३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

नेताका क्षमताको प्रश्न

आलंकारिक प्रोत्साहनका लागि सडक सफा गर्नु ठीकै हो तर नेताको काम त्यस्तो पद्धति स्थापना गर्नु र त्यसको अनुगमन गर्नु हो । कुनै कक्षामा शिक्षकले पढाएनन् भनेर जान्ने वडाध्यक्षले आफैं गई पढाएर हुन्छ र ?
टीका भट्टराई

अनवर होजा मुसलमान थिए तर उनका अर्थोडक्स क्रिस्चियन मित्रहरू थिए । एक दिन उनी एक क्रिस्चियन मित्रसँग चेस खेल्न बसे । चेस खेल्नुअघि ती पादरी क्रस बनाउँदै ढोग्दै गर्थे । एक पटक होइन, होजाले तीनतीन पटक हारे । अनि होजाले सोधे, ‘तिमीले हरेक पटक क्रस बनाउँदै ढोग्दै गरेकाले बाजी मारेका हौ कि क्या हो ?’ पादरीले भने, ‘हो, त्यसैले हो । तर, क्रस बनाउनुभन्दा पहिला चेस खेल्नचाहिँ जान्नुपर्छ ।’

नेताका क्षमताको प्रश्न

हामी देशको स्थिति बिग्रिएकामा नेताहरूलाई धारे हात लगाउँछौं अर्थात् सधैं उनीहरूको नियतमा प्रश्न गर्छौं तर उनीहरूको क्षमताबारे त्यति प्रश्न गर्दैनौं । हुन त त्यसको उत्तर सीधा र सजिलो छैन तर नेता र उनका वफादार कार्यकर्ताहरू खुसी नभए पनि के कुरा सत्य हो भने, देशको हालत यस्तो हुनुमा उनीहरूको इमानदारी र नियत मात्र होइन, क्षमताको सीमा पनि जिम्मेवार छ ।

सात दलको मार्गचित्रमा सहमत भई राजाले संसद् पुन:स्थापना गरेलगत्तै एक कार्यक्रममा त्यति बेलाका पूर्वमन्त्री नीलाम्बर आचार्यले अब देशको उन्नति तीव्र हुने कुरा गरे । लेखकले प्रश्न गर्‍यो, ‘हिजोसम्म ढंग नभएका नेताहरूको क्षमता संसद् पुन:स्थापना हुनासाथ कसरी बढ्छ ?’ उनले बहुत पेचिलो प्रश्न हो भन्दै वैदेशिक सहयोग आउने, अन्तर्राष्ट्रिय समर्थन भएको आदि कारणले सफल हुनेजस्ता उत्तर दिए । दुई दशक बित्न लाग्दा पनि यो प्रश्न मरेको छैन । यथार्थमा नेता मात्र होइन, राज्य सञ्चालनमा संलग्न अरूहरूको पनि क्षमता बढेन । खास गरी कर्मचारीतन्त्रको । न त नागरिक समाज, गैरसरकारी संस्था र निजी क्षेत्रकै बढ्यो । अरूको क्षमता पनि नबढेकाले नेताहरूलाई सुध्र्रिन दबाब नै पनि परेन । नेता र जनता परस्पर रिझ्याइँमै रमाए । नेता भ्रष्ट भए भनेर गुड्डी हाक्नेले नै भरमग्दुर प्रयास गरेर नेतालाई आफ्नो कार्यक्रममा बोलाएर माला लगाउँछ । पक्कै पनि राजनीतिमा टिक्न सत्तामा रहनुपर्छ तर सत्तामा रहेर काम गर्ने क्षमता नेतामा रहेन ।

क्षमता के हो ?

सामान्यत: कुनै काम गर्ने सम्भावित उम्मेदवार हुन विचार गरिने पक्षलाई योग्यता भन्ने गरिन्छ भने, छानिने र छानिएपछि गर्न सक्ने कार्य प्रदर्शनलाई क्षमताका रूपमा बुझ्न सकिन्छ । यस अर्थमा भइसकेका नेतालाई योग्यताको कुरा गर्नुपरेन । उनीहरूको क्षमताको कुरा गर्नुपर्‍यो । पहिले हुनेवाला नेताको कुरा गरौं ।

