कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

लोकरिझ्याइँवादको क्षणभंगुरता

नेपालले आफ्नो दीर्घकालीन हितका लागि लोकरिझ्याइँवादमा बहकिएर भारत र चीनपरस्त देखिनुभन्दा सार्वभौम र असंलग्न रहनु नै भू–राजनीतिक दृष्टिमा बढी अनुकूल छ । नेपाल वैचारिक र राजनीतिक रूपमा संकटग्रस्त हुनुमा समस्या पात्रको हो, प्रणालीको हैन ।
विष्णु जोशी

वैचारिक अडान, सत्यनिष्ठा, त्याग र धैर्यले प्राप्त हुने प्रसिद्धि साँचो हुन्छ, स्थायी हुन्छ; लोककल्याणकारी, मानवतावादी र कालजयी हुन्छ । बजारी हल्ला या षड्यन्त्रका सिद्धान्तमा आधारित चर्चा भने क्षणभंगुर हुन्छ । लोकलाई आफ्नो धर्म, क्षेत्र, जाति या छालाको रङका नाममा उद्वेलित र विभाजित गर्दै सत्यको वैकल्पिक व्याख्या गरेर कमाएको राजनीतिक पुँजी आजकलको क्रिप्टोकरेन्सीको बजार भाउजस्तै अस्थायी हुन्छ । हाल नेपालमा दुई प्रकारका लोकरिझ्याइँवाद हाबी छन् ।

लोकरिझ्याइँवादको क्षणभंगुरता

एउटा हो उग्र वामपन्थ जो समाजवादको अगाडि ‘वैज्ञानिक’ उपसर्ग लगाएर अराजक अभिव्यक्ति दिन्छ । अर्को हो उग्र दक्षिणपन्थी जो ‘स्वाभिमान’ र ‘राष्ट्रवाद’ जस्ता नारा उचाली सबैमा एकल जाति र धर्म लाद्नु नै समाजका सबै समस्याको समाधान हो भन्छ । तर यी उग्र वाम र उग्र दक्षिणपन्थीको भनाइ र गराइमा भिन्नता प्रस्ट देखिन्छ । आदि शंकराचार्यले महात्माको व्याख्यामा भनेका छन्, ‘मनस्येकं वचस्येकं कर्मण्येकं महात्मनाम् ।’ अर्थात्, सोचाइ, भनाइ र गराइमा एकरूपता हुने व्यक्ति महात्मा हो । वास्तविक प्रसिद्धि कमाएका महात्मा र सस्तो लोकरिझ्याइँवादीबीचको भिन्नता प्रस्ट बुझ्न जरुरी छ र यो आलेख यसै सेरोफेरोमा केन्द्रित हुनेछ । यस लेखको सार व्यक्तिभन्दा व्यक्तित्व, पार्टीभन्दा परिपाटी र मनोवृत्तिभन्दा मनोविज्ञानमा केन्द्रित रहनेछ ।

विश्वमा अहिले लोकरिझ्याइँवादको लहर छ । ट्रम्प र पुटिनदेखि मोदीसम्म सबै लोकरिझ्याइँवाद–उन्मुख देखिए, देखिन्छन् । भारतमा आएको सामाजिक–राजनीतिक बदलावका बाछिटा नेपालसम्मै पर्ने हुनाले प्रसंग भारतका केही विख्यात–कुख्यात विचारकहरूको उदाहरणबाटै सुरु गरौं । गान्धी प्रसिद्ध थिए तर गोड्सेलाई चर्चामा ल्याइँदै छ । विवेकानन्द प्रसिद्ध थिए तर सावरकरलाई चर्चामा ल्याइँदै छ ।

