‘अफ्रिकन स्वाइन फिभर’ को रोकथाम

उपत्यका तथा मध्यपश्चिम क्षेत्रमा फस्टाउँदै गरेको बंगुरपालन व्यवसाय ‘अफ्रिकन स्वाइन फिभर’ का कारण नथलियोस् भन्नका लागि कडा जैविक सुरक्षाका उपाय अपनाउन आवश्यक छ ।
सुरेन्द्र कार्की

विश्व पशु स्वास्थ्य संगठनको मान्यताप्राप्त अस्ट्रेलियाको भेटेनरी प्रयोगशालाले नेपालको केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाले गरेको निदानलाई पुष्टि गरिदिएपछि यही २०७९ जेठ २ देखि बंगुरपालन व्यवसायमा ‘अफ्रिकन स्वाइन फिभर’ रोगको चुनौती थपिएको छ ।

‘अफ्रिकन स्वाइन फिभर’ को रोकथाम

बंगुरपालन तीव्र रूपमा व्यावसायिक बन्दै गरेको परिवेशमा, कुनै ठोस उपचार तथा खोपसमेत नभएको भाइरसजन्य रोग प्रमाणित भएपछि कृषक वा व्यवसायीहरूका लागि यो ठूलै टाउको दुखाइ बनेको छ । पशु सेवा विभाग अनुसार काठमाडौंको कागेश्वरी मनोहरा, कीर्तिपुर, चन्द्रागिरि, टोखा र दक्षिणकाली, ललितपुरको गोदावरी र भक्तपुरको चाँगुनारायण क्षेत्रका बंगुरहरूमा यो रोग पाइएको छ । विशेषतः नेपालका पूर्वी जिल्लाहरू, पोखरा–काठमाडौं उपत्यका तथा मध्यपश्चिम क्षेत्रमा फस्टाउँदै गरेको यो व्यवसाय रोगका कारण नथलियोस् भन्नका लागि कडा जैविक सुरक्षाका उपाय अपनाउन आवश्यक छ ।

‘अफ्रिकन स्वाइन फिभर’ सर्वप्रथम सन् १९२१ मा अफ्रिकाको केन्यामा देखिएको थियो । केही दशकसम्म सब–साहरन अफ्रिकी देशहरूमा रैथाने रोगको रूपमा रह्यो । अफ्रिकाबाहिर पहिलोपल्ट युरोपको पोर्चुगलमा सन् १९५७ मा यो रोग देखा परेको थियो । सन् ६०, ७० र ८० को दशकतिर विभिन्न युरोपेली मुलुकको बंगुरपालनमा चुनौती बनेको यो रोग अन्ततः धेरै लगानीपश्चात् युरोपबाट लगभग उन्मूलन नै भएको थियो । तर सन् २००७ मा फेरि जर्जिया हुँदै रसिया, लिथवानिया, बेल्जियम, हंगेरी लगायत केही युरोपेली मुलुकमा यो रोग पुनः देखा पर्‍यो । एसिया महादेशमा पहिलोपल्ट अगस्ट २०१८ मा, चीनमा यो रोग प्रमाणित भएको थियो । त्यसयता एसियाका भियतनाम, कम्बोडिया, उत्तर र दक्षिण कोरिया, लाओस, मंगोलिया, इन्डोनेसिया, फिलिपिन्स र म्यानमारमा यो महामारी देखा परिसकेको छ । यो रोगका कारण चीनमा मात्रै लाखौं बंगुर मरेका छन्, त्यस्तै रोग अन्यत्र फैलिन नपाओस् भनी थप लाखौं बंगुर मारिएका छन् । भियतनाममा मात्र ६० लाख बंगुर मारिएको तथ्यांक छ । यसरी एसियाका विभिन्न मुलुकमा फैलिँदै गैरहेको यो रोग सन् २०२० मेको पहिलो हप्ता भारतमा धेरै बंगुरपालन गरिने असम र अरुणाचल राज्यमा आइपुग्यो र केही महिनाअगाडि भुटानमा समेत देखा परेको थियो । भारतमा देखा परेपछि यो रोग नेपाल भित्रिने अनुमान थियो, त्यसको करिब दुई वर्षपछि आखिर देखा परिछाड्यो । यद्यपि यो रोग नेपालमा कसरी भित्रियो, यकिन कारण थाहा भैसकेको छैन ।

