मतगणनाको गति बढाऊ- विचार - कान्तिपुर समाचार

मतगणनाको गति बढाऊ

सम्पादकीय

मतगणनाको गति यस्तै सुस्त रहिरहने हो भने देशभर १ करोड १९ लाख मतदाताले गत शुक्रबार १० घण्टाभित्र खसालेको मत गनिसक्न निर्वाचन आयोगले १० दिनमा पनि सक्छ–सक्दैन, सन्देह छ । यो सुस्तताले सम्बन्धित निर्वाचन अधिकृतहरूको मात्र होइन, निर्वाचन आयोगकै समग्र व्यवस्थापन कौशलमा प्रश्न उठाएको छ ।

अघिल्लो स्थानीय निर्वाचनबाट पाठ नसिक्दा पुनः उही समस्या दोहोरिएको हो । आजको जमानामा पनि भोट गन्नै कैयौं दिन लाग्ने यो अवस्था आफैंमा टीठलाग्दो छ । विद्युतीय मतदानमा जाने चेष्टै नगर्नु≤ नमुनास्वरूप केही पालिकासम्ममा भए पनि यसको थालनी नगर्नु, मतपत्रलाई छरितो बनाउन नखोज्नु र बढीभन्दा बढी स्थलमा गणना गर्ने चाँजो नमिलाउनुको मिश्रित परिणाम हो यो ।

मतगणना टुंग्याउन विलम्ब हुँदा उम्मेदवार र दलसम्बद्ध नेता–कार्यकर्ताको व्यग्रता मात्र बढिरहेको छैन, परिणामप्रतिको कुतूहल लम्बिँदा मतदाता तथा आम नागरिकको ऊर्जावान् समय पनि उत्तिकै नाश भैरहेको छ । देश नै एक हिसाबले ठप्प छ । तर पनि यो ठीक भैरहेको छैन भन्ने गल्तीबोध जिम्मेवार ओहोदावालाहरूमा पाइँदैन । अचम्म त, प्रमुख निर्वाचन आयुक्तले नै मुख्य निर्वाचन अधिकृतहरूमा जिम्मेवारी पन्छाइरहेका छन् । ‘निर्वाचन गराउने जिम्मेवारी मैले निर्वाह गरें, गणना मेरो जिम्मेवारी होइन’ भनेर उनले सुख पाउँदैनन् । गणनाको काम प्रमुख निर्वाचन अधिकृतको भए पनि यस कार्यलाई यथासम्भव छिटो टुंग्याउने गरी तारतम्य मिलाउन दिशानिर्देश गर्ने अभिभारा आयोग पदाधिकारीहरूकै हो । निश्चित कार्यका लागि तोकिएको कुनै अधीनस्थ अधिकारीको जस्तो जवाफ मूल नेतृत्वबाट अपेक्षित हुँदैन ।

मतगणना यति ढिलो हुनुमा अवश्य पनि आयोग दोषी छ । उसले मतपत्रलाई यति धेरै भद्दा नबनाइदिएको भए गन्ने बेलामा झमेला हुने नै थिएन । अहिलेको मतपत्रले त गणना अवधि मात्र बढाएको छैन, मतदातालाई पनि अलमल्याएको छ≤ सबै मतदातालाई उम्मेदवार नै नभएका चुनाव चिह्नसहितको मतपत्र भिडाएर आयोगले मतदातालाई झुक्किन बाध्य पारेको छ । यही कारण बदर मतको संख्या अस्वाभाविक छ, जसमा मतदाताको सचेतना स्तर मात्र होइन, आयोग स्वयं पनि दोषी छ । उल्लेख गरिरहनु पर्दैन, बदर मत बढी हुँदा मतादेश नै फरक पर्न सक्छ≤ जित्ने उम्मेदवारले हार्न सक्छ र हार्नेले जित्न । तसर्थ, आयोगको यो खेलाँचीबाट लोकमतकै अपमान भैरहेको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन र निर्वाचन चिह्न प्रदान दुई साताअघि नै गर्नु भनेको उनीहरूलाई चुनाव प्रचार–प्रसार गर्ने अवधि उपलब्ध गराउनु मात्र होइन, आयोगले उम्मेदवारको संख्या र प्रदान गरिएका चिह्नबमोजिम मतपत्र प्रकाशित गर्ने समय पाउनु पनि हो । खासमा निर्वाचनतालिका नै आयोगले आफ्नो यो काम सम्भव हुने गरी बनाउनुपर्ने हो । तर, आयोगले आफ्नो मात्र ‘सजिलो’ हेरेर पहिल्यै मतपत्र छापिदियो । र, यही मतपत्र पनि प्रमुख/अध्यक्ष–उपप्रमुख/उपाध्यक्षको छुट्टै र वडाको छुट्टै छापिदिएन, जसकारण मतदाता मात्र झुक्किएनन्, गणना–गति पनि सुस्त बन्यो ।

