितासाथ हल गर्न सकिन्छ ।

हरेक वडामा एउटा पुस्तकालय सञ्चालनको व्यवस्था गर्नुपर्छ । वडा कार्यालय अहिले केवल प्रशासनिक कामकाजको स्थल भएको छ । त्यससँगै पालिका स्रोतको उपयोग गरेर पुस्तकालय भवन र सञ्चालनको पनि व्यवस्था गर्न सकिन्छ । यस्ता पुस्तकालयलाई सूचना, शिक्षा र स्वास्थ्यबारे विचार प्रवाह स्थलका रूपमा पनि प्रयोग गर्दा अनेकौं समस्या एकसाथ समाधान हुन सक्छन् ।

स्कुल ड्रपआउट र दस–बाह्र कक्षासम्म पढेका तर आजको प्रतियोगी समयमा कलेज पढ्न र ठूलो जागिर पाउन सक्ने सामर्थ्य नभएका युवाहरूलाई के गर्ने ? गाउँमा युवाहरू स्कुल छाडेर सडक कल्भर्टमा दिन गुजार्छन् । भारत वा अन्यत्र वैदेशिक रोजगारीमा जान साँझबिहान हल्लिएर दिन काटिरहेका हुन्छन् । काठमाडौंका नवनिर्वाचित मेयर बालेन शाहले लागू गर्न खोजेजस्तै पालिकास्तरमा छात्रछात्रालाई सानैदेखि हप्ताको एक दिन सीपमूलक शिक्षा दिलाउने व्यवस्था गर्दा सो समस्या हल हुन सक्छ । किशोरीहरूलाई सिलाइ–बुनाइ वा कुनै सुहाउँदो तालिम दिने व्यवस्था गर्न सकिन्छ । किशोरहरूलाई मेसिन मर्मत र प्लम्बर एवं राज मिस्त्री, बिजुली मिस्त्री, काठ मिस्त्री आदिको तालिम दिलाउन सकिन्छ । संयोग र अवसरको अभावमा अनेकौं युवा अनुत्पादक काममा लागेका छन् । पालिकास्तरमा सीप विकासको व्यवस्था गर्न सकियो भने दक्ष जनशक्ति वैदेशिक रोजगारीमा पठाउन सकिन्छ, जसले रेमिट्यान्स पनि बढाउनेछ ।

यसरी हाम्रा मेयरज्यूहरूले भौतिक विकासका साथै अग्रगामी विचार प्रवाह गर्दै शैक्षिकसँगै अरू मानवीय विकास गरेर आफ्ना पालिकाहरूमा दिगो समयका लागि आफ्नो नाम राख्न र यश कमाउन सक्नुहुन्छ भन्नेमा हामी विश्वस्त छौं ।

प्रकाशित : जेष्ठ ३०, २०७९ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्

मधेसी समाजमा पितृसत्ता र पिता

पिताले छोरीको भलो चिताउनु मात्र पर्याप्त हुने रहेनछ । यससँगै पितृसत्ताको जालबाट ऊ कति मुक्त छ भन्नेमा भर पर्छ, ऊ वास्तवमा छोरीको व्यक्तित्व विकासमा कति सहयोगी हुन सक्छ भनेर ।
प्रमोद मिश्र, तुलानारायण साह

डिसेम्बर २०१९ को मधेस यात्रामा हामीले नेपालको मधेसी समाजमा पितृसत्ता विराजमान रहेको त देख्यौं नै, यस पितृसत्ताभित्र पिताको भूमिका पनि उत्तिकै चाखलाग्दो र जटिल पायौं । झापादेखि कैलालीसम्मको यात्रा गर्दा हामीले महिलासम्बन्धी हरेक सन्दर्भमा पिता उभिएको पायौं ।

हुन त ‘पितृसत्ता’ शब्द ‘पिता’ बाट निःसृत हुन्छ तर पितृसत्ता भन्नाले पिता मात्र हैन, पितालगायत पुरुष सम्बन्धमा अटाउने सबै — पिता र पितासमान परिवारका सदस्य, जस्तै : काका, मामा, पितामह, दाजु, आफूभन्दा नातामा भाइ, छोरा — त आउँछन् नै, पितृसत्ताले जन्माएका वैचारिक संरचनागत ढाँचा, व्यवस्था र सामाजिकता पनि यसअन्तर्गत पर्छन् । त्यस ढाँचाको पक्षपोषण गर्ने र लागू गर्ने जोकोही यसभित्र पर्छन् । तर मधेस यात्राका दौरान महिलाका विषयमा छोरी पुस्तासँग विभिन्न ठाउँमा संवाद गर्दा पिताको भूमिका निर्णायक पायौं ।

