कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

पर्यटन र स्वच्छता

मञ्जु भट्ट

सन् २०१६ मा अमेरिकाका प्रख्यात विश्वविद्यालय कोलम्बिया र येलको संयुक्त अध्ययन अनुसार फिनल्यान्ड संसारकै सबैभन्दा सफा र बसोबासका लागि उत्तम देश मानिएको थियो ।

यो वर्ष फेरि यहाँका जनता विश्वमै खुसी हुनेमा पहिलो नम्बरमा परेका छन् । त्यतिखेर यो देशको वातावरणीय स्वच्छता मापन अंक ९०.६८ थियो । अनुसन्धान अनुसार यहाँको हावामा प्रदूषणको मात्रा एकदमै थोरै भएकाले बिरामी पर्ने सम्भावना पनि कम छ । दोस्रो सफा देश आइसल्यान्डमा भने वनजंगल निकै कम हुँदा पनि वातावरण स्वच्छ छ । सन् २००७ देखि त्यहाँ सार्वजनिक स्थलमा धूमपान गर्न दिइएको थिएन, यसले पनि वायु प्रदूषण घटायो । स्विडेन, डेनमार्क, स्लोभानिया, स्पेन, पोर्चुगल, इस्टोनिया, माल्टा तथा फ्रान्स विश्वकै सफा देशभित्र पर्छन् । माल्टा क्षेत्रफलका हिसाबले धेरै सानो भए पनि विश्वकै बढी जनघनत्व भएको देश हो, पर्यटकीय गन्तव्यका लागि पनि यो प्रख्यात छ । फ्रान्स धेरै उद्योग भएको देशमा पर्छ, तैपनि वातावरणिय स्वच्छता मापन अंक ८८.२० छ ।

कुनै पनि देशको स्वच्छता मापन गर्न हावामा रहेको प्रदूषण, पानीको स्वच्छता, वनजंगल, हावापानी, सरसफाइको अवस्था, जैविक विविधता तथा बासस्थानको अवस्थाको अध्ययन गरिन्छ । क्षेत्रफलको हिसाबले साना यी देशहरूमा धेरै कुराको अभाव भए पनि वातावरणीय स्वच्छतामा धेरै अगाडि छन् । जैविक विविधताले भरिपूर्ण नेपाल पनि यी देशका तुलनामा अझै अगाडि हुनुपर्ने हो । तर सधैंभरिको राजनीतिक खिचातानी≤ कुशल नेतृत्वको अभाव≤ नेतृत्व तहमा रहेकाहरूमा देशहितभन्दा ‘मै खाऊँ, मै लाऊँ’ भन्ने सोच र योजनाविहीन विकासका कारण सरकारी प्रणाली तहसनहस हुन पुगेको छ ।

विश्वकै तेस्रो सफा देशको सूचीमा रहेको स्विडेनले उत्पादन हुने फोहोरलाई पुनः प्रशोधन गर्छ, यसका लागि फोहोर आयात पनि गर्ने गर्छ । अमेरिका तथा युरोपका कतिपय देशमा बाटामा फोहोर फाल्ने तथा थुक्नेलाई कडा जरिवाना हुन्छ । त्यहाँ बाटामा थुक्ने वा फोहोर फाल्ने व्यक्तिलाई असभ्य मानिन्छ । नेपालका सहरहरूमा फोहोर व्यवस्थापन निकै चुनौतीपूर्ण बन्दै छ । सार्वजनिक स्थानमा धूमपान निषेध गरिए पनि, धूवाँ उडाउनेहरूको कमी छैन । माथि चर्चा गरिएका देशहरू सफा रहन सक्नुको अर्को मुख्य कारण हो— फोहोरमैला व्यवस्थापन सम्बन्धी नियम पालन नगर्नेलाई दिइने कडा सजाय ।

नेपाल पनि पर्यटकीय हिसाबमा समृद्ध छ, बर्सेनि हजारौंको संख्यामा पर्यटक भित्रिन्छन्, तर यो समयमा काठमाडौं घुम्न आएका पर्यटकहरूलाई फोहोरले स्वागत गरिरहेको छ । हाम्रा सडकहरू पनि सफा छैनन् । संघीय राजधानीबाहिरका लुम्बिनी, नेपालगन्ज, विराटनगरजस्ता मुख्य सहरलाई पनि फोहोर र धूलोले आक्रान्त बनाएको छ । कहिले हिलाम्मे त कहिले धूलाम्मे राजधानीका सडकमा पैदल हिँड्न रुचाउने विदेशी पर्यटकहरूलाई सकसै पर्छ ।

गाउँघरमा फोहोरको समस्या त्यति नभए पनि सहरमा यसले विकराल रूप लिएको छ । बढ्दो सहरीकरणसँगै सवारीसाधनको धूवाँ र यसबाट हुने प्रदूषण पनि बढिरहेको छ । सडकमा खाल्डाखुल्डी पनि त्यत्तिकै छन् । त्यस्तै प्रायः नागरिक चेतनशील छैनन् । आफूले उत्पन्न गरेको फोहोर मनलाग्दी फालिदिन्छन् । जता गए पनि आफूले उत्पादन गरेको फोहोर एउटा सानो झोलामा जम्मा गरेर नजिकैका डस्टबिनमा फाल्न सकिन्छ । डस्टबिन छैन भने, आफूसँगै बोकेर घरमा ल्याई व्यवस्थापन गर्न सकिन्छ । वातावरणलाई कसरी सफा राख्ने भन्ने बेलैमा मनन गरेर यस्ता ससाना कुरामा पनि ध्यान दिनुपर्छ । त्यस्तै, सार्वजनिक स्थानमा डस्टबिनको संख्या बढाउन सरकारले पनि उत्तिकै ध्यान दिनुपर्छ । अति व्यस्त ठाउँहरूमा त झन् डस्टबिन अपरिहार्य छ । योबाहेक फोहोर व्यवस्थापनको दिगो उपायका लागि पनि सरकारी संस्थाहरूले ध्यान दिनुपर्छ ।

प्रकृतिमैत्री विकास योजना अनुरूप काम हुन सकेको छैन । सडक विस्तारका नाममा धमाधम रूखहरू काटिन्छन् तर रूख रोप्ने तथा हुर्काउने विषयमा त्यति ध्यान दिइँदैन । एउटा रूख हुर्कन निकै समय लाग्छ, त्यसैले रूख काट्नुअघि धेरै विचार गर्नुपर्छ । विकसित देशहरूमा रूखहरू जरैसहित उखालेर अन्यत्र सारिन्छ । प्रकृति जोगाउन यस्तो तरिका हामीले पनि अपनाउनुपर्छ । कोभिड महामारी कम हुँदै गर्दा, आन्तरिक र बाह्य पर्यटकहरूको संख्या बढिरहेको छ, यो सकारात्मक पक्षलाई ध्यानमा राखेर पर्यटकीय स्थलको प्रचारप्रसार गर्न सकिन्छ । स्वच्छ वातावरणसँग पर्यटन उद्योगको सम्बन्ध सोझो हुन्छ । जति स्वच्छ वातावरण, त्यति नै पर्यटकको संख्या र बसाइ अवधि पनि बढ्दै जान्छ ।

प्रकाशित : जेष्ठ १, २०७९ ०७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?