३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

चुनावी संकेत र सन्देशहरू

पार्टीलाई बिर्ता, कार्यकर्तालाई कमारा, मतदातालाई रैती र आफूलाई जिम्वाल सोच्ने नेतृत्वहरूका टाउकैमा परिस्थितिले चुनावमार्फत मुंग्रो बजारिदिएको छ ।
नरेन्द्रजंग पिटर

स्थानीय तहको चुनावले नेपाली राजनीतिमा बहसको शीर्षक नै फेरिदियो । घटना र अवस्थाले मानिसलाई नियन्त्रण र निर्देशन गर्छ । परिणामले नियत प्रस्ट्याउँछ । विरोधीको कमजोर हिस्सामा किल्लाभेदन गर्दै सकुशल बाहिर निक्लनु कुशल सेनापतिको रणकौशल हो ।

चुनावी संकेत र सन्देशहरू

व्यूहरचनामा दूरदृष्टि पुर्‍याए कमजोर सैन्य शक्ति, हतियारको कमी र प्रतिकूल अवस्थामा पनि शक्तिशाली सेनालाई सहजै पराजित गर्न सक्छ । ससाना लाग्ने विषयले निर्णायक क्षणलाई गम्भीर प्रभाव पार्नेमा रणनीतिकारहरू मिहिन पाराले ध्यान दिन्छन् । चुनाव व्यवस्थापन कला पनि हो । हालै सम्पन्न चुनावमा दुई प्रकारका गठबन्धन भए । हितअनुकूलका मूल्यहीन अनेकौं गठबन्धन पनि भए । गुटका ‘टसल’ ले घर पोलेर मूल कोठा खोज्ने प्रवृत्ति पनि देखियो । गठहरू त भए तर तिनमा नैतिक बन्धन भने रहेन । स्वतन्त्रहरूको विजयले पार्टीहरूको मर्ममै प्रहार गर्‍यो ।

अहंकारका किल्लाहरू ध्वस्त

स्थानीय तहको चुनावमा अहंकारका धेरै धरहरा गर्ल्यामगुर्लुम्मै ढले । तर घमन्डले तीतो सत्य स्विकार्दैन, तर्क र बहाना खोज्छ । चुनाव विषय एक, सन्देश अनेक खालको रह्यो । कहिलेकाहीँ इतिहासले जिस्काउँदै भविष्यलाई शिक्षा दिइरहेको हुन्छ । चोट नलागे दर्द कहाँ महसुस हुन्छ र !

अहंकारले औचित्य साबित गर्न स्व–महानताका अनेकौं तर्क उमार्छ । देखिँदै छ । त्यसले पहिला बहुसंख्यकवाद बनेर राष्ट्रवादी देखिन भाषा, धर्म, संस्कृति, रङलाई आधार बनाउँछ । मिथकलाई गौरवपूर्ण इतिहास बनाउँदै ‘म उच्च स्तरको, तँ नीच स्तरको’ भन्ने ठहर्‍याउँछ । मिथकमा गौरवान्वित हुँदै इतिहासकार र वैज्ञानिकसँग जोरी खोजेर वर्तमानसँग बदला लिन खोज्छ । इतिहास र मिथकलाई सुविधा अनुसार घालमेल गर्दै जनमतलाई भीडमा फेर्न उत्तेजना फैलाउँछ ।

अहंकारको नायकत्व गढ्न तर्क कोरल्ने दरबारी फौज हुन्छ । तर्क नहुने भए हरेक अपराधीले आत्महत्या गरिसक्थ्यो । तर, कुतर्क र सत्यको साइनो हुँदैन । झुटको आयु परिणामले लामो हुन दिँदैन ।

किन हुन्छन् गठबन्धनहरू ?

दुवै गठबन्धन, गठबन्धन तोडेर भएका गठबन्धन, गठबन्धनलाई महत्त्व नदिनेहरूको सक्रियताले गठबन्धन सिद्धान्तप्रति नै प्रश्न, आशंका र अविश्वास जन्माए । सन्धि, सम्झौता र गठबन्धन भनेका कमजोरले शक्तिशालीसँग गर्ने अल्पकालीन सहमति भएकाले तिनमा मूल्य, मान्यता, आदर्श, सिद्धान्त र राजनीतिक संस्कृतिको कुनै अर्थ रहँदैन; उपलब्धिलाई मात्रै ध्यान दिइन्छ । शक्तिशाली विरोधीलाई पछार्न वा शक्ति सञ्चय गर्न कमजोर शक्तिहरूबीच गरिएको एकता, सहमति वा गठबन्धनको आयु लामो भने हुँदैन ।