हुन त नारीवादी आन्दोलन र दर्शनमा महिला स्वतन्त्रताको परिकल्पना प्रायः निरपेक्ष रूपमा गरिएको हुन्छ तर हाम्रो मधेस यात्राको अनुभवमा नारीको स्वतन्त्रता र परतन्त्रताको थालनी पिताको देखरेखमा पिताकै घरपरिवारबाट पिताको दृष्टिकोण, दर्शन, सामाजिक र आर्थिक अवस्था अनि जात–समाज, नाताकुटुम्बका वाद–विचार अनि तीप्रति पिताको प्रतिबद्धता वा प्रतिरोधबाट सुरु भएको पायौं । हामीले चार–पाँच जना महिलाका चार–पाँचै थरी पिता पायौं, सोचका हिसाबले । दुई पितासँग त हाम्रो लामो संवाद नै भयो र बाँकी शारीरिक रूपले अनुपस्थित भए पनि छोरीको जीवन निर्माणमा तिनको दह्रो भूमिका रहेको पायौं ।

सर्वप्रथम सप्तरीमा राजमार्ग र नेपाल–भारत सीमाबीच रहेको गाउँका भैंसी व्यापारी एक किसान पिताको कुरा गरौं । ती चार छोरी र एक छोराका पिता थिए । हामीसँग आफ्ना कुरा ठेट मैथिलीमा बेहिचक राखेका तिनले खेतीकिसानीबाहेक दशकौंदेखि आफ्नो क्षेत्रबाट धरान लगी भैंसी बेचबिखन (पैकारी) गरेर चारै छोरीको विवाह दहेजका साथ गर्न सफल भएकामा गौरव महसुस गरिरहेका थिए । जेठी छोरीको विवाह उनले २०४५–४६ सालमा २२ हजार नगद र ब्याउन लागेको (लदबद) भैंसी दहेज दिएर गरेका थिए । छोरीको उमेर विवाहका बेला यही चौध–पन्ध्र वर्षको थियो । उनले दुई–अढाई वर्षको अन्तरालमा त्यस्तै उमेरमा अरू दुई छोरीको विवाह क्रमशः ३५ हजार र ६० हजार दहेज दिएर गरे । तर कान्छी छोरीको विवाह सन् २०१८ तिर गर्दा ऊ बाह्रमा पढ्दै थिई र उमेर पनि १८ वर्ष पुगिसकेको थियो । उसका लागि राम्रो केटा दुई–तीन लाखमा त भेट्दै नभेटिने । पछि आफूले मन परेको एउटा केटा भेट्दा ६ लाख दहेज दिनुपरेको ती पिताले सुनाए । त्यतिखेर पैसा हातमा भएकाले सजिलो भयो ।

‘कति दिने कति लिने भन्ने मोलतोल त भैंसी किनबेच गर्दाजस्तै हुन्छ । केटाका पक्षबाट तेस्रो पार्टी (लमही) ले मोलमोलाइ गर्‍यो तर मेरोतर्फबाट अरू कसले गर्ने मोलमोलाइ ? जिन्दगीभरि भैंसी किनबेच गर्ने म, मेरोतर्फबाट मोलमोलाइ कसले गर्ने ? मैले नै गरें ।’ तिनले सुनाए, ‘ढेडुवा (भरखरकी किशोरी) जवान हुन लागेपछि बिहा गरिदिने हो । अलि बढी पढ्यो भने बढी दहेज दिनुपर्ने हुन्छ । त्यसैले विचार गरें, अलिअलि पढेको पनि हुने र उमेर पनि ठीक हुने । बिहा भएपछि घरमा कमाउँछे, खान्छे । बढी पढ्यो भने दहेज बढी दिनुपर्ने हुन्छ किनभने केटा पक्षले आफ्नो पढाइको खर्च उकास्ने सोच बनाउँछ । त्यति मात्र कहाँ हो र, छोरा जन्मिनेबित्तिकै धनी हुने सपना देख्न थाल्छ केटाको बाउले र त्यसको परिवारले ! कति दहेज लिएर धनी भएका पनि छन् । छोरा जहिले जन्मियो, मेरो धन कमाउने बाटो खुल्यो भन्ने सोच्छन् छोराका बाउहरूले । कोहीकोही मात्र यस्ता हुन्छन् जो दहेजबिना आफ्नो छोराको बिहा गर्छन् ।’