उनीहरूको योग्यताकै कुरा गर्नुपर्‍यो । बेलाबेलामा नेतृत्वका लागि उम्मेदवार हुन औपचारिक शैक्षिक योग्यताको कुरा उठ्ने गर्छ । विश्वभरि नै कुनै न कुनै किसिमको विधायिका संसद् रहन्छ र त्यो राष्ट्रिय राजनीतिको नीति निर्णायक अंग हो । त्यसैको सदस्य हुने सन्दर्भमा योग्यताको कुरा गरौं । सामान्यत: सांसदको महत्त्व र गरिमालाई हेरेर न्यूनतम योग्यता स्नातक हुनुपर्ने कुरा गरिन्छ । भारतमा नेतृत्वको योग्यताको कुरा गर्दा भारतीय राजनीतिशास्त्र संघका प्रा. अञ्जनकुमार भान्जा भन्छन्, ‘नेतृत्वले शिक्षा प्राप्त गरेमा दुष्ट प्रवृत्तिका र छट्टू कर्मचारीको फन्दामा पर्नुपर्दैन जसले जनतामा पुग्ने काममा बाधा पुर्‍याउँछन् । शिक्षाले चुनौतीहरूको आकार र समाधानको क्रमको पूर्वदृष्टि दिन्छ र वादविवादमा तर्कपूर्ण र अर्थपूर्ण दृष्टिकोण राख्ने क्षमता बढाउँछ ।’ तर विश्वमै उच्च औपचारिक शिक्षा भएका राजनीतिक नेतृत्वहरू रहेको सिंगापुरमा पनि सांसद हुन औपचारिक शिक्षा न्यूनतम योग्यतामा राखिएको छैन । नेपालको पञ्चायती संविधानमा सुरुमा राष्ट्रिय पञ्चायतमा चार जना स्नातकबाट निर्वाचित गर्ने प्रावधान थियो जसमा चारै जना इतर पक्षका निर्वाचित भएर पछि त्यो प्रावधान हटाइयो । तरोताजा स्नातकले केही कुरा बुझेको हुन्छ । उसको सपना हुन्छ, जोस हुन्छ, उसको गुमाउने कुरा पनि हुँदैन । ऊ देखेको कुरा भन्छ । त्यो ऐतिहासिक कुराले संसद्मा शिक्षित र युवाको आवश्यकता महसुस गरिएको संकेत भने गर्‍यो । दलीय युगमा सायद शिक्षित पर्याप्त भएर यसबारे खासै छलफल भएन ।

यस पंक्तिकारले थाहा पाएका बेलासम्म दलहरूमा दीक्षा हुन्थ्यो, दासत्व हुन्थेन । कांग्रेसीले किन कम्युनिजम काम गर्दैन भन्न मार्क्सवाद पढाउँथे, कम्युनिस्टले किन पुँजीवाद काम गर्दैन भनेर अर्थ–राजनीति पढाउँथे । अहिले दासता र प्रलोभन अनि केही नातावाद नै वफादारीको आधार भएको छ, सिद्घान्तको ‘स’ सम्म उच्चारण गरिँदैन । पुराना नेतामा सैद्घान्तिक विचलन हुने कारण पनि सिद्घान्तमा दखल भएको पुस्ताले सिद्धान्तबाट नेतालाई विचलित हुन नदिन सैद्घान्तिक दबाब कायम राख्न नसकेर हो । अहिले दलहरूबीचको फरक जातको भन्दा पनि निकृष्ट भएको छ । जुनसुकै बेला जातमा जस्तै शक्ति र पैसाले जुनसुकै दलमा ‘पतिया’ दिन सक्छ । हेरौं, कति स्वतन्त्र पतिया लिन जान्छन् वा दलहरूले पतिया दिन्छन् । दलका दृष्टिमा उनीहरू जात झरिसके ।

अहिले सम्भवत: निर्वाचित हुनुपर्ने जनप्रतिनिधिहरूको न्यूनतम योग्यता तोकिएको विद्यालय व्यवस्थापन समिति (विव्यस) को अध्यक्ष मात्र हो, जसको ‘औंठा छाप’ भनेर शिक्षकहरू उछित्तो काढिरहेछन् । ती बिचरा शक्तिहीन भएर मात्र हो, ‘अशिक्षित’ भए पनि सांसद र मन्त्रीलाई भने नमस्ते गरेरै बसिरहेका छन् । पढेका हौं भन्ने शिक्षकहरूले देशको बिग्रँदो शैक्षिक अवस्थाबारे गोहीको आँसुसम्म चुहाएको भने देखिएको छैन । यस अर्थमा शिक्षामन्त्रीको योग्यता नचाहिने, विव्यस अध्यक्षको चाहिँ चाहिने कुरा पनि विडम्बनापूर्ण नै हो । यद्यपि सम्बन्धित समुदायले त्यसको बेवास्ता गरेर सांकेतिक प्रतिरोध भने गरिरहन्छ । अझै विडम्बना त, कानुनले २०८५ सालसम्ममा साक्षर नभए जनसाधारणलाई सेवाबाट वञ्चित गर्न सक्छ तर अरू राजनीतिक पदका लागि शिक्षाको कुरा गर्दैन ।

के गर्ने त ?

