१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

हामी किन पढ्दैनौं ?

जे. कर्कप्याट्रिकले आफूले भादगाउँको एउटा निजी पुस्तकालयमा १५ हजारभन्दा बढी पुस्तकको संकलन छ भन्ने जानकारी पाएको लेखेका छन् । खोजबिन गरी भक्तपुर नगरपालिकाले त्यो पुस्तकालय ब्युँताउन सके त्यसलाई काठमाडौं उपत्यकाको इतिहास र संस्कृति अध्ययन गर्ने आकर्षक थलोका रुपमा विकास गर्न सकिने थियो । 
हाम्रो परिवार र यहाँका शैक्षिक संस्थाले उद्यमशील व्यक्ति होइन, उपभोक्ता जन्माइरहेका छन् । उपभोक्ता बन्न पढिरहनु पर्दैन । यही परिप्रेक्ष्यमा हामीले ‘पढीलेखी छैन काम, हलो जोती खायो माम’ भन्ने नेपाली उक्तिलाई विचार्नुपर्ने हुन्छ ।
सुजित मैनाली

पठन संस्कृति प्रवर्द्धन होस् भनी चाहने जमातले पछिल्लो समय चिन्ता गरिरहेको छ- ‘कोरोना भाइरसले हाम्रो पढ्ने बानीलाई पनि कमजोर पारेजस्तो छ ।’ कोरोनाकालभन्दा अगाडि पनि किताबबजार ओरालो लागेको चर्चा चलिरहेको थियो ।

हामी किन पढ्दैनौं ?

त्यत्तिकैमा सुरु भएको कोरोना कहरका कारण घरभित्रै महिनौं ‘कैद’ हुन पुगेका आफ्ना नागरिकको प्राथमिकतामा किताबलाई पार्ने अभियान कतिपय देशले चलाए । तर हामीले वास्तै गरेनौं । सार्वजनिक पुस्तकालय बन्द गर्नेदेखि किताब उद्योगलाई पनि मनोरञ्जन क्षेत्रकै श्रेणीमा राखेझैं गरी कडा नियमनसम्म गरेर राज्यले उल्टो बाटो समात्यो । बौद्धिक जमातले पनि त्यसो नगर्न राज्यको ध्यानाकर्षण गराउन सकेन जसले गर्दा पठन संस्कृति फैलाउने एउटा सुनौलो अवसर हातबाट गुम्यो । यसैबीच स्मार्टफोनमा हामीले खर्चिने औसत समय बढ्दा पढ्ने बानी अझ हरायो ।

पठन संस्कृतिको यस्तो नाजुक अवस्थामा सुधार ल्याउन सबै क्षेत्रले सामूहिक पहल गर्न आवश्यक छ । यस्तो पहललाई सार्थक बनाउन हामीले सर्वप्रथम पठन संस्कृतिप्रतिको हाम्रो उदासीनताका कारणहरू पर्गेल्न सक्नुपर्छ ।

‘साहित्यै छैन’

नेपालमा पढ्ने बानी आम संस्कृतिका रूपमा कहिल्यै विस्तार हुन सकेन । मुट्ठीभर मानिसको सोख अथवा पेसाका रूपमा यो सीमित भयो । यस्तो अवस्थातर्फ संकेत गर्ने थुप्रै ऐतिहासिक विवरण उपलब्ध छन् ।

चिनियाँ यात्रु युआन च्वाङ लिच्छविकालताका भारतीय उपमहाद्वीपका विभिन्न स्थान पुगेका थिए । आफ्नो यात्रावृत्तान्तमा उनले नेपाल (काठमाडौं) को चर्चा गर्ने क्रममा यहाँको तत्कालीन पठन अवस्थामाथि प्रकाश पार्ने केही विवरण लेखेका छन् । यहाँका मानिस कालिगडीमा निपुण रहे पनि अपठित छन् भन्ने कुरा उनको वृत्तान्तमा उल्लेख छ । पठन संस्कृतिको एउटा प्रमुख पूर्वसर्त साक्षरता हो । लिच्छविकालका अभिलेखहरूको परिशीलन गर्ने अध्येताहरूले अभिलेखमा प्रयुक्त भाषाको प्राञ्जलतालाई विचारेर त्यति बेला विद्याको स्तर उँचो थियो भनी निष्कर्ष निकालेका छन् । त्यति बेला विद्या साधना केही व्यक्तिमाझ सीमित थियो भन्ने कुराको आभास तत्कालीन परिवेश बिचार्दा अथवा युआन च्वाङको विवरण पढ्दा पनि मिल्छ ।