वर्चस्व कायम गर्न चुनावमा भएका केन्द्रीय गठबन्धनहरूले स्थानीय वर्चस्व तोड्न ‘विरोधीको विरोधी मित्र’ सिद्धान्तले शक्तिको भाषा र अभ्यासमाथि व्यवहारवादी हुनुपर्ने र दयामा नभई आफ्नै शक्तिमा भर पर्नुपर्ने सन्देश फेरि पनि दियो । कार्यकर्ताहरूले नेतृत्वको आदेश लत्याएर हैसियत देखाइदिए । आदेशमा नचल्ने सोचलाई अन्तर्घात भनियो तर अन्तर्घाती खुट्ट्याइँदा त्यसको कम्पन गुट बनेर धक्का केन्द्रसम्मै पुग्ने हुँदा त्यस्तो गरिने भने छैन । गुटमा चलेका पार्टीहरूभित्र वर्चस्व कायम गर्न अन्तर्घात स्वाभाविक दाउपेच बन्यो । बरु, स्वतन्त्र र विद्रोही उम्मेदवारहरूले परम्परागत दलहरूको औचित्यमाथि हस्तक्षेप गरेर नयाँ अवस्थामा पुर्‍याइदिए ।

खेल र झेल नियाल्दा लाल र नीला मण्डलेहरूका बीचमा जन्मजात पहेंला मण्डलेहरू दुवैलाई उपयोग र उपभोग गर्दै मुस्कुराए । यो इतिहासले वर्तमानलाई चडकन हानेको बीभत्स दृश्य हो ।

निर्मम समीक्षा होला ?

नीति तथा कार्यक्रममाथिका क्रिया तथा प्रतिक्रियाहरू हेर्दा नेतृत्व तहहरूले चुनावले दिएका संकेत र सन्देशहरूलाई गम्भीर रूपमा आत्मसात् गरेनन् । धरहरा ढलेपछि, किल्ला भत्किएपछि कहाँ, के र कसरी भयो भनेर निमर्म समीक्षा आवश्यक हुन्छ । रोग खुट्ट्याए मात्र उपचार पहिल्याउन सकिन्छ । उपचार विधिहरू फरक हुन सक्छन् । अकुपन्चर विधिमा उपचार गर्दा नसाका प्वाइन्टहरूमा ‘इन्जेक्टिङ’ गरिन्छ भने क्यान्सर लागे अंगविशेषलाई अपरेसन गरेर निमर्मतापूर्वक फालिन्छ, अनि रोग अन्यत्र फैलिँदैन ।

समस्याको जरो पत्ता लगाए मात्रै समाधान निकाल्न सकिन्छ । संस्थाभन्दा व्यक्तिकेन्द्रित अहंकारी शक्ति टुट्न सक्छ, झुक्न भने सक्दैन । पराजयको निमित्त कारणको पछ्यौरीमा सुरक्षा खोज्दै बहसलाई नियन्त्रण गर्छ । आवेगी कार्यकर्ताको भावनामा खेल्छ ।

अनुशासित कार्यकर्ता किन विद्रोही बने या निष्क्रिय बने भनेर अक्करमा ठक्कर लागेपछि त नेतृत्व सोच्न बाध्य हुनुपर्ने हो । सबै पार्टीमा असर पर्‍यो । तर, चित्त बुझाउने धेरै तरिका हुन्छन् । आफूलाई सत्य साबित गर्न अनेकौं तर्क कोरलिन्छन् । तीतो यथार्थको सामना गर्ने हिम्मत नभएपछि ‘धाँधली, अन्तर्घात, विश्वासघात, सत्ता, शक्ति र पैसो प्रयोग भयो’ सबभन्दा सजिलो आरोप बन्छ । मतदातालाई कुनै पार्टीको ह्वीप लाग्दैन भन्ने कुरा भीड देखेर धारणा बनाउने सर्वज्ञ नेतृत्वले स्विकार्दैन । देखिसकिएकै छ- मन बुझाउन नक्कली शत्रु बनायो, उसैलाई गाली गर्दै मनसुख लियो !

एकल नेतृत्वको निर्णयमा पार्टीको सहभागिता आदेशपालकको मात्रै हुने हुँदा भाइनेताहरू विजयको त हिस्सेदार बन्छन्, पराजयको अंशियार भने बन्दैनन् । नेतृत्व समस्या नभई समाधानको उपाय हुनुपर्ने हो, तर आफूलाई शासक सोच्ने अहंकारीहरू समस्याको कारण आफू नभई अरूमा खोज्छन्; कार्य, कारण र परिणाम जोडेर विषय हेर्ने, बुझ्ने र ग्रहण गर्ने झन्झट बेहोर्दैनन् । लोकप्रियतावाद र तीतो यथार्थबीच भिन्नता हुन्छ ।