‘छोरीले पढी भने, आफैं कमाउँछे, होइन र ?’ भन्ने प्रश्नको उत्तरमा तिनले भने, ‘हो, पढेर छोरीले कमाउन सक्छे तर त्यो त पछिको कुरा भयो । बिहा त अहिले नै गर्नुपर्‍यो । छोरीलाई बढी पढाएर के खेत बेचेर दहेज दिनु ? त्यसैले छोरीलाई बढी पढाउने मेरो उद्देश्य नै थिएन । सोचेर ल्याउँदा यो आफैं एउटा दोषजस्तो लाग्छ अहिले । तर के गर्नु ? जे होस्, मैले घटिया मालसँग छोरीको बिहा गरिनँ । आफ्नो हिसाबले त मैले राम्रै गरें ।’

यी पिता निकै स्पष्टवक्ता थिए । आफ्नो सोचाइअनुसार तिनले राम्रै गरे । जात, समाजमा आफ्नो इज्जत–प्रतिष्ठा कायम राखे । छोरीका लागि राम्रो घर–वर खोजे । कम पढाउनु र कम उमेरमा छोरीको विवाह गर्नु भनेको कम पढे–लेखेको वर कम दहेजमा खोज्नु त हुँदै हो, यसको अर्को पाटो पनि जोडिएको हुन्छ । चौध–पन्ध्र वर्ष नाघ्दा एउटी किशोरी जवान हुन थाल्छे र स्त्रीगत शारीरिक हार्मोन पनि बढ्न थाल्दा पढाइका साथ विवाह र यौनसम्बन्धी स्वतन्त्रता पनि रुचाउने सम्भावना बढ्न थाल्छ, जुन सामाजिक मान्यताविपरीत हुन्छ र यसले परिवारको बदनामी पनि गराउन सक्छ । फेरि, बढ्दो

उमेरकी छोरीले स्वरुचिले केटा रोजी भने विजातीय पनि पर्न सक्छ । यो त जात, समाज र कुटुम्बमाझ अत्यन्तै ‘नाक कटाउने’ कुरा हुन जान्छ । ती पिताले यौन र जातपक्षीय कुरा त गरेनन् तर मधेसी समाजमा अन्तर्निहित यो आशय बुझ्न धेरै परिश्रम गर्नु नपर्ने रहेछ । जात र धनको यो जोखिमबाट बच्न भैंसी व्यापारी, मिहिनेती, छोरीका शुभचिन्तक पिताले जे गरे, त्यो तिनको बाध्यता थियो ।

यस्तो सामाजिक वैचारिकीमा छोरी जन्माउनु हार र छोरा जन्माउनु जित हुन जान्छ । त्यसले गर्दा अनेकौं पिता, खासगरी न्यून आयस्रोत भएकाहरूले, छोरीलाई जस्तो भेट्यो त्यस्तै, यहाँसम्म कि मानसिक रूपले डिसेबल, वर खोजी जिम्मा लगाइदिने गर्छन् । मात्र स्वजातीय भए पुग्छ । यसमा छोरीको राजीखुसीको वास्ता हुँदैन । छोरीलाई उसको इच्छा–आकांक्षाबारे सोध्ने त कुरै भएन । उसलाई सोधिँदैन पनि । महोत्तरीमा हालैको सुजिता हत्या प्रकरणमा, सुजितामा पनि पति मानसिक रूपमा डिसेबल भएका कारण असन्तोष र आक्रोश जन्मेको अनुमान गर्न गाह्रो छैन । तर छोरीले यदाकदा विद्रोह नै गरेको खण्डमा तिनले हत्याहिंसा भोग्नुपर्ने हुन्छ । नभए कम से कम पिता नेतृत्वको परिवार तिनलाई परित्याग गर्न बाध्य हुन्छ । जस्तो कि, कैलालीकी महिला पत्रकारको मामिलामा भयो । घरबार छाडेर आफ्नो सहिद दाजुको पदचिह्न पछ्याउँदै माओवादीमा लागेकाले गर्दा तिनलाई परिवारले परिवारको ‘नाक काटेको’ र आफूलाई ‘गिराएको’ आरोप लगाइराख्यो । घर फर्किन भनिरह्यो ।