गान्धी र विवेकानन्दमा सत्यनिष्ठा, भक्तिभाव, धर्मपरायणता थियो । सबैभन्दा महत्त्वपूर्ण कुरा, यिनीहरूका विचार विश्वबन्धुत्व, धार्मिक सहिष्णुता र मानवसेवाजस्ता आधारभूत मूल्यमान्यतामा आधारित छन् । त्यसैले यिनका विचार उत्ति नै सान्दर्भिक आज छन् जति एक शताब्दीअघि थिए । ‘अकबरी सुनलाई कसी लगाउनुपर्दैन’ भनेझैं गान्धी र विवेकानन्दका विचारलाई प्रायोजित प्रचार आवश्यक छैन । यी प्रेरक व्यक्तित्वद्वयका विचार र दैनिक जीवनमा ती सुन्दर विचारको अनुसरणले सनातन धर्मको साँचो रूपमा वैस्विक प्रचार गर्न मद्दत गरेको छ, गरिरहनेछ । नेपालको परिप्रेक्ष्यमा मानवतावादी सिद्धान्तका प्रवर्तक बझाङी राजा जयपृथ्वीबहादुर सिंहलाई यस्तै सर्वमान्य वैचारिक श्रेणीमा राख्न सकिन्छ । सनातन धर्मको ‘वसुधैव कुटुम्बकम्’ को उदार विश्वबन्धुत्वको भाव यी महान् विचारक र समाजसुधारकहरूका विचार र कर्ममा देखिन्छ ।

यसविपरीत गोड्से र सावरकरका विचारमा संकीर्णता, धर्मान्धता र साम्प्रदायिक उग्रता छ । यिनका अतिवादी विचारलाई स्थापित गर्न गोयबल्स शैलीको मिडियाबाजी भइरहेको छ । आफूलाई हिन्दु धर्मको रक्षक दाबी गर्दै अराजकता फैलाउने संघी (राष्ट्रिय स्वयंसेवक संघ ः आरएसएसका प्रचारक) हरू भारतीय समाजमा अहिले साम्प्रदायिक ध्रुवीकरण गर्न बहुसंख्यकलाई उद्वेलित गर्दै गोड्से र सावरकरको देवत्वकरण गर्दै छन् । जबकि भाजपाले अहिले देवत्वकरण गर्ने वल्लभभाइ पटेलले नै गोड्से ज्यान मार्ने अपराधी हुन् भनेका थिए । सावरकर - जसलाई ‘वीर’ को उपाधि दिन संघीहरू उद्यत देखिन्छन् - ले ब्रिटिस राजसामु बारम्बार दया याचिकाहरू पेस गरेका थिए । यी दुईका विचार र कर्ममा कुनै एकरूपता थिएन । यिनलाई भारतमा आज नियोजित ढंगले लोकरिझ्याइँवादको अस्त्र बनाइँदै छ । हालै नेपालका सञ्चारकर्मीहरूसँगको साक्षात्कारमा भारतका पत्रकार रवीश कुमारले मिडियामा भारतको जस्तो स्थिति नेपालमा नआओस् भनेका थिए । मिडियामा मात्रै नभई धार्मिक सहिष्णुतामा पनि भारतको जस्तो स्थिति नेपालमा नआओस् भनेर सबै सचेत हुनुपर्ने बेला छ अहिले ।

अब नेपालतिर फर्कौं । नेपालको आधुनिक कालमा आम जनताको मुक्ति र समृद्धिका लागि निरंकुश शासकहरूसँग लड्ने, राज्यशक्ति र पदीय प्रलोभनसामु नझुकी लड्ने सहिदहरूबाहेक बीपी कोइराला, गणेशमान सिंह, मनमोहन अधिकारीजस्ता नेताको नाम लिन सकिन्छ । यी नेता लोकप्रिय थिए न कि लोकरिझ्याइँवादी । लामो प्रजातान्त्रिक संग्र्राममा केही सहिद र लोकतन्त्रका सेनानीहरूको निर्भीकता, सामाजिक न्यायप्रतिको निष्ठाले उनीहरूका नाम नेपाली इतिहासका पानाहरूमा अमेट रूपमा लेखिदियो ।