विभिन्न राजनीतिक ओहदामा आउन औपचारिक शिक्षा चाहिने–नचाहिनेबारे अहिले तत्काल गर्न सकिने कुरा छैन तर सामूहिक जनमानसले त्यसको धारणा भने बनाइराख्नुपर्ने हुन्छ । औपचारिक शिक्षाले नै हाम्रो अहिलेको शिक्षाको स्तर हेर्दा क्षमता प्रमाणित पनि गर्दैन । यहाँ अहिलेकै परिस्थितिमा कसरी क्षमतावान् नेता छान्ने भन्नेबारे केही चर्चा गरिन्छ ।

यो काम दुईतीन तहबाट गर्नुपर्ने हुन्छ । सबभन्दा पहिला नेताहरूले मनन गरिदिए सबभन्दा राम्रो हो । अहिले दलमा भाषण गरेर प्रभुत्व राख्न सक्नेहरू मात्र नेता हुन्छन् । त्यही नै उनीहरूको क्षमता ठहरिन्छ । उनीहरू राज्यसञ्चालन सम्बन्धी ज्ञानमा अद्यावधिक हुन सक्छन् र अद्यावधिक हुन स्रोतमा पहुँच पनि छ । यद्यपि उनीहरू विज्ञका भन्दा दलका दास–विज्ञका कुरा सुन्छन् । प्रतिपक्षी दलका विज्ञ वा स्वतन्त्र विज्ञका कुरा सुने राम्रो । हरेक कार्यकारी तहका नेता - जस्तै : पालिकाप्रमुख, प्रादेशिक मन्त्रीहरू, संघीय मन्त्रीहरू र दलका विभागीय प्रमुखहरू - अद्यावधिक हुन अत्यावश्यक भएका समूहमा पर्छन् भने कमसे कम सांसदहरूले पनि राज्यसञ्चालनका विषयमा अद्यावधिक हुनु आवश्यक छ । थोरै नेताहरूले मात्र यस्तो प्रयत्न गरेको देखिन्छ । सरकारी ढुकुटी खर्च गरेरै सल्लाहकार राख्छन् तर व्यवहार सहायकजस्तो गर्छन् । (बरु सहायकलाई सल्लाहकारजस्तो गर्छन्, नेतालाई अरूलाई ठूलो मान्न गाह्रै लाग्छ । त्यसो भए सल्लाह दिने हैसियत भएकै सल्लाहकार राखून् ।) यथार्थमा सबैजसो कार्यकारीहरू महत्त्वपूर्णभन्दा तात्कालिक काममै समय बिताइरहेका हुन्छन् । बेलाबेला मन्त्री र वडाध्यक्ष, सांसद र वडाध्यक्ष काममा फरक देखिँदैनन् । उनीहरूले आनो भूमिका नै बुझेको देखिँदैन । राज्यको स्रोत ल्याएर जनताका आँखामा काम गरिदिने देखिनुमै उनीहरूको ध्याउन्न देखिन्छ ।

नेताले नै गर्नुपर्ने अर्को कुरा हो- नेताको क्षमता निर्माण पद्धति स्थापना गर्ने । त्यो हरेक तहमा गर्नुपर्छ । यो संक्षिप्त र तदर्थ रूपमा मात्र हुने गरेको सुनिन्छ । नेताले आफ्नो भूमिका पनि थाहा पाउनुपर्‍यो । उदाहरणका लागि, पालिकाका पदाधिकारीले आलंकारिक प्रोत्साहनका लागि सडक सफा गर्नु ठीकै हो तर उनको काम त्यस्तो पद्धति स्थापना गर्नु र त्यसको अनुगमन गर्नु हो । कुनै कक्षामा शिक्षकले पढाएनन् भनेर जान्ने वडाध्यक्षले आफैं गई पढाएर हुन्छ र ?

तेस्रो जनताले गर्ने कुरो हो । त्यसको खास अवसर चाहिँ चुनावका बेला मात्र आउँछ । क्षमतावान् उम्मेदवारलाई मत दिने । यो पनि दलले नै टिकट दिने बेला विचार गरे राम्रो तर यसो नभएका खण्डमा दलका वफादारहरू दास बन्न छाड्नुपर्छ । घाममा बाहेक छापै लगाउन मन लाग्दैन वा रूखमा बाहेक अन्त हातै जान्न भन्नु दासता नै हो । अहिले धेरै ठाउँमा स्वतन्त्र उम्मेदवारले जितेको कुरालाई लोकतन्त्रका लागि अशुभ पनि मान्ने गरिएको छ तर त्यसलाई लोकतन्त्रको महत्त्व बुझेको तर दलको अयोग्यता अस्वीकार गरेका रूपमा बुझ्नुपर्छ । यद्यपि स्वतन्त्र उम्मेदवारको नियत र क्षमता दुवै हेरियो कि हेरिएन, समयले बताउनेछ । अब कम से कम भोट हाल्ने लोकतन्त्र खोसिने अवस्था देखिँदैन । लोकतन्त्रलाई लोकतन्त्रजस्तो बनाउने चुनौती लिनुपर्ने हुन्छ । स्थानीय चुनाव सकिए पनि बर्खा बित्नासाथै प्रादेशिक र संघीय चुनाव आउनेछ । तल सक्षम नेताहरूको क्षमता कसरी हेरौं भनेर तिनीहरूको लक्षण खोज्ने कोसिस गरिएको छ ।

