हिमाली गुम्बाहरूको संरक्षणको आवश्यकता

ओलाङचुङगोलादेखि हुम्लासम्म छरिएका सुन्दर गुम्बाहरू हाम्रो मात्र नभई संसारकै अमूल्य पुरातात्त्विक निधि हुन् ।
विश्व पौडेल

कागबेनी कटेपछि उपल्लो मुस्ताङको जमिन र आकाश बिस्तारै परिवर्तन हुँदै जान्छ । अलौकिक शिलाका पर्वत, कालीगण्डकीका अपरिमेय गहिरा खोंचहरू र तीमाथि घोप्टिएर रहेका भीमकाय फिरोज रत्नजस्ता आकाशको बीचमा हिमशैलहरू हुँदै सडक उत्तरतिर लाग्छ ।

हिमाली गुम्बाहरूको संरक्षणको आवश्यकता

तिनै सडकको आसपास हाम्रो देशको गहनाजस्ता, प्राचीन ऋषिमुनिहरूले तपस्या गरेका, मानव ओडार एवम् गुफाहरू र तीसँग सम्बन्धित अनगिन्ती अलौकिक किस्साहरू छन् । ती प्राचीन गुम्बा, त्यहाँ संरक्षण गरेर राखिएका पुस्तकहरू र मूर्तिहरूका माध्यमबाट हाम्रा ऋषिमुनि र गुरुहरू अविनश्वर भएका छन् ।

कागबेनीमा भिक्षु ग्याल्जेनले सन् १४२९ मा बनाएको कागछोदे थुप्तेन साम्फेल लिङ गुम्बा छ सय वर्षको इतिहास बोकेर बसेको छ । छेउछेउका बाह्र गाउँका माहिला छोराहरूले भिक्षु बनेर संरक्षण गरेको यो गुम्बा र मुक्तिनाथ परिसरभित्रको छैटौं शताब्दीमा बनेको नरसिङ गुम्बा मुस्ताङको सम्पन्न इतिहासका साक्षी हुन् । त्यसपछि जतिजति उत्तर गयो, त्यतित्यति वैभवशाली अतीतको झझल्को दिने गुम्बाहरू आउँछन् । मुस्ताङका पदमार्गीहरूबीच प्रख्यात सहर चराङको सेद्राङ दोर्जी धेन गुम्बा पनि त्यत्तिकै पुरानो छ । चराङबाट उत्तरतिर केही समय हिँडेपछि एउटा सानो गाउँ मराङ आउँछ । उक्त ठाउँमा आचार्य पद्मसम्भवले बनाएको चौध सय वर्ष पुरानो घार गुम्बा छ । उक्त गुम्बाको मूल घरमा चारवटा खम्बा र आठवटा दलिन छन् भने एक हजारवटा बुद्धमूर्ति छन् । आचार्य पद्मसम्भवका जीवनसँग जोडिएका धेरै स्थान पनि मुस्ताङमा छन् ।

मुस्ताङका बारेमा मैले राष्ट्रिय योजना आयोगमा भएका विविध कुराकानीमा उक्त जिल्लालाई मानिस कम भएको रोम भन्ने गरेको छु । उपल्लो मुस्ताङमा सयौं, हजारौं वर्ष पुराना विभिन्न गुम्बा छन् । आठ सय साठी वर्ष पुरानो तिरी सन्दुप छोदिङ गुम्बा, पाँच सय वर्ष पुरानो लोवो न्यिफुग नन्द्रोल नोर्बुलिङ गुम्बा, लामा चोयाङ लुन्डुपले पाँच सय वर्षअगाडि स्थापना गरेको लो गार्फुक कन्यिङ साम्तेन चोलिङ गुम्बा, गुरु द्रुब्चेन पाल्देन तासीले स्थापना गरेको छ सय वर्ष पुरानो साले तङ्बे फुन्चोक गुम्बा, गराप्जोङको पाँच सय वर्ष पुरानो कुत्सब तेरंगा गुम्बा, लोमन्थाङको राजाप्रासादको पर्खालभित्र रहेका तीन गुम्बा (जाम्पा, थुब्चेन र छोदे गुम्बा) यीमध्ये केही उदाहरण हुन् । यस्ता कम्तीमा २५ वटा प्राचीन गुम्बाहरू मुस्ताङमा मात्र छन् ।