उनीहरूको आलोचनात्मक चेतसहितको आवाजले युवाहरूलाई जहानियाँ शासनविरुद्ध प्रश्न उठाउन उत्प्रेरित गर्‍यो । ३० वर्षे निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध २०४६ सालमा प्रजातन्त्र पुनःस्थापनाको आन्दोलन भयो । अग्रगमन–प्रतिगमनका आरोह–अवरोह पार गर्दै प्रजातन्त्र स्थापनापछि पटकपटक भएका प्रतिगमनका असफल प्रयासहरू, सशस्त्र द्वन्द्व, २०६०–६१ सालको राजशाही दमन हुँदै २०६२–६३ सालको दोस्रो जनआन्दोलन र २०७२ सालको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान घोषणासँगै व्यवस्था परिवर्तनको चरण पूरा भयो । समावेशिता, समानता र सामाजिक न्याय मूलधारमा स्थापित भए ।

व्यवस्था परिवर्तनको लामो यात्राले अपेक्षाकृत समृद्धि र सुशासन ल्याउन नसकेको कुरा नेपालको धरातलीय यथार्थ हो । नेताहरू राज्यसत्तामा पालैपालो पुगेपछि तिनमा वैचारिक स्खलन, अक्षमता र पदलोलुपता चुलिँदै गयो अनि यी महान् उपलब्धिबाट कसैले पनि निर्विवाद प्रसिद्धि पाउन सकेनन् । आचरण, भाषण, विचार, एजेन्डा, घोषणापत्र, प्रतिबद्धता सबैतिर ओज गुमाएका नेताहरू अचेल लोकरिझ्याइँका लागि एकअर्काप्रति तुच्छ वाणी प्रहारमा, घृणा फैलाउने वाक्युद्धमा तल्लीन छन् । आफू ‘ठूलो’ देखिन अरूलाई ‘सानो’ देखाउनु सुसंस्कृत राजनीति हुँदै हैन । आश्चर्य के छ भने, भाषणमा जति धेरै गाली बर्सिन्छ, श्रोताहरूको ताली त्यसै अनुपातमा पड्किन्छ !

यो परम्परालाई चुनौती दिँदै वैकल्पिक राजनीति र स्वतन्त्र युवाहरूको उत्थानको शृंखला सुरु भएको छ । अब सचेत युवाले यो इतिहासको स्मरण गर्दै वर्तमान नेतृत्वलाई प्रश्न गर्ने बेला भएको छ- आफू विजेता बन्न अरूको एकता भाँड्नैपर्ने हो र ? आफू सफल हुन अरूका कुरा काट्नैपर्ने हो र ?

हाल नेपालमा एकातिर उग्र वामपन्थीहरू लोकरिझ्याइँवादी पश्चिमा देशको चर्को विरोध गर्दै चीन र रुसका समर्थकजस्तै देखिन्छन् भने अर्कातिर उग्र दक्षिणपन्थीहरू लोकरिझ्याइँवादी भारतमा जस्तै धर्म र पुरातन संस्कृतिका नाममा पनि ध्रुवीकरण ल्याउने प्रयास गर्छन् । जबकि नेपालको विदेशनीति मूलतः असंलग्न छ र यो संविधानतः धर्मनिरपेक्ष मुलुक हो । नेपालले

आफ्नो दीर्घकालीन हितका लागि लोकरिझ्याइँवादमा बहकिएर भारत र चीनपरस्त देखिनुभन्दा सार्वभौम र असंलग्न रहनु नै भू–राजनीतिक दृष्टिमा बढी अनुकूल छ ।

लोकरिझ्याइँवादसँग हरेक पुस्ताले सजग हुन जरुरी छ नत्र प्रतिगमन दोहोरिने खतरा सधैं रहिरहन्छ । अरूभन्दा हाम्रो धर्म, जात, वर्ग, छालाको रङ श्रेष्ठ हो भन्ने भावले समाजमा न एकता ल्याउँछ, न समृद्धि । दक्षिणपन्थले समाज रूढिवाद र अतिवादतिर धकेलिदिन्छ । धर्म, जाति र क्षेत्रीयताका नाममा राजनीति गर्नेहरूको इतिहास लामो छ । धर्मका नाममा विभाजित भारत र पाकिस्तान

