कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुस्तकदेखि तर्सने प्राध्यापकहरू

वसन्त महर्जन

विश्वविद्यालयका नेपाली प्राध्यापकहरूका सन्दर्भमा अनेक नकारात्मक टिप्पणी सुन्न–पढ्न पाइन्छन् । शिक्षण सहायक, उपप्राध्यापक, सहप्राध्यापक हुँदै तिनको जब प्राध्यापकमा पदोन्नति हुन्छ, पुस्तक पढ्न छाड्छन् भन्ने टिप्पणी झट्ट सुन्दा अतिशयोक्तिपूर्ण लाग्ला तर यस्ता अभ्यासीहरूको संख्या सानो छैन ।

पुस्तकदेखि तर्सने प्राध्यापकहरू

अझ आफू विद्यार्थी छँदा कक्षामा गुरुले टिपाएका नोटकै भरमा प्राध्यापन जीवन नै बिताइदिनेहरूको संख्या पनि कम्ती छैन । अहिलेलाई यही नोट राम्ररी पढ्नू, जाँचमा पास हुनू र चाहियो भने पछि किताबहरू पढ्नू भनेर गज्जबको ‘आइडिया’ दिने प्रायः प्राध्यापकहरू पुस्तक पढ्दैनन् । यो वर्गलाई सायद पुस्तक देखरै एलर्जी हुन्छ । हाम्रा विश्वविद्यालयहरू राजनीतिक हस्तक्षेपका कारण गुणस्तरयुक्त हुन नसकेको टिप्पणी आउनुमा पुस्तकदेखि तर्सने प्राध्यापकहरू पनि एउटा कारक हुन् ।

विश्वविद्यालयका नियमित दृश्य हुन्— प्राध्यापक कक्षाकोठामा पस्छन्, वर्षौं पुरानो नोट निकाल्छन् र भट्याउन थाल्छन् । अथवा, विद्यार्थीलाई त्यही नोट अक्षरशः सार्न लगाउँछन् । बुझाउने काम कमै हुन्छ किनभने प्राध्यापक आफैंले त्यो नोट नबुझेका हुन सक्छन् । छलफल प्रायः हुँदैन । आफ्नो नोटको फोटोकपी बाँडिदिने वा फोटोकपी गरेर लिनू भन्ने अर्ती दिने पनि गरिन्छ । नोट सार्ने, घोक्ने, परीक्षामा त्यही लेख्ने र उत्तीर्ण हुने अप्राज्ञिक परिपाटीले खोज, अनुसन्धान, छलफल, विचार, विमर्श सबैलाई शून्यतिर धकेलिरहेको छ । प्राध्यापकको त्यही रोग विद्यार्थीमा सर्छ र उसले प्राप्त गरेको नोट थन्क्याइराख्ने हुन्छ । त्यो नोटको प्रयोग परीक्षाभन्दा केही दिनअघि मात्रै हुन्छ । यसरी पाएको डिग्रीका सर्टिफिकेट बोक्नेहरू आफ्नै विषयक्षेत्रबारे खुला छलफल गर्न पनि हिचकिचाउँछन् ।

केहीअघि आफ्नै विषयका एक प्राध्यापकको कोठामा पुगेर केही छलफल गर्दा कुरा बाझियो । उनले आफ्नो बचाउमा पेस गरेको प्रमाण ‘क्लास नोट’ थियो । बीस–पच्चीस वर्ष पुरानो उक्त क्लास नोट पनि त्यो बेला सही थियो होला तर यसबीच धेरै नयाँ तथ्यहरूको प्राप्ति र त्यसबारेमा अनेकौं अध्ययन भइसकेको तथ्य नोटमा हुने कुरा भएन । यस्तो नोट प्राप्त गर्ने विद्यार्थीले कस्तो शिक्षा पाउलान् ?

विद्यालयस्तरको पढाइमा निबन्ध लेखनमा जोड दिइन्छ । अझ अतिरिक्त क्रियाकलाप अन्तर्गत लेखन प्रतियोगिता पनि हुन्छ । यसले विद्यार्थीको लेखन क्षमता वृद्धि गर्नेमा दुईमत छैन । यो अभ्यास विश्वविद्यालयमा पनि नितान्त जरुरी छ । निरन्तरको अभ्यासले लेखनशैली माझिँदै जान्छ भन्ने सदैव हेक्का राख्नुपर्दछ । विश्वविद्यालयमा प्राध्यापकले पढाएका कुरा आफ्नो भाषामा लेख्न नसक्नु र नोट घोकेरै परीक्षा दिन विद्यार्थीहरू बाध्य हुनुको कारण हो— लेखन अभ्यासमा रहेको कमी । हाम्रो शैक्षिक प्रणालीमा परीक्षा लेखेरै दिनुपर्ने हुनाले लेखन पक्षमा जोड दिनैपर्दछ । विद्यार्थीहरू खोज–अनुसन्धानमा लागून् भनेर शोधग्रन्थको लेखन पनि राखिएको हुन्छ । विडम्बना, शोधपत्र लेखनको यो प्रावधान कतिपय विद्यार्थी र प्राध्यापकका लागि गलपासो हुने गरेको छ । यही एउटा प्रावधानका कारण कतिपय विद्यार्थीहरूका डिग्री थेसिस लेख्न नसकेरै पनि अड्किएका हुन्छन् । यही भएर शोधपत्र लेखनको प्रावधान नै हटाउनुपर्ने आवाज पनि उठ्न थालेको छ । विद्यालयस्तरमा सिकाइने बुँदा टिपोट, संक्षेपीकरण, विस्तृतीकरण आदि अभ्यासलाई हेपेर विश्वविद्यालयको थेसिस लेख्न सकिँदैन । यी कमीकमजोरी हटाउन पुस्तकसँग शिक्षक–विद्यार्थीको नियमित संगत हुनैपर्दछ ।