यसको कारण के हो भने, तराईको जनजातिमा पनि अपेक्षाकृत बढी नारी स्वतन्त्रता भए पनि पितृसत्तामा छोरीको स्वतन्त्र व्यक्तित्व हुँदैन । र, अहिलेको तथाकथित धर्मनिरपेक्ष संविधानले पनि भनिसकेको छ, पहाडे होस् वा मधेसी, कानुनको नजरमा नारीको स्वतन्त्र व्यक्तित्व र अस्तित्व हुँदैन । यसको के पनि अर्थ हो भने, अहिलेको गाउँसमाजको कुरा त छाडौं, संविधानले पनि नारीलाई अबला ठानी पिता र पतिको परिवारभित्रै, मनुस्मृतिमा भनेझैं आफ्नो अस्तित्व र पहिचान खोज्न बाध्य पारेको छ ।

तर उपर्युक्त कुरा मात्र भन्यौं भने तस्बिर अधुरो रहन जान्छ । मधेस यात्राका क्रममा हामीले यस्ता पिता पनि भेट्यौं जसको शिक्षादीक्षा, भौगोलिक अवस्थिति र सोअनुसारको छोरीको भविष्यप्रतिको दृष्टिकोणले गर्दा छोरीले आफ्नो व्यक्तित्व विकासको बाटो अँगालेको पायौं । सिरहामा राजमार्गछेउको एउटा सहरको एउटा यादव परिवारमा बास बस्दा त्यस घरका पिता र किशोरी छोरीसँग कुराकानी गर्ने अवसर मिल्यो । चौध–पन्ध्रवर्षे तिनी ‘किशोरी समूह’ की सचिव रहिछन् । आफ्नो समूहको नेतृत्व गर्दै समाजमा बाल विवाहजस्ता सामाजिक कुरीतिहरूबारे चेतना फैलाउने काम गर्ने तिनले सुनाइन् । भनिन्, ‘बालविवाह भइराखेको थाहा पाए त्यहाँ गएर रोक्ने काम पनि गर्छु ।’ ‘भविष्यमा के बन्ने विचार छ ?’ भनी सोध्दा तिनले ‘कानुन पढ्छु, वकिल बन्छु’ भनिन् । ‘छोरीको विवाह कहिले गर्ने ?’ भनेर प्रश्न गर्दा तिनका पिताले भने, ‘पहिला छोरीले पढ्छिन्, जति पढ्न चाहे पनि पढाउँछु अनि मात्र बिहेसिहेको कुरा हुन्छ ।’

छेउछाउकै जिल्लाका यी दुई पिताहरूको विचार कसरी यति फरक भयो भन्ने मनमा लागेर, ‘छोरीका बारे यस्तो विचार कहाँबाट पाउनुभो ?’ भनेर सोध्दा तिनले भने, ‘म पहिला छोरीलाई चाँडै बिहे गरिदिनुपर्छ सोच्थें अरूजस्तै, तर जब म एउटा मानव अधिकारवादी संस्थामा काम गर्न थालें र तालिमहरूमा जान थालें, मेरो विचार बदलिन थाल्यो; मानिस भनेको के हो भनेर बुझ्न थालें ।’ तर उनको घर राजमार्गछेउ भएकाले अनि बहुसांस्कृतिक र बहुभाषी समाजमा बसोबासले गर्दा पनि उनलाई यी अग्रगामी विचार अँगाल्न सजिलो भयो होला किनभने यहाँ समाजले उनको खिसी गर्दैन, बहिष्करणमा पार्दैन । विचार प्रवाह निकै महत्त्वपूर्ण कुरो रहेछ भन्ने पनि हामीले बुझ्यौं । जहाँ नयाँ विचारहरूको प्रवाह हुँदैन या कम हुन्छ र पुरानै विचारहरूको वर्चस्व रहिराख्छ, त्यहाँ समाज परिवर्तन सजिलो हुँदैन ।

मोरङमा जब हामीले बैंकमा काम गर्ने बीस–पच्चीसवर्षे महिलाबाट उनको वैवाहिक अतीतका नमीठा कुरा सुनेका थियौं, तिनले सम्बन्धविच्छेद गर्नेतर्फ कदम चालिसकेकी थिइन् । तिनका पिताले यो निर्णयलाई सहजै स्वीकार गरेका थिए र छोरीको विचारअनुसार सहयोग गरिरहेका थिए । पछि सोध्दा थाहा भयो— ती पिता विराटनगरमा बस्दा रहेछन्, पढालेखा ती एउटा उद्योगका सञ्चालक रहेछन् र छोरीलाई अंग्रेजी माध्यमको विद्यालयमा पढाएका रहेछन् ।