होऊन् या धर्मकै नाममा लडिरहने इजरायल र प्यालेस्टाइन, यस्ता क्षेत्रहरूमा शान्ति स्थापना गर्न मुस्किल छ । भ्रष्टाचारीहरू एउटा पुस्ताको समृद्धिको बाधक हुन्छन्, तर केन्द्रीकृत एकल राज्यको वकालत गर्दै धर्मको राजनीति गर्ने दक्षिणपन्थीहरूले वर्तमान पुस्तालाई उद्वेलित बनाउँदै देशको भविष्यमाथि नै खेलबाड गरिरहेका हुन्छन् ।

मुलुक समृद्ध नहुनुमा व्यवस्थाको ठूलो दोष छ कि व्यवस्थापनको भन्ने बहस निष्कर्षहीन प्रतीत हुन थालेको छ । समाजको रूपान्तरण गर्न सक्ने वास्तविक विचार र एजेन्डाको खडेरी परेको छ । नेपाल वैचारिक र राजनीतिक रूपमा संकटग्रस्त हुनुमा समस्या पात्रको हो, प्रणालीको हैन । राष्ट्रवादलाई खोप अनि धर्मको राजनीतिलाई बुस्टर डोज भनेर प्रचार गर्ने दक्षिणपन्थीहरू घरदैलोमा आए भने प्रश्न गरौं- भ्रष्टाचार रोक्न साम्राज्यवादले कहाँ रोकेको छ ? शिक्षा सुधार गर्न कुन विदेशी शक्तिले छेकेको छ ? लोकरिझ्याइँवादी अनुदार पश्चगामी नाराले स्वदेशमै रोजगारी कसरी बढाउँछ ?

निकासमुखी राजनीति भनेको आर्थिक सम्पन्नता, समावेशी एवं सहभागितामूलक राज्य निर्माण हो । अब प्रगतिशील राष्ट्रप्रेम र नक्कली राष्ट्रवादबीचको विभेद बुझ्न जरुरी छ । उग्र राष्ट्रवाद भ्रमपूर्ण राजनीतिक दाउपेच हो । देशभक्ति र बहुराष्ट्रिय सहकार्य भूमण्डलीकृत विश्वको धरातलीय यथार्थ हो । राष्ट्रियताको प्रवर्द्धन गर्दै देशलाई आर्थिक उन्नतितर्फ अग्रसर गराउन समावेशी लोकतन्त्रको विकल्प छैन ।

आज लोकरिझ्याइँवाद छद्मवेशी छ । देशभक्तिको हरियो गौचरनमा लुकेर बसेको लोकरिझ्याइँवादको हरेउ सर्पलाई प्रगतिशील स्वतन्त्र विचारको लौरेले धपाउन जरुरी छ । तर सचेत युवाको अटेरी विवेकको लौरो पनि दीर्घकालीन समावेशी समाधान छोडी क्षणिक ढुलमुले लोकरिझ्याइँवादतिर उन्मुख भए पश्चगमनको गोमनलाई धपाउनुअघि नै भाँच्चिने निश्चित छ ।

आजको सचेत युवा पुस्ताले इतिहासबाट पाठ सिकेर आफ्नो वैचारिक अडान र धैर्यपूर्वक लोककल्याणकारी, मानवतावादी स्थायी प्रसिद्धि पाउने प्रयास गर्नुपर्दछ । यसविपरीत परम्परागत शैलीमै बजारी हल्ला या षड्यन्त्रका सिद्धान्तमा आधारित क्षणभंगुर लोकरिझ्याइँवादतिर उन्मुख भए वास्तविक समृद्धि र सामाजिक न्याय हासिल हुँदैन । अब असल अनि लोकप्रिय बन्ने कि लोकरिझ्याइँवादी, छनोट हाम्रै हातमा छ ।

जोशी अमेरिकास्थित युनिभर्सिटी अफ म्यासाचुसेट्सका शोधार्थी हुन् ।

प्रकाशित : जेष्ठ ३, २०७९ ०६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?