स्वतन्त्र उम्मेदवारहरूले दिएका सन्देश

स्वतन्त्र उम्मेदवारहरूको विजयका कारक पक्ष देशभरमा फरकफरक छन् । तर समग्रमा उनीहरूले सबै पार्टीको टाउकामै घन ठोके । यसको असर र प्रभाव सन्निकट संघीय र प्रादेशिक चुनावमा पर्नेछ । पार्टीहरू स्वयं स्खलित भएपछि यो अवस्था आउनै थियो । नेतृत्वको सामाजिकीकरणले उम्मेदवारीको हैसियत खुट्ट्याउन नसक्नु र हुकुम मतदाताले स्विकार्छन् भन्ने भ्रम रहनु हारको प्रमुख कारण रह्यो । राजनीति व्यवसायमा फेरिएपछि महत्त्वाकांक्षाको व्यवस्थापन हुन नसक्नु स्वाभाविकै हुन्थ्यो ।

‘चञ्चल’ र निराश मतदाता भएको काठमाडौंको कुरा गरौं । केशव स्थापित अहंकारले छानिएका, ‘टेस्टेड’, अभिजात वर्गका अराजनीतिक प्रतिनिधि थिए भने सिर्जना श्रेष्ठ उत्तराधिकारी भएकाले कांग्रेसमा थोपरिएको बोझ बनिन् । तर बालेन शाहको उदय राजनीतिक दलहरूप्रतिको निराशा र प्रतिक्रियाको आवेगी उपज हो । मधेशप्रतिको राजनीतिमा राजधानीको भावनात्मक स्वीकारले सकारात्मक राष्ट्रिय एकताको सन्देश दियो । यो सत्ता फेरिए पनि राजनीतिक संस्कृति फेर्न नसक्नेलाई कडा सन्देश बन्यो । सामरिक रूपले संवेदनशील देशहरूमा भ्रष्ट शासकहरू सत्तामा पुग्छन् र टिकिरहन अनेकौं हतकण्डा प्रयोग गर्छन् । त्यसविरुद्धको निराशाको प्रतिक्रिया युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका रूपमा देखिन्छ । जेलेन्स्कीहरूलाई अन्य शक्तिकेन्द्रले उपयोग गर्न सक्ने प्रशस्त सम्भावना रहन्छ । संकेत नै सन्देश हुन्छ । सिलाबरे भाँडो कतिखेर तात्छ र कतिखेर सेलाउँछ, थाहा हुन्न; अस्थिर चरित्रको हुन्छ । यही सहर हो जसले पञ्चायतप्रति उग्र विरोध नानीमैया दाहालका रूपमा गर्‍यो भने जनपक्षीय पद्मरत्न तुलाधर बनेर पनि ।

तर पश्चिमको धनगढी र पूर्वको पेकिङ भनिने धरानको अवस्था भने फरक छ । त्यहाँ राजनीतिक दलहरूविरुद्ध जनप्रतिनिधिको खोजी थियो । मतदाताको सुझबुझले गर्दा दलहरू दण्डित भए । अझ धरान पानीका लागि संघर्ष गर्ने एसियाली विकास बैंकले उत्पादन गरेका भ्रष्ट धराने राजनीतिकर्मीहरूविरुद्ध केन्द्रित थियो । बोलिभियाको तेस्रो ठूलो सहरको कोचबाम्बामा भएको पानी संघर्षजस्तै धरानको जनचासोलाई नेतृत्व गरेका लौरोधारी एक्ला योद्धा हर्कराज साम्पाङ आशा बने । नैतिक पुँजी र दृढ अठोट भएदेखि मान्छेसँग रहेको अदम्य क्षमता प्रयोग गर्न सकिन्छ भन्ने प्रमाणित गरे धनगढीका गोपाल हमालले, जो जनआन्दोलनमार्फत स्थापित भएका थिए । स्वतन्त्र उम्मेदवारी र विजययात्रा मूलधारका पार्टीलाई प्रस्ट जवाफ, चेतावनी र प्रतिक्रिया हो । लोकप्रियतावादमा फस्न पुगे भने साम्पाङले पाएको समर्थन जोगाइराख्न कठिन पर्नेछ ।

अन्तमा, पार्टीलाई बिर्ता, कार्यकर्तालाई कमारा, मतदातालाई रैती र आफूलाई जिम्वाल सोच्ने नेतृत्वहरूका टाउकैमा परिस्थितिले चुनावमार्फत मुंग्रो बजारिदिएको छ । भक्त बनेका कार्यकर्ताहरूले दिमाग खोपडीबाट खोपीमा थन्काउँदै दिनभरि नेताको भजन गाएर फर्केपछि साँझ मात्र फेरि घुसार्थे । अब भने ज्ञान र बुद्धि कसैलाई नसुम्पी, सधैं आफूसँगै राख्नुपर्ने आत्मज्ञान पाए होलान् । शक्तिले मातिएका, पात्तिएका र आत्तिएका नेतृत्व तहहरू बगलीमा ऐना राख्दैनन् । तर यौवन, सत्ता र सम्पत्ति अत्यन्तै चञ्चल हुन्छ, कसैको नियन्त्रणमा रहँदैन ।