यस यात्राका दौरान पितृसत्तामा पिताबारे अध्ययन–चिन्तन गर्दा हामी के निष्कर्षमा पुग्यौं भने, पिताले छोरीको भलो चिताउनु मात्र पर्याप्त हुने रहेनछ । यससँगै पितृसत्ताको जालबाट ऊ कति मुक्त छ भन्नेमा भर पर्छ, ऊ वास्तवमा छोरीको व्यक्तित्व विकासमा कति सहयोगी हुन सक्छ भनेर । यदि पिता पितृसत्ताको वैचारिकी, संरचना र चालचलन — जसलाई पारम्परिक रूपमा समाज भन्ने चलन छ, जो वास्तवमा जात र नाताकुटुम्बको जालो नै हो— भित्र बाँचेको छ र त्यहीअनुरूप सोच्छ, जानीजानी हिमायती बनेर या अनजानमा, उसले पितृसत्तात्मक सोच नै राख्छ र छोरीको सर्वांगीण विकासमा लाग्नुको सट्टा छोरी पितृसत्तामा कसरी अटाउँछे भन्नेतिर लाग्छ किनभने पारम्परिक गाउँसमाजले पनि त्यही भनिराखेको हुन्छ र अपेक्षा पनि त्यही गरेको हुन्छ ।

एक पुस्ताअघिको खानदानी कहलिने खस–आर्य समाज र परिवारमा पनि यस्तै चलन थियो । छोरीले सारीबाहेक अरू लुगा लाउँदा, साइकल चढ्दा, स्कुलमा खेलकुदमा भाग लिँदा उत्ताउली भनेर बन्देजमा पर्थी; नर्स वा विमान परिचारिका भई, पुलिसमा जागिर खाई भने परिवारको बदनामी गराउनुसरह हुन्थ्यो । यस्तो अवस्थामा छोरीबारे जतिसुकै चिन्ता राखे पनि, भलो सोचे पनि, पितृसत्तात्मक सोच र काम–कुराअनुसार सानैमा अनपढ अवस्थामा छोरीको विवाह गराएर जानी–नजानी त्यस्तो पिता छोरीको व्यक्तित्व विकासको सबभन्दा ठूलो बाधक बन्न पुग्छ र सँगै नजानी–नजानी ठूलो शत्रु पनि । किनभने पिता अहिले पनि प्रायः परिवारमा सर्वेसर्वा हुन्छ, मुख्य निर्णयहरूमा ।

तसर्थ, छोरीविरुद्ध सबभन्दा खतरनाक शत्रुता पिताको घरबाटै सुरु हुन सक्छ र उसको पक्षमा सबभन्दा प्रभावकारी हित पनि । पतिको घर पुग्दासम्म त ढिलो भइसकेको हुन्छ किनभने पारम्परिक परिवारमा बुहारीको आगमन गार्हस्थ्य संरचनामा श्रमिकका रूपमा हुन्छ । फेरि, कतिपय महिला स्वयं पनि पितृसत्ताका अन्धभक्त भइसकेका हुन्छन्, आमा, दिदीबहिनी, सासू, नन्द–आमाजू र अरू मान्य महिला नातेदारका रूपमा । घरबाहिर सार्वजनिक रूपमा पिताको भूमिका सांसद, मन्त्री, राज्यको स्थायी सत्ता ओगट्ने काका, मामा, दाजुभाइको जमात पितृसत्तात्मक राज्य हुन पुग्छ जसले छोरी, दिदीबहिनी र अन्य नारीको स्वतन्त्रता खुम्च्याउने संविधान र कानुन बनाउँछ । एउटा परिवारको परिधिभित्र पिता सर्वेसर्वा भएजस्तै राज्यको स्थायी सत्ता ओगट्ने पनि सर्वेसर्वा नै हुन्छन् किनभने कानुन तिनले बनाउँछन् र लागू पनि तिनैले गर्छन् ।

तसर्थ, मधेसमा पितृसत्तालाई बुझ्न यसको जरैमा जानुपर्ने हुन्छ । पिताको साँघुरो र बृहत् भूमिकालाई यसको गहिराइमा बुझ्नुपर्ने हुन्छ । नेपाली राज्यको विभेदकारी संरचनालाई पनि बुझ्नुपर्ने हुन्छ । त्यसपछि मात्र नारीहितमा तिनको चेतना कसरी जगाउने र पितृसत्तालाई कसरी भत्काउने भन्ने कुरा आउँछ ।

प्रकाशित : श्रावण १२, २०७८ ०८:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×