पुस्तकदेखि डराउने वा पुस्तक मनै नपराउने मानसिकता एक खालको रोग नै हो जसलाई ‘बिब्लियोफोबिया’ भनिन्छ । बिब्लियोफोबियाको समस्या विश्वविद्यालय क्षेत्रमा विकराल रूपमा फैलिँदो छ । केही समयअघिको कुरा हो । त्रिभुवन विश्वविद्यालयका एक सहप्राध्यापक एउटा पुस्तकपसलमा पुगी पुस्तक र लेखकका सम्बन्धमा विभिन्न प्रश्न गर्दै थिए । उनले सोधेका कतिपय पुस्तक उनकै विभागमा पढाइ हुने पनि परेछन् । विभागले निर्दिष्ट गरेको कोर्समा समावेश पुस्तककै बारेमा प्राध्यापकलाई जानकारी नभएको भनी घोचपेच हुँदा उनले दिएको जवाफ संवेदनशील छ, ‘मैले पढाउने पुस्तक अरू नै भएकाले यसबारे जानकारी भएन ।’ यो सानो जवाफले पनि प्राध्यापक वर्ग सिक्न र सिकाउनभन्दा जागिर खाने मानसिकतामै सीमित रहेको बुझाउँछ । पुस्तक र लेखकका बारेमा उनले त्यसरी सोधेर बस्नुको प्रयोजनबारेको जवाफ झनै ताज्जुबलाग्दो थियो । त्यसको भोलिपल्ट विश्वविद्यालयमा हुने प्राध्यापक पदको जाँचमा सोधिन सक्छ भनेर उनले यस्तो जानकारी बटुलिरहेका रहेछन् ।

विश्वविद्यालयमा प्राध्यापन गर्नेहरू अध्ययन–अनुसन्धानमा पनि लागून् तथा अनुसन्धानमूलक लेख तथा पुस्तकको प्रकाशनमा पनि सरिक भएर ज्ञानवृद्धि गरून् भन्ने मनसाय विश्वविद्यालयको देखिन्छ । यही भएर पदोन्नतिका बेला प्रकाशित अनुसन्धानमूलक लेख तथा पुस्तकको मूल्यांकन गरी नम्बर दिइन्छ । पदोन्नतिका लागि यसरी आउने नम्बरले पनि ठूलो भूमिका खेलेको हुन्छ । तर सेवा आयोगका आँखामा धूलो छर्ने काम प्राध्यापक वर्गबाट यही बेला हुने गर्दछ । कतिपयले यही प्रयोजनका लागि मात्रै केही प्रति पुस्तक तयार पार्ने र कृति मूल्यांकनका लागि बुझाउने गरेको पाइन्छ । अवकाशप्राप्त प्रा. डा. प्रेम खत्रीको हालै प्रकाशित आत्मकथामा उल्लिखित एउटा प्रसंग अझ संवेदनशील छ । सेवा आयोगबाट हुने प्राध्यापक पदको परीक्षामा प्रा.डा. खत्री अन्तर्वार्ताकारका रूपमा नियुक्त थिए र उम्मेदवारहरूको अन्तर्वार्ता हुँदै थियो । प्राध्यापकमा पदोन्नतिका लागि उम्मेदवार बनेका एक व्यक्तिले मूल्यांकनका लागि बुझाएको कृति देखेर उनी नराम्ररी झस्किए । आफ्नै दाजुले लेखेर बजारमा ल्याएको पुस्तकमा केही पृष्ठ र आवरण परिवर्तन गरी पदोन्नतिका लागि ती व्यक्तिले सेवा आयोगमा बुझाएका रहेछन् । संयोग के परेछ भने, उक्त पुस्तकमा समाविष्ट भूमिका प्रा. डा. खत्रीले नै लेखेका रहेछन् । यही एउटा घटनाले पनि विश्वविद्यालयमा रहेका धेरै बेथिति उजागर गर्दछ ।

बेथितिले राज गरेको जुन विश्वविद्यालयमा राजनीतिक दलका कार्यकर्ताले नियुक्ति पाउँछन्, पढाउने नाममा जागिर मात्रै खान्छन्, पुस्तकालयमा नभएर दलका नेता तथा नेताका आसेपासेका दैलो वा बैठक चहार्ने गरेकै भरमा पदोन्नति हुन्छ, त्यहाँ पुस्तक अध्ययन गर्नुको दरकार नै किन पर्छ र ! उनीहरूका दृष्टिमा पुस्तक पढ्नु भनेको समय खेर फाल्नु र मूर्ख बन्नु हो । यी कथित प्राध्यापकहरूको चंगुलमा फसेका विद्यार्थीहरूलाई ‘बिचरा’ बाहेक के नै भन्न सकिन्छ र ! अनि किताब होइन, जाँचमा सोधिने सम्भावित प्रश्नहरूको उत्तर मात्रै खोज्ने र सोही उत्तर घोकेर परीक्षाकक्षमा पुग्ने विद्यार्थीको संख्या थपिँदै जानु कुन आश्चर्यको कुरा भयो र ! यो प्रवृत्ति रहुन्जेल विश्वविद्यालय साँचो अर्थमा विश्वविद्यालय हुन सक्दैन ।

महर्जन बौद्ध दर्शनका अध्येता हुन् ।

प्रकाशित : वैशाख २९, २०७९ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?