जेलमा रहेका रेशम चौधरीको जोडदार चुनावी हस्तक्षेपले शासकवर्गलाई टीकापुर घटनाबारे नयाँ तरिकाले सोच्न बाध्य गरायो । जित्न नसके पनि हराउन सक्ने हैसियत विभाजनसँगै हुँदो रहेछ भन्ने कुरा नेकपा एमालेलाई नेकपा (एकीकृत समाजवादी) ले दियो । विभाजनको पुर्ताल बादलको नेतृत्वमा आएको पूर्वमाओवादी शक्तिले गर्ला भन्ने एमाले अंकगणितको क्यालकुलेटरले चितवनमा काम गरेन, बरु उनीहरूलाई भविष्यका लागि औचित्यहीन बनाइदियो । मार्क्सवादीलाई पचाइदिएजस्तै उनीहरू भविष्यमा भूमिकारहित समावेशिताका आसेमा धकेलिए । गुट नियन्त्रण गर्न फुटेका पार्टीहरू पनि गुटको व्यवस्थापन र भिडन्तबाट जोगिन सकेनन् । केपी ओली सरकारले चुनावी पथमा ल्याएका सीके राउत र विप्लवले आफूप्रतिको जनमत साबित गर्न उपयुक्त मार्केटिङ गर्न सकेनन् । राउतको उल्लेख्य उपस्थिति र विप्लव दृश्यबाट ओझेल पर्नुले ठूलै सन्देश दियो ।

चेतना र इच्छाबाट लक्ष्यको किटान हुन्छ । सुरक्षा खोज्न मानिसले अदृश्य शक्तिको पूजा गर्न थाल्छ । बलि दिएर शक्ति रिझाउनु र सुरक्षित हुनु वैदिक परम्परा हो । चुनावी भ्रष्ट कारखानामा अदृश्य स्रोतबाट आएको धन अदृश्य नै तरिकाले खर्च भयो । फेरि पनि भक्तपुरमा रोहितले भने गरे हुन्छ भन्ने पुनर्पुष्टि गरे । चुनावी टिकट खरिद–बिक्री र गुट लबिइङ अत्यन्तै बढेको थियो, भविष्यमा यस्तो किनबेच विद्रोही र दल अदलबदलका कारण केही हदसम्म रोकिनेछ ।

दुवै खाले गठबन्धनले जनयुद्धका राम्रा विषयको स्वामित्व लिन्छन् भने कमीकमजोरीमा पनि जिम्मेवार हुनुपर्नेछ । माओवादीले पनि इतिहासमा अन्य शक्तिले गरेका कमजोरीको अंशियार हुनैपर्छ । १० वर्षे द्वन्द्व र १४ वर्षे ‘शान्तिकाल’ हुँदै स्थानीय तहको चुनावसम्म आइपुग्दा द्वन्द्व उद्यमीका प्रयास विफल पार्दै उसले केही हदसम्म खाटा बसेका घाउमा मल्हमपट्टी लगाउन सक्यो ।

चुनाव असाध्यै महँगो भयो, भ्रष्टता सबै पार्टीको समान चरित्र बन्यो । स्वत्वको टकरावबाट उत्पन्न समस्या जब पार्टीको आम कार्यदिशा बन्छ, देश भुक्तभोगी बन्नुपर्दो रहेछ । श्रेष्ठताको भूत सल्केपछि घृणाका राँको चौतर्फी फैलिन्छ । सबै पार्टीका मूल नेतृत्वहरूको वडामै पराजयले केन्द्रीय नेतृत्वको औकात सतहमै देखियो । गलत तरिकाले अभ्यास भएका कामको परिणाम राम्रो निस्कन्न । सामाजिकीकरण गरेको नेतृत्व फरक हुँदो रहेछ । जननेता आन्दोलनबाट जन्मिँदा रहेछन् । नैतिक पुँजीसहितको स्वतन्त्र उम्मेदवारीका कारण सिद्धान्तहीन, आफ्नै गढ बचाउन नसकेका आचरणहीन नेतृत्वलाई सन्निकट चुनावमा सहज हुनेछैन । सुविधा अनुसारका गठबन्धनहरूले मात्रै जोगाउन सक्नेछैनन् । आउँदो चुनावमा यस्ता चित्र र चरित्र धेरै देखिनेछन् । मूलधारका नेतृत्वहरूले बेवास्ता गर्दा त्यसको धेरै ठूलो मूल्य चुकाउनुपर्नेछ । राजनीतिभित्रको ‘पोलिटिक्स’ सतहमा देखेजस्तो हुँदो रहेनछ ।

प्रकाशित : जेष्ठ १६, २०७९ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?