यो मतगणनाको पाठ प्रस्ट छ- अबका निर्वाचनमा सम्भव भएसम्म विद्युतीय मतदान प्रणाली अपनाउँदै जाने, परम्परागत रूपमै मतदान गराउँदा पनि मतपत्रलाई छरितो बनाउने, उम्मेदवार जति छन् तिनको मात्र चिह्न राख्ने, र प्रमुख/अध्यक्ष–उपप्रमुख/उपाध्यक्षको छुट्टै र वडाका छुट्टाछुट्टै मतपत्र छाप्ने । र, यसको तत्कालै अवलम्बन गर्नुपर्ने पाठ पनि छ- त्यो हो, एकैपटक सम्भव भएसम्म धेरै वडाको गणना थाल्ने, र त्यसका निम्ति कर्मचारीहरूको यथाशीघ्र बन्दोबस्त मिलाउने । प्रमुख निर्वाचन अधिकृतको जिम्मेवारी पाएका जिल्ला न्यायाधीशहरू यसतर्फ गम्भीर बन्नैपर्छ । अहिले काठमाडौंमा आठ स्थानमा मात्र गणना भैरहेको छ, ढिलाइ भैरहेका कति पालिकामा त एउटा वडा सकेर मात्र अर्को थाल्ने गरिएको छ । यही रीतले गन्दा जित–हारको छिनोफानो गर्न अझै कैयौं दिन लाग्ने निश्चित छ ।

आयोगले आवश्यक सबै सुविधा उपलब्ध गराउँछौं भन्दा पनि कर्मचारी थपेर छिटो गणना सक्न प्रमुख निर्वाचन अधिकृतहरूले आतुरी नदेखाउनु उत्तिकै ताज्जुबलाग्दो छ । यसबाट उनीहरूको मतगणनाप्रतिको संवेदनशीलता कम र गैरजिम्मेवारी बढी झल्किरहेको छ । निश्चय पनि मतगणना निष्पक्ष हुनुपर्छ, तर थोरै टोलीले गन्दा मात्र यसको सुनिश्चितता हुने होइन । अधिकतम गणक टोली बनाएर मत गन्न आवश्यक स्रोत र व्यवस्थापन कुशलताबाहेक अर्थोक चाहिँदैन । अब स्रोत आयोगले दिन्छु भनेकै छ, खालि निर्वाचन अधिकृृतहरूले आवश्यक कुशलता देखाउनुपर्छ । थप व्यवस्था मिलाएर गणनालाई तीव्रता नदिने हो भने आफ्नो सुविधा बढाउनकै निम्ति बढी दिन लगाइएको आरोपले बल पाउँछ । त्यसैले जिम्मेवार सबै अधिकारीहरूले अहिलेको गणनाको वेग बढाउने र भविष्यमा यस्तो जटिलता ननिम्त्याउनेतर्फ जोड दिनुपर्छ ।

प्रकाशित : जेष्ठ ५, २०७९ ०६:४२
प्रतिक्रिया
पठाउनुहोस्

फ्रान्कफर्टले जित्यो युरोपा लिग

एएफपी

सेभिया — इन्ट्राख्ट फ्रायन्फर्टले टाइब्रेकरमा रेन्जर्सलाई ५–४ ले पराजित गर्दै बुधबार युरोपा लिग जितेको छ । निर्धारित र अतिरिक्त समयको फाइनल १–१ को बराबरीमा टुंगेको थियो ।

रेन्जर्सका लागि आरोन राम्सीले पेनाल्टीमा गोल गर्न चुके । फ्रान्कफर्टका लागि भने राफेल बोरेले निर्णायक गोल गरे । उनले नै निर्धारित समयको खेलमा बराबरी गोल गरेका थिए ।

रेन्जर्सले जोए एरिबोको गोलले अग्रता लिएको थियो । सन् १९८० यता फ्रान्कफर्टले युरोपेली उपाधि जितेको यो पहिलो पल्ट हो । दुवै क्बल आफ्नो इतिहासमा दोस्रो युरोपेली उपाधि जित्ने प्रयासमा थिए ।

यो जितसँगै फ्रान्कफर्ट अर्को सिजनको युरोपेली च्याम्पियन्स लिगका लागि पनि छनोट भएको छ । यसपल्टको फाइनल यात्राका क्रममा फ्रायन्कफर्टले रियल बेटिस, बार्सिलोना र वेस्ट ह्यामलाई पन्छाएको थियो ।

प्रकाशित : जेष्ठ ५, २०७९ ०६:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×