लिच्छविकाल र मल्लकालको अध्ययन गरेका अध्येताहरूले अभिलेखका भाषाको तुलनात्मक अध्ययनका आधारमा मल्लकालमा विद्याको स्तर लिच्छविकालमा भन्दा खस्किएको उल्लेख गरेका छन् । मल्लकालको अन्त्यपछि पनि नेपालमा विद्या र पठन संस्कृतिको अवस्था सुधारिएन भनी संकेत गर्ने अनेक विवरण पाइन्छन् ।

बहादुर शाहको मुख्तियारीकालमा नेपाल आएका इस्ट इन्डिया कम्पनीका सैन्य अधिकारी विलियम जे. कर्कप्याट्रिकले नेपालका विद्वान् र उनीहरूको विद्वत्ताबारे केही टिप्पणी गरेका छन् । यहाँका विद्वान् (पण्डित) हरू राशि हेर्ने, लगन र साइत जुराउने अनि भविष्य बताउने ज्योतिषकर्मबाट माथि उठ्न नसकेको उनको किताबमा उल्लेख छ । काठमाडौं उपत्यकाभित्र (धार्मिक) शिक्षाको अवस्था भादगाउँ अर्थात् भक्तपुरमा तुलनात्मक रूपले राम्रो रहेको जिकिर गर्दै उनले भादगाउँलाई ‘यो गोरखाली सरहदभित्रको बनारसजस्तो देखिन्छ’ भनेका छन् । भरपर्दो सूत्रबाट आफूले भादगाउँको एउटा निजी पुस्तकालयमा १५ हजारभन्दा बढी पुस्तकको संकलन छ भन्ने जानकारी पाएको कुरा पनि उनले लेखेका छन् । आवश्यक खोजबिन गरी भक्तपुर नगरपालिकाले त्यो पुस्तकालय ब्युँताउन सके त्यसलाई काठमाडौं उपत्यकाको इतिहास र संस्कृति अध्ययन गर्ने आकर्षक थलोका रूपमा विकास गर्न सकिने थियो ।

भीमसेन थापा प्रधानमन्त्री छँदा नेपालमा इस्ट इन्डिया कम्पनीका आवासीय दूत रहेका ब्रायन हटन हज्सन (सन् १८००–१८९४) ले पनि नेपालमा पठन संस्कृतिको अवस्थाबारे संकेत मिल्ने केही विवरण लेखेका छन् । त्यति बेला आवासीय दूतको काम धेरै नहुने भएकाले अधिकांश समय उनी पढेर बिताउने गर्थे । २२ अक्टोबर १८३३ मा आफ्नी बहिनीलाई लेखेको एउटा पत्रमा नोभेम्बर र मार्चका बीचमा अर्थात् जाडो याममा मनोरञ्जन र घुमघामका लागि जंगल आदितिर सयर गर्ने अवस्था नरहँदा पढ्नेबाहेकका काम आफूसँग खासै हुँदैन भनी हज्सनले लेखेका छन् । आफ्नो सामान्य दैनिकीबारे पत्रमा उनले भनेका छन्, ‘बिहान दस बजे म ब्रेकफास्ट लिन्छु, अनि दुई बजेसम्म जागिरको काम गर्छु । त्यसपछि लन्च लिएर पाँच बजेसम्म पढ्छु । पाँचदेखि सात बजेसम्म (घोडामा ?) सयर गर्छु, आठ बजे डिनर लिन्छु र दस बजेसम्म भलाकुसारी गर्छु । त्यसपछि सुत्नुअघि बाह्र अथवा एक बजेसम्म पढ्छु ।’ पढ्नुलाई जीवनको अभिन्न पाटो बनाएका हज्सनले सन् १८३७ मा तयार गरेको एउटा लेखोटमा नेपालीहरूको स्वभावबारे चाहिँ यसो भनेका छन्, ‘यिनी (नेपाली) हरूको ध्यान हतियारबाट विमुख गराउने गरी यिनीहरूसँग न कला छ, न साहित्य छ, न व्यापार छ, न त उब्जाउ हुने जमिन नै छ ।’

