कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

चुनावी टकरावको मर्म

राजनीति व्यवसाय बनिसकेकाले जित्दा मात्रै हैन, हार्दा पनि अर्थोपार्जन हुने भयो ।
नरेन्द्रजंग पिटर

आलोचनात्मक र तुलनात्मक चस्मा लगाएर, नामांकनपत्र भर्नुपहिलादेखि चुनाव प्रचारको अन्तसम्म नियाल्दा के देखिँदै छ त ? हिमाल, पहाड र तराई–मधेशमा मतदाता र पार्टीहरूबीचको भिन्नता र समानता के हो ? जनमतको निराशालाई स्थानीय चुनावले आशामा फेर्न सक्ला ? चुनावी आमसभामा मान्छेहरू पुगेकै छन्, घरदैलो कार्यक्रममा लागेकै छन् । राजनीति र पार्टीप्रति निराशा बढेका बेला चुनावको टिकटमा भने यस्तो होडबाजी किन चलेको छ ?

चुनावी टकरावको मर्म

चुनावी मौसम राजनीतिको झन् व्यापारकाल हो । व्यापार आदर्शमा चल्दैन, नाफामा चल्छ । पसलमा जे बिक्छ, ग्राहकको माग अनुसार पसलेले त्यही माल सजाउँछ । कलात्मक विज्ञापनमा तर्कपूर्ण प्रचार गर्नुपर्छ तब टिकाउभन्दा चम्किला मालहरू बिक्छन् । भीडमा फेरिँदै गएको जनमतमा सिद्धान्तको राजनीति चल्दैन, सुविधाको राजनीति चम्किन्छ । नाफाले भूमिका तय गरेपछि पार्टीहरू के–कुन भन्ने छुट्टिँदैनन् । क्यालकुलेटर राम्ररी चलाएर मोल तय गर्दै हाटबजारमा लिलाम बढाबढ गरिन्छ । चुनावी हाटबजारमा सबै ह्वाङह्वाङ्ती, छ्याङछ्याङ्ती देखिन्छ । माल किन्ने र बेच्ने दुवैले सक्कली हैन भन्ने थाहा पाउँदापाउँदै पनि किन्छन्, बेच्छन् । राप्रपा, फोरम, कांग्रेसहरू एकै पटक कम्युनिस्ट बन्न सक्छन् । कम्युनिस्टहरू घण्ट बजाउँदै रामनामी ओढेर स्वर्गको बाटो सफा गर्न, वैतरणी तर्न गौदान गर्न सक्छन् ।

चुनावी मौसम वसन्त ऋतुमै परेको छ । यसै बेला काग र कोइली छुट्टिन्छन् । लक्षणै प्रमुख भएपछि विधि र हतियारहरू केकस्ता प्रयोग भए भन्ने कुराले अर्थ र महत्त्व राख्दैन । लडाइँ कति नैतिकतासाथ भयो भन्ने कुराको महत्त्व नभएपछि आदर्श कमजोरको चिच्याहट मात्रै बन्न पुग्छ । आयाराम–गयाराम मात्रै हैन, फर्जी स्वतन्त्र उम्मेदवारका प्रायोजक को हुन् ? कति, कसले, कसलाई केके प्रायोजन गरेका छन् ? कसरी, को, कसको प्रायोजक हुन्छन् भनेर सहज र सरल आँखाले खुट्याउन सकिँदैन ।

कुरा गठबन्धनका

आसन्न चुनावका लागि सुविधा अनुसारका गठबन्धन छन् । गठबन्धनमा भएकाहरूको पनि आपसमै भिडन्त हुँदै छ । प्रतिक्रिया र भयका कारण मोर्चाहरू बने । गठ भयो, बन्धन भने रहेन । राजनीतिको संक्रमणकाल अझै तंग्रिन सकेन । वर्ग, चिन्तन, नयाँ सोच, ‘बाइप्रोडक्ट’ बीच प्रत्यक्ष–अप्रत्यक्ष द्वन्द्वहरू भइरहे । दुई खाले गठबन्धनका पृष्ठभूमि र सन्देश फरक छन् । तर लिंगदेनी राप्रपाले भने दुवै गठबन्धनलाई खेलाएको छ ।