‘अफ्रिकन स्वाइन फिभर’ का कारण कुनै खोरमा शतप्रतिशतसम्म बंगुरहरू बिनाकुनै लक्षण रातारात मर्न सक्छन् । कुनै खोरमा भने ४० देखि ४२ डिग्री सेल्सियससम्मको उच्च ज्वरो आउने, झोक्राएर एकै ठाउँमा थुप्रने, शरीरमा रगत जमेका राता धब्बाहरू देखिने, कानका टुप्पाहरूमा रगत जमेर कालो–नीलो बन्ने र केही दिनभित्रै ठूलो संख्यामा बंगुरहरू मर्ने हुन्छ । मन्द खालको भाइरस भएमा मृत्युदरमा केही कमी हुन्छ । तर अन्य रोगजस्तै बंगुरको हैजा, साल्मोनेलोसिस, स्वाइन इरिसेपिलस, पीआरआरएस, स्वाइन अजेस्कीलगायत र विषादीजन्य समस्यामा समेत समान खालका लक्षण देखिने हुँदा रोग यकिन गर्न प्रयोगशालामा परीक्षण अत्यावश्यक हुन्छ । यो रोगबाट संक्रमित भई बाँचेका बंगुरहरूले महिनौंसम्म रोगको वाहकका रूपमा काम गर्ने हुँदा सामान्यतया रोग प्रमाणित भएको फार्मवरिपरिको निश्चित क्षेत्रका बंगुरहरू सरकारले नै मार्ने र किसानहरूलाई क्षतिपूर्ति दिने अन्तर्राष्ट्रिय अभ्यास छ । यस्तो अभ्यास देशको कानुन अनुसार फरक हुन सक्छ । भारतले रोग प्रमाणित भएको एक किलोमिटरवरिपरिका बंगुर मार्ने नीति लिएको छ ।

नेपालमा पनि ‘अफ्रिकन स्वाइन फिभर’ नियन्त्रणलाई आवश्यक ऐन कानुन, आदेशहरूको तर्जुमा तुरुन्तै गर्नुपर्छ । छिटो रोग पत्ता लगाउन अनि नियन्त्रण गर्न सर्भिलेन्स प्रणालीको विकास–कार्यान्वयन गर्ने, बंगुरपालनमा जैविक सुरक्षा बलियो बनाउने, पशु चिकित्सक तथा प्राविधिक र बंगुरपालक किसानको क्षमता बढाउने, बंगुरहरू आयात र ओसारपसार व्यवस्थित गर्ने र पशु चिकित्सकले जाँचेर दिने स्वस्थ प्रमाणपत्र अनिवार्य गर्ने विषयमा ध्यान दिन आवश्यक छ । प्रयोगशाला निदान सुविधालाई थप सुदृढीकरण र विस्तार गर्नु पनि उत्तिकै जरुरी छ । संघसँगै प्रदेश र स्थानीय सरकारहरूसमेत आफ्नो क्षेत्रमा यो नयाँ रोग भित्रिन्छ कि भन्नेमा चनाखो हुनुपर्छ । सरकार र किसान मिली जैविक सुरक्षाका उपाय अपनाउनु नै यो रोगबाट बंगुरहरूको सुरक्षा गर्ने एक मात्र विकल्प हो ।

दीर्घकालीन सुरक्षाका लागि भने, बलियो पशु स्वास्थ्य प्रणालीको विकास अत्यावश्यक छ । यो रोगबाहेक पनि बर्डफ्लु, लम्पी स्किन लगायत नयाँ–पुराना रोगहरू पशुपन्छी तथा बस्तुभाउमा फैलिरहेको र तीमध्ये केही मानिसमा समेत सर्ने हुँदा जनस्वास्थ्यको दृष्टिकोणबाट पनि बलियो पशु स्वास्थ्य प्रणालीको विकास अपरिहार्य छ । खोरेतजस्ता रैथाने रोगको समस्या त छँदै छ । स्थानीय तहमा स्रोतसाधनसहित भेटेनरी संचरनाको विकास गर्न ढिलो गर्नु हुन्न । प्रदेश र संघमा स्थानीय तहलाई सहयोग गर्ने बलियो अनुसन्धानमुखी विशेषज्ञ सेवाको आवश्यकता छ ।

कार्की पशु चिकित्सक र इपिडेमियोलोजी विषयमा विद्यावारिधि हुन् ।

प्रकाशित : जेष्ठ १०, २०७९ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?