हज्सनपछि काठमाडौंमा रहेका अर्का अंग्रेज अधिकारी डेनियल राइटले नेपालको बौद्धिक विपन्नता र कमजोर पठन संस्कृतिलाई गिज्याउँदै सन् १८७७ मा छापिएको आफ्नो किताब ‘हिस्ट्री अफ नेपाल’ मा लेखेका छन्, ‘गोर्खालीहरू आफूलाई कसरी व्यस्त राख्छन् र के गरेर रमाइलो गर्छन् भनी मैले अहिलेसम्म बुझ्न सकेको छैन । सैनिक बन्नुबाहेक उनीहरूसँग अर्को कुनै काम छैन, घरबाहिर खेल्ने उनीहरूसँग कुनै खेल छैन, तराई गएको बेलामा बाहेक उनीहरू कहिल्यै सिकार गर्दैनन् र घरभित्रै आफूहरूलाई व्यस्त राख्ने गरी उनीहरूसँग कुनै साहित्य छैन । सारमा भन्नुपर्दा, फुर्सदिलो समय व्यतीत गर्नर् उनीहरूसँग कुनै चीज छैन । त्यसैले उनीहरू कुरा कथुर्ने, जुवा खेल्ने र दैहिक ऐयाशीमा डुब्ने क्रियाकलापमा निर्लिप्त हुने गर्छन् ।’ युआन च्वाङ, ब्रायन हज्सन र डेनियल राइटका यी विवरणलाई नेपालको पठन संस्कृतिको इतिहासतिर बाहिरबाट चियाउन मिल्ने आँखीझ्याल मान्न सकिन्छ ।

केही कारण

स्मार्टफोनको विस्तारसँगै फैलिएको सामाजिक सञ्जालको प्रयोगले मानिसको पढ्ने बानीमा केही अवरोध गरेको पक्कै होला । तर इतिहासदेखि नै हामीकहाँ पठन संस्कृति विस्तारित हुन नसकेकाले यसको अन्तर्यलाई गहिरो गरी बुझ्न आम संस्कृतिको एकसरो विवेचना गर्नुपर्ने हुन्छ । इन्टरनेट युग सुरु हुनुअघि पनि नेपालमा पठन संस्कृतिको अवस्था नाजुक थियो ।

मौखिक परम्परामार्फत पुराना अनुभव र ज्ञान हस्तान्तरण गर्दै लैजाने परिपाटी हामीकहाँ लामो समय रह्यो । नेपालका हिन्दु र गैरहिन्दु दुवै समुदायले मौखिक परम्परालाई निकै पछिसम्म अनुसरण गरे । त्यसका संकेत अझैसम्म देख्न पाइन्छन् । किरातीहरूको मुन्धुम, नेवारहरूको वसन्तश्रवण र हिन्दुहरूको पुराणवाचन अथवा स्वस्थानीकथा श्रवण केही उदाहरण हुन् ।

मौखिक परम्परा यहाँको आम संस्कृति भएकाले पढ्न अथवा लेख्नभन्दा हामी बोल्न अथवा सुन्न बढी सहज मान्छौं । नेपालको गैरहिन्दु समुदायले लेख्य सामग्रीतिर अभिरुचि देखाउन थालेको धेरै भएको छैन । मौखिक परम्परामार्फत हजारौं वर्षदेखि हस्तान्तरित हुँदै आएका मुन्धुम र लोककथा लिपिबद्ध गर्न अध्येताहरू जुरमुराइरहेका छन् । हिन्दु समुदायले पनि वेद, महाभारत, रामायण आदि ग्रन्थहरू अघिका पुस्ताबाट सुन्ने र कण्ठ गरी नयाँ पुस्तालाई सुनाउने गरेर तिनलाई सुरक्षित राखेका हुन् । महाभारतबारे गहन अध्ययन गरेकी मानवशास्त्री इरावती कर्वेका अनुसार, महाभारतकालसम्म पनि लिपिको विकास भएको थिएन भन्ने कुराको अनुमान महाभारतको मूल कथामा लिपि, अक्षर अथवा पत्र सम्बन्धी प्रसंग कतै नपाइएबाट पनि लगाउन सकिन्छ ।