तर उपल्लो मुस्ताङ यस मामिलामा एक्लो हैन । नजिकैको उपल्लो डोल्पो क्षेत्र पनि उत्तिकै वैभवशाली छ । उपल्लो डोल्पोको ४,२०० मिटर उचाइमा रहेको राजा देल्द्यान नाम्ग्यालले बनाएको एक हजार वर्ष पुरानो शे गुम्बा, मनाङको मिलरेपा ओडारनजिकैका गुम्बाहरू सम्भवतः मुलुकको सबैभन्दा अग्ला ठाउँमा रहेका गुम्बा हुन् । त्यस्तै हुम्लाको लिमीमा रहेको एक हजार वर्ष पुरानो रिन्छेनलिङ गुम्बा, उपल्लो डोल्पोको तिचिरोङको सन् १२०८ मा स्थापित सादु

गुम्बा, उपल्लो डोल्पोकै सात सय वर्ष पुरानो धो तराप गुम्बा पनि निकै पुरातात्त्विक महत्त्वका निधि हुन् । यस्ता गुम्बाहरू पूर्वमा पनि धेरै संख्यामा छन् । ती गुम्बाहरूमध्ये केहीमा भित्ताका मुरल (भित्तेचित्र) हरू खिया लागेर अदृश्य हुँदै गएका छन् भने अन्य केही गुम्बामा भने पुराना मुरलहरूको विभिन्न परियोजनामार्फत जीर्णोद्धार भएको छ ।

गुम्बा संरक्षणमा तीन प्रमुख चुनौती छन् । एक, तिनको पुरातात्त्विक महत्त्वले गर्दा त्यहाँ कसरी काम गर्ने भन्ने स्पष्ट छैन र त्यसका लागि चाहिने जनशक्तिको पनि अभाव छ । गुम्बा भनेको एउटा भवन मात्र हैन, त्यहाँभित्र प्राचीन भित्तेचित्रहरू, नेपाली कागज तथा भोजपत्रजस्ता पुराना चीजमा लेखिएका पुस्तकहरू, र ठूलठूला दलान तथा अन्य काठका, तत्कालीन अवस्थामा गुरुहरूले निकै मिहिनेत गरेर बनाएका, स्तम्भ र अन्य संरचना छन् । दुई, धेरैजसो गुम्बा उच्च सतहमा रहेका निर्जन ठाउँमा छन् । जुन संस्कृतिले ती गुम्बाहरूको संरक्षण गरेको थियो, त्यो संस्कृति पनि बिस्तारै फेरिँदै गएको छ । परिवार नियोजनले गर्दा ‘माहिलो छोरा’ भिक्षु भएर बस्ने पुरानो चलन त्यही स्वरूपमा रहन गाह्रो छ भने मानिसहरू काठमाडौं र विदेशतिर धेरै जाँदा पनि कम जनसंख्या भएका ठाउँहरूमा अप्ठेरो भएको छ । मनाङको भ्राकामा रहेको लगभग छ सय वर्ष पुरानो गुम्बामा हालै घुम्न जाँदा मैले त्यहाँ पुराना केही मूर्ति चोरी भएकाले सन्दुकमा लुकाएर राख्न थालिएको पाएको थिएँ । तीन, प्राकृतिक प्रकोपको समस्या पनि केही गुम्बाले भोगेका छन् । पहिरोले केही गुम्बाको छेउमै जमिन भत्किँदै गएको छ । मानिस कम भएको, समस्याहरूलाई रिपोर्ट गर्न सक्ने क्षमता नभएका र सरकारी अनुगमन क्षमता कम भएको अवस्थामा यी तीन समस्याले हाम्रा पुराना गुम्बाहरूको संरक्षण कार्यलाई भविष्यमा झन्झन् अप्ठेरो पार्दै जानेछन् ।

सरकारी गतिविधिहरू अब मुख्य गरी तलका तीन दिशामा केन्द्रित हुनेछन् । एक, गुम्बाहरूको प्रत्यक्षा संरक्षणमा लगानी गर्ने । सरकारले बर्सेनि गुम्बा संरक्षण समितिमार्फत केही रकम छुट्याउने गर्छ । तर यो रकम सयौं–हजारौं वर्ष पुराना गुम्बाहरू संरक्षण गर्न अपर्याप्त छ । गोरखा भूकम्पमा भत्किएकामध्ये दुई सयभन्दा बढी गुम्बाहरू अझै पुनर्निर्माणको पर्खाइमा छन् । धेरै स्थानमा भित्तेचित्र पुनःस्थापना गर्न, जीर्ण गुम्बाहरूलाई भूकम्पप्रतिरोधी बनाउन तथा भूक्षयजस्ता समस्याहरूसँग लड्न सक्ने बनाउन लगानी बढाउनुपर्ने देखिएको छ । मुख्य गरी हिमाली गुम्बाहरूको संरक्षणलाई धार्मिकभन्दा ऐतिहासिक सम्पदा संरक्षणमा गरिएको लगानीका रूपमा लिनुपर्ने स्थिति छ । हाल यस दिशामा काम गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरूसँग कुराकानीहरू अगाडि बढेका छन् ।