सक्षम नेताका मुख्य लक्षण

अध्ययनशील : लिडर्स आर द रिडर्स । पछिल्लो पटक पूरा किताब पढेको समय तीनचार महिनाभन्दा बढी नहोस् । लेखन चाहिँ केही अभ्यासको विषय पनि हो तर लेख्ने मानिस सामान्यत: पढ्ने हुन्छन् । बेलाबेला लेख्ने गरोस् । बेलाबेला सिकाइ–मेला, तालिमहरूमा जाओस् ।

भ्रमणशील : भ्रमण एक किसिमको अध्ययन नै हो । गच्छे अनुसार सक्रिय भ्रमण गरेको र गरिरहने होस् । उमेरमा कतै पदयात्रा गरेको र पचास कटे पनि केही भ्रमण गरिरहने होस् । औकातले नै नभ्याउने अवस्थाबाहेक अरू देशको, कम से कम भारतका उत्तर र दक्षिणको, भ्रमण गरेको होस् ।

प्रविधिसाक्षर : अहिलेको अवस्थामा विद्युतीय साक्षरता अनिवार्यजस्तै भएको छ । कम्प्युटरमा आधारभूत सीप जरुरी छ । त्यसै गरी त्यो हैसियतको भए गाडी चलाउन जान्ने होस् । साइकल र सिलाइ मेसिन चलाउन जान्नु आधारभूत प्राविधिक सीप हुन् ।

धरातलवासी : चुनावकै कुरा गर्ने हो भने, सम्बन्धित क्षेत्रमै बस्ने गरेको र कुनै किसिमको परिश्रम गर्ने योगदान गरेको होस् । कसैलाई भनसुन गरेर खानेपानी योजना ल्याउने मात्र होइन, त्यसमा श्रमदान नै गरेको होस् ।

उत्पादनशील उद्यमी : इधर का माल उधर गरेर पैसा कमाउनेभन्दा उत्पादनशील काम गरेको आम्दानीमा बाँच्ने होस् । उदाहरणका लागि, ट्रक चलाउने व्यवसायभन्दा टायल उत्पादन गर्ने होस् । राज्यले दिनुपर्ने सेवाको व्यवसाय - जस्तै : शिक्षा, स्वास्थ्यमा व्यवसाय - नगरेको होस् । औषधि वा सर्जिकल सामान उत्पादन गर्नु ठीकै छ ।

सान्दर्भिक वक्ता : भाषण गर्दा विषयवस्तुमा केन्द्रित रहने होस् । लामो भाषण नगरोस् । नजानेको विषयमा बोल्न नजाओस् । भाषण गर्न जानुअघि तयारी गरोस् ।

समयपालक : समय पालन गरोस् । आफैं पनि डायरी बोक्ने होस् र क्षमतावान् सहायक राखेको होस् । कार्यक्रममा समयमा पुग्नु त्यत्तिकै जरुरी छ ।

सत्संगी : क्षमतावान् र इमानदार साथी र सहयोगी भएको होस् । नयाँ विद्वान्हरू खोज्नेभन्दा पनि पहिल्यैदेखि सुसंगतमा होस् । अक्षम र बेइमान साथी भएका नेताहरूबाट टाढा रहोस् ।

उदार तानाशाह : निर्णयमा लोकतान्त्रिक र कार्यान्वयनमा तानाशाह नै होस् । निर्णय गर्दा प्रतिपक्षी र सरोकारवालाको राय लिने होस् । सक्षम नेतृत्व निर्णय गर्नुपर्ने विषय सार्वजनिक गर्न डराउँदैन । निर्णय भएका विषय निर्मम भएर कार्यान्वयन गर्ने होस् । अठोट नेताको महत्त्वपूर्ण गुण हो ।

श्रोता : ज्ञान आर्जन गर्न, फरक दृष्टिकोण थाहा पाउन र व्यवस्थापन गर्न पनि नेता असल श्रोता हुनु जरुरी छ । श्रवण अरूको सम्मानको अभिव्यक्ति पनि हो ।

तीक्ष्ण स्मरणकर्ता : स्मरणशक्ति तीव्र होस् । परस्परविरोधी कुरा नगर्ने होस् । यो पनि क्षमताको महत्त्वपूर्ण सूचक हो ।

प्रकाशित : जेष्ठ २२, २०७९ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?