परिवर्तनसँगै अभिजात तप्काले सत्ताको नयाँ रूप त स्वीकार गर्‍यो तर मर्म आत्मसात् गर्न सकेन/चाहेन । परिवर्तनको राप र चाप रहिन्जेल सत्ताचरित्रको फेरबदल स्वीकार्य भए पनि समय घर्किंदा हकवालाहरू नै आदर्शमा टिक्न सकेनन् । पराजित शक्तिले शक्तिसञ्चय गरेर नयाँ अनुहारमा कलात्मक युद्ध छेड्दै गयो । परिवर्तनकारी नै यथास्थितिको भीडमा मिसिएर छुट्टिन सकेनन्, बरु अझ भ्रष्ट अनुहारमा देखिएपछि आन्दोलनले ल्याएको आवेग, जगाएको आशा र फेरिएको सत्ताचरित्रको सामूहिकीकरण हुन सकेन । संक्रमणकालको मौन ‘टसल’ र तर्कको टकरावले जनमत प्रभावित पारिरह्यो । हो, त्यसैका बाछिटाहरू अहिले चुनावी अभ्यास बनेर देखा पर्दै छन् ।

तल खसे पनि शक्तिको भर्‍याङ उक्लिनजत्तिकै सहज र सरल हुँदो रहेछ भन्ने कुरा चुनावी भाषा र अभ्यासले देखाउँदै छ । भीडमा फेरिइरहेका मतदाता, भीडलाई नै पछ्याइरहेका मिडियासामु स्वतन्त्र उम्मेदवार बन्नु अझ चुनौती हुन्छ । अर्कातर्फ, राजनीतिलाई उपेक्षा गरिरहेको र निराशाले सताइरहेको जनमतमा कुनै बौद्धिक सक्रियतावादीले चुनावी हस्तक्षेप गरेर सपना र योजना बाँड्नु पनि कठिन बन्छ नै । गम्भीर पृष्ठभूमिका कोही पनि स्वतन्त्र उम्मेदवारमा देखिएनन् ।

जित्नु मात्र हैन निर्वाचन, हराउनु पनि हो । मैमत्त भएर तुजुक देखाउनेलाई मतदाताहरूले थचक्क बसालिदिन्छन् पनि । दुवै गठबन्धनका आधारमा तर्क नभई भय र प्रतिक्रियाहरू देखिएका छन् । आफूलाई सही ठहर्‍याउन सबैसँग तर्कहरू हुन्छन् । युद्ध र राजनीति दुवैमा होमिने मान्छे हृदयले हैन मस्तिष्कले सोच्ने गर्छ । परिणामको हिसाब गर्न थाले मैदानमा हाम फाल्नै सकिँदैन । नियत प्रस्टिने परिणामले हो । सार्वजनिक जीवनमा होमिनेले ताली, लाली र गाली खान तयार हुनुपर्छ । समयको बहाव चिन्नुपर्छ । इतिहास जित्नेले बनाउँदै जान्छन्, नयाँ लेखिन्छ भन्ने मान्यता राखिन्छ ।

असैद्धान्तिक बनेका पार्टीहरू चुनावमा ट्रेडमार्क मात्रै बन्दै छन् । सबै पार्टीका चाल, चरित्र र चेहरा एकै खाले । तब, राजनीतिक निर्णयलाइ मतमा फेर्नु असाध्यै चुनौतीपूर्ण हुन्छ । सुविधा अनुसारका गठबन्धन बन्दा ध्यान परिणाममा केन्द्रित हुन्छ । मूल नेतृत्वको गुटको रक्षा, प्रोफाइल बढाउने चाहना अथवा शक्तिशाली आफन्तको हैसियत–प्रयोगले चुनावी मोर्चा निम्छरो बन्दै छ । प्रतिनिधि चयनकर्ताहरू ‘नकार परिणाम’ पछि मात्र मूर्ख कमान्डर ठहरिन्छन् । तबसम्म तीर कमानबाट छुटिसकेको हुन्छ । तर भक्तराम कार्यकर्ता भने दुवै अवस्थामा थपडीबाज बन्छन् ।

युद्धमय चुनाव

चुनावी युद्धमोर्चामा अहिले धन, बल, घृणा, प्रतिक्रिया र लोभ लडिरहेका छन् । शान्तियुद्धको मोर्चा चुनाव हो । विचार र व्यवहारका फिल्ड कमान्डर उम्मेदवार हुन् । संगठनमा त गुट हावी वा प्राविधिक नेतृत्व हुन सक्छ तर आम चुनावमा नेतृत्वको आदेश वा निर्देशन नचल्ने हुँदा मतदाताहरू जननेता खोज्छन् । तर सबै दलका चुनावी अभियान मतदाताहरूलाई प्रभावमा पारेर भीडमा फेर्दै छन् ।