दुई, गुम्बाहरूसम्मको पहुँच बढाउने । यसले एक त सुन्दर गुम्बाहरूमा जाने पर्यटकको संख्या बढाउँछ भने स्थानीय अर्थतन्त्रलाई पनि पुनर्जागृत गर्छ । हिमाली जिल्लाहरूमा समग्रमा बसाइँसराइ एउटा समस्या छ तर पर्यटकीय सम्भावना भएका ठाउँहरू अझै पनि अन्य ठाउँबाट मानिस तान्न सक्ने अवस्थामा छन् । उदाहरणका लागि, उपल्लो मनाङमा यदि स्थानीय बासिन्दाहरू बसाइँ सरेर बाहिर गएका छन् भने डोल्पाली, गोरखाली र लमजुङेहरू आएका छन् । आवागमनको उचित सुविधा भएमा यी केही हिमाली सहरहरू रित्तिने क्रम रोकिनेछ अनि यसले पर्यटक र स्थानीय दुवैको सहयोगमा गुम्बाहरूको संरक्षणमा सहयोग पुर्‍याउनेछ । यस दिशामा वर्तमान सरकारको पहलमा हुँदै गरेका केही महत्त्वपूर्ण काम हुन्— मनाङ, कोरला, मुगु र सोलुखुम्बुजस्ता जिल्लाहरूमा पहुँच सहज बनाउन चौडा र कालोपत्रे सडकमा लगानी वृद्धि, प्रदेशको केन्द्रबाट हरेक स्थानीय तहको केन्द्रसम्म पुग्ने सडक निर्माण आदि ।

तीन, गुम्बा तथा बौद्ध शिक्षामा लगानी । माथि भनिएजस्तै ‘माहिला’ छोराहरू नभएका गाउँ र परिवार बढ्दै गरेको परिप्रेक्ष्यमा एक त गुम्बाहरू बिस्तारै निर्जन बन्दै जाने खतरा बढ्दै गएको छ । मसँग निकै पुरानो गुम्बा घुमेर आएका एक भिक्षुले एक पटक एउटा ऐतिहासिक महत्त्वको गुम्बामा आफूले देखेको हालत सुनाएका थिए । उक्त सुन्दर गुम्बालाई सशस्त्र प्रहरीले संरक्षण दिएकामा जाडोमा हिउँ पर्दा ती प्रहरी पनि त्यता बस्न नमान्दा गुम्बा खाली हुने गरेको रहेछ । केही गुम्बा थांका अध्ययन केन्द्रका रूपमा ऐतिहासिक रूपमा परिचित छन् । उपल्लो मुस्ताङको नाम्ग्याल छोदे थुप्तेन धार्गेलिङजस्ता कैयन् गुम्बाहरूमा बौद्ध शिक्षाका गुरुहरूको आफ्नै पहलमा संघ शिक्षाहरू सुरु गरिएका छन् । ती शिक्षाहरूलाई आधुनिकीकरण गर्ने र लगानी बिस्तारै बढाउँदै जानेतर्फ वर्तमान सरकार कटिबद्ध छ ।

ओलाङचुङगोलादेखि हुम्लासम्म छरिएका सुन्दर गुम्बाहरू हाम्रो मात्र नभई संसारकै अमूल्य पुरातात्त्विक निधि हुन् । गुम्बाहरूसम्म सडक यातायातको सहज सुविधा नपुगेकाले मुलुकभित्रकै पर्यटकहरू पनि त्यहाँसम्म आकर्षित हुन सकेका छैनन् । धेरै नेपालीलाई गुम्बाहरूको प्राचीनताबारे अवगत गराउन पनि सकिएको छैन । तर यी गुम्बाहरूको उचित संरक्षण र प्रवर्द्धनले एकातिर मुलुकको आन्तरिक र बाह्य पर्यटनलाई निकै टेवा दिनेछ भने, अर्कातिर हाम्रा पुर्खाहरूसँगको साक्षात्कार गर्ने माध्यमका रूपमा रहेका यी निधिमार्फत हाम्रा सन्तान–दरसन्तानले पनि हाम्रो विगत हेर्न पाउनेछन् ।

प्रकाशित : जेष्ठ २, २०७९ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?