मौखिक परम्पराको अधिक प्रभावका कारण विगतका घटनाबारे जान्न मानिसले पढ्न आवश्यक ठानेनन् । यसका लागि जानकार (गुरु) अथवा पाका मानिसलाई सुन्ने परिपाटी चल्यो । गुरु अथवा पाका मानिसप्रति अतिशय भक्ति दर्साउने चलन कुनै बेला व्याप्त हुनुको कारण पनि यही हो । मौखिक परम्पराको प्रभावकै कारण संस्कृत वाङ्मयका अधिकांश रचना कण्ठ गर्न सजिलो हुने गरी छन्दबद्ध अथवा सूत्रबद्ध गर्ने चलन चलेको हो ।

मौखिक परम्पराको प्रभावकै कारण हामीले लिपि, कागज र प्रिन्टिङ मेसिनलाई आत्मसात् गर्न धेरै समय लगायौं । चीन र युरोपतिर चर्मपत्रमा लेख्ने क्रम सुरु भइसक्दा भारतीय उपमहाद्वीपका मानिसहरू भोजपत्र र ताडपत्रमै लेखिरहेका थिए । भारतमा राज्यको क्रमिक विकासबारे टिप्पणी गर्ने क्रममा राजनीतिशास्त्री फ्रान्सिस फुकुयामाले कागजप्रति भारतीय (हिन्दु) हरूको अरुचिबारे पनि लेखेका छन् । उनका अनुसार, १७ औं शताब्दीको मध्यतिर कागज छ्यापछ्याप्ती भइसक्दा पनि भारतको महाराष्ट्रका प्रशासनिक कामकारबाहीमा कागज प्रयोग गरिँदैनथ्यो । नेपालको अवस्था पनि फरक थिएन भनी देखाउन इतिहासकार महेशराज पन्तले कागज प्रचलनमा आइसकेको लामो समयपछि अर्थात् नेवार राज्य समाप्त भएको सय वर्षपछि पनि प्रशासनिक लिखतहरू ताडपत्रमै सारिने गरेको कुरा उल्लेख गरेका छन् ।

मौखिक परम्पराप्रतिको रुझानकै कारण हामीले प्रिन्टिङ मेसिनलाई धेरै ढिलो गरी स्वीकार गर्‍यौं । जोहानेस गुटेनबर्गले प्रिन्टिङ मेसिन बनाएको करिब सय वर्षपछि १६ औं शताब्दीको मध्यतिर भारतीय उपमहाद्वीपमा एक जना जेसुइट मिसनरीले प्रिन्टिङ मेसिन भित्र्याए । नेपालमा त्यस्तो मेसिन भित्रिन अर्को दुई सय वर्ष लाग्यो । १९ औं शताब्दीको मध्यतिर प्राइममिनिस्टर जंगबहादुर राणा युरोप भ्रमणबाट फर्किएपछि उनीसँगै प्रिन्टिङ मेसिन नेपाल भित्रियो । प्रिन्टिङ मेसिन उपलब्ध भएपछि युरोपमा किताब प्रकाशनका क्षेत्रमा ठूलो क्रान्ति भयो । यसले पठन संस्कृति फैलाउनमा मद्दत गर्‍यो । तर त्यही ढाँचामा नेपाली समाजको विकास हुन सकेन । राणाशाही ढलेपछि मात्रै नेपालमा प्रकाशन क्षेत्रको विस्तार भयो । मानिसलाई किताब पढ्न प्रेरित गर्ने योजना ल्याउन नसक्दा पठन संस्कृतिचाहिँ प्रवर्द्धन हुन सकेन । त्यस्तो योजना छिमेकसहित थुप्रै मुलुकमा अहिले कार्यान्वयन भइरहँदा हाम्रा तीनै तहका सरकार र समाजचाहिँ मुकदर्शक रहनु उदेकलाग्दो छ ।