जनयुद्धभन्दा शान्तियुद्ध चुनौतीपूर्ण हुन्छ । अझ चुनाव होस्, गठबन्धन अभ्यास होस् तब त शक्तिबीच थप कलात्मक लेनदेनहरू हुन्छन् । राजनीति व्यवसाय बनेपछि संगठनहरू निर्देशनमा मात्रै चल्दैनन् । नाफाको सोच हावी भएपछि महत्त्वाकांक्षाका सामु अन्य विषय तपसिलमा पर्छन् । राजनीतिलाई सामाजिकीकरण गर्न नसक्दाको परिणाम मतपत्रमा पर्नेछ ।

शान्तिपूर्ण युद्ध राजनीति हो भने रक्तपातपूर्ण राजनीति युद्ध हो । सामाजिक द्वन्द्वहरू राजनीतिक अभ्यासका रूपमा देखा पर्छन् । द्वन्द्वको शान्तिपूर्ण हल ननिस्किँदासम्म विद्रोह प्रत्यक्ष टकरावमा फेरिएर युद्ध बन्न पुग्छ । हरेक कुरा राजनीतिक निर्णय र अभ्यासमै निर्भर हुन्छ । द्वन्द्व र युद्धको समाप्ति वार्ता, संवाद, सहमति र सम्झौताबाट हुन्छ । तर सन्धि, सम्झौता, सहमति भनेका शक्तिशालीको समस्या टार्न समय घर्काउने शीर्षक र कमजोरलाई सहमतिका बुँदा उठाएर गिडगिडाउन बनाउने आसे विषय मात्र बन्छन् । दुवै पक्षले जनमतलाई आफ्ना पक्षमा उराल्न आवेग वा प्रतिक्रियाको तेजाब छरेर मतपत्रमा फेर्नुपर्छ ।

अन्त्यमा, नीति र विधि नरहेपछि दल–बदल गर्न कसैलाई लाज, सरम, हीनताबोध हुँदैन । मैले टिकट नपाए अन्य पार्टीमा गएर प्रतिद्वन्द्वीलाई त हराउन सक्छु भन्ने भयो । राजनीति व्यवसाय बनिसकेकाले जित्दा मात्रै हैन, हार्दा पनि अर्थोपार्जन हुने भयो । सिद्धान्तहीन भएपछि जाति, क्षेत्र र धार्मिक भावना चुनावी बजारमा बिक्ने भए । कुरा परिणामको भएपछि जे गरे पनि राजनीतिको आदर्श बन्ने भयो । नेतृत्वको अहंकारी कदममा ल्याप्चे ठोक्न कार्यकर्ता विवश भए । स्थानीय सत्तामा अधिकार र बजेट त पुग्यो तर योजना र चेतना नपुग्दा भ्रष्टाचार ह्वात्त बढ्यो । राजनीति उद्यम भएकाले स्थानीय चुनावमा आकर्षण बढ्यो । हरेक नीति, निर्देशन, निर्णयमा केन्द्रले हस्तक्षेप गरेपछि स्थानीय तहमा अधिकारको हस्तान्तरण नभएर संघात्मकता व्यावहारिक अर्थमा रहेनÙ बोझ बन्यो । सुन्दर भावना र तीतो यथार्थबीच भिन्नता हुन्छ । जुन सिद्धान्तले अपेक्षा धान्न सक्दैन, त्यो गहना मात्रै हुन्छ । गहनाले पेट भरिँदैन, अनाज नै खानुपर्छ । व्यवहारवादी राजनीतिका नाममा हरेक पार्टीमा दुर्गुण र दुर्गन्ध भरिँदा सिद्धान्तवादी कार्यकर्ता मतदातामा मात्रै फेरिए र आगुन्तक पाहुनालाई नेता स्वीकार गर्न बाध्य भए ।

हरेक क्रान्ति र आन्दोलनले जब भ्रष्ट र व्यक्तिवादी नै जन्माउँछ भने अर्को क्रान्ति किन गर्ने भन्ने उत्तरआधुनिकतावादी विचारक ज्याक डेरिडालाई सम्झायो । कांग्रेस र कम्युनिस्टको भ्रष्ट आचरण र व्यक्तिवादले क्रान्ति र राजनीतिविरोधी भावना जन्माउँदै गयो । राजनीति व्यवसाय भएको र योजनारहित अकुत बजेट पाइने भएकाले मेयर/अध्यक्ष/वडाध्यक्षमा आकर्षण बढ्यो तर चुनाव निराशाको ओखती बन्न सकेन । भ्रष्टतन्त्रबाट उम्कने कसरी र निराशालाई चिर्ने कसले ?

प्रकाशित : वैशाख २७, २०७९ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?