किताब पढ्नुलाई हामीले इतिहासदेखि नै महत्त्व नदिएकाले किताब किन्नु पैसाको नाश हो र पढ्नु समयको बरबादी भन्ने आम मान्यता अझै व्याप्त छ । हाम्रो स्वभाव उपभोक्तामुखी छ । उद्यमशील अथवा उत्पादनशील हुने हुटहुटी हामीमा छैन । हाम्रो परिवार र यहाँका शैक्षिक संस्थाले उद्यमशील व्यक्ति होइन, उपभोक्ता जन्माइरहेका छन् । उपभोक्ता बन्न पढिरहनुपर्दैन । यही परिप्रेक्ष्यमा हामीले ‘पढीलेखी छैन काम, हलो जोती खायो माम’ भन्ने नेपाली उक्तिलाई बिचार्नुपर्ने हुन्छ । अध्ययन र अध्ययनशील मानिसप्रतिको हाम्रो धारणा अझै आम रूपमा बदलिएको छैन भन्ने कुराको सुन्दर चित्रण कवि उपेन्द्र सुब्बाले लेखेको ‘बाउले नपढेर दुःख पाए, मैले पढेर दुःख पाएँ’ भन्ने कवितांशले पनि गरेको छ । किताब पढे पनि, नपढे पनि आखिरमा जीवन उस्तै हुन्छ भन्ने आम मान्यताले जरा गाडेकाले पनि पठन संस्कृति फैलिने दिशामा बाधा पुगिरहेको छ ।

सुधारको सर्त

औसत क्रयशक्ति कम भएकाले किताब किन्ने र पढ्ने बानी हामीकहाँ नबसेको हो भन्ने कुरा सही छैन । किनकि किताबको बजार ओरालो लाग्दै गर्दा चियाभन्दा कम्तीमा पाँच गुणा महँगो कफी खाने जमात तीव्र गतिमा बढिरहेको छ । महँगा स्मार्टफोन हातहातमा पर्ने क्रम बढ्दो छ । मध्यरातपछिसम्म पर्खिएर खर्चिला सिनेमाघरमा पेय र स्न्याक्ससहित, रिलिज भएकै रात फिल्म हेर्ने लहड देखा पर्दै छ ।

हामीले किताब पढ्न आवश्यक नठान्नु अथवा मन नगर्नुको प्रमुख कारण हाम्रो संस्कृतिमा लुकेको छ भनेर स्विकार्न सक्नुपर्छ । समस्याको निदान गर्न सके मात्रै सुधारका पाइला चाल्ने तत्परता मिल्छ । लामो मौखिक परम्पराका कारण हामीले लिपि, कागज र प्रिन्टिङ मेसिनलाई धेरै ढिलो गरी आत्मसात् गरेकाले पढ्ने बानीलाई आम संस्कृतिका रूपमा विकास गर्न हामीलाई गाह्रो परिरहेको छ । हजारौं वर्षसम्म थिग्रिएर बसेको संस्कृतिजनित आमस्वभाव बदल्नु श्रमसाध्य काम हो । यसका लागि लामो समय लाग्छ । हात बाँधेर बसे यस दिशामा उपलब्धि हासिल हुँदैन भन्ने कुरा आजसम्मको अनुभवले देखाएकै छ । त्यसैले किताब पढ्नुका फाइदा के हुन् र पढ्ने बानी कसरी बसाल्ने भन्ने विषयमा सरकार, राजनीतिक दल, शैक्षिक संस्था, मिडिया, अन्य निजी क्षेत्र, नागरिक समाज आदि सबै मिलेर राष्ट्रव्यापी अभियान चलाउन ढिलो भइसकेको छ ।

प्रकाशित : जेष्ठ २